+

आमाको दूधलाई किन भनिन्छ शिशुको पहिलो खोप ? यस्ता छन् कारण

२०८३ साउन  २१ गते १३:५९ २०८३ साउन २१ गते १३:५९
आमाको दूधलाई किन भनिन्छ शिशुको पहिलो खोप ? यस्ता छन् कारण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर मनाइने विश्व स्तनपान सप्ताहले स्वस्थ भावी पुस्ता र दिगो समाज निर्माणमा स्तनपानको महत्वलाई जोड दिन्छ।
  • स्तनपानले शिशुमा संक्रमणजन्य रोगहरूको जोखिम कम गर्नुका साथै आमामा समेत विभिन्न गम्भीर रोगहरूको खतरा घटाउँछ ।

हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर विश्व स्तनपान सप्ताह मनाइन्छ । यसले स्तनपानलाई केवल व्यक्तिगत अभ्यास मात्र नभई भावी पुस्ताको स्वास्थ्य, बौद्धिक विकास र दिगो समाज निर्माणको आधारका रूपमा स्थापित गरेको छ ।

आमाको दूध नवजात शिशुको लागि प्रकृतिले प्रदान गरेको सबैभन्दा उत्कृष्ट, सुरक्षित र सम्पूर्ण आहार हो । जन्मेपछि आउने पहेंलो बाक्लो दूधलाई ‘तरल सुन’ भनिन्छ । यसमा इम्युनोग्लोबुलिन ए (आईजीए), ल्याक्टोफेरिन, लाइसोजाइम, साइटोकाइन, ग्रोत फ्याक्टर जस्ता जैविक सक्रिय तत्वहरू प्रशस्त मात्रामा पाइन्छन् । यही कारणले आमाको दूधलाई शिशुको ‘पहिलो खोप’ पनि भनिन्छ । यसले जन्मेदेखि नै रोगसँग लड्ने क्षमता विकास गर्न मद्दत गर्दछ ।

विश्व स्वास्थ्य संगठनले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्न भनेको छ । यसपछि ६ महिनासम्म आमाको दूध मात्र खुवाउन सिफारिस गरेको छ । विश्वव्यापी रूपमा अझै पनि ५० प्रतिशत भन्दा कम शिशुले मात्र पूर्णस्तनपान गरिरहेका छन् । स्तनपानको सबैभन्दा महत्वपूर्ण लाभ मध्ये एक संक्रमणजन्य रोगहरूबाट सुरक्षा हो ।

विश्व स्वास्थ्य संगठनद्वारा प्रकाशित अनुसन्धान सहितको मेटा–विश्लेषणले स्तनपान गर्ने शिशुहरूमा झाडापखालाका कारण अस्पताल भर्ना हुने जोखिम ७२ प्रतिशत र मृत्युको जोखिम ७७ प्रतिशतसम्म कम भएको देखाएको छ । त्यस्तै स्तनपानले श्वासप्रश्वास सम्बन्धी संक्रमण तथा निमोनियाका कारण अस्पताल भर्ना र मृत्यु हुने सम्भावना पनि उल्लेखनीय कमी देखाएको छ ।

नेपालजस्ता विकासोन्मुख देशहरूमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युको प्रमुख कारणमध्ये निमोनिया र झाडापखाला अग्रस्थानमा छन् । यस्तो अवस्थामा पूर्ण स्तनपान सबैभन्दा प्रभावकारी, कम खर्चिलो र वैज्ञानिक रूपमा प्रमाणित स्वास्थ्य हस्तक्षेप हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार स्तनपानले केवल विकासोन्मुख देशहरूमा मात्र होइन, विकसित देशहरूमा समेत संक्रमणबाट महत्वपूर्ण सुरक्षा प्रदान गर्दछ । यही कारणले विकसित देशहरूमा सुत्केरी बिदा ६ देखि २४ महिना बनाउनुपर्छ भन्ने कुरामा सहमत भई कार्यन्वयनको अवस्थामा गइसकेका छन् ।

आमाको दूध एक शक्तिशाली इम्युनोमोडुलेटर पनि हो । यसले शिशुको आन्द्रामा लाभदायक जीवाणुहरूको वृद्धि गराउँछ, स्वस्थ माइक्रोबायोम निर्माण गर्छ तथा प्रतिरक्षा प्रणालीलाई सन्तुलित र परिपक्व बनाउँछ । स्तनपान गर्ने बालबालिकामा कानको संक्रमण, श्वासप्रश्वास संक्रमण, पेटका संक्रमण तथा अन्य धेरै बालरोगहरू कम हुने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

पछिल्ला वर्षहरूमा स्तनपान र एलर्जीजन्य रोगबीचको सम्बन्धबारे व्यापक अनुसन्धान भएका छन् । अमेरिका, युरोप तथा अन्य देशहरूमा गरिएका अध्ययनहरूले स्तनपानले एक्जिमा तथा केही एलर्जीजन्य अवस्थाको जोखिम कम गर्न सहयोग पुर्‍याउन सक्ने देखाएका छन् । विशेषगरी प्रारम्भिक जीवनमा पूर्ण स्तनपान प्राप्त गर्ने शिशुहरूमा छालासम्बन्धी एलर्जी र अटोपिक रोगहरूको सम्भावना कम देखिएको छ।

