+

बच्चा जन्मियो तर पेट उस्तै : सी–सेक्सनपछि शरीरमा किन आउँछ यस्तो परिवर्तन ?

२०८३ साउन  २१ गते ११:३० २०८३ साउन २१ गते ११:३०

प्रसूतिपछि शरीरमा परिवर्तन आउनु स्वाभाविक प्रक्रिया हो । सी–सेक्सनपछि पेटको आकारलाई मात्र आधार बनाएर आफ्नो शरीरको मूल्यांकन गर्नु उचित नहुने डा. दीजा बताउँछिन् ।

बच्चा जन्मियो तर पेट उस्तै : सी–सेक्सनपछि शरीरमा किन आउँछ यस्तो परिवर्तन ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रसूति तथा स्त्री रोग विशेषज्ञहरूका अनुसार सी–सेक्सनपछि पेट बाहिर देखिनुको मुख्य कारण शल्यक्रिया नभई गर्भावस्थाका क्रममा शरीरमा आउने प्राकृतिक परिवर्तनहरू हुन्।

काठमाडौं । ‘बच्चा जन्मिएपछि खानपानमा ध्यान दिए तौल घट्छ होला, पेट पनि विस्तारै कम हुन्छ होला भन्ने लागेको थियो । तर पाँच महिना बितिसक्दा पनि पेट पहिलेजस्तै छ । पहिला ५२ किलोकी थिएँ, अहिले ६८ पुगेको छु । खानपानमा ध्यान दिँदा पनि पेट घटेको छैन ।’

भक्तपुरकी २८ वर्षीया राधिका कार्की (नाम परिवर्तन) ले सी–सेक्सन अर्थात् शल्यक्रियाबाट पहिलो सन्तान जन्माएपछि अहिले भोगिरहेको समस्या सुनाइन् ।

गर्भावस्थाअघि आफ्नो शरीर निकै पातलो रहेको बताउने उनी प्रसूति भएको पाँच महिना बितिसक्दा पनि पेटको आकार नघट्दा चिन्तित छिन् । ‘अरूले हेर्दा अझै गर्भवती जस्तै देखिन्छु कि जस्तो लाग्छ । शरीर पहिलेजस्तो कहिले हुन्छ भन्ने चिन्ता लाग्छ’ उनी भन्छिन् ।

यस्तै अनुभव छ, जोरपाटीकी ३२ वर्षीया रमाको (नाम परिवर्तन) पनि । उनका दुवै सन्तान सी–सेक्सनबाट जन्मिएका हुन् । पहिलो सन्तानपछि पनि पेट घटाउन समस्या भएको बताउने उनी अहिले दोस्रो सन्तान जन्माएपछि झन् चिन्तित छिन् ।

सुरुमा ५३ केजीकी उनी पहिलो सन्तान पाउँदा ६० आसपास थिइन् भने अहिले तौल ७५ किलो पुगेको छ । खानपान मिलाउनेदेखि विभिन्न उपाय अपनाउँदा पनि पेट भने पहिलेकै अवस्थामा नफर्किएको उनी गुनासो पोख्छिन् ।

‘जे गरे पनि पेट घटेन । सी–सेक्सन गरेकै कारण यस्तो भएको हो कि भन्ने लाग्छ’ उनी भन्छिन् । राधिका र रमाको अनुभव फरक–फरक भए पनि समस्या भने एउटै छ– सी–सेक्सनपछि पेट बाहिर देखिनु ।

विशेषज्ञहरूका अनुसार यो समस्या यी दुई महिलामा मात्र सीमित छैन । धेरै महिलाले सी–सेक्सनपछि पेटको आकार, तौल र शरीरको परिवर्तनलाई लिएर यस्तै चिन्ता गर्ने गर्छन् ।

कतिपयलाई लाग्छ, शल्यक्रियाबाट प्रसूति गराएपछि पेट सधैंका लागि भद्दा भएर बाहिर निस्किन्छ । सामाजिक सञ्जालमा समेत यसलाई ‘सी–सेक्सन पाउच’ वा ‘ममी पाउच’ भनेर चर्चा गरिन्छ ।

