जसरी उमेर बढ्दै जान्छ, पुरुषहरूको प्रोस्टेट ग्रन्थी बिस्तारै ठूलो हुँदै जान्छ । जब यसको आकार बढ्छ, यसले मूत्राशय र मूत्रनलीमा दबाब दिन थाल्छ, जसले गर्दा पिसाबसम्बन्धी विभिन्न समस्या देखिन सक्छन्।
यस्तै एउटा घटनामा ३० वर्षभन्दा बढी अनुभव भएका एक डाक्टरले आफ्नै प्रोस्टेट क्यान्सरको लक्षणलाई समयमै बुझ्न सकेनन् । उनी आफैंले यो गल्ती स्वीकार गरेका छन् । यो कथा सबै पुरुषहरूलाई सचेत गराउने उदाहरण बनेको छ ।
शरीरका संकेतलाई बेवास्ता गर्दा हुने खतरा
शरीर स्वस्थ राख्न खानपान र दिनचर्या ठीक राख्नु मात्र पर्याप्त छैन, शरीरले दिने साना-साना संकेतहरूलाई पनि समयमै बुझ्नु अत्यन्त जरुरी छ । यदि हामीले यी संकेतहरूलाई समयमा पहिचान गर्न सक्यौं भने धेरै गम्भीर रोगबाट बच्न सकिन्छ । तर कहिलेकाहीँ अत्यन्त अनुभवी व्यक्ति पनि आफ्नै शरीरको संकेत बुझ्न असफल हुन्छन् ।

इङ्ल्यान्डका डा. स्टिफन एलेन यस्तै एउटा उदाहरण हुन् । १४ वर्ष मेडिकल शिक्षामा बिताएका र ३० वर्षभन्दा बढी समय अस्पतालमा बिरामीको उपचारमा खटिएका उनले आफ्नै शरीरमा देखिएको प्रोस्टेट क्यान्सरको लक्षणलाई दुई वर्षसम्म बेवास्ता गरे । ‘मलाई कहिल्यै लागेन कि यो क्यान्सर हुन सक्छ’ उनी भन्छन् ।
डा. स्टिफनको व्यक्तिगत अनुभव
७७ वर्षीय डा. स्टिफन एलेन अहिले क्यान्सरबाट पूर्णरूपमा मुक्त छन् । तर उनी आफ्नो कथा संसारलाई सुनाउन चाहन्छन् ताकि अरू पुरुषहरूले उनको गल्ती नदोहोर्याउन । उनी भन्छन्, ‘एक अनुभवी डाक्टरले नै आफ्नो शरीरको संकेत नबुझ्ने गल्ती गर्न सक्छ भने सामान्य व्यक्तिका लागि यो गल्ती गर्नु सामान्य हुन्छ ।’
उनी एनेस्थेटिस्ट डाक्टर हुन् । क्यान्सर पहिचान हुनु भन्दा दुई वर्षअघिको कुरा हो उनलाई राति बारम्बार पिसाब गर्न उठ्नुपर्थ्यो । पिशाब गरेपछि पनि मूत्राशय पूरै खाली नभएको जस्तो महसुस हुन्थ्यो । मेडिकल ज्ञान भएकाले उनीलाई थाहा थियो कि उमेर बढ्दा धेरै पुरुषमा यस्ता समस्या देखिन्छन् । त्यसैले उनले यसलाई सामान्य उमेरजन्य समस्या ठाने ।
‘मलाई लाग्थ्यो यो कुनै गम्भीर रोग होइन । त्यसैले मैले आफ्नो डाक्टरसँग पनि यसबारे कुरा गरिनँ’ उनी भन्छन्, ‘करिब दुई वर्षसम्म उनले यी लक्षणहरूलाई बेवास्ता गरे । जब समस्या अत्यधिक बढ्यो, तब मात्र उनी डाक्टरकहाँ गए । केही हप्तामै परीक्षणबाट थाहा भयो– उनी प्रोस्टेट क्यान्सरबाट पीडित थिए ।
क्यान्सरले निम्त्याएको संकट
क्यान्सर पत्ता लागेपछि उनको उपचार सुरु भयो । तर ढिलो पहिचानका कारण क्यान्सर फैलिसकेको थियो । डाक्टरहरूले उनको पूरै प्रोस्टेट ग्रन्थी निकाल्नुपर्यो । उपचार गरेको २० वर्ष बित्यो अहिले उनी क्यान्सरमुक्त छन् तर उपचारका साइड इफेक्टहरू अझै कायम छन् ।
उनी भन्छन्, ‘म लगभग पूर्ण रूपमा इनकन्टिनेन्ट भएँ । अर्थात् मलाई थाहा नहुँदै पिसाब हुन्थ्यो । मूत्राशयमाथि नियन्त्रण हरायो ।’ यसबाहेक उनी यौनिक कमजोरीबाट पनि ग्रस्त भए । यी दुवै समस्या अहिले पनि उनको दैनिक जीवनलाई प्रभावित गरिरहेका छन् ।
प्रोस्टेट क्यान्सरको विश्वव्यापी अवस्था
प्रोस्टेट क्यान्सर पुरुषहरूमा धेरै देखिने क्यान्सरमध्ये दोस्रो हो । विश्वभर हरेक वर्ष १४ लाखभन्दा बढी नयाँ केसहरू पत्ता लाग्छन् । १८५ देशमध्ये ११८ देशमा पुरुषहरूमा सबैभन्दा बढी यो क्यान्सर देखिन्छ । अमेरिका, ब्राजिल र फ्रान्समा यसका सबैभन्दा बढी केसहरू छन् ।
यस वर्ष अप्रिलमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफूलाई प्रोस्टेट क्यान्सर भएको बताएका थिए । यसअघि अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेन र बेलायतका पूर्वप्रधानमन्त्री डेभिड क्यामरुन पनि यसको शिकार भइसकेका छन् ।
प्रोस्टेट क्यान्सरका मुख्य लक्षणहरू
प्रोस्टेट ग्रन्थी मूत्राशयको ठीक तल अवस्थित हुन्छ र मूत्रनलीलाई घेरेर बसेको हुन्छ । त्यसैले, यसका प्रारम्भिक लक्षणहरू प्रायः पिसाबसम्बन्धी हुन्छन्। यी लक्षण देखिए तुरुन्त डाक्टरसँग सल्लाह लिनुहोस् :
– बारम्बार पिसाब लाग्नु,
– अचानक र तीव्र पेशाबको इच्छा हुनु र तुरुन्त शौचालय जानुपर्ने स्थिति,
– पिसाब सुरु गर्न कठिनाइ (हेसिटेन्सी),
-पिसाब गर्दा जोर लगाउनुपर्ने,
– मूत्राशय खाली हुन धेरै समय लाग्नु,
– पिसाबको धारा कमजोर हुनु,
-पिसाब गरेपछि पनि मूत्राशय पूरै खाली नभएको अनुभव हुनु,
समयमै जाँचको महत्व
विशेषज्ञहरूका अनुसार प्रोस्टेट क्यान्सर प्रारम्भिक चरणमा पत्ता लागेमा यसको उपचार सजिलो हुन्छ र शरीरका अन्य भागमा फैलिनबाट रोक्न सकिन्छ। नियमित स्वास्थ्य जाँच र डाक्टरको सल्लाहले यो रोगलाई समयमै नियन्त्रण गर्न सकिन्छ ।
प्रतिक्रिया 4