+

बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम, कसरी जोगिने ?

२०८३ भदौ  ११ गते १९:०९ २०८३ भदौ ११ गते १९:०९

बाढीपहिरोका बेला पानीका स्रोत नष्ट वा दूषित हुने भएकाले खानेकुराभन्दा पनि सुरक्षित पानीको अभाव ठूलो समस्या बन्न सक्छ ।

बाढी प्रभावित क्षेत्रमा संक्रामक रोगको जोखिम, कसरी जोगिने ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढीपछि दूषित पानी, भीडभाड र लामखुट्टेका कारण हैजा, झाडापखाला, डेङ्गु, मलेरिया र लेप्टोस्पाइरोसिसको जोखिम बढेको चिकित्सकहरूले बताएका छन्।
  • विशेषज्ञहरूले प्रभावित क्षेत्रमा सुरक्षित खानेपानी, सरसफाइ, झुल, औषधि र नियमित रोग निगरानीलाई राहत तथा नियन्त्रणको पहिलो प्राथमिकता बनाउन सुझाव दिएका छन्।

११ भदौ, काठमाडौं । नेपाल प्रहरीको तथांकअनुसार बुधबार साँझसम्म भोटेकोशी बाढीमा परेर जीवन गुमाउने ३५९ जनाको शव फेला परिसकेको छ । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राकिरणका अनुसार ९०० भन्दा धेरै जना सम्पर्कविहीन छन् । घाइते र उद्धारको पर्खाईमा रहेकाहरूको संख्या पनि धेरै छ ।

बाढी–पहिरोले ठूलो जनधनको क्षति मात्र गर्दैन संक्रामक रोग फैलिने जोखिम पनि बढाउँछ । विपद्पछि दूषित पानी, असुरक्षित खाना, फोहोर व्यवस्थापनको समस्या हुन्छ । यससँगै भीडभाड र लामखुट्टेको वृद्धिले बाढी प्रभावित क्षेत्रमा हैजा, झाडापखाला, टाइफाइड, लेप्टोस्पाइरोसिस, डेङ्गु, मलेरिया तथा श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढ्न सक्ने चिकित्सकहरू बताउँछन् । उनीहरूका अनुसार समयमै सावधानी नअपनाए प्राकृतिक विपत्तिपछि अर्को स्वास्थ्य संकट निम्तिन सक्छ ।

प्रकोपपछि मानिसको ध्यान स्वाभाविक रूपमा उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित हुन्छ । तर बाढीको पानी घटेपछि पनि स्वास्थ्य जोखिम भने बाँकी रहन्छ । विशेषगरी खानेपानीका स्रोतमा ढल, मलमूत्र, फोहोर, शव तथा मरेका जनावरका अवशेष मिसिएमा पानीजन्य रोग फैलिने सम्भावना उच्च हुन्छ ।

नुवाकोटको विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी नदीमा शवहरू बगेर आएको र संक्रामक रोगको समेत जोखिम रहेको बताउँछिन् ।‘शवहरू बगेर आएका छन्’ बोगटी भन्छिन्, ‘त्यसको व्यवस्थापन गर्न नसक्दा भोलि मानव बस्तीमा स्वास्थ्य जोखिम निम्तिने खतरा छ ।’

बाढीका कारण पाइपलाइन फुटेका छन् । कुवा तथा मुहानमा दूषित पानी पस्न सक्छ । बाहिरबाट सफा देखिएको पानीसमेत पिउनयोग्य नहुन सक्छ । त्यसैले बाढी प्रभावित क्षेत्रमा सुरक्षित खानेपानीको व्यवस्था नै संक्रामक रोग नियन्त्रणको पहिलो प्राथमिकता भएको चिकित्सकहरू बताउँछन् ।

हैजा र झाडापखालाको जोखिम उच्च

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीका अनुसार टिमुरे, स्याफ्रुबेंसी, बेत्रावती, त्रिशुली लगायतका बाढी प्रभावित बस्तीमा संक्रामक रोगको जोखिम बढ्न सक्छ । प्रभावित क्षेत्रमा मात्र नभई वरपरका बस्तीमा समेत दूषित पानीका कारण हैजा लगायतका रोग फैलिन सक्ने सम्भावना रहन्छ ।

बाढीपछि गाईवस्तुको मलमूत्र र दूषित पानीको सम्पर्कका कारण लेप्टोस्पाइरोसिसको जोखिम समेत बढ्न सक्ने उनी बताउँछन् । त्यसैले स्वास्थ्य मन्त्रालय तथा स्थानीय निकायले प्रभावित क्षेत्रमा नियमित रोग निगरानी अर्थात् सर्भेलेन्स गर्नुपर्ने डा.मरासिनीको सुझाव छ ।

