News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा बिरामीको उपचारका क्रममा मृत्यु भएमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट तथा अस्पताल तोडफोड गर्ने घटनाहरू बढ्दो अवस्थामा छन्।
- तथ्याङ्कअनुसार नेपालमा प्रत्येक वर्ष १०० भन्दा बढी स्वास्थ्यकर्मीमाथि लापरबाहीको आरोप लगाउँदै हिंस्रक आक्रमणका घटना भइरहेका छन्।
- चिकित्सक तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयन र सुरक्षित कार्यस्थलको सुनिश्चितता गर्न राज्यले ठोस कदम चाल्नुपर्ने देखिन्छ।
मध्यरातको समय छ, अस्पतालको आकस्मिक कक्षमा एक चिकित्सक विगत १२ घण्टादेखि लगातार बिरामीको उपचारमा व्यस्त छन् । बाहिर आफन्तहरू चिन्ताले छटपटाइरहेका देखिन्छन, चिकित्सक र स्वास्थ्यकर्मीले आफ्नो सम्पूर्ण ज्ञान, सीप र प्रयास लगाउँदा धेरै बिरामी निको भइरहेका छन् । कुनै एक बिरामी सिकिस्त अवस्थामा ल्याइएको हुन्छ । बिरामीको अवस्था झन जटिल बन्छ र मृत्यु हुन्छ ।
सोही अस्वस्थाको बारेमा जानकारी दिँदै गर्दा पीडा, आक्रोश र निराशाको अवस्थामा रहेका केही व्यक्तिको रिस उपचार प्रक्रियाको वास्तविकताभन्दा चिकित्सकप्रति लक्षित हुन्छ । केही बेरमै गालीगलौज, हातपात र तोडफोड सुरु हुन्छ । जीवन बचाउन खटिएकाहरूलाई आफ्नै ज्यानको सुरक्षा गर्न कठिन हुने अवस्था आउँछ ।
यस्तो दृश्य हाम्रा अस्पतालहरूमा बेला–बेला दोहोरिरहने यथार्थ हो ।
नेपालको चिकित्सा क्षेत्रमा एउटा डरलाग्दो मानसिकता बनेको छ– अस्पतालमा आउने बिरामी वा सेवाग्राहीहरुको उपचार तथा सेवाका क्रममा हुने हरेक मृत्युलाई लापरबाहीको संज्ञा दिइन्छ । यो एउटा भयानक हिंस्रक मानसिकता हो ।
सामान्यदेखि जटिल रोगबाट ग्रसित कुनै पनि बिरामीको अवस्थालाई सामान्य भाषामा भन्ने हो भने बिरामीको शरीरको कुनै प्रणालीमा खलल पुगेको भनिन्छ । सोही अवस्थामा छोडिदिए त्यसका जटिलताहरू देखिँदै जाने र अन्तिम जटिलता भनेको मृत्यु नै हो ।
अझै बुझ्ने भाषामा भन्दारोगबाट ग्रसित कुनै पनि व्यक्ति सोही अवस्थामा छोडिदिए मर्ने निश्चित छ भन्ने बुझ्नु पर्छ । यो भनाइ आफैं ठिक हुने केही रोगहरूमा भने लागू हुदैन । सबै रोगको जटिलता देखिने र मृत्युसम्म पुग्ने समय भने फरक–फरक हुन्छ । कुनै रोगको उपचार केही सेकेन्ड ढिलो भए मृत्यु हुन सक्छ । केही रोगको केही दिन, हप्ता, महिना र वर्ष पछि मात्रै जटिलता देखिन सक्छ ।
यही जटिलता नदेखिओस र मृत्यु नहोस् भनेर प्रयासमा हुन्छन् चिकित्सक तथा स्वास्थ्यकर्मी ।
नेपालमा एक वर्षमा १०० बढी चिकित्सक, स्वास्थ्यकर्मी माथि लापरबाहीको आरोपमा कुटपिट हुने गरेको तथ्यांकले देखाएको छ । बिरामी बचाउन खटिने व्यक्तिमाथि आक्रमण हुनु, अस्पतालहरू तोडफोड हुनु निकै दु:खद् हो । अझै गालीगलौज, अपमान र मानहानी त कति हो कति ।
यस्तो प्रवृत्तिलाई निरन्तरता दिने हो भने ज्यान जोखिममा पारेर कुन चिकित्सक र स्वास्थ्यकर्मीले उचित सेवा देलान र ? यो बुझ्न जरुरी छ कि यसको प्रत्यक्ष असर फेरि बिरामीहरूलाई नै पर्छ ।
एउटा स्वास्थ्यकर्मीले वर्षौंको मेहनत गरेर र लाखौं लगानी गरेर पढेको हुन्छ । आफ्नो पुरै जीवन सोही सेवामा समर्पित हुन्छु भनेर सपथ लिएको हुन्छ । आफूले उपचार गरेको बिरामी निको नहोस् भन्ने चाहना कसलाई हुँदैन होला र ?
