+
+
Shares

ल्हेन्दे खोलामाथि बनिरहेको ताल कति जोखिमपूर्ण हो ?

भूगर्भविद् एवं जलस्रोत विशेषज्ञहरूका अनुसार, बुधबारको तुलनामा अहिले बनेको तालबाट त्यतिविघ्न बाढीको सम्भावना छैन, तरपनि उनीहरू भोटेकोशी र त्रिशुली किनारामा रहेका उद्दारकर्मीहरूलाई सजग र सतर्क रहन सल्लाह दिन्छन् ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०८३ भदौ ११ गते २१:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लाङटाङ हिमालको उत्तरी भेगमा विशाल हिमस्खलनपछि ल्हेन्दे खोला किनारमा ताल बनेको र त्यसबाट फेरि बाढीको जोखिम बढेको प्राधिकरणले जनाएको छ।
  • प्राधिकरणका अनुसार रसुवागढी नाकाको करिब १८ किलोमिटर उत्तरमा बनेको तालको क्षेत्रफल ०.११ वर्गकिलोमिटर पुगेको छ र तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ।
  • चिनियाँ पक्षले तालको आकार बढिरहेको सूचना दिँदै ड्रोन निगरानी गरिरहेको छ भने २–३ दिनमा बाँध फुट्न सक्ने चेतावनी दिएको छ।

११ भदौ, काठमाडौं । लाङटाङ हिमालको उत्तरी भेगमा विशाल हिमस्खलन गएपछि त्यसको फेदमा ठूलो ताल बनेको खुलेको छ ।

चिनिया सञ्चारमाध्यमहरूका साथै भू–उपग्रहको विश्लेषण गरेका अरु विज्ञहरूले पनि दुई साना हिमाली खोल्साको दोभानमा ताल बनेको निष्कर्ष निकालेका हुन् ।

चीनको जलस्रोत मन्त्रालयलाई उद्धत गर्दै चिनिया मिडिया ग्लोबल टाइम्सले गरेको रिपोर्ट अनुसार, छोचेन खोला र पुरेपु हिमनदीको फेदमा पानी जमेर ताल बनिरहेको हो । यी दुवै पानीका स्रोत ल्हेन्दे खोलामा मिसिन्छन् जुन खोला रसुवागढीमा आएर केरुङ खोलामा मिसिन्छ ।

बिहीबारसम्म खाल्डोमा करिब २० लाख घनमिटर पानी संकलन भएको र तालबाट बग्न थालेको जनाइएको छ । आगामी दुई/तीन दिनमा १० लाख थपिएर ३० लाख घनमिटर पानी जम्मा हुनसक्ने भन्दै चीनका केन्द्रिय टेलिभिजनहरूले समेत तालको बाँध फुट्न सक्ने चेतावनी दिएका हुन् ।

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार अपरान्ह एक सूचना जारी गरी भोटेकोशीको तटीय क्षेत्रमा फेरि जोखिम बढेको जनाएको छ ।

प्राधिकरणका अनुसार, प्लानेट ल्याब र ल्याण्डस्याट स्याटेलाइट तस्बिरहरूले नयाँ ताल विस्तार भएको देखाएका हुन् ।

रसुवागढी नाकाको करिब १८ किलोमिटर उत्तरमा ल्हेन्दे खोलाको बहाब अवरुद्ध भएको र त्यहाँ ताल बनेको उल्लेख छ । तालको क्षेत्रफल शून्य दशमलव ११ किलोमिटरमा फैलिएको छ ।

प्राधिकरणले विज्ञप्तिमा भनेको छ, ‘उक्त तालको प्राकृतिक बाँध फुटेर फेरि ठूलो बाढी आउन सक्ने जोखिम अझै कायम रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दा तथा सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन तथा उच्च सावधानीका साथ रहन अनुरोध गरिन्छ ।’

त्रिभुवन विश्वविद्यालयको भूगर्भ केन्द्रीय विभागका प्राध्यापक रञ्जनकुमार दाहाल बुधबारदेखि फैलिएको तालले फेरि बाढीको त्रास बढाएको बताउँछन् ।

उनका अनुसार, तालको आकार सानै भएकाले बुधबार बिहानको जस्तो ठूलो बाढी आउने सम्भावना छैन । उनी भन्छन्, ‘ताल विस्फोट भइहालेमा त्यहाँबाट आउने बाढी बुधबारको जस्तो हुँदैन ।’

