+
+
Shares

अक्सिजन चाहिने बिरामीका लागि ‘पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर’ कति उपयोगी ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २१ गते १४:२०

शरीरमा अक्सिजनको मात्रा आवश्यकभन्दा कम हुँदा अक्सिजन थेरापी जीवनरक्षक उपचार बन्न सक्छ । विशेषगरी दीर्घकालीन फोक्सोका रोग जस्तै सीओपीडी, दमको जटिल अवस्था, पल्मोनरी फाइब्रोसिस, फोक्सोको दीर्घ संक्रमण वा अन्य कारणले रगतमा अक्सिजन कम हुने बिरामीलाई चिकित्सकको सल्लाहअनुसार अतिरिक्त अक्सिजन आवश्यक पर्न सक्छ ।

आजभोलि अक्सिजन उपलब्ध गराउने मुख्य दुई माध्यम छन् । अक्सिजन सिलिन्डर र अक्सिजन कन्सन्ट्रेटर । कन्सन्ट्रेटर पनि दुई प्रकारका हुन्छन् घरमा प्रयोग गरिने सामान्य स्टेस्नरी कन्सन्ट्रेटर र ब्याट्रीबाट चल्ने पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर ।

अक्सिजन सिलिन्डर के हो ?

अक्सिजन सिलिन्डरमा अक्सिजन प्लान्टमा उत्पादन गरिएको अत्यधिक शुद्ध करिब ९९ प्रतिशत वा सोभन्दा बढी अक्सिजन उच्च चापमा भरेर राखिएको हुन्छ । आवश्यकता अनुसार रेगुलेटरमार्फत बिरामीलाई अक्सिजन दिइन्छ ।

यसको मुख्य विशेषता भनेको धेरै अक्सिजन आवश्यक पर्ने बिरामीलाई पनि पर्याप्त मात्रामा अक्सिजन उपलब्ध गराउन सक्नु हो । तर सिलिन्डर खाली भएपछि पुन: भर्नुपर्छ, बोक्न गाह्रो हुन्छ र नियमित प्रयोग गर्दा यसको व्यवस्थापन झन्झटिलो हुन सक्छ ।

अक्सिजन कन्सन्ट्रेटर के हो ?

अक्सिजन कन्सन्ट्रेटरले सिलिन्डरजस्तो अक्सिजन भरेर राख्दैन । यसले वरिपरिको हावाबाट अक्सिजन छुट्याएर बिरामीलाई उपलब्ध गराउँछ । हाम्रो वातावरणीको हावामा करिब २१ प्रतिशत अक्सिजन, ७८ प्रतिशत नाइट्रोजन र बाँकी अन्य ग्यास हुन्छन् । कन्सन्ट्रेटरले विशेष प्रकारको फिल्टरको प्रयोग गरी नाइट्रोजनलाई हटाउँछ र अक्सिजनको मात्रा करिब ९०–९६ प्रतिशतसम्म पुर्‍याएर बिरामीलाई दिन्छ ।

यसैले यसलाई ‘अक्सिजन बनाउने मेसिन’ भनिए पनि वास्तवमा यसले नयाँ अक्सिजन उत्पादन गर्ने होइन, हावामा रहेको अक्सिजनलाई केन्द्रित गर्ने काम गर्छ ।

कन्सन्ट्रेटरका दुई प्रकार

१. स्टेसनरी घरमै प्रयोग गर्ने अक्सिजन कन्सन्ट्रेटर

यो घरमा राखेर प्रयोग गरिने ठूलो आकारको मेसिन हो । सामान्यतया ५ लिटर वा १० लिटर प्रतिमिनेटसम्म अक्सिजन दिने क्षमता भएका मोडेलहरू पाइन्छन् ।

यसलाई बिजुलीबाट सञ्चालन गरिन्छ । लामो अक्सिजन ट्युब जोडेर बिरामीले घरभित्र केही दूरीसम्म सहज रूपमा हिँडडुल गर्न सक्छन् । नियमित अक्सिजन आवश्यक पर्ने बिरामीका लागि यो सबैभन्दा व्यवहारिक विकल्प मानिन्छ ।

२. पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर

यो सानो, हलुका र ब्याट्रीबाट चल्ने उपकरण हो । अधिकांश मोडेल करिब १ देखि ३ किलोग्रामसम्मका हुन्छन् । झोलाजस्तै बोकेर बाहिर हिँड्न, यात्रा गर्न, अस्पताल जान, मर्निङ वाक गर्न वा अन्य दैनिक गतिविधिमा सहभागी हुन सकिन्छ ।

यसमा रहेको ब्याट्रीको क्षमता मोडेलअनुसार फरक हुन्छ । सामान्यतया ३ देखि ६ घण्टासम्म ब्याट्री ब्याकअप दिने मोडेल उपलब्ध छन् । थप ब्याट्री प्रयोग गरेर समय बढाउन पनि सकिन्छ ।

पोर्टेबल अक्सिजन कन्सन्ट्रेटर कसका लागि उपयोगी ?

सबै अक्सिजन आवश्यक पर्ने बिरामीलाई पोर्टेबल कन्सन्ट्रेटर आवश्यक पर्दैन ।

कुन अवस्थामा पोर्टेबल कन्सन्ट्रेटर आवश्यक पर्छ ?

–घरबाहिर नियमित हिँडडुल गर्नुपर्ने बिरामी

–यात्रा धेरै गर्नुपर्ने व्यक्ति

–मर्निङ वाक वा हल्का व्यायाम गर्ने बिरामी

–अस्पताल वा चिकित्सककहाँ बारम्बार जानुपर्ने अवस्थामा

–कार्यालय वा सामाजिक कार्यक्रममा सहभागी हुनुपर्ने बिरामी

–बिजुली नहुँदा केही समय ब्याट्रीबाट अक्सिजन आवश्यक पर्ने अवस्था

–यसले बिरामीको स्वतन्त्रता, आत्मविश्वास र जीवनको गुणस्तर बढाउन मद्दत गर्न सक्छ ।

अक्सिजन कन्सन्ट्रेटरका फाइदा

–अक्सिजन सिलिन्डर जस्तो बारम्बार भर्नु पर्दैन ।

–नियमित प्रयोग गर्दा दीर्घकालीन रूपमा खर्च कम हुन सक्छ ।

–घरमै निरन्तर अक्सिजन उपलब्ध हुन्छ ।

–प्रयोग गर्न सजिलो हुन्छ ।

–पोर्टेबल मोडेलले घरबाहिर पनि अक्सिजन थेरापी सम्भव बनाउँछ ।

–धेरै बिरामीका लागि दैनिक जीवन सहज बनाउँछ ।

कन्सन्ट्रेटरका सीमितता

–कन्सन्ट्रेटर सबै अवस्थाका लागि उपयुक्त हुँदैन ।

–यसले सिलिन्डरजत्तिकै शुद्ध अक्सिजन दिन सक्दैन ।

–धेरै उच्च मात्रामा अक्सिजन आवश्यक पर्ने बिरामीका लागि पर्याप्त नहुन सक्छ ।

–स्टेसनरी मोडेल बिजुलीमा निर्भर हुन्छ , बिजुली गयो भने वैकल्पिक व्यवस्था आवश्यक पर्छ ।

–पोर्टेबल मोडेलको ब्याट्री सीमित समयसम्म मात्र चल्छ ।

कहिले अक्सिजन सिलिन्डर आवश्यक पर्छ ?

यदि बिरामीलाई अत्यधिक अक्सिजन आवश्यक छ, आपत्कालीन अवस्था छ वा अस्पतालसम्म लैजानुपर्छ भने अक्सिजन सिलिन्डर अझ प्रभावकारी हुन्छ ।

त्यस्तै घरमा बारम्बार बिजुली जाने ठाउँमा बस्ने बिरामीका लागि कन्सन्ट्रेटरसँगै ब्याकअपका रूपमा एउटा अक्सिजन सिलिन्डर राख्नु उपयोगी हुन सक्छ ।

दमका बिरामीका लागि कुन राम्रो ?

दम भएका सबै बिरामीलाई अक्सिजन आवश्यक पर्दैन । तर रोग निकै जटिल भई रगतमा अक्सिजन कम भएको अवस्थामा चिकित्सकले अक्सिजन थेरापी सिफारिस गर्न सक्छन् ।

दीर्घकालीन रूपमा दिनको १५ घण्टा वा सोभन्दा बढी अक्सिजन आवश्यक पर्ने बिरामीका लागि बारम्बार सिलिन्डर भर्नुभन्दा घरमा प्रयोग हुने अक्सिजन कन्सन्ट्रेटर धेरै सहज र व्यवहारिक हुन्छ ।

यदि बिरामीलाई २–३ लिटर प्रतिमिनेट जति अक्सिजन पर्याप्त हुन्छ भने अधिकांश अवस्थामा कन्सन्ट्रेटरले राम्रोसँग काम गर्न सक्छ । तर उच्च फ्लो अक्सिजन आवश्यक परेमा सिलिन्डर वा अस्पतालको अक्सिजन प्रणाली आवश्यक हुन सक्छ ।

मूल्य कति पर्छ ?

मूल्य ब्रान्ड, गुणस्तर र क्षमताअनुसार फरक हुन्छ ।

सामान्य ५ लिटर अक्सिजन कन्सन्ट्रेटर : करिब ४० हजारदेखि ६० हजार रुपैयाँसम्म पर्छ भने राम्रो ब्रान्डका कन्सन्ट्रेटर  यसभन्दा महँगा हुन सक्छन् ।

पोर्टेबल ब्याट्रीयुक्त अक्सिजन कन्सन्ट्रेटर : करिब २ लाखदेखि २ लाख ५० हजार रुपैयाँ वा सोभन्दा बढी पर्न सक्छ ।

किन चिकित्सकको सल्लाह आवश्यक छ ?

अक्सिजन जीवनरक्षक भए पनि सबैलाई आवश्यक हुँदैन । आवश्यकता नहुँदा अक्सिजन प्रयोग गर्नु लाभदायक हुँदैन, केही अवस्थामा हानिकारक पनि हुन सक्छ । त्यसैले अक्सिजन सुरु गर्ने, कति लिटर प्रतिमिनेट दिने, दिनमा कति समय प्रयोग गर्ने तथा कुन उपकरण उपयुक्त हुन्छ भन्ने निर्णय चिकित्सकले बिरामीको अक्सिजन स्याचुरेसन, रोगको अवस्था र परीक्षणका आधारमा गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?