+
+
Shares

भरतपुर शव पहिचान केन्द्रमा बेचैन आफन्त : हातमा बेपत्ताका तस्वीर, आँखामा आँसु

कसैको हातमा आफन्तको तस्वीर छ त कसैको आँखामा आँसु । मनमा एउटै आशा छ– कतै आफ्नो मान्छे भेटिन्छ कि ? यही आशासँगै अर्को भय पनि छ– कतै आउने अर्को शव आफन्तकै त होइन ?

शान्ता अधिकारी शान्ता अधिकारी
२०८३ भदौ ११ गते १८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भीषण बाढीमा बेपत्ता आफन्त खोज्दै परिवारजन भरतपुरका अस्पताल र शवगृह धाइरहेका छन् ।
  • भरतपुर महानगरपालिका–१० मा करिब २५० शव राख्न सकिने छुट्टै शव पहिचान तथा संरक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ ।
  • चितवनमा अहिलेसम्म १३० भन्दा बढी शव संकलन भएको र २५ एम्बुलेन्स शव ओसारपसारमा परिचालन गरिएको छ ।

११ भदौ, भरतपुर । रसुवामा आएको भीषण बाढीले आफन्त गुमाएका परिवारको पीडा अहिले चितवनसम्म आइपुगेको छ । बाढीमा बेपत्ता भएकाहरूको खोजीमा आफन्तहरू भरतपुरका अस्पतालदेखि शवगृहसम्म धाइरहेका छन् ।

कसैको हातमा आफन्तको तस्वीर छ त कसैको आँखामा आँसु । मनमा एउटै आशा छ– कतै हाम्रो मान्छे भेटिन्छ कि ? यही आशासँगै अर्को भय पनि छ– कतै आउने अर्को शव आफन्तकै त होइन ?

भरतपुरमा स्थापना गरिएको शव पहिचान केन्द्र बाहिर बिहीबार बिहानैदेखि यस्तै पीडा बोकेका आफन्तहरूको भिड छ । हरेक पटक एम्बुलेन्सको साइरन बज्दा उनीहरू दौडिएर एम्बुलेन्सतर्फ पुग्छन् । र, केहीछिनका लागि सबैका आँखा शव बोकेको एम्बुलेन्समै अडिन्छन् ।

एम्बुलेन्सको ढोका खुल्छ । शव निकालिन्छ । आफन्तहरू तस्वीरसँग अनुहार मिलाउन थाल्छन् । कसैको खोजी सकिएको छ, कसैको प्रतीक्षा फेरि लम्बिएको छ ।

‘विदेशमा भएको भाइलाई के भनौँ ?’

रसुवाको भोटेकोशीमा आएको बाढीपछि १४ जना आफन्त सम्पर्कविहीन भएपछि चितवन टाँडी बस्दै आएकी यमन बानु परिवारका सदस्यको शव खोज्दै भरतपुर आइपुगेकी छिन् ।

भरतपुरमा आफन्त खोज्दै बसेकाहरूका लागि समय पनि पीडा जस्तै बनेको छ । घडीको प्रत्येक टिक–टिकसँग उनीहरूको बेचैनी बढिरहेको छ । आँखा सडकतिर छन् । कान एम्बुलेन्सको साइरनतिर ।

मोबाइलमा आफन्तको तस्वीर देखाइरहेकी यमनका आँखा रसाएका छन् । ‘विदेशमा भएको भाइलाई के भनौँ ? घर र माइतीतिरका सबैलाई बगाएर लग्यो,’ उनी भन्छिन् ।

बिहानैदेखि उनी भरतपुरका अस्पताल र शवगृह धाइरहेकी छिन् । कतैबाट आफन्तको खबर नआएपछि अन्ततः शव पहिचान केन्द्रमा आएर आफ्नै मान्छेको अनुहार खोज्न बाध्य भएकी छिन् ।

उनको हातमा रहेको मोबाइलको स्क्रिनमा भने अझै जीवन्त अनुहार छ । त्यही तस्वीर हेर्दै उनी एउटा आशा बोकेर बसिरहेकी छिन्– सायद यो अनुहार शवमा होइन, कुनै दिन आफ्नै अगाडि जीवित देख्न पाइएला ।

एउटा गाउँका ३५ जना बेपत्ता

गोरखा पालुङटारबाट गोसाइँकुण्ड नुहाउन गएका आफन्तहरू पनि चितवन आइपुगेका छन् । दिदीको खोजीमा आएका हरि बानियाँ टोलाएर बसिरहेका थिए । एक्कासि एम्बुलेन्सको साइरन सुनियो । उनी बसेको ठाउँबाट जुरुक्क उठे र एम्बुलेन्स भएतिर पुगे । तर त्यहाँ पनि दिदीको अत्तोपत्तो भएन ।

अब उनीसँग बाँकी छ– अर्को एम्बुलेन्स कुर्नु । अस्पतालमा खोज्दा पनि केही पत्ता नलागेपछि उनीसहितका आफन्तहरू नयाँ शव बोकेर आउने प्रत्येक एम्बुलेन्स कुरेर बसिरहेका छन् ।

हरिका अनुसार एउटै गाउँबाट गोसाइँकुण्ड गएका ३९ जना अझै सम्पर्कविहीन छन् । आफन्तहरू बेपत्ता भएपछि गाउँ नै शोकमा डुबेको छ ।

