News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी नदीमा बाढीपछि उत्पन्न असहज परिस्थितिका कारण अमेरिकी दूतावासले जेसिका लिनको शनिबार हुने काठमाडौं कन्सर्ट स्थगित गरेको जनाएको छ।
- जेसिका लिन यस साताभित्र नेपाली संगीतकर्मीसँग पेशागत विषय, सीप र प्रतिलिपि अधिकारबारेका सत्रमा सहभागी भएकी थिइन्।
- गौशालास्थित म्युजिक स्कुलमा उनले विद्यार्थीसँग अमेरिकी अनुभव सुनाउँदै प्रतिलिपि अधिकारबारे सुस्पष्ट भएर निर्माता र रेकर्डिङ स्टुडियोसँग सहमति गर्न आग्रह गरिन्।
काठमाडौं । जनधनको क्षति हुने गरि भोटेकोशी नदीमा आएको बाढीपछिको असहज परिस्थितीलाई कारण देखाउँदै अमेरिकी दूतावासले जेसिका लिनको प्रतीक्षित काठमाडौं कन्सर्ट स्थगित गरिएको जनाएको छ ।
दूतावासले विज्ञप्ति जारी गर्दै उक्त प्राकृतिक विपत्तिलाई ध्यानमा राख्दै शनिबार द प्लाजा पुल्चोकमा हुने कन्सर्ट रोकिएको जनाएको हो । चर्चित अमेरिकी कन्ट्री तथा रक गायिका लिन दूतावासको आर्टस् एन्ड म्युजिक अन्भोइ कार्यक्रम अन्तर्गत नेपाल भ्रमणमा छिन् ।
कला राजदूतको रुपमा दूतावासले उनलाई नेपाल ल्याएको हो । अमेरिकी विदेश मन्त्रालयको शैक्षिक तथा सांस्कृतिक मामिला ब्यूरोले वर्षेनी यस्तो कार्यक्रम आयोजना गर्छ ।

यस साताभित्र गायिका लिन नेपाली संगीतकर्मीसँग पेशागत विषयवस्तु र सीपबारेको अन्तक्रिया, प्रतिलिपि अधिकारबारेको छलफल लगायतका सत्रमा सहभागि रहिन् । बुधबार मात्र उनले गौशालास्थित म्युजिक स्कुलमा विद्यार्थीसँग संगीतको प्रतिलिपि अधिकारबारे अमेरिकी अनुभव सुनाएकी थिइन् ।
साथै, प्रतिलिपि अधिकार कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने बारेमा नेपाली संगीतकर्मीलाई उनले सुझाव पनि दिएकी थिइन् । सो क्रममा उनले दीर्घकालिन भविष्य हेरेर संगीतमा साझेदारी निर्माण गर्नुपर्ने बताइन् ।
उनले प्रतिलिपि अधिकारको विषयमा सुस्पष्ट भएर मात्र निर्माता, रेकर्डिङ स्टुडियो लगायतसँग सहमति गर्न आग्रह गरिन् । ‘जसले सम्झौता गर्न आनकानी गर्छ, ऊ राम्रो साझेदार बन्न सक्छ । उसको नियत सहि हुँदैन’ उनको सुझाव थियो, ‘भविष्यमा आइपर्ने समस्यालाई हेरेर भएपनि प्रतिलिपि अधिकारबारे निश्चित हुनुपर्छ ।’
उनले अमेरिकी संगीत उद्योगमा संगीत कम्पोज गर्ने चरण, मास्टर रेकर्डिङ र पर्फमेन्सजस्ता तीन चरणमा प्रतिलिपि अधिकार आकर्षित गर्ने नियम रहेको कुरा सुनाइन् । उनले आफूलाई कपिराइटको बारेमा सुसूचित गर्नुपर्ने बताइन् ।
सो अवसरमा उनीसँगै आएका अन्य अमेरिकी प्रतिनिधि र संगीत कानूनी पक्ष हेर्दै आएका नेपाली कानून व्यवसायीले पनि प्रतिलिपि अधिकारबारे चर्चा गरेका थिए ।
प्रतिक्रिया 4