News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङ र त्रिशूली तटीय क्षेत्रमा व्यापक क्षति पुर्याउँदै सयौँको मृत्यु र धेरैको बेपत्ता भएको छ।
- एफसी बार्सिलोना, एट्लेटिको मड्रिड र अन्य विश्व खेलकुद संस्थाले सामाजिक सञ्जालमार्फत नेपालका बाढीपीडितप्रति सहानुभूति र ऐक्यबद्धता व्यक्त गरेका छन्।
- राजस्थान रोयल्स, चेन्नई सुपर किङ्स, कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादले पनि नेपालमा उद्धार र राहतमा संलग्नप्रति सम्मान र प्रभावितप्रति समर्थन जनाएका छन्।
१२ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले नेपालका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएपछि विश्व खेलकुद समुदायले ऐक्यबद्धता जनाएको छ ।
युरोपका प्रतिष्ठित फुटबल क्लबदेखि भारतका आईपीएल फ्रेन्चाइज र अन्तर्राष्ट्रिय खेल संस्थासम्मले सामाजिक सञ्जाल एक्स र इन्स्टाग्राममार्फत नेपालका प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गरेका हुन् ।
स्पेनिस ला लिगा च्याम्पियन एफसी बार्सिलोनाले आफ्नो आधिकारिक एक्समार्फत उद्धार तथा राहत कार्यमा संलग्न सबैप्रति सम्मान व्यक्त गरेको छ । बार्सिलोनाले कठिन घडीमा नेपाली जनतासँग एकजुट रहेको सन्देश दिएको हो । बार्सिलोना र एथ्लेटिक क्लबबीच गएरातिको खेलअघि मौनधारण समेत गरिएको थियो ।
अर्को स्पेनिस क्लब एट्लेटिको मड्रिडले पनि एक्समार्फत संवेदना व्यक्त गर्दै नेपालका बाढीपीडित परिवारप्रति गहिरो दुःख प्रकट गरेको छ । क्लबले आफ्नो सन्देशमा ‘स्टे स्ट्रङ, नेपाल’ लेख्दै प्रभावित समुदायलाई शक्ति र साहसको कामना गरेको छ ।
भारतका आईपीएल क्लबहरू पनि नेपालप्रति संवेदनशील देखिएका छन् । राजस्थान रोयल्सले एक्स र इन्स्टाग्राम दुवै माध्यमबाट सहानुभूति सन्देश जारी गरेको छ । चेन्नई सुपर किङ्सले पनि जनधनको क्षति भएको कुराले मर्माहत बनाएको भन्दै सहानुभूति सन्देश जारी गरेको छ ।
कोलकाता नाइट राइडर्सले एक्समार्फत नेपालका बाढीपीडित परिवारप्रति संवेदना व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मीलाई सलाम गरेको छ । त्यस्तै सनराइजर्स हैदराबादले पनि प्रभावित नागरिकको सुरक्षाको कामना गर्दै नेपालसँग ऐक्यबद्ध रहेको जनाएको छ ।
फुटबल र क्रिकेट क्लबबाहेक विश्व खेलकुदसँग सम्बन्धित विभिन्न खेलाडी र संस्थाले पनि एक्समार्फत नेपालका लागि प्रार्थना र समर्थनका सन्देश सार्वजनिक गरेका छन् ।
भोटेकोशी बाढीले रसुवा, नुवाकोट, धादिङ र त्रिशूली नदी तटीय क्षेत्रमा व्यापक विनाश निम्त्याएको छ भने सयौँ मानिसको मृत्यु र ठूलो संख्यामा बेपत्ता भएको पुष्टि भइसकेको छ।
प्रतिक्रिया 4