News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवा भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैह्रेले चीनतर्फबाट आएको बाढी देखेर ‘बाढी आयो, भागौं–भागौं’ भन्दै कर्मचारीलाई सचेत गराएर आफ्नै ज्यान जोगाए।
- बाढीमा भन्सारका नायब सुब्बा दिनेश घिमिरे, नासु अनिता पुरी र अन्य कर्मचारी तथा यात्रुहरू बेपत्ता र घाइते भएको करवीरले बताए।
- करवीरका अनुसार टिमुरे बजारको ठूलो भाग लेदो र बाढीले बगायो, करिब २०० घरधुरी क्षतिग्रस्त भए र झण्डै ३०० ईभी र ५०–६० मालवाहक गाडी बगे।
११ भदौ, काठमाडौं । बुधबार बिहान करिब पौने ९ बजेको समय । मौसम सफा थियो । आकाश खुलेको थियो । चीनतर्फ पनि मौसम सामान्य रहेको खबर थियो । रसुवा भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत करवीर गैह्रे आफ्नो टेबलमा बसेर नियमित काम गरिरहेका थिए ।
केहीबेर अघिसम्म सबै कुरा सामान्य थियो । कम्प्युटर अगाडि थियो, टेबलमा अघिल्लो दिन बाँकी रहेको गर्नुपर्ने काम थियो । अचानक टेबल र कम्प्युटर हल्लिए । गैह्रेलाई भूकम्प आएको जस्तो लाग्यो ।
उनी कुर्सीबाट उठे । बाहिर निस्कँदा उनको आँखा झ्यालतिर पुग्यो । त्यही एक झलकले उनको ज्यान जोगायो ।
चीनतर्फबाट आउने खोलामा धुलो–धुँवाको ठूलो मुस्लो उडिरहेको थियो । आवाजसँगै केही अस्वाभाविक दृश्य देखियो । त्यसपछि उनले कार्यालयभित्र रहेका साथीहरूलाई चिच्याउँदै भने, ‘बाढी आयो, भागौं–भागौं ।’
त्यो चेतावनीपछि उनी दौडिए । करिब १० सेकेन्डमै बाढी कार्यालय परिसरमा आइपुग्यो । त्यो १० सेकेन्डले करवीरको जीवन र मृत्युबीचको दूरी तय गर्यो ।
एक मिनेटपछि साथीहरू भेटिएनन्
गैह्रेका लागि बुधबारको सबैभन्दा पीडादायी सम्झना भनेको आफ्नै सहकर्मी दिनेश घिमिरेको हो । दिनेश भन्सार कार्यालयका नायब सुब्बा थिए । उनी घटना हुनुभन्दा करिब एक मिनेटअघि मात्रै गैह्रेको टेबलमा आएका थिए ।
‘सर, यो के–के गर्ने ?’ भन्दै उनले कामबारे सोधेका थिए । गैह्रेले काम सम्झाइदिए । दिनेश आफ्नो बाटो लागे । उत्तरी भूभाग तिब्बततिरबाट टिमुरेतर्फ बाढी उर्लेर आइरहेको रहेछ ।
तर, त्यसलाई दिनेशले भूकम्प आएको ठाने । घरबाट बाहिर निस्केर खुला ठाउँको खोजीमा उनी नदी बग्ने दिशातिर दौडिए । करवीरले भने बाढीको दृश्य देखिसकेका थिए । उनी पहाडतिर भागे । त्यसपछि दिनेश देखिएनन् ।
‘एक मिनेटअघि मात्रै उहाँ मसँग आएर सर, यो के गर्ने भनेर सोध्नुभएको थियो । मैले यो गराउनु भनेर दिएको थिएँ । एक मिनेट पछि तलको मान्छे भागेर पहाड तिर गयो, बाँच्यो,’ करवीरले भने, ‘सुब्बा साब भूकम्प त होला भनेर घर बाहिर निस्किएर जता नदी बक्छ त्यतातिर दौडिनुभयो । एक मिनेटमै मान्छे छैन ।’