कुनै क्षेत्रमा असामान्य रूपमा झाडापखालाका बिरामी बढे तत्काल पहिचान, परीक्षण र उपचार सुरु गर्नुपर्छ । प्राकृतिक प्रकोपपछि संक्रामक रोग फैलिन सक्छ भन्ने उदाहरण विश्वका विभिन्न देशमा देखिएका छन् ।

सन् २०२२ मा पाकिस्तानमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा यस्तो समस्या देखिएको थियो । सुरक्षित पानी र सरसफाइको अभावमा झाडापखाला, हैजा, मलेरिया, डेङ्गु, छालासम्बन्धी संक्रमण तथा श्वासप्रश्वासका रोगको जोखिम बढेको विश्व स्वास्थ्य संगठनले जनाएको थियो । बाढीका कारण जमेको पानी बढ्दा लामखुट्टेको संख्या बढेको र मलेरियाको जोखिमसमेत तीव्र भएको थियो ।

पाकिस्तानको अनुभवले बाढीको पानी घटेपछि स्वास्थ्य जोखिम सकिँदैन भन्ने देखाउँछ ।

सुरक्षित पानी र खाना

संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार बाढीपहिरोका बेला पानीका स्रोत नष्ट वा दूषित हुने भएकाले खानेकुराभन्दा पनि सुरक्षित पानीको अभाव ठूलो समस्या बन्न सक्छ ।

विस्थापित मानिसहरू घर, सम्पत्ति वा आफन्त गुमाएको अवस्थामा हुने भएकाले उनीहरूले व्यक्तिगत सरसफाइ र खानपानमा पर्याप्त ध्यान दिन सक्दैनन् । त्यसैले राहत तथा उद्धारमा संलग्न संस्था र व्यक्तिले सबैभन्दा पहिले सफा र सुरक्षित पानी तथा सुरक्षित खाना उपलब्ध गराउनुपर्ने डा.पुन बताउँछन् ।

डा. पुनका अनुसार बाढी प्रभावित क्षेत्रमा पानी उमालेर वा स्वास्थ्य निकायले सिफारिस गरेको विधिअनुसार शुद्धीकरण गरेर मात्र पिउनुपर्छ । क्लोरिन वा पानी शुद्धीकरण गर्ने ट्याब्लेट प्रयोग गर्दा प्याकेटमा दिइएको मात्रा वा स्वास्थ्यकर्मीको निर्देशन पालना गर्नुपर्छ । जथाभावी धेरै क्लोरिन हालेर पानी सुरक्षित बनाउन खोज्नु हुँदैन ।

बाढीको पानीले छोएको, बिग्रिएको, लामो समय खुला राखिएको वा गन्हाएको खाना खानु हुँदैन । खाना राम्ररी पकाएर खानुपर्छ र काँचो तथा पकाएको खानेकुरा छुट्टाछुट्टै राख्नुपर्छ ।

शौचालय र सरसफाइमा विशेष ध्यान

बाढीले धेरै ठाउँमा शौचालय प्रयोग गर्न नसक्ने अवस्था सिर्जना गर्छ । यस्तो अवस्थामा खुला ठाउँमा दिसापिसाब गर्दा त्यसबाट पानी तथा माटो दूषित हुन सक्छ । संक्रमित व्यक्तिको दिसाबाट अर्को व्यक्तिमा रोग सर्न सक्ने भएकाले अस्थायी शिविरमा व्यवस्थित शौचालयको व्यवस्था अत्यन्त आवश्यक हुन्छ ।

साबुनपानीले हात धुने बानी पनि संक्रमण रोक्ने सरल तर प्रभावकारी उपाय भएको डा.मरासिनी बताउँछन् । खाना पकाउनुअघि, खाना खानुअघि, शौचालय प्रयोग गरेपछि र बिरामीको हेरचाह गरेपछि हात राम्ररी धुनुपर्छ ।

शिविर वा राहत केन्द्रमा फोहोर जथाभावी फाल्न नदिने, खानेपानीको मुहान नजिक दिसापिसाब नगर्ने र मरेका जनावरलाई सुरक्षित रूपमा व्यवस्थापन गर्ने व्यवस्था हुनुपर्छ ।

लामखुट्टेको पनि जोखिम

बाढीपछि ठाउँठाउँमा पानी जम्ने भएकाले लामखुट्टे बढ्न सक्छ । त्यसले डेङ्गु, मलेरिया लगायतका रोगको जोखिम बढाउन सक्ने फ्यामिली फिजिसियन डा. विश्वराज दवाडी बताउँछन् ।