कतिपयलाई लाग्छ, शल्यक्रियाबाट प्रसूति गराएपछि पेट सधैंका लागि भद्दा भएर बाहिर निस्किन्छ । सामाजिक सञ्जालमा समेत यसलाई ‘सी–सेक्सन पाउच’ वा ‘ममी पाउच’ भनेर चर्चा गरिन्छ ।

तर विज्ञहरूका अनुसार पेट बाहिर देखिनुको कारण शल्यक्रिया मात्र होइन । यसको पछाडि गर्भावस्थाका क्रममा शरीरमा आउने प्राकृतिक परिवर्तनहरूको ठूलो भूमिका हुन्छ ।

गर्भमा बच्चा बढ्दै जाँदा पेटका मांसपेशी, छाला र शरीरका तन्तु (कनेक्टिभ टिस्यु) धेरै तन्किन्छन् । बच्चा जन्मिएपछि यी भागलाई पहिलेकै अवस्थामा फर्किन समय लाग्छ ।

केही महिलामा पेटका मांसपेशी कमजोर हुन्छन्, पेटका मांसपेशीबीचको दूरी बढ्न सक्छ, छाला खुकुलो हुन सक्छ वा तौल बढ्न सक्छ । यी सबै कारणले प्रसूति पछि पेट पहिलेजस्तो सपाट नदेखिन सक्छ ।

त्यसैले, सी–सेक्सनपछि तुरुन्तै पेट पहिलेकै अवस्थामा नफर्किनु धेरै अवस्थामा शरीरको सामान्य रिकभरी प्रक्रियाकै हिस्सा भएको विज्ञहरू बताउँछन् ।
अब प्रश्न उठ्छ, सी–सेक्सनपछि पेट किन बाहिर देखिन्छ ? के यो वास्तवमै शल्यक्रियाको असर हो ? अनि फेरि पहिलेकै अवस्थामा फर्किन सम्भव छैन त ?

पहिला कुरा गरौं, ‘सी–सेक्सन पाउच’ किन देखिन्छ ?

बीबीसीमा हालै प्रकाशित आलेख अनुसार सी–सेक्सनपछि पेट झोलिएको तर ठूलो देखिनुका धेरै कारण हुन सक्छन् । गर्भावस्थाका क्रममा पेटको अगाडिको भागमा रहेका मांसपेशी र तन्तुहरू बच्चाको वृद्धिसँगै तन्किन्छन् । कतिपय महिलामा पेटका दुईवटा सीधा मांसपेशी (रेक्टस एब्डोमिनिस) बीचको दूरी बढ्छ ।

यो अवस्थालाई डायस्टेसिस रेक्टी भनिन्छ ।

यसका अतिरिक्त पेटको भित्ता अत्यधिक तन्किनु, पेट र कम्मर वरिपरिको मांसपेशी कमजोर हुनु, अतिरिक्त बोसो जम्मा हुनु, छाला खुकुलो हुनु, हर्मोनमा परिवर्तन आउनु, शरीरमा पानी जम्नु र प्रसूति पछि शारीरिक गतिविधि कम हुनु जस्ता कारणले पनि पेटको भाग उचालिएको जस्तो देखिन सक्छ ।

सी–सेक्सनका क्रममा लगाइएको चिरा निको हुने क्रममा बन्ने घाउका कारण पनि तल्लो पेटमा हल्का तह उठेको जस्तो देखिन सक्छ । तर धेरै महिलाले सोचेजस्तो यो मात्र शल्यक्रियाकै कारण भएको भन्ने हुँदैन।

सी–सेक्सनले मात्रै पेट ठूलो बनाउँछ ?

