News Summary
Generated by OK AI. Editorially reviewed.- किङ्समेनसँग ३१ रनले पराजित भएपछि नेपाल टप एन्ड टी-२० सिरिजको सेमिफाइनल होडबाट बाहिरिएको छ ।
- १९८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १६६ रनमा अलआउट भयो, जहाँ कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए ।
- नेपालले अब बाँकी एक खेल जिते पनि ६ अंक मात्र हुने भएकाले शीर्ष ४ टोलीको ८ अंक पुग्ने समीकरण बनेको छ ।
११ भदौ, काठमाडौं । टप एन्ड टी-२० सिरिजमा नेपालले तेस्रो हार बेहोरेसँगै सेमिफाइनल होडबाट बाहिरिएको छ । बिहीबार भएको खेलमा नेपाल किङ्समेनको टोलीसँग ३१ रनले पराजित भएको हो ।
किङ्समेनले दिएको १९८ रनको बलियो लक्ष्य पछ्याएको नेपालको ए टोली १९.२ ओभरमा १६६ रनमा अलआउट भयो । कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।
लोकेश बम र अनिल साहले समान ११ रन बनाए । बिपिन खत्रीले १० रन बनाए ।
किङ्समेनका लागि स्कट कुगेलेइन र उसामा मिरले ३-३ विकेट लिए । अली शेखले २ विकेट लिँदा उमेर खान र हमाद आजमले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको किङ्समेनले २० ओभरमा ५ विकेट गुमाएर १९७ रन बनाएको थियो ।
किङ्समेनका लागि शेहान जयसूर्याले सर्वाधिक ६७ रन बनाए । शयान जहाङ्गिरले २७, हम्माद आजमले २६, मिलिन्द कुमारले २५, तयाब आरिफले २२ रन बनाए ।
नेपालका लागि नारायण जोशीले २ विकेट लिए भने राशिद खान, पवन सर्राफ र कुशल भुर्तेलले १-१ विकेट लिए ।
नेपालले यसअघि चार खेल खेल्दा २ जित र २ हारको नतिजा निकालेको छ । यसपछि नेपालले १ खेल खेल्न बाँकी छ ।
अन्तिम खेलमा नेपाल विजयी भएपनि ६ अंक मात्र हुनेछ र अब शीर्ष ४ टोलीको ८ अंक पुग्ने समिकरण बनिसकेको छ ।
प्रतिक्रिया 4