News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशीको बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा नेपाल टेलिकमका ६० र एनसेलका २७ टावर प्रभावित हुँदा फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ।
- नेपाल टेलिकमले रसुवामा न्यौपानेचौर र राम्चे रिपिटर साइटमा हेलिकोप्टरबाट जेनेरेटर र ब्याट्री पठाई सेवा पुनः सञ्चालन गरिरहेको छ।
- एनसेलले प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरेको र बिहीबार साँझसम्म धेरैजसो स्थानको टेलिफोन तथा इन्टरनेट सेवा सुचारु हुने जनाएको छ।
११ भदौ, काठमाडौं । भोटेकोशीमा बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका विभिन्न स्थानमा फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम (एनटीसी) र एनसेलका कुल ८७ वटा टावरले काम नगर्दा सेवा प्रभावित भएको हो । ती जिल्लामा नेपाल टेलिकमका ६० वटा टावरले काम गरेका छैनन् । त्यसैगरी एनसेलका २७ वटा टावर बाढीका कारण प्रभावित भएका छन् ।
जसले गर्दा रसुवा, नुवाकोट र धादिङ जिल्लाका केही स्थानमा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ । यी जिल्लाका विभिन्न क्षेत्रमा टेलिकमका टावरहहरूमा बाढीले क्षति पुर्याएको र विद्युत् आपूर्ति समेत अरुद्ध भएपछि टेलिफोनसँगै इन्टरनेट सेवा पनि प्रभावित भएको छ ।
बाढीलगत्तै नेपाल टेलिकमको हकमा १५२ वटा टावरले काम नगरेको भएपनि अधिकांशको मर्मत पछि सुचारु भएको प्रवक्ता डा. कमल लामिछानेले बताए । ‘हाल सेवा प्रभावित भएका टावर ६० रहेका छन्,’ उनले भने, ‘ती टावरको पनि मर्मत सक्दो छिटो गर्नेगरी काम अघि बढेको छ, त्यसका लागि प्राविधिक टोली परिचालन भइसकेको छ ।’
नेपाल टेलिकमले रसुवा जिल्लामा सेवा सञ्चालन गर्नको लागि न्यौपानेचौर र राम्चे रिपिटर साइटमा हेलिकोप्टरबाट जेनेरेटर, ब्याट्री लगायतका उपकरण पठाएको उनले जानकारी दिए ।
त्यस आसपासका केस्पाङ (काउले), ठूलेगाउँ, तादी, फिकुरी, कालिकास्थान, ग्राङ, डाँडागाउँ, मैलुङ, पाङसाङ डाँडा, लाङटाङ, क्याङ्जिन लगायतका क्षेत्रमा सेवा सुचारू गरिएको उनले बताए । धुन्चेमा सेवा सञ्चालनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको लामिछानेले बताए।
उनका अनुसार नुवाकोट जिल्ला अन्तर्गतको मदनपुर, बट्टार, बिदुर बसपार्क तथा धादिङ जिल्ला अन्तर्गत बैरेनी ठमेल डाँडामा जेनेरेटर, इन्धन सहित कर्मचारी परिचालन गरी सेवा पुनः सञ्चालन हुने क्रममा छ । प्रभावित क्षेत्रका मुख्य प्राथमिकताप्राप्त साइट अनवरत रुपमा सञ्चालनमा ल्याउनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारी पठाइएको उनले बताए ।
साथै, हाल सञ्चालना रहेका बीटीएसमा कभरेज र क्षमता विकास गरी प्रभावकारी रुपमा सेवा सञ्चालन गर्ने कार्य भइरहेको उनले जानकारी दिए । लामाछिानेका अनुसार चितवनका ५ मध्ये ३, धादिङका ३६ मध्ये १३, नुवाकोटका ७९ मध्ये ३१ र रसुवाका ३२ मध्ये १३ साइट प्रभावित भएका थिए ।
३ जिल्ला विभिन्न २७ टावर तथा धेरै ठाउँमा फाइबर कनेक्सन टुटेका कारण सेवा अवरुद्ध भएको एनसेलले जनाएको छ । सेवा पुनः सञ्चालन गराउनका लागि एनसेलले स्थागत तथा हेलिकप्टर मार्फत प्रविधिक समुहलाई बाढी प्रभावित क्षेत्रमा परिचालन गरिसकेको जनाएको छ । बिहीबार साँझसम्म धेरैजसो स्थानको टेलिफोन र इन्टरनेट सेवा सुचारु हुने एनसेलले जनाएको छ ।
प्रतिक्रिया 4