सी–सेक्सनपछि देखिने पेट उठेको छ भने शल्यक्रियासँग जोडेर हेर्नु मात्र सही नहुने प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. दीजा खनाल बताउँछिन् । ‘गर्भावस्थाका क्रममा पेटका मांसपेशी धेरै तन्किन्छन्’ उनी भन्छिन्, ‘सी–सेक्सनका क्रममा लगाइएको चिरा र त्यसपछि बन्ने घाउका कारण तल्लो भागमा केही फोल्ड देखिन सक्छ ।’

तर पेटको आकारमा प्रभाव पार्ने कुरा धेरै हुन्छन् । शरीरको बनावट, छालाको लचकता, घाउ निको हुने प्रक्रिया र पेटका मांसपेशीको बलियोपनले पनि फरक पार्ने डा.खनाल बताउँछिन् । यी विविध कारणले गर्दा ‘सी–सेक्सन भएकै कारण पेट कहिल्यै घट्दैन’ भन्ने धारणा सही नहुने उनको तर्क छ।

यसरी पेट बढ्नुको मुख्य कारण डायस्टेसिस रेक्टी हुनुसक्ने प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. सविता थापा बताउँछिन् ।

डायस्टेसिस रेक्टी भनेको के हो ?

डा. थापाका अनुसार गर्भावस्थाका क्रममा बच्चा बढ्दै जाँदा पेटभित्रको दबाब बढ्छ । यसले पेटका दुईवटा मुख्य सिधा मांसपेशी (रेक्टस एब्डोमिनिस) लाई जोडेर राख्ने तन्तु धेरै तन्काउन सक्छ । फलस्वरूप यी दुई मांसपेशीबीचको दूरी बढ्न सक्छ । यही अवस्थालाई डायस्टेसिस रेक्टी भनिन्छ ।

यो समस्या केवल सी–सेक्सनपछि मात्र हुँदैन । सामान्य प्रसूति गराएका महिलामा पनि यो देखिन सक्छ । यसको मुख्य कारण प्रसूतिको तरिका नभई गर्भावस्थाका क्रममा शरीरमा आएको परिवर्तन रहको उनी बताउँछिन् ।

डायस्टेसिस रेक्टी हुँदा के हुन्छ ?

– पेट बाहिर निस्किएको वा फुलेको जस्तो देखिन सक्छ

– पेटका भित्री मांसपेशी कमजोर हुन सक्छन्

– कम्मर वा ढाडमा असहजता महसुस हुन सक्छ

– शरीरको पोस्चरमा असर पर्न सक्छ

धेरै अवस्थामा यो प्रसूति पछिको पहिलो वर्षभित्र आफैं सुधार हुँदै जान्छ । तर मांसपेशीबीचको दूरी लामो समयसम्म कायम रहेमा विशेषज्ञको निगरानीमा फिजियोथेरापी र विशेष व्यायाम उपयोगी हुन सक्छ ।

घरमै डायस्टेसिस रेक्टीको संकेत थाहा पाउन सकिन्छ ?

धेरै महिलालाई आफ्नो पेट ठूलो हुनु सामान्य हो कि कुनै समस्या हो भन्ने अन्योल हुन्छ । डा. दिजाका अनुसार महिलाले घरमै यसको प्रारम्भिक संकेत थाहा पाउन सक्छन् । तर यो विशेषज्ञको परीक्षणको विकल्प भने होइन ।

स्त्रीरोग विशेषज्ञ वा महिलाको स्वास्थ्यमा विशेषज्ञता भएको फिजियोथेरापिस्टले पेटका मांसपेशीबीचको दूरी र कोर मांसपेशीको अवस्थाको सही मूल्यांकन गर्न सक्छन् । त्यसका आधारमा उचित उपचार तथा रिकभरी योजना बनाउन सकिन्छ ।

यदि लामो समयसम्म पेट ठूलो रहिरह्यो, दुखाइ भयो वा दैनिक काममा समस्या हुन थाल्यो भने विशेषज्ञको सल्लाह लिनुपर्छ ।

सी–सेक्सनपछि कहिलेदेखि व्यायाम सुरु गर्ने ?