केही घटनाक्रममा चिकित्सकऽ स्वास्थ्यकर्मीहरूबाट त्रुटि हुने, दक्षतामा प्रश्न उठाउने ठाउँ पक्कै हुन्छन् तर त्यसको पनि त कानुनी बाटो छ । नियमन गर्ने र कारबाही गर्ने निकायहरू छन र गल्ती प्रमाणित भए कारबाही भइरहेको पनि छ ।
के नेपालको संबैधानिक निकाय, न्यायालयप्रति जनताको विश्वास गुमिरहेको छ ? जस्ले गर्दा सिधै आक्रमणमा उत्रिने जस्ता घटना बढिरहेका छन् । चिकित्सक पनि यही समाजका मानिस हुन् । उनीहरूको पनि आफ्नो परिवार छ । उनीहरूले सम्मानका साथ भयरहित वातावरणमा बाच्न र काम गर्न पाउनुपर्छ ।
किन बढिरहेका छन् त यस्ता घटना ?
यस्ता कुटपिटका घटनाहरु बढ्नुका कारणहरु यी हुन सक्छन्
१.बिरामीलाई अस्पताल पुर्याउन ढिलो हुनु, जसको दोष चिकित्सक, स्वास्थ्यकर्मीमाथि थोपरिन्छ ।
२.अस्पताल भनेको डाक्टर मात्रै हुन भन्ने मानसिकता हुनु ।
३.अस्पतालमा चिकित्सकिय उपचारको निम्ति आवश्यक पर्ने अन्य सेवाहरु जसमा फार्मासिस्ट, नर्सिङ सेवा, प्रयोगशालाकर्मी, रेडियोग्राफी, प्रशासन, कार्यलय प्रमुख, विकास समिति लगायतका निर्णय र सेवाहरुमा कमजोरी भए पनि त्यसको दोष चिकित्सकलाई नै दिने प्रवृत्ति रहनु ।
४.सोसल मिडियाहरू मार्फत भ्रम सिर्जना गर्नु र भयको वातावरण बनाउनु ।
५.चिकित्सकहरूलाई राजनीतिक व्यक्तिहरूबाट दबाब सिर्जना गरिनु ।
६.ड्युटी अवधि अत्याधिक हुनु ।
७.पेशागत सम्मान र पारिश्रमिक उचित नहुनु, जसले गर्दा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्राइभेट क्लिनिक, अस्पतालहरुमा आबद्ध हुनुपर्ने बाध्यता र कामभार वहन गर्न कठिनाइ हुनु ।
८.डाक्टरको अनुपातमा बिरामीको धेरै हुनु ।
९.उपचार पद्धतिमा वाह्य हस्तक्षेप गरिनु ।
१०.आपसी सहमतिमा क्षतिपूर्ति लिनेदिने र गोप्य रुपमा सम्झौता गर्ने प्रचलन हुनु ।
११.सु–सूचित मन्जुरीनामाको सही उपभोग नहुनु ।
१२. उपचारमा आवश्यक पर्ने उपकरण तथा औषधिहरू पर्याप्त उपलब्ध नहुनु ।
१३. चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आफूलाई सुरक्षित महसुस गर्न नपाउनु ।
१४. चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई उचित र नियमित तालिमको प्रावधान नगरिनु ।
१५. राज्यस्तरबाट कानुनका कार्यान्वयनमा कमजोरी हुनु ।
यी कारणहरु मध्ये अधिकांशमा प्रत्यक्ष रुपमा चिकित्सक तथा स्वास्थ्यकर्मीको गल्ती र कमजोरी देखिदैन तर पीडित भने अग्र पङ्क्तिमा रहने चिकित्सक र स्वास्थ्यकर्मी नै भएको देखिन्छ । यसरी कानुन हातमा लिएर गर्ने व्यवहारले कस्तो नकारात्मक असर पर्छ र मानसिक पीडा भइ सेवा गर्ने उत्प्रेरणा न्यून हुँदै जान्छ भन्ने कुरा धेरै पल्ट भोगिएको र देखिएको कुरा हो । यसको भैतिक तथा मानसिक असरहरुको कल्पना भन्दा बहिर छ । जसको मुल जड भनेको एक गलत मानसिकता हो ।