अर्को घटनाले पनि उनलाई झस्काउँछ । सहकर्मी विष्णु भुसाल (नासु) सुरक्षित ठाउँमा थिए । तर, अनिता पुरी (नासु) लाई लिन जाँदा उनी पनि बाढीमा परेको भन्ने सहकर्मीबाट सुनेको करवीर बताउँछन् । बाँच्ने र बग्नेबीच त्यहाँ केही सेकेन्डको मात्रै फरक थियो । ‘जो पहाडतिर भागे उनीहरू बाँचे,’ करवीरले भने, ‘जो खुला आकाश खोज्दै नदी किनार गए उनीहरू हराए ।’
बाढी आएको देखेपछि करवीरसहित केही कर्मचारी पहाडतिर उक्लिए । करिब एक किलोमिटर माथि पुगेपछि पनि उनीहरू रोकिएनन् । अझ सुरक्षित हुने भन्दै खैरी गाउँतिर गए । त्यो ठाउँ भन्सार कार्यालयबाट करिब चार किलोमिटरको दूरीमा पर्छ । पछि कार्यालय प्रमुखको निर्देशनमा उनीहरू उद्धारका लागि तल फर्किए ।
‘हामी माथि खैरी भन्ने गाउँ गयौं । त्यो भन्सार कार्यालयबाट झण्डै चार किलोमिटर टाढा छ । रेस्क्यु (उद्धार) टोलीलाई माथि सजिलो हुन्छ भन्ने भएर हामी माथि गयौं,’ उनले भने, ‘त्यहाँ माथि गइसकेपछि फेरि हामीले हाम्रो कार्यालय प्रमुख कुरा सुन्न त पर्यो नै । उहाँले माथि नजानुस् तल आउनुस्, यहीँबाट ‘रेस्क्यु’ हुन्छ होला भन्ने कुरा गर्नु भयो र हामी तल झर्यौं ।’
करिब पौने ११ देखि ११ बजेको बीचमा उनीहरू उद्धारको पर्खाइमा रहेका अन्य मानिसहरू भएको स्थानमा आइपुगे । ‘लगभग बिहान पौने ९ बजे घटना भयो । हामी निस्केर माथि गयौं,’ करवीरले भने, ‘तल आइपुग्दा लगभग पौने ११ देखि ११ बजेको बीचमा हामी तल रेस्क्यु गर्ने ठाउँमा आयौं ।’
करवीर, रमेश कुँवर (भन्सार अकिृत) र चण्डीराज खत्री (कम्प्युटर अपरेटर) त्यहाँ पुगेपछि देखिएको दृश्य अर्को त्रासदी थियो । कोही घाइते थिए । कसैको खुट्टा भाँचिएको थियो । कसैलाई चोट लागेको थियो ।
‘रेस्क्यु गर्ने ठाउँमा आउँदा कतिपय साथीहरू घाइते हुनुहुन्थ्यो । कसैको खुट्टा भाँचिएको थियो, कोही घाइते थिएँ,’ करवीरले भने, ‘त्यस्तो पनि देखियो । त्यो बाढीको कारणले होइन भाग्दा ढुंगा–सुँगामा लागेर भाँचिएको ।’
करवीरले देखेको टिमुरे बजार अब उनको सम्झनामा मात्र छ । नदीको बेसिनभन्दा करिब १०० देखि १५० मिटर माथिसम्म बाढी पुगेको उनको भनाइ छ । झण्डै २०० घरधुरी रहेको टिमुरे बजारको ठूलो हिस्सा बाढी र लेदोले बगाएको उनले बताए ।
‘त्यो बस्ती नदीको बेसिनबाट एक सय मिटरभन्दा बढी माथि थियो । त्यो सबै बगायो । त्यहाँका वडा अध्यक्षले बस्तीमा २०० घरधुरी छन् भन्थे,’ करवीरले भने, ‘४० देखि ५० वटा पक्की घर अनि लगभग अरु बाँकी कच्ची घर । जस्तो कि टिनको घरहरू धेरै थिए ।’