सी–सेक्सनपछि शरीरलाई निको हुन समय चाहिन्छ । धेरै महिलाले पेट घटाउने हतारमा चाँडै कडा व्यायाम सुरु गर्छन् । तर गलत समयमा गरिएको कडा व्यायामले उल्टै समस्या बढाउन सक्छ । डा. दिजाका अनुसार सुरुवाती चरणमा हल्का अभ्यासबाट सुरु गर्नुपर्छ ।

उपयोगी हुन सक्ने केही अभ्यास

– गहिरो सास फेर्ने अभ्यास

– पेल्भिक फ्लोर व्यायाम

– गहिरो कोर मांसपेशी सक्रिय गर्ने अभ्यास

– बिस्तारै हिँड्ने अभ्यास

यी अभ्यासले शल्यक्रियाबाट निको भइरहेको शरीरमा थप दबाब नदिई मांसपेशीको क्षमता विस्तारै फर्काउन सहयोग गर्ने विज्ञहरू बताउँछन् । यसो भन्दै गर्दा सुरुवाती समयमा छिटो दौडिने, भारी तौल उठाउने, सिट–अप, धेरै समयसम्म प्ल्याङ्क गर्ने र अत्यधिक कडा व्यायाम गर्नबाट भने बच्नुपर्छ । विशेषगरी डायस्टेसिस रेक्टी भएको अवस्थामा यस्ता अभ्यासले पेटको भित्तामा थप दबाब सिर्जना गर्न सक्छन् ।

कुन व्यायाम बढी फाइदाजनक हुन्छ ?

विज्ञहका अनुसार प्रसूति पछिको सुरुवाती रिकभरीमा शरीरलाई बिस्तारै बलियो बनाउने अभ्यासमा ध्यान दिनुपर्छ । डायाफ्रामेटिक ब्रीदिङ (पेटबाट गहिरो सास लिने अभ्यास), पेल्भिक फ्लोर मांसपेशी सक्रिय गर्ने अभ्यास, हल्का कोर मांसपेशी बलियो बनाउने अभ्यास र नियमित हिँडाइबाट सुरु गर्न सकिन्छ ।

त्यसपछि विस्तारै दैनिक कामका लागि आवश्यक शक्ति बढाउने अभ्यास र पिलाटिजतर्फ जान सकिन्छ । तर सुरुवाती चरणमा पेटको भित्तामा धेरै दबाब पर्ने अभ्यास गर्नु हुँदैन ।

पेल्भिक फ्लोर व्यायाम किन आवश्यक छ ?

गर्भावस्था र प्रसूति पछि पेल्भिक फ्लोर मांसपेशी कमजोर हुन सक्छन् । यी मांसपेशीले शरीरको सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छन् । पेल्भिक फ्लोर मांसपेशी, पेटका गहिरा मांसपेशी, डायाफ्राम र ढाडका मांसपेशीहरू एकअर्कासँग मिलेर काम गर्छन् ।

यी मांसपेशीबीचको तालमेल राम्रो हुँदा कोर मांसपेशी बलियो हुनुको साथै शरीरको पोस्चर सुधार हुने, दैनिक गतिविधि सहज हुने र प्रसूति पछिको रिकभरी राम्रो हुन्छ ।

तर रिकभरीको उद्देश्य केवल पेटको आकार घटाउनु मात्र हुनु हुँदैन । मुख्य लक्ष्य शरीरको शक्ति, स्थिरता र सामान्य जीवनशैलीमा फर्किनु हो ।

सी–सेक्सनको दाग, पेट बाँध्ने बेल्ट र रिकभरी : के सही, के गलत ?

सी–सेक्सनपछि धेरै महिलाको अर्को चिन्ता हुन्छ, अपरेसनको दाग, र शरीरलाई छिटो पहिलेकै अवस्थामा फर्काउन के गर्ने ? यस्तोमा धेरै महिलाले पेटमा बेल्ट बाँध्ने, कडा व्यायाम गर्ने वा सामाजिक सञ्जालमा देखिएका विभिन्न उपाय अपनाउने गर्छन् । सबैभन्दा बढी सुत्केरी महिला सकिनसकि बेल्ट बाँधेर बसेको देखिन्छ ।

के यसरी पेट बाँध्ने बेल्टले पेट घटाउँछ ?

