+

हृदय समस्या : ट्राइग्लिसराइड र कोलेस्टेरोल एउटै हो ?

२०८३ असार  २३ गते १७:४२ २०८३ असार २३ गते १७:४२
Shares
हृदय समस्या : ट्राइग्लिसराइड र कोलेस्टेरोल एउटै हो ?

हाम्रो शरीर एउटा राम्रो मेसिन जस्तै हो । यसलाई राम्रोसँग चलाउन खानपान, व्यायाम र आरामको जरुरत पर्छ । आजको व्यस्त जीवनमा हृदय रोग सबैभन्दा ठूलो समस्या बनेको छ । नेपालमा पनि युवा उमेरका मानिसहरू हर्ट अट्याक र स्ट्रोकबाट प्रभावित भइरहेका छन् ।

धेरैले रक्तचाप र कोलेस्टेरोल मात्र नियन्त्रण गर्नुपर्छ भन्ने सोच्छन् । तर ट्राइग्लिसराइड भनेको अर्को महत्वपूर्ण कुरा हो जसलाई धेरैले बेवास्ता गर्छन् । धेरै जसो मानिसले ट्राइग्लिसराइड र कोलेस्टेरोललाई एउटै ठान्छन् तर यी दुवै फरक छन् ।

कोलेस्टेरोल सामान्य छ भने पनि ट्राइग्लिसराइड बढी भएमा हर्ट अट्याक, स्ट्रोक, कलेजोमा बोसो जम्मा हुने समस्या र प्यान्क्रियाटाइटिस जस्ता गम्भीर रोग लाग्न सक्छ ।

स्वास्थ्यप्रति सचेत भएर नियमित जाँच गर्नुहोस् र राम्रो बानी बसाल्नुहोस् । सानो सानो परिवर्तनले ठूलो फाइदा दिन्छ। स्वस्थ शरीरमा नै राम्रो जीवन बिताउन सकिन्छ ।

कोलेस्टेरोल भनेको के हो ?

कोलेस्टेरोल शरीरमा पाइने एक मैनजस्तो पदार्थ हो । यो हाम्रो शरीरका लागि निकै जरुरी छ । यसले कोषहरूको भित्ता बलियो बनाउँछ, विभिन्न हर्मोन उत्पादन गर्न मद्दत गर्छ, भिटामिन डी बनाउँछ र खानेकुरा पचाउन पनि सहयोग गर्छ ।

शरीरमा रहेको कोलेस्टेरोलको ठूलो भाग कलेजोले आफैं उत्पादन गर्छ । केही भने खानाबाट प्राप्त हुन्छ । कोलेस्टेरोल दुई प्रकारका हुन्छन् । राम्रो कोलेस्टेरोलले शरीरबाट अतिरिक्त बोसो हटाउँछ । खराब कोलेस्टेरोल बढी भए भने रक्तनलीमा जम्मा हुन्छ र रगतको बाटो साँघुरो बनाउँछ ।

यो बढ्नुका मुख्य कारणहरू छन् जस्तै जंकफुड, फ्राई खानेकुरा, मोटोपन, धूम्रपान, तनाव र व्यायामको कमी आदि । यदि खराब कोलेस्टेरोल बढ्यो भने मुटुमा समस्या आउन सक्छ । यसैले नियमित रूपमा लिपिड टेस्ट गरेर आफ्नो स्तर जाँच गर्नुहोस् । स्वस्थ खानपान र सक्रिय जीवनशैलीले कोलेस्टेरोललाई नियन्त्रणमा राख्न सकिन्छ ।

ट्राइग्लिसराइड भनेको के हो ?

ट्राइग्लिसराइड शरीरले ऊर्जा भण्डारण गर्न प्रयोग गर्ने मुख्य बोसो हो । जब हामीले आवश्यकताभन्दा बढी क्यालोरी खान्छौं, विशेष गरी चिनी, मिठाई, रिफाइन्ड कार्बोहाइड्रेट जस्ता खानेकुरा, शरीरले यसलाई ट्राइग्लिसराइडमा बदल्छ र फ्याट सेलमा जम्मा गर्छ ।

यो आवश्यक पर्दा ऊर्जाको रूपमा प्रयोग हुन्छ । तर निरन्तर बढ्दै गएमा यो खतरनाक बन्छ । ट्राइग्लिसराइड बढ्नुका मुख्य कारणहरू छन् जस्तै अत्यधिक चिनी खानु, मोटोपन, डायबिटिज, रक्सी सेवन, धूम्रपान र व्यायाम नगर्नु ।