बुधबारको बाढीपछि ती घरहरू देखिँदैनन् । ‘अहिले त सय मिटर माथिको टिमुरे बजार नै केही पनि छैन । एउटा–दुईवटा घर अलिकति ठाडो देखिन्छन्,’ उनले भने, ‘ती घरहरू पनि जहाँ थिए, त्यही बेसमा छैनन् । अलिकति बगेर २०–२५ मिटर तल आएर ठडिएका छन् ।’
लेदोको तह मात्रै झण्डै २०–२५ मिटर जति देखिएको उनको अनुमान छ । पोहोर पनि बाढी आएको थियो । त्यो बाढीले भन्सार यार्डमा क्षति पुर्याएको थियो । यसपालिको दृश्य भने त्यसको तुलनामा कल्पना नै गर्न नसकिने रहेको करवीरको अनुभव छ ।
‘अहिलेको बाढी कति आयो भन्दाखेरि नदीको बेसबाट १०० देखि १५० मिटर माथि आयो के । पोहोर बाढी–बाढी भन्नेहरूले अहिले बल्ल ए, बाढी भनेको यस्तो पो रहेछ भन्ने खालको भयो,’ उनले भने, ‘किनभन्दा गत वर्ष त खाली भन्सारको यार्डलाई मात्र अलिकति क्षति पुर्याएको रहेछ, त्यस्तो क्षति भएको रहेन छ ।’
भन्सारमात्र होइन, सयौं मानिसको भीड थियो । करवीरका अनुसार रसुवा भन्सार क्षेत्रमा कार्यालयका कर्मचारीबाहेक ठूलो संख्यामा कामदार, चालक, व्यापारी र यात्रुहरूको आवतजावत हुने गर्थ्यो ।
सामान्य अवस्थामा बिहानै भन्सार यार्डमा करिब सयदेखि डेढ सयसम्म मानिसहरू हुने गरेको उनको अनुमान छ । गाडीका सामानको प्याकिङ लिस्ट बनाउनेदेखि लोड–अनलोड गर्ने कामदारसम्म त्यहाँ हुने गर्थे ।
सयौँ विद्युतीय सवारीसाधन र मालवाहक गाडीहरू आउने–जाने भन्सार नाका भएकाले घटना हुँदा त्यहाँ रहेका मानिसको वास्तविक संख्या यकिन गर्नै कठिन भएको उनी बताउँछन् ।
करवीरले बाढीमा झण्डै ३०० ईभी गाडी, ५०–६० आसपास मालवाहक गाडी बगेको अनुमान गरे ।
‘हाम्रो सूचनाअनुसार ईभी गाडीहरु तीन सयको हाराहारीमा थिए भन्ने छ,’ उनले भने, ‘व्यवसायी साथीहरूसँग कुरा हुँदा मालवाहक गाडीहरू चाहिँ त्यही ५० देखि ६० को हाराहारीमा थिए होलान् भन्नुहुन्थ्यो ।’
बाढी आएको समय भनेको चाइनातिरबाट नेपाल आउने समय रहेको करवीरले बताए । ‘हाम्रोभन्दा तीन घण्टा अगाडि उनीहरूको कार्यालय समय सुरू हुन्छ,’ उनले भने, ‘त्यो बेलामा लगभग–लगभग ५० सम्म गाडीहरू पारी थिए होलन् भन्ने हाम्रो अनुमान छ ।’
उनका अनुसार नेपालतर्फ आइरहेका ती गाडीहरू मालबाहक थिए । बाढी आएको समयमा अध्यागमन कार्यालयमा पनि भीड नै थियो ।
‘अध्यागमनमै काम गर्ने हाम्रै ब्याजी साथीहरू छन् । अध्यागमनको साथीबाट पछि थाहा भयो– १५० जना लाइनमा रहेछन्,’ उनले भने, ‘अध्यागमनको काम सकेर चाइनातिर जाने एक–दुई सय पारी लाइनमा थिए भन्छ । पारीबाट नेपाल भित्रिने पनि त त्यति हुन्छ नि त्यहाँ मान्छे । मानसरोवर पुगेर फर्किने मान्छेहरू पनि त्यत्तिकै हुन्छन् भन्छ ।’
एउटा निर्देशनले धेरैको ज्यान जोगायो
करवीरका अनुसार भन्सार कार्यालयका प्रमुखले कर्मचारीहरूलाई बिहानै कार्यालय आउन भनेका थिए । त्यही कारण धेरै कर्मचारी कार्यालय पुगेका थिए ।
‘कार्यालय प्रमुखले साढे सात बजे अफिस आउनुस् भन्नुभएकोले धेरै साथीहरू बाँच्नुभयो,’ करवीरले भने, ‘जो साथीहरू कार्यालयमा जानुभएन, उहाँहरू मिसिङ हुनुहुन्छ ।’
भन्सार कार्यालय नदीको सतहभन्दा माथिल्लो भागमा भएकाले कर्मचारीहरूले बाढी आएको देख्ने अवसर पाए । बाढी उर्लिएको देखेपछि उनीहरू ज्यान जोगाउन पहाडतिर उक्लिन सफल भए ।
‘भन्सार कार्यालय सबैभन्दा माथि छ, त्यो भन्दा माथि घर छैनन्,’ करवीरले भने, ‘त्यो भएर पहिले नै बाढी आएको देखेर भाग्न सफल भयौं ।’ तर, टिमुरे बजारमा रहेकाहरूलाई भन्सारका कर्मचारी जसरी ज्यान जोगाउन उच्च स्थानतर्फ भाग्न पाउने अवसर नै मिलेन ।

चार–पाँच तलामाथिका घरमा बसेका वृद्धवृद्धा, परिवार र व्यापारीहरूका लागि केही सेकेन्डमै तल झरेर भाग्नु सम्भव नदेखिएको उनले सुनाए ।
‘बाढी बजारसम्म आइसक्दा चार–पाँच तलाको घरबाट झरेर मान्छे भाग्ने सम्भावना पनि भएन के । अब कतिपय बूढाबूढी भाग्न सक्ने कुरा भएन,’ करवीरको भनाइ छ, ‘कतिपय त्यहाँका मान्छेहरूलाई धन–सम्पत्तिको पनि कुरा थियो होला । लोभ लाभले । यति माथिको घरमा के पो होला र भनेर पनि भाग्न सक्ने कुरा भएन ।’
उनले भन्सार कार्यालयका नायव सुब्बा धर्मराज शाहीले टिमुरेमा आफू बस्दै आएको चारतले घरबाट हिलोमा हाम फालेर ज्यान जोगाएको घटनासमेत सुनाए । घाइते शाही अस्पतालमा उपचाररत रहेको उनले बताए ।
‘एक जना हाम्रो धर्मराज शाही भन्ने सुब्बा साब हुनुहुन्छ । उहाँ त्यही चार तला माथिको घरबाट हिलोमा हाम फालेर बाँच्नुभयो,’ उनले भने, ‘नर्भिक हस्पिटल हुनुहुन्थ्यो ।’
सूचना अधिकारी नै सूचना खोज्दै थिए
करवीर रसुवा भन्सार कार्यालयका सूचना अधिकारी पनि हुन् । तर, बुधबार सूचना अधिकारी भएर पनि उनीसँग अरूलाई दिने कुनै पूर्वसूचना थिएन ।
चीनतर्फबाट सामान्य अवस्थामा सानो जोखिम हुँदा पनि सूचना आउने गरेको उनले सुनाए । ठूलो वर्षा भए ‘तटीय क्षेत्रमा सचेत रहनु’ भन्ने सन्देश आउने गरेको करवीरको भनाइ छ ।
‘अलिअलि ठूलो पानी पर्दा पनि ‘ल है तटीय क्षेत्रमा सचेत हुनुहोला’ भनेर चाइनिज भाषामा उनीहरू म्यासेज पठाउँथे,’ उनले सुनाए, ‘त्यो अलर्ट हामीलाई पनि आउँथ्यो ।’
यसपटकको बाढी यतिसम्म आकस्मिक भयो कि कुनै पूर्वसूचना नै आएन । ‘यसपालि त्यो सम्भव भएन । हिजोको त कस्तो भयो भने एक्कासी त्यस्तो भयो के । केही पनि गर्न सक्ने स्थिति भएन,’ करवीरले भने ।
भन्सार कार्यालयमा सबैभन्दा पहिले बाढी आएको देख्ने र सूचना दिने व्यक्ति नै करवीर बने । ‘मेरो अफिसमा सबैभन्दा पहिला सूचना दिने मान्छे म भएँ । सूचना अधिकारी नै भएँ,’ उनले भने, ‘भूकम्प आयो भनेर बाहिर निस्किने बेला झ्यालबाट धुलो–मुस्लोसहितको देखेपछि बाढी आयो, भागौं–भागौं भन्नेबाहेक अरू कसैले केही सूचना दिन पाएनन् ।’

‘उद्धारको पालो कुर्दाकुर्दै साँझ पर्यो’
भन्सार कार्यालयबाट झण्डै चार किलोमिटरको दूरीमा रहेको खैरी गाउँबाट तल झरेपछि करवीर र उनका सहकर्मीहरू उद्धारको पालो कुरेर बसे । उद्धारका लागि गएको नेपाली सेनाले पहिलो प्राथमिकता घाइते र बिरामीलाई दियो । सेनाको हेलिकप्टर पनि प्रारम्भिक खोज तथा उद्धारमा व्यस्त भयो ।
‘हामी माथिबाट तल झरेपछि रेस्क्युको पालो पाइएन । पहिले बिरामीलाई लियो,’ करवीरले सुनाए, ‘सेनाको हेलिकप्टर पहिले उद्धार–उपचारमा लाग्यो ।’
दिउँसो करिब साढे दुई बजेपछि मात्रै करवीरसहितका कर्मचारीको उद्धार भयो । ‘उद्धार–उपचार गरिसकेपछि बल्ल दिउँसो लगभग साढे २ बजेभन्दा पछाडि हामीलाई सेनाको हेलिकप्टरले लिएर आयो,’ उनले भने ।
सूचना अधिकारी करवीरका अनुसार भन्सारका ४० कर्मचारीमध्ये ६ जना विदामा थिए । घटनास्थलमा रहेका कर्मचारीमध्ये उनीसहित आठ जनाको सैन्य हेलिकप्टरबाट उद्धार गरियो ।
‘भन्सारका कर्मचारी ४० जना थियौं । ६ जना बिदामा रहेछन् । आठ जना साथीहरू त्यहीँ हुनुहुन्छ,’ उनले भने, ‘हामी आठ जना सेनाको हेलिकप्टरमा चढ्यौं । सेनाको हेलिकप्टरले हामीलाई लगभग साढे तीन बजेतिर त्रिशूलीमा पुर्यायो ।’
त्रिशूलीमा स्वास्थ्य परीक्षण पछि अवस्था सामान्य भएको भन्दै सेनाले आफ्नै खर्चमा काठमाडौं जान भनेको करवीरले जानकारी दिए ।
‘त्रिशूलीमा चेकअप भयो । उहाँहरूले आफ्नो प्रक्रिया पूरा गरेपछि उहाँहरूको क्याम्पमा राख्ने कि पठाउने भन्ने हुँदो रहेछ,’ उनले भने, ‘नर्मल देखेपछि सेनाले ल ठीक छ, तपाईंहरू आफैं गाडी रिजर्भ गरेर काठमाडौं जानु न भनेपछि हामी त्यहाँबाट बाहिर निस्केर इभी गाडीमा आयौं । कार्यालय प्रमुखसहितको टोली थियो हाम्रो आठ जनाको ।’
बुधबार राति साढे ९ बजे आफूहरू काठमाडौं पुगेको उनले बताए । ‘काठमाडौं लगभग साढे ९ बजेतिर पुगेर बल्ल अलि राहतको सास फेरियो,’ सुन्धारामा भएको भेटका क्रममा करवीरले अनलाइनखबरसँग भने, ‘टिमुरेमा भएको सिनारियो त्यो हो ।’
प्रतिक्रिया 4