डा. दीजाका अनुसार पेट बाँध्ने बेल्टले पेटको बोसो घटाउँदैन, छुट्टिएका मांसपेशी जोड्दैन र स्थायी रूपमा पेटलाई पुरानै आकारमा फर्काउँदैन । यसको प्रयोग केवल सहारा र आरामका लागि हुनसक्छ । पेटको मांसपेशी बलियो बनाउन उचित व्यायाम नै आवश्यक हुने उनको जोड छ ।

कुन लक्षण देखिए चिकित्सकलाई देखाउने ?

सी–सेक्सनपछि केही समय शरीरमा परिवर्तन देखिनु सामान्य हो । तर केही संकेतलाई बेवास्ता गर्नु हुँदैन ।

– लगातार वा बढ्दै गएको पेट दुखाइ

– अपरेसन भएको ठाउँमा अत्यधिक सुन्निनु

– रातोपन बढ्नु, ज्वरो आउनु

– घाउबाट असामान्य तरल पदार्थ वा रगत आउनु

– घाउ वरिपरि धेरै पीडा हुनु

– खोक्दा वा जोर लगाउँदा पेटमा असामान्य उभार देखिनु

खोक्दा वा जोर लगाउँदा पेटको कुनै भाग बाहिर निस्किएजस्तो देखिएमा यो हर्नियाको संकेत पनि हुन सक्ने खनाल बताउँछिन् ।

तौल, हर्मोन र स्तनपानले कस्तो असर पार्छ ?

प्रसूति पछिको शरीर परिवर्तनमा धेरै कुराले प्रभाव पार्छ । डा. थापाका अनुसार यदि तौल बढी छ भने घाउ निको हुने प्रक्रिया केही ढिलो हुन सक्छ । हर्मोनमा आउने परिवर्तनले शरीरका जोड्ने तन्तुको सुधार प्रक्रियामा पनि असर पार्न सक्छ ।

स्तनपानले केही महिलामा विस्तारै तौल घटाउन सहयोग गर्न सक्छ, तर यसको प्रभाव सबैमा समान हुँदैन । उमेर बढ्दै जाँदा छालाको लचकता कम हुन सक्छ र मांसपेशी पहिलेकै अवस्थामा फर्किन केही बढी समय लाग्न सक्ने उनी बताउँछिन् ।

साथै आनुवंशिक कारण, खानपान, निद्रा, शारीरिक गतिविधि र पहिले भएका गर्भधारण जस्ता कुराले पनि रिकभरीमा भूमिका खेल्छन् ।

‘परफेक्ट शरीर’ होइन, स्वस्थ शरीर महत्वपूर्ण

प्रसूतिपछि शरीरमा परिवर्तन आउनु स्वाभाविक प्रक्रिया हो । सी–सेक्सनपछि पेटको आकारलाई मात्र आधार बनाएर आफ्नो शरीरको मूल्यांकन गर्नु उचित नहुने डा. दीजा बताउँछिन् ।

उनका अनुसार रिकभरीको मुख्य उद्देश्य पेट घटाउनु मात्र होइन, शरीरको शक्ति, सन्तुलन र दैनिक जीवन सहज बनाउनु हो । ‘हरेक महिलाको शरीर र रिकभरी यात्रा फरक हुन्छ । त्यसैले धैर्य, सही जानकारी र विशेषज्ञको सल्लाहसहित अघि बढ्नु नै सुरक्षित बाटो हो, ‘उनी भन्छिन् ।  तर, जीवनशैली परिवर्तन, कडा डाइट, औषधि वा नयाँ व्यायाम सुरु गर्नुअघि चिकित्सक वा योग्य विशेषज्ञको सल्लाह लिनु आवश्यक हुन्छ।

सी–सेक्सनपछि पेटबारे रहेका सामान्य भ्रम

भ्