डा. दवाडीका अनुसार बाढीपछि ढलको पानी मिसिनु, जनावर मर्नु र खानेकुरा दूषित हुनुले ब्याक्टेरियल संक्रमणको जोखिम बढाउँछ । साना बालबालिका तथा ज्येष्ठ नागरिकहरूमा निमोनिया र अन्य संक्रमणको जोखिम पनि बढ्न सक्छ । पहिले नै कुनै रोग भएका व्यक्तिले नियमित औषधि नपाउँदा उनीहरूको अवस्था थप जटिल हुन सक्छ ।

लामखुट्टेबाट बच्न दिन र रात दुवै समयमा आवश्यक सावधानी अपनाउनुपर्छ । झुल प्रयोग गर्ने, शरीर ढाक्ने कपडा लगाउने र घर तथा शिविर वरपर पानी जम्न नदिने गर्नुपर्छ ।

शिविरमा झनै सावधानी आवश्यक

विस्थापितहरू अस्थायी शिविरमा भीडभाडमा बस्नुपर्ने भएकाले रुघाखोकी, फ्लु, निमोनिया तथा छालासम्बन्धी संक्रमण पनि सजिलै फैलिन सक्छ । कसैलाई ज्वरो, लगातार खोकी, सास फेर्न गाह्रो, झाडापखाला, बान्ता वा छालामा संक्रमण देखिए तत्काल स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्छ ।

संक्रामक रोगको शंका भएका बिरामीलाई सम्भव भएसम्म अरूबाट अलग राखेर उपचार गर्नुपर्ने संक्रामक रोग विशेषज्ञ डा. पुन बताउँछन् । बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोग भएका व्यक्तिलाई विशेष प्राथमिकता दिनुपर्छ । बाढीका कारण औषधि पसल वा स्वास्थ्य संस्था बन्द हुँदा नियमित औषधि खाने बिरामीको उपचार निरन्तरता पनि टुट्न सक्छ । यसलाई विशेष ख्याल गर्नुपर्ने फ्यामिली फिजिसियन डा. दवाडी बताउँछन्।

राहतमा खाद्यान्न मात्र होइन, स्वास्थ्य सामग्री पनि

बाढीपीडितलाई राहत दिँदा चामल, दाल, चाउचाउ वा अन्य खाद्यान्न मात्र पुर्‍याएर पुग्दैन । सफा पानी, पानी शुद्धीकरण सामग्री, साबुन, झुल, सरसफाइका सामग्री र आवश्यक औषधि पनि राहतको महत्त्वपूर्ण हिस्सा हुन् । डा. मरासिनीका अनुसार प्रभावित परिवारको संख्या हेरेर पर्याप्त झुल वितरण गर्न सके लामखुट्टेबाट हुने रोगको जोखिम कम गर्न सकिन्छ ।

बाढी प्रभावित क्षेत्रमा कसैलाई अत्यधिक पातलो दिसा, बारम्बार बान्ता, ज्वरो, शरीर दुख्ने, टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, छालामा संक्रमण वा असामान्य कमजोरी देखिए तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने डा. पुन सुझाउँछन् ।

विशेषगरी झाडापखाला भएका व्यक्तिलाई शरीरमा पानीको कमी हुन नदिन स्वास्थ्यकर्मीको सल्लाहअनुसार जीवन जल दिन सकिन्छ । तर अत्यधिक पखाला, लगातार बान्ता, पिसाब कम हुनु, अत्यधिक कमजोरी वा बेहोसजस्तो अवस्था आए तत्काल अस्पताल लैजानुपर्छ ।

रोग निगरानी प्रभावकारी बनाउन आवश्यक

विपत्तिपछि उपचारसँगै रोगको निगरानी अत्यन्त महत्त्वपूर्ण हुन्छ । कुनै स्वास्थ्य चौकीमा अचानक झाडापखाला, ज्वरो वा अन्य संक्रामक रोगका बिरामी बढे त्यसको जानकारी तत्काल माथिल्लो स्वास्थ्य निकायमा पुग्ने व्यवस्था हुनुपर्ने डा. मरासीनी बताउँछन् ।

बाढी प्रभावित क्षेत्रमा रोगको अवस्था पहिचान गर्न स्वास्थ्यकर्मी परिचालन, नियमित नमुना परीक्षण, सुरक्षित पानीको अनुगमन तथा औषधिको पर्याप्त भण्डारण आवश्यक हुन्छ । यसो गर्न सके रोग फैलिनुअघि नै नियन्त्रणका उपाय सुरु गर्न सकिन्छ ।

प्राकृतिक प्रकोप रोक्न मानिसको हातमा हुँदैन । तर त्यसपछि फैलिन सक्ने रोगको जोखिम भने सावधानी र प्रभावकारी व्यवस्थापनबाट धेरै हदसम्म कम गर्न सकिने विशेषज्ञहरू बताउँछन् ।

बाढी संक्राम रोग
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय