+
+
Shares
स्थलगत :

हेलिसँगै ब्युँतिन्छ आफन्त फर्कने आश

‘हेलिकप्टर दुई-दुई मिनेटमा आइरहन्छ, तर आफ्नो मान्छे आउँदैन,’ तिमिल्सिनाले आँखा रसाउँदै भने, ‘यो उमेरमा आएर यस्तो के देख्नुपर्‍यो !’

कौशल काफ्ले कौशल काफ्ले
२०८३ भदौ ११ गते १६:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको बाढीपछि नुवाकोटको बट्टारस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा हेलिकप्टरबाट ल्याइएका घाइते र उद्धार विवरण कुर्दै आफन्तहरू दिनभरि भिडिरहेका छन् ।
  • त्रिशूली हाइड्रोमा काम गर्ने श्रीमान सम्पर्कविहीन भएपछि सविता अधिकारीले सेना र मालिकसँग भेटेर सुरुङभित्रको अवस्थाबारे जानकारी लिन आग्रह गरिन् ।
  • रसुवा बाढीमा अलपत्र परेका आफन्त र विद्यार्थी खोज्दै नुवाकोटका धेरै स्थानीय बट्टारमा जम्मा भएका छन्, जहाँ स्कुले विद्यार्थी पनि घर फर्किन नसकेर अड्किएका छन् ।

११ भदौं, बट्टार (नुवाकोट) । श्री नं. १ सैन्य तालिम केन्द्रको सडकका दुवै किनारमा मानिसहरूको निकै ठूलो भिड छ । सैन्य तालिम केन्द्रतर्फ लम्किरहेका आखाँले बाढीमा बेपत्ता आफन्त खोजिरहेको बुझ्न गार्‍हो छैन ।

जसै माथि रसुवातर्फबाट उद्दार गरेर ल्याएको हेलिकप्टर आउँछ, भिड सैन्य तालिम केन्द्रतिर सोहोरिन्छ । आफन्त आएको कुनै छनक नपाए पछि पुन: उनीहरू सडक किनारमा छरिन्छन् । बिहीबार बिहानदेखि नुवाकोटको बट्टार बजारमा रहेको सैन्य तालिम वरपरको दृश्य यस्तै छ ।

यहीँ छिन्, सविता अधिकारी । त्रिशूली हाइड्रोमा काम गर्ने श्रीमान बाढी आएपछि सम्पर्कमा छैनन् । त्यसअघिसम्म नियमित सम्पर्कमा रहेका उनी बाढीसँगै कतै बेपत्ता भए कि कतै भागेर अलपत्र छन् कुनै ठेगान छैन ।

तैपनि अधिकारीको आशा मरेको छैन । उनी सैन्य तालिम केन्द्र वरपर आएकासँग अनेक जिज्ञासा राखिरहेकी छन् । आफन्तले त्यसमा सहजीकरण गरिरहेका छन् ।

जब हेलिकप्टर आउँछ, उनी हतारिँदै सैन्य तालिम केन्द्रतर्फ आँखा लम्काइहाल्छिन् । मान्छेहरू ओर्लेर नभ्याउन्जेल उनी दायाँ बायाँ गर्दिनन् ।

तर, हेलिकप्टरबाट मान्छेमात्र झरिरहेका छैनन् । कतिलाई स्ट्रेचरको सहयोगमा झारिन्छ भने कति पोका पारेर ल्याइएका जस्ता भेटिन्छन् । ‘मान्छेको टाउको मात्र ल्यायो जस्तो छ,’ भिडमा मान्छेहरू अनेक अन्दाज गर्छन् ।

हेलिकप्टरलाई हेर्दै श्रीमान कुरिरहेकी अधिकारी यसरी पटकपटक निराश हुन्छिन् । उनका आँखा रसाएका स्पष्ट देख्न सकिन्छ । ‘खै, के पो भयो होला ?,’ फेरि पहिले बसिरहेकै ठाउँमा फर्किन्छिन् ।

तर, पनि अधिकारीको आश मरेको छैन । उनले सुनेअनुसार- ‘त्रिशूली हाइड्रोमा रहेका कर्मचारी टनेलभित्र छिरेका छन् रे । सेना उद्दारको लागि त्यहाँ पुगिसकेको छ रे ।’

यसरी अधिकारीले सुनेका हल्ला बताइरहँदा त्यहीँ आएका अन्यले पनि थप्छन्, ‘बिहान सेना सबै उपकरण लिएर पुगेको छ रे ! हामीले पनि सुनेको ।’

यस्ता कुराले फेरि अधिकारीमा आशा जन्माउँछ । सगसगै चिन्ता उत्तिकै छ, ‘कतै निसास्सिए पो सक्यो कि ?’