‘बोर्डरमा आएको छु’ भनेका भाइ त्यसपछि सम्पर्कविहीन

चन्द्र लामाको पीडा पनि उस्तै छ । बिहान भाइले फोन गरेर ‘बोर्डरमा आएको छु’ भनेका थिए । त्यसपछि सम्पर्क भएन । काकाले भाइको खोजी गर्न यहाँ पठाएपछि चन्द्र भरतपुर आइपुगेका छन् ।

बाढीले बगाएर ल्याएका शवमध्ये कतै आफ्नै भाइ पो छन् कि भन्ने आशंकाले उनलाई शव पहिचान केन्द्रसम्म ल्याएको हो । आफन्त भेटिने आशा र शव भेटिने डरबीच उनको प्रतीक्षा चलिरहेको छ ।

शव राख्ने ठाउँ नपुगेपछि छुट्टै पहिचान केन्द्र

रसुवाबाट बाढीले बगाएर चितवन ल्याएका शवको संख्या बढ्दै गएपछि भरतपुरमा छुट्टै शव पहिचान तथा संरक्षण केन्द्र निर्माण गरिएको छ । भरतपुर महानगरपालिका–१० स्थित औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनमा तयार गरिएको केन्द्रमा करिब २५० वटासम्म शव राख्न सकिने व्यवस्था गरिएको छ ।

भरतपुर अस्पताल तथा अन्य अस्पतालका शवगृहमा ५० वटा मात्रै राख्ने क्षमता भएकाले थप शव व्यवस्थापनका लागि यो केन्द्र तयार गरिएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार तत्कालका लागि तापक्रम मिलाएर शव संरक्षण गर्ने व्यवस्था गरिएको छ । बाढी प्रभावितका आफन्तलाई खाना तथा बसोबासको व्यवस्थासमेत मिलाइएको उनले बताए ।

दिनभर एम्बुलेन्सहरू आउँछन् । शव ल्याउँछन् । आफन्तहरू दौडिन्छन् । फेरि अर्को साइरन सुनिन्छ । फेरि उही अनुहारहरू एम्बुलेन्सतर्फ दौडिन्छन् ।

शव खोजी तथा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगर प्रहरी परिचालन गरिएको छ ।

तस्वीर हेरेर आफन्त खोज्दै

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलका अनुसार संकलन भएका शवलाई सुरक्षित राख्नुका साथै पहिचानको कामलाई सहज बनाउन विशेष व्यवस्था गरिएको छ ।

उनले भने, ‘आएका शवलाई सफा गरी ड्राइ आइसमा राखिने छ । शवको फोटो खिचेर बोर्डमा डिस्प्ले गर्ने तयारीसमेत गरिएको छ । आफन्तले सहज रूपमा सम्पर्क गर्न सकुन् भनेर छुट्टै सम्पर्क कक्षसमेत बनाइएको छ ।’

आफन्तहरू शवगृहमा पुगेर प्रत्येक शव खोल्दै हेर्नुपर्ने अवस्थालाई केही व्यवस्थित बनाउने प्रयास गरिएको उनको भनाइ छ ।

तर, मोबाइलको तस्वीर गरेर पहिचान गर्न भने गाह्रो भएको उनले बताए । किनकि, तस्वीरमा मुस्कुराइरहेका आफन्तको अनुहारसँग शवमा देखिएको अनुहार मिलाउनु आफैंमा कठोर क्षण भएको उनको भनाइ छ ।

२५ एम्बुलेन्स निरन्तर परिचालन

शव व्यवस्थापनमा एम्बुलेन्स चालकहरू पनि निरन्तर खटिएका छन् । नेपाल एम्बुलेन्स चालक संघका अध्यक्ष नवराज लामिछानेका अनुसार अहिले २५ वटा एम्बुलेन्स शव ओसारपसारका लागि तयारी अवस्थामा छन् । शवलाई निःशुल्क रूपमा अस्पताल तथा शव पहिचान केन्द्रसम्म ल्याउने काम भइरहेको उनले बताए ।

दिनभर एम्बुलेन्सहरू आउँछन् । शव ल्याउँछन् । आफन्तहरू दौडिन्छन् । फेरि अर्को साइरन सुनिन्छ । फेरि उही अनुहारहरू एम्बुलेन्सतर्फ दौडिन्छन् । कोही आफ्नो मान्छे जीवित भेटिने आशामा छन् । कोही कम्तीमा अन्तिम पटक अनुहार हेर्न पाए हुन्थ्यो भन्नेमा छन् । सबैको प्रतीक्षा एउटै ठाउँमा आएर रोकिएको छ– भरतपुरको यो शव पहिचान केन्द्रमा ।

अहिलेसम्म चितवनमा १३० भन्दा बढी शव संकलन भइसकेको छ । बाढीले घर, परिवार र सम्पत्ति मात्रै बगाएको छैन । सयौँ परिवारको हाँसो, सपना र भविष्य पनि बगाएको छ ।

अहिले भरतपुरमा आफन्त खोज्दै बसेकाहरूका लागि समय पनि पीडा जस्तै बनेको छ । घडीको प्रत्येक टिक–टिकसँग उनीहरूको बेचैनी बढिरहेको छ । आँखा सडकतिर छन् । कान एम्बुलेन्सको साइरनतिर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?