उर्जा मन्त्रालय अन्तर्गतको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीका अनुसार ल्हेन्दे खोलाको माथिल्लो भागमा पानी जम्मा भएर ताल बनेको र त्यसको आकार बढिरहेको भनेर चिनियाँ पक्षले सूचित गरेको थियो ।

‘चिनिया पक्षले त्यो ठाँउलाई नजिकबाट अनुमगन गरिरहेको रहेछ, केही आँकलनका साथ नै उहाँहरूले भरिएपछि त्यो विस्फोट हुनसक्ने चेतावनी दिएको हुनसक्छ’ जलस्रोत इञ्जिनियर पराजुलीले अनलाइनखबरसँग भने, ‘त्यही भएर हामीले प्रभावित क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेका हौं ।’

भोटेकोशी तथा त्रिशुलीको बाढीप्रभावित क्षेत्रमा रहेकाहरू सतर्क हुनुपर्ने भएपनि भयभित हुनुपर्ने अवस्था नभएको पराजुली बताउँछन् ।

‘किनभने आज त्यो तालमा जम्मा भएको पानी हिजोको बाढीको तुलनामा १० प्रतिशतमात्रै हो, सबै बगेपछि त्यसले हिजोको भन्दा बढी क्षति गर्नसक्ने अवस्था देखिँदैन,’ पराजुली भन्छन्, ‘तर त्यसो भन्दैमा उद्दारकर्मीहरू निश्चिन्त भएर तटीय क्षेत्रमा जाने अवस्था छैन, त्यही भएर सतर्क हुनुपर्छ भनेका हौं ।’

बुधबार बिहान लाङटाङ हिमालको उत्तरी भागमा रहेको ग्लेसियर(हिमताल) बुधबार बिहान अचानक तल खसेको थियो ।

जलस्रोत विशेषज्ञ सन्तोष नेपालका अनुसार, बरफ, हिँउ र चट्टान सहितको मिश्रण करिब ५५ सय मिटरको उचाईबाट खसेको अनुमान छ, जसले तलको भागमा ठूलो खाडल बनाएको विशेषज्ञहरूको अनुमान छ ।

‘करिव पाँच हजार मिटरको उचाईबाट तीन हजारको उचाईमा हिउँ र बरफको ढिस्को खसेको देखिन्छ’ नेपाल भन्छन्, ‘त्यति माथिबाट सोहोरिएर खसेकाले त्यसले ठूलो उर्जा पैदा गरेको अनुमान गरेका छौं ।’

विज्ञहरूका अनुसार, त्यसरी खसेको हिउँको ढिस्को बगेर बाढीको रुप लिएपछि खसेको ठाँउमा ताल बनेको हुनसक्छ ।

चिनियाँ टोलीले बिहीबारदेखि भोटेकोशी बाढीको सम्भावित मुहानक्षेत्रमा निरन्तर रुपमा ड्रोन निगरानी गरेको थियो ।

त्यसक्रममा हिउँ र माटोको लेदोसहितको बाढी झरिरहेकाले जोखिम बढेको जलवायु विशेषज्ञ उज्वल उपाध्याय बताउँछन् ।

काठमाडौं विश्वविद्यालयका ‘भिजिटिङ फ्याकल्टी’ समेत रहेका उनले लेखेका छन्, ‘यो प्राकृतिक जलाशयमा २० घनमिटरभन्दा बढी पानी जम्मा भइसकेको र थप पानी भरिँदै गएको देखिन्छ, जसले अचानक पानीको बहाब तथा थप श्रृंखलाबद्ध विपद्को जोखिम बढाएको छ ।’

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रञ्जन दाहालका अनुसार, ल्हेन्दे खोला नै नेपाल–चीनको सीमा हो, जसको छेवैमा ताल बनिरहेको छ । अहिले नेपाल सरकारले हेलिकप्टर लिएर त्यो ठाँउमा अध्ययन गर्ने सम्भावना निकै कम छ ।

चिनियाँ टोलीले भने नजिकैबाट ड्रोन उडाएर निरन्तर पहिरो र त्यसपछि बनेको तालको अनुगमन गरिरहेको छ ।

दाहाल भन्छन्, ‘चिनियाँ टोलीले दिएको सूचनाकै आधारमा हामीले थप जानकारी पाएर ताल बढिरहेको छ, फेरि जोखिम हुनसक्छ भनेका हौं ।’

लेखक
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?