त्यसैगरी, स्तनपान र श्वास–प्रश्वाससम्बन्धी रोगबीचको सम्बन्धबारे भएका अनुसन्धानहरूले पनि उत्साहजनक नतिजा दिएका छन् । विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूका अनुसार स्तनपान गर्ने बालबालिकामा दमको जोखिम कम हुन सक्छ । स्तनपानले श्वासप्रश्वास प्रणालीको परिपक्वता तथा प्रतिरक्षा सन्तुलनमा सहयोग गर्ने भएकाले दीर्घकालीन रूपमा यसको सुरक्षात्मक प्रभाव देखिन्छ ।

आमाको दूधको अर्को महत्वपूर्ण फाइदा भनेको यसले मस्तिष्क विकासमा पार्ने प्रभाव हो । आमाको दूधमा पाइने डीएए, एआरए, कोलेस्टेरोल तथा अन्य आवश्यक फ्याटी एसिडहरूले स्नायु प्रणालीको विकासमा महत्वपूर्ण भूमिका खेल्छन् । डब्लुएचओले गरेको विभिन्न अध्ययनबाट स्तनपान गरेका बालबालिकाहरूमा बौद्धिक क्षमता, विद्यालय उपस्थिति तथा सिकाइ उपलब्धि राम्रो हुने उल्लेख गरेको छ । पछिल्ला दशकहरूमा स्तनपान र अटिजम स्पेक्ट्रम डिसअर्डर बीचको सम्बन्धबारे पनि अनुसन्धानहरू भएका छन् ।

इजिप्ट, चीन, अमेरिका तथा युरोपका विभिन्न अध्ययनहरूको मेटा–विश्लेषणहरूमा स्तनपान नगर्ने बालबालिकामा अटिजमको जोखिम उल्लेखनीय रूपमा बढी पाइएको छ । यद्यपि अटिजम बहुआयामिक कारणले हुने अवस्था हो र स्तनपान मात्रले यसको पूर्ण रोकथाम गर्छ भन्ने निष्कर्ष निकाल्न सकिँदैन, तर हाल उपलब्ध वैज्ञानिक प्रमाणहरूले स्तनपानलाई एक सम्भावित सुरक्षात्मक कारकका रूपमा समर्थन गरेका छन् ।

स्तनपान र क्यान्सरबीचको सम्बन्ध पनि अनुसन्धानको महत्वपूर्ण विषय बनेको छ । विभिन्न अध्ययनहरूले स्तनपान गर्ने बालबालिकामा हुने ल्युकेमिया लगायत केही रक्त क्यान्सरहरूको जोखिम कम हुन सक्ने देखाएका छन् । साथै बालमोटोपना, टाइप–२ मधुमेह तथा अन्य नसर्ने रोगहरूको जोखिम पनि कम हुने सम्भावना देखाएको छ ।

स्तनपानका फाइदा शिशुमा मात्र सीमित छैनन् । स्तनपान गर्ने आमाहरूमा प्रसूति पश्चात रक्तस्राव कम हुने, गर्भाशय छिटो सामान्य अवस्थामा फर्किने तथा स्तन र डिम्बाशयको क्यान्सरको जोखिम कम हुने प्रमाणित भै सकेका छन् । साथै टाइप–२ मधुमेह, उच्च रक्तचाप तथा मुटुसम्बन्धी केही रोगहरूको जोखिम पनि कम हुन सक्ने देखिएको छ ।

आधुनिक विज्ञानले बारम्बार पुष्टि गरेको तथ्य के हो भने आमाको दूध केवल नवजात शिशुको खानेकुरा मात्र होइन; यो त पोषण, प्रतिरक्षा, विकास र रोग रोकथामको अनुपम उपहार पनि हो । यसले नवजात शिशुलाई जीवनको पुर्बार्ध बाटै सुरक्षित जिबन प्रदान गर्दछ । त्यसैले जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्ने, पहिलो ६ महिनासम्म पूर्ण स्तनपान गराउने तथा दुई वर्ष वा सोभन्दा बढी पनि समयसम्म पूरक आहारसँगै स्तनपानलाई निरन्तरता दिने अभ्यासलाई समाजका सबै तहबाट प्रोत्साहन गरिनुपर्छ ।

विशेष गरी राज्यले सुत्केरी विदा ६ महिना नदिँदास्वास्थकर्मीको सल्लाह व्यवहारिक नभएको गुनासो हाम्रै स्वास्थ्यकर्मीहरूले गरिरहनुपरेको अवस्था छ।

६ महिना सुत्केरी विदाको निर्णय छिटो भन्दा छिटो गर्न सके जागिरे आमाहरू लावान्वित हुने थिए र स्वस्थ शिशु, स्वस्थ आमा र स्वस्थ राष्ट्र निर्माणको आधार स्तनपान नै हो भन्ने मान्यता प्रमाणित हुने थियो ।

(प्रा. डा. रामचन्द्र बास्तोला पोखरा स्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाल वार्डका विभागीय प्रमुख हुन् ।)

खोप रोगप्रतिरोधी क्षमता शिशु स्तनपान
लेखक
प्रा. डा. रामचन्द्र बास्तोला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय