News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाका २१ वर्षीय सुजल थापा क्षेत्री त्रिवि शिक्षण अस्पतालमा बाढीपछि उपचार गराइरहेका छन् र खोलाले बगाउँदा बाँचेको अनुभव सुनाएका छन्।
- सुजलले बाढीले आमा, दुई भाइ, हजुरआमा र ठूला बुबाको अवस्था थाहा नभएको, घर पनि बगाएको बताए।
- उनले खोलाको किनारमा घर बनाएर बस्न नहुने भन्दै बाढीपीडितलाई सचेत रहन आग्रह गरेका छन्।
११ भदौ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका रसुवाका २१ वर्षीय सुजल थापा क्षेत्रीले आफूले भोगेको भयावह घटना सम्झँदै अरूलाई सुनाएको पहिलो सन्देश यही हो ।
केही दिनअघिसम्म सुजलका लागि घर भनेको थकान बिसाउने सुरक्षित ठाउँ थियो ।
राति करिब २ बजेतिर सुरुङभित्रको ड्युटी सकेर घर फर्किन्थे । घटनाको अघिल्लो रात पनि उनी त्यही गरी घर आए, सुते । बिहान करिब ६ बजेतिर एकपटक ब्युँझिए । फेरि निदाए ।
त्यसपछि उनलाई निद्रामै खोलाले बगायो ।
आँखा खोल्दा आफू सपनामा नभएर खोलाको बीचमा रहेको उनले बल्ल थाहा पाए ।
‘त्यो बेला निद्रा कालले छोपेको जस्तो आयो । सपनामा खोलाले बगायो होला भन्ठानेको त आँखा खोल्दा त म खोलाको बीचमा पो रहेछु,’ सुजलले अस्पतालको शय्याबाट त्यो क्षण सम्झिए ।
चारैतिर पानीको भीषण बहाव थियो । खोलाले उनलाई कहिले यता हुत्याउँथ्यो, कहिले उता । पानीले डुबाउँथ्यो, फेरि सतहमा ल्याउँथ्यो ।
आफू बाँच्ने सम्भावना लगभग सकिएको ठानेका उनले जीवन बचाउन खेतको काल्नो समात्ने प्रयास गरे ।
‘त्यो बारीको खेतको काल्नामा समाउन खोजेको । समाउँदै–समाउँदै बल्ल बल्ल त्यहाँबाट गएँ,’ उनी सुनाउँछन् ।
त्यसपछि के भयो, उनलाई स्पष्ट सम्झना छैन । बेहोस भए कि के भयो, थाहा छैन । होस खुल्दा उनी अर्कै ठाउँमा थिए । उद्धार गरेर उनलाई माथि भिनाजुको घरमा लगेर राखिएको रहेछ ।