यसले कलेजोमा बोसो जम्मा गर्छ र प्यान्क्रियाज सुन्निने समस्या हुन सक्छ । अहिले युवा उमेरमै पनि यो समस्या बढ्दै छ किनकि हामीले फास्टफुड र मीठा पेय पदार्थ बढी खान थालेका छौं । ट्राइग्लिसराइडलाई नियन्त्रण गर्न खानपानमा ध्यान दिनु र नियमित व्यायाम गर्नु अत्यन्त जरुरी छ । यसले हृदयलाई पनि सुरक्षित राख्छ ।

ट्राइग्लिसराइड र कोलेस्टेरोलमा मुख्य फरक

ट्राइग्लिसराइड र कोलेस्टेरोल दुवै बोसोका प्रकार हुन् तर यिनीहरूको काम र प्रभाव फरक छ । कोलेस्टेरोल मुख्य रूपमा शरीरको संरचना बनाउन र हर्मोन उत्पादन गर्न काम गर्छ । यो कलेजोले बनाउँछ र खानाबाट पनि आउँछ । यसले कोषहरू बलियो बनाउँछ ।

अर्कोतिर ट्राइग्लिसराइडले भने अतिरिक्त क्यालोरी र चिनीलाई भण्डारण गर्ने काम गर्छ । यो बढी खाएको ऊर्जालाई बचत गर्छ । कोलेस्टेरोल बढ्दा मुख्य रूपमा रक्तनली बन्द हुने खतरा हुन्छ भने ट्राइग्लिसराइड बढ्दा कलेजो र प्यान्क्रियाजमा पनि समस्या आउँछ ।

दुवै बढेमा हर्ट अट्याक र स्ट्रोकको जोखिम बढ्छ । तर ट्राइग्लिसराइड बढ्नुको मुख्य कारण चिनी र जंकफुड हो भने कोलेस्टेरोल बढ्नुमा खराब खराब चिल्लो र तनावको भूमिका हुन्छ । लिपिड प्रोफाइल परीक्षण गर्दा दुवैको स्तर थाहा पाउन सकिन्छ । यी दुवैलाई छुट्टाछुट्टै तरिकाले नियन्त्रण गर्नुपर्छ । यसले स्वास्थ्य राम्रो राख्न मद्दत गर्छ ।

किन यी दुवै खतरनाक छन् ?

ट्राइग्लिसराइड र कोलेस्टेरोल दुवै बढेमा शरीरमा विभिन्न समस्या निम्तिन्छन् । यी रक्तनलीको भित्तामा जम्मा हुन्छन् र रगतको प्रवाह घटाउँछन् । यसले हार्ट अट्याक र स्ट्रोक निम्त्याउँछ ।

ट्राइग्लिसराइड बढ्दा कलेजोमा बोसो जम्मा हुन्छ जसलाई फ्याटी लिभर भनिन्छ । यसले प्यान्क्रियाटाइटिस पनि गराउन सक्छ । कोलेस्टेरोल बढ्दा रक्तनली साँघुरो हुन्छ र मुटुले राम्रोसँग रगत पम्प गर्न सक्दैन ।

यदि समयमै ध्यान नदिइएमा ठूलो खतरा हुन सक्छ । त्यसैले नियमित जाँच र स्वस्थ बानी अपनाउनु अत्यन्त जरुरी छ ।

कसरी नियन्त्रण गर्ने ?

ट्राइग्लिसराइड र कोलेस्टेरोल नियन्त्रण गर्न सजिला तर प्रभावकारी उपाय छन् ।

– चिनी, मिठाई, डिप फ्राइ गरेका र प्रशोधित खानेकुरा कम गर्ने ।

– सागपात, फलफूल, अन्न र दाल बढी खाने ।

– दिनमा कम्तीमा ३० मिनेट व्यायाम गर्ने ।

– दौड्ने वा योग गर्ने । यसले ट्राइग्लिसराइड छिट्टै घटाउँछ ।

-तौल नियन्त्रणमा राख्न सके मोटोपन घटाउँदा दुवै स्तर सुधारिन्छ ।

-रक्सी र चुरोट पूर्ण रूपमा छोड्ने ।

-पानी प्रशस्त पिउने ।

-४० वर्ष माथि भए हरेक वर्ष लिपिड टेस्ट गराउने । ट्राइग्लिसराइडको स्तर ५ सयभन्दा कम भए खानपानमा ध्यान दिए नियन्त्रणमा आउँछ भने ट्राइग्लिसराइडको स्तर ५ सयभन्दा बढी भए चिकित्सकको सिफारिसमा औषधि लिनुपर्ने हुन्छ ।

कोलेस्टेरोल ट्राइग्लिसराइड मुटुरोग
डा. अशोक श्रेष्ठ
लेखक
डा. अशोक श्रेष्ठ
मुटुरोग विशेषज्ञ

डा. अशोक श्रेष्ठ काठमाडौंस्थित फ्रन्टलाइन अस्पतालमा कार्यरत छन् । कार्डियोलोजीमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल नम्बर १७३२२ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय