केही मानिसहरूको मस्तिष्कमा अल्जाइमर रोगका जैविक लक्षणहरू र क्षति हुँदाहुँदै पनि उनीहरूको स्मरणशक्ति र बौद्धिक क्षमता किन कम हुँदैन? यस प्रश्नको जवाफ वैज्ञानिकहरूले पत्ता लगाएका छन्।
‘नेदरल्याण्ड्स इन्स्टिच्युट फर न्यूरोसाइन्स’ का अनुसन्धानकर्ताहरूका अनुसार यस्ता मानिसहरूको मस्तिष्कमा रहने एक दुर्लभ र विशेष प्रकारका अपरिपक्व कोशिकाहरूले रोगको क्षतिविरुद्ध लड्दै आफूलाई जीवित राख्न सफल हुने भएकाले उनीहरूमा अल्जाइमरका लक्षणहरू देखिँदैनन्।
‘सेल स्टेम सेल’ जर्नलमा प्रकाशित यस खोजले डिमेन्सियाको गतिलाई ढिलो पार्न र स्मरणशक्ति जोगाउन पूर्ण रूपमा नयाँ उपचार पद्धतिको विकास गर्ने आशा जगाएको छ।
अल्जाइमर रोगले मानिसहरूलाई किन फरक-फरक रूपमा असर गर्दछ । अनुसन्धानको क्षेत्रमा यो कुरा सधै ठूलो रहस्य रहँदै आएको छ। यस अनुसन्धानकी वरिष्ठ लेखिका इभगेनिया साल्टाका अनुसार अल्जाइमरको जैविक विकास भएका झन्डै ३० प्रतिशत वृद्धवृद्धाहरूमा यस रोगको कुनै पनि लक्षण वा बिर्सने समस्या कहिल्यै देखिँदैन । यसलाई चिकित्सा विज्ञानमा ‘कग्निटिभ रेजिलेन्स’ भनिन्छ।
यी मानिसहरूको मस्तिष्कलाई कुन तत्वले जोगाउँछ भन्ने कुरा बुझ्न सकेमा डिमेन्सियाको रोकथाम र उपचारका लागि नयाँ रणनीतिहरू बनाउन सकिने वैज्ञानिकहरूको विश्वास छ।
यस रहस्यको खोजी गर्न वैज्ञानिकहरूले ‘नेदरल्याण्ड्स ब्रेन बैंक’ मा दान गरिएका मस्तिष्कका तन्तुहरूको अध्ययन गरेका थिए। यसमा स्वस्थ व्यक्ति, अल्जाइमर भएका बिरामी र मस्तिष्कमा अल्जाइमरको क्षति भएर पनिप्रतिरोधी क्षमता भएका व्यक्तिहरूको मस्तिष्कका नमुनाहरू सामेल थिए। अनुसन्धान टोलीले मस्तिष्कको हिपोक्याम्पस भित्रको एउटा सानो क्षेत्रमा ध्यान केन्द्रित गरेको थियो, जहाँ नयाँ न्युरोनहरू विकास हुन सक्छन्।
मानव तन्तुका लागि विकास गरिएका विशेष विश्लेषणात्मक विधिहरूको प्रयोग गर्दा वैज्ञानिकहरूले ८० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धाहरूको मस्तिष्कमा पनि ‘इम्याच्योर न्युरोन’ भनिने अपरिपक्व कोशिकाहरू फेला पारेका थिए।
यस अनुसन्धानमा सबैभन्दा अचम्मको कुरा के देखियो भने, अल्जाइमरको लक्षण नदेखिएका प्रतिरोधी व्यक्तिहरूको मस्तिष्कमा यी अपरिपक्व कोशिकाहरूको संख्या अल्जाइमरका बिरामीहरूको तुलनामा धेरै बढी थिएन।
बरु, सबैभन्दा ठूलो भिन्नता ती कोशिकाहरूको कार्यशैली र व्यवहारमा पाइएको थियो। प्रतिरोधी क्षमता भएका व्यक्तिहरूमा यी कोशिकाहरूले मस्तिष्कको क्षतिसँग लड्न र आफूलाई जीवित राख्न विशेष आन्तरिक प्रणालीहरू सक्रिय बनाएको देखियो। साथै, त्यस्ता मस्तिष्कहरूमा इन्फ्लेमेसन र कोशिकाको मृत्यु गराउने संकेतहरू पनि निकै कम पाइएका थिए।
वैज्ञानिक साल्टाका अनुसार यी कोशिकाहरूले नष्ट भइसकेका न्युरोनहरूलाई प्रतिस्थापन गर्ने मात्र नभई आफ्नो वरपरका तन्तुहरूलाई सहारा दिएर मस्तिष्कलाई कार्यशील र ‘जवान’ राख्न मद्दत गर्दछन्। उनले यसलाई उज्याडिँदै गएको बगैँचामा गरिने ‘मलजल’ सँग तुलना गरेकी छन्।
यद्यपि, मृत मस्तिष्कका तन्तुहरूमा गरिएको अनुसन्धान भएकाले जीवित मस्तिष्कमा यी कोशिकाहरूले कसरी सञ्चार गर्छन् भन्ने कुरा प्रमाणित गर्न थप अध्ययन आवश्यक रहेको र मस्तिष्कको यो प्रतिरोधी क्षमता पछाडि अन्य कयौँ जैविक कारकहरू पनि जोडिएको हुन सक्ने अनुसन्धानकर्ताहरूले स्पष्ट पारेका छन्।
विशेषज्ञहरूका अनुसार यस खोजले अल्जाइमरले मस्तिष्कलाई कसरी क्षति गर्छ भन्ने परम्परागत सोचलाई बदल्दै केही मस्तिष्कहरूले त्यो क्षतिलाई कसरी सहन सक्छन् भन्ने सकारात्मक पाटोतर्फ चिकित्सा अनुसन्धानलाई डोर्याएको छ।
प्रतिक्रिया 4