शरीरमा चोट, कान र पेटसम्म बालुवा
बाढीले बगाउँदा सुजलको शरीरका विभिन्न भागमा चोट लागेको छ । टाउकोमा चोट छ । शरीरमा घाउ छन् । एउटा हात चलाउन गाह्रो भएको छ । कानभित्र बालुवा पसेको छ ।
बाढीको पानीसँगै शरीरभित्रसम्म पुगेको बालुवाको असरसमेत उनले भोगिरहेका छन् ।
‘हिजो बान्ता गर्दा खेरि बालुवा नै बालुवा निस्क्यो । मुखभरिबाट, पेटबाट,’ उनले भने ।
अहिले उनी त्रिवि शिक्षण अस्पतालको रेड जोनमा उपचार गराइरहेका छन् । शरीरको चोट विस्तारै निको होला, तर मनमा लागेको चोट तत्काल निको हुने अवस्थामा छैन ।
आफू बाँचे, परिवार कहाँ छ थाहा छैन
‘तपाईंलाई बाँचिन्छ जस्तो लागेको थियो ?’ भनेर सोध्दा उनले भने, ‘मलाई त लागेको थिएन नि । म त मरेँ होला भन्ठानेको । कहाँबाट भाग्य रहेछ र बाँचियो ।’
उनका लागि त्यो केही मिनेट जीवन र मृत्युबीचको संघर्ष थियो । एउटा काल्नो समाउने प्रयासले उनलाई किनारसम्म पुग्ने मौका दियो । त्यहीँबाट उनको जीवन जोगियो ।
तर बाँचेर होसमा आएपछि उनले पाएको खबर खुसीको थिएन । शरीरको चोटभन्दा ठूलो पीडा उनको मनमा छ, आफ्ना मान्छेहरू कहाँ छन् भन्ने उनलाई थाहा छैन ।
उनका अनुसार सुजलका बुबा भने गोसाइँकुण्ड गएका कारण घटनाको समयमा घरमा थिएनन् ।
आफू जीवित रहेको उनलाई थाहा छ । तर घरका अरु सदस्य आमा कहाँ छिन्, भाइहरू कहाँ छन्, हजुरआमा र ठूला बुबाको अवस्था के भयो, यी प्रश्नको उत्तर उनीसँग छैन ।
‘हजुरआमा बगायो भन्छन् । दुईटा भाई बगायो भन्छन् । ठूलो बाउ पनि बगायो भन्छन् । ममी बगायो भन्छन् । म त बल्ल–बल्ल बाँचेको,’ उनले भने ।
अस्पतालको शय्यामा उनी उपचार गराइरहेका छन् । मन भने गाउँमै छ । त्यहीँबारे सोच्दा सोच्दा कहाली लागेर आउने उनी भावुक हुँदै सुनाउँछन् ।

सुजलको घर पनि बाढीले बगाएको छ । ब्लकले बनेको घर थियो । माथि जस्तापाता थियो । अहिले घरको नामनिशान छैन ।
उनको साथमा अहिले मोबाइल छैन । लगाउने लुगा छैन । कसैसँग दु:ख बिसाउने आफन्तको खबर सोधपुछ गर्ने सम्पर्क नम्बर छैन । उनका साथीभाई अस्पतालले जारी गरेको सूची हेरेर भेट्न आइरहेका छन् ।
मृत्युको मुखबाट फर्किएपछि सुजल अरूलाई सचेत गराउन चाहन्छन् ।
‘खोलाको किनारमा, खोलाको छेउछाउतिर घर बनाएर चाहिँ बस्न हुँदैन । सानै खोला भए पनि, खोला नै नसुकेको भए पनि, खोला नै नआउने खोला भए पनि खोलाको छेउछाउतिर घर बनाएर बस्न चाहिँ हुँदैन, ’उनी भन्छन्, ‘मैले चेते । कुन भाग्यले म बाँचेको छु मलाई थाहा छैन ।’
अब प्रतीक्षा परिवारको खबरको
सुजल अहिले अस्पतालमा छन् । उपचार भइरहेको छ । शरीरका चोट निको हुँदै जालान् ।
तर उनको मनमा लागेको चोटको उपचार सहज छैन । आमा कहाँ हुनुहुन्छ ?
दुई भाइ कहाँ छन् ? हजुरआमा कहाँ हुनुहुन्छ ? ठूला बुबाको अवस्था के भयो ?
यही पिरलोले उनलाई खाइरहेको छ ।

विदेशमा रहेकी दिदीलाई घटनाको पूरा खबर पुगेको छ कि छैन, उनलाई थाहा छैन । फोन गर्न मोबाइल छैन । सम्पर्क गर्न नम्बर छैन । फर्किएर जाने घर पनि छैन ।
तर आशा बाँकी छ, कुनै दिन आफ्ना मान्छेको खबर आउनेछ ।
सुजल मृत्युबाट फर्किएका छन् । तर उनी फर्किएको संसार पहिलेको जस्तो छैन।
बाढीले उनको घर मात्रै बगाएको छैन । उनको परिवार, सुरक्षित भविष्य र सामान्य जीवनको अनुभूति पनि बगाएको छ ।
अस्पतालको शय्यामा पल्टिएका सुजलका आँखामा आफू बाँचेको आश्चर्यसँगै परिवारको खोजी छ ।
प्रतिक्रिया 4