बिरामी भएसी जटिलता आउन सक्छ र मृत्यु हुन्छ भन्ने सत्य स्वीकार नगरी हरेक रोगको उपचार हुनैपर्छ र जसरी रोग निर्मूल पार्नैपर्छ भन्ने दबाबले रोग निको हुने होइन । चिकित्सकले आफ्नो ज्ञानको सक्दो प्रयास गरिरहेका हुन्छन् । तर जटिलता आयो भने चिकित्सकको लापरबाही सजिलै भनिदिने त्यो पनि त्यस्तो व्यक्तिले जसलाई त्यो रोग र उपचारको बारेमा जानकारी नै हुँदैन । यो मानसिकता समयमै हटाउन सकिएन भने निकट भविष्यमा नेपालको चिकित्सकिय सेवामा ठूलै समस्या आउने सम्भावना छ ।
जटिलता नआओस भन्नका निम्ति तत्काल नै गर्न सकिने समाधानका केही उपायहरू:
१. राज्य स्तरबाट चिकित्सक र स्वास्थ्यकर्मीको ड्युटी अवधि, पारिश्रमिक र सम्मानका विषयमा ठोस निर्णय हुन जरुरी छ ।
२. सुरक्षित कार्यस्थल र सम्वेदनशील क्षेत्र भनिए पनि त्यसको कार्यान्वयन गरि सुरक्षित वातावरण सिर्जना गर्नुपर्छ ।
३. स्तरीय सेवामा पर्ने गरी चिकित्सकलाई बिरामी सङ्ख्या सीमित गर्न जरुरी देखिन्छ ।
४. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन २०७९) बमोजिमको कारबाही यथाशीघ्र गर्नुपर्ने देखिन्छ ।
५. ड्युटीमा रहेको बेला हुने यस्ता व्यवहारका लागि शून्य सहनशीलता अपनाउने कानुन व्यवस्था गरिनुपर्ने देखिन्छ ।
६. बिरामीको आउन सक्ने जटिलताको बारेमा बिरामी पक्षलाई समयमै जानकारी गराउनुपर्छ ।
७. बिरामीको उपचारमा प्रयोग हुने उपकरण, औषधि जस्ता अत्यावश्यक कुराको उपलब्धतामा ध्यान दिनुपर्ने देखिन्छ ।
८. सबै जटिलताहरू प्रष्ट पारी सू-सुचित मन्जुरीनामाको अधिकतम सदुपयोग गर्नुपर्ने देखिन्छ ।
९. यस्ता घटनामा राजनीतिक दबाबहरू बन्देज गरिनुपर्छ ।
१०. जथाभावी फोटो भिडियोहरु खिचेर तोडमोड गरेर अपवाह फैलाउन काममा निरुत्साहित गरि कारबाही गर्नुपर्छ ।
रोगको जटिलता जस्तै स्वास्थ्य क्षेत्रमा भइरहेको यो गलत मानसिकताको जटिलता पनि डरलाग्दो भइरहेको अनुभूति भइरहेको छ । तसर्थ एक चिकित्सकको हैसियतले फेरि पनि भन्न चाहन्छु स्वत निर्मुल हुने केही रोगहरू बाहेक बिरामीमा जटिलता देखिएर मृत्यु हुने सम्भावना जहिले पनि रहन्छ। चिकित्सकले रोग निको पार्न प्रयास गर्ने हो, बचाउन लाग्ने हो तर सतप्रतिशत सफता हात नगाल्न सक्छ ।
प्रतिक्रिया 4