News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले अस्पतालमा हुने मृत्युको कारण पहिचान र अभिलेखीकरणलाई व्यवस्थित गर्न नयाँ कार्यविधि २०८२ लागू गरेको छ।
- अस्पतालमा मृत्यु भएका व्यक्तिको विवरण र चिकित्सकीय कारण अब डिजिटल प्रणालीमार्फत एकीकृत रूपमा अभिलेख गरिनेछ।
- स्वास्थ्य मन्त्रालयले आईसीडी–११ को मापदण्डअनुसार मृत्युको विवरण संकलन गर्न संघ, प्रदेश र स्थानीय तहका अस्पताललाई निर्देशन दिएको छ।
२९ साउन, काठमाडौं । अस्पतालमा हुने मृत्युको कारण पहिचानदेखि अभिलेखीकरण र सूचना प्रवाहसम्मको प्रक्रियालाई व्यवस्थित गर्न सरकारले नयाँ प्रणाली लागू गर्ने भएको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि, २०८२’ जारी गर्दै अस्पतालमा हुने मृत्युको विवरण र चिकित्सकीय कारणलाई एकीकृत रूपमा डिजिटल अभिलेखमा राख्ने व्यवस्था गरेको हो ।
कार्यविधि अनुसार अस्पतालमा उपचारका क्रममा मृत्यु भएका, अस्पतालमा मृत अवस्थामा ल्याइएका वा दुर्घटना, प्राकृतिक विपद् तथा अन्य कारणले मृत्यु भएका व्यक्तिको मृत्युको कारण पहिचान गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार अभिलेखीकरण गरिनेछ ।
कार्यविधिले अस्पतालमा मृत्यु भएका व्यक्तिको विवरण तोकिएको ढाँचामा अनिवार्य रूपमा अभिलेख गर्नुपर्ने व्यवस्था गरेको छ । मृत्युको विवरण संकलन गर्ने जिम्मेवारी चिकित्सकको परामर्शमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी वा मेडिकल रेकर्डरलाई दिइएको छ ।
नयाँ प्रणालीमा मृत्युको चिकित्सकीय कारणसमेत स्पष्ट रूपमा खुलाउनुपर्नेछ । मृतकको अन्तिम रोग वा अवस्था मात्रै नभई मृत्यु हुनुअघि देखिएको अवस्था, अन्तर्निहित रोग र अन्तिम अर्थात् तत्कालीन कारणसम्मको विवरण समेट्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
त्यसका लागि आईसीडी–११ को मृत्यु संकेत निर्धारणसम्बन्धी नियमका आधारमा कारण उल्लेख गर्नुपर्नेछ ।
अस्पतालमा मृत्यु भएको वा अन्यत्र मृत्यु भई अस्पतालमा मृत घोषणा गरिएको अवस्थामा भएको भए त्यसको विवरण तथा मिति र समयसमेत अभिलेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।
मृतकको व्यक्तिगत विवरण र ठेगाना पनि स्पष्ट रूपमा राख्नुपर्नेछ ।
त्यस्तै, मृत्युको प्रकृतिसमेत अभिलेख गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । प्रजनन उमेरका महिलाको मृत्यु भएमा मातृ मृत्यु हो वा होइन भन्ने यकिन गरी सम्बन्धित विवरणमा चिन्ह लगाउनुपर्ने व्यवस्था गरिएको छ ।
मन्त्रालयले स्थापना गर्ने विद्युतीय मृत्यु अभिलेख व्यवस्थापन प्रणाली संघ, प्रदेश र स्थानीय तहका अस्पतालमा लागू गरिनेछ ।
प्रतिक्रिया 4