किनकी उनलाई यसअघि त्यहाँ काम गर्ने श्रीमानले सुरुङभित्रका दृश्य भिडियोकल मार्फत देखाउँथे । त्यो बेला देखाउँदै उकुसमुकुस लाग्ने सुरुङ अब लेदोले पुरिएको छ भन्ने सुन्दा उनको मन कम्ती बेचैन छैन ।

सैन्य तालिमभित्र छट्पटाउदै बसेकी अधिकारीले एकाएक सुन्छिन् – उक्त हाइड्रोका मालिक पनि त्यहाँ भित्रै आएको छन् रे ।

सुन्नासाथ उनी सैन्य तालिम केन्द्रको गेटमा पुग्छिन् । मालिकलाई भेट्न पाउनुपर्‍यो भन्दै गेटमा रहेका सेनासँग याचना गर्छिन् । ‘मलाई बुझ्न मन छ । त्यहाँ कस्तो छ जान्न मन छ । प्लिज, मलाई भेट्न दिनु,’ रुँदै सेनासँग याचना गरेपछि उनीसहित एक आफन्तलाई भित्र छिराइन्छ ।

उनले भनिन्, ‘त्यो सुरुङभित्रै लुकेर बस्दा सम्पर्कमा आउन नसकेको पो होकि ! छिट्टै सेनाले उद्दार गरोस् भगवान ।’

०००

एउटा पुरानो झोला भिरेर नुवाकोटको बट्टार बजारमा यताउता छट्पटिरहेका भेटिन्छन्, ७४ वर्षीय पदम बहादुर कँडेल । उनका आँखा निरन्तर रसाइरहेका छन् । घरी हिँड्दाहिँड्दै रोकिन्छन्, सैन्य तालिमतिर हेर्छन्, घरी छिटोछिटो बाटो तताए झैँ देखिन्छन् । बेचैनी उनको हाउभाउले स्पष्ट देखाउँछ ।

कँडेलका जेठी सासुका छोरा खलप्रसाद तिमिल्सिना रसुवा बाढीमा अलपत्र छन् । कतै सेनाको हेलिकप्टरले खोजेर ल्याइ पो हाल्छ कि भन्दै नुवाकोटकै नहर दह गाउँदेखि उनी बट्टार बजार झरेका छन् ।

‘हेलिकप्टर दुई-दुई मिनेटमा आइरहन्छ, तर आफ्नो मान्छे आउँदैन,’ तिमिल्सिनाले आँखा रसाउँदै भने, ‘यो उमेरमा आएर यस्तो के देख्नुपर्यो बाबू !’

त्यसपछि उनी बोल्न सकेनन् । अगाडितर्फ रहेका दुईजनासँग कुरा गर्न सङ्केत गरे । उनीहरू मृतकका मामा रहेछन् । मामा बासुदेव रिजाल चाहिँ नुवाकोटकै तादीबाट आएका रहेछन् । मृतक भान्जा सूर्यगढी-५ का हुन् ।

मामा रिजालका अनुसार, भान्जा गोसाइकुन्ड ट्रेकिङमा हिँडेका थिए । त्यसको लागि आधाबाटोसम्म बसमै जाने योजनामा हिँडिरहेका थिए । उक्त बसमा करिब एघारजना साथी थिए ।

एकाएक बेत्रावतीतिर पुग्दा बसलाई रसुवा बाढीले छोप्यो, भान्जासहित अर्का एकजना साथी बसबाट एउटा घरको छतमा चड्न भ्याए । लगत्तै, घरमा फोन गरेर ‘यदी घर ढले आफुहरू नबाँच्ने’ कुरा सुनाएको दाबी रिजालले गरे ।

‘हतारहतार कल गर्न भ्यायो । घर रहे म बाँच्छु, नत्र मर्छु भन्थ्यो । एकैछिनमा बाढीले लगेछ क्यारे,’ उनले भने, ‘अब भेटिन्छ कि, लास नै भए पनि हेर्न पाइन्छ कि भनेर यहाँ आएर हिजो नै सेना/प्रहरीलाई जनकारी गरायौं ।’

‘तर, अब न आश, न सास । केहीको पनि आशा मरिसक्यो,’ रिजालका गला अवरुद्द हुन्छन् ।

यसरी नुवाकोटको बट्टार बजारमा आफन्त खोज्न आउनेहरू धेरै छन् । कोही रोइरहेका छन् भने कोही हारगुहार गरिरहेका छन् ।

अधिकांश पीडितको साहारास्थल बनिरहेको बट्टार बजार आफैं पनि बाढीबाट प्रभावित बनेको छ ।

यहाँ पनि वारि र पारीका मान्छे एकअर्काका गाउँमा अलपत्र छन् । अझ स्कुले विद्यार्थीको मनोविज्ञानमा ठूलो असर देखिन्छ । जस्तो, नुवाकोटकै पन्चलिङ्गे माविका एक हुल विद्यार्थी सैन्य तालिम केन्द्रबाट निकालिदा निकै बिचलित देखिए ।

विद्यार्थीहरूका अनुसार हिजो उनीहरू फुटसल खेल्न वारि विदुरतर्फ आएका थिए । बाढी पछि उनीहरू यतै थुनिए । बेलुका घर जान सकेनन् । कतिपय वारीका विद्यार्थी पारी, पारीका विद्यार्थी वारी अल्झिएका छन् ।

यी विद्यार्थीलाई सेनाको हेलिकप्टरले वारीपारी गराउने प्रयास गरेको छ । यसकै लागि विद्यार्थीहरूलाई सेनाले तालिम केन्द्रबाट निकालेको देखिन्छ ।

‘हिजो गेम थियो । हामी यता आयौं । घरमा आत्तिइसक्नुभयो होला । धन्नले बाँचियो । अब घर कहिले पुगौं भएको छ,’ एक विद्यार्थीले हतासिएको स्वरमा भने, ‘सेनाले हेलिकप्टरमा लग्छु भनेको छ, अब त घर पुगिन्छ कि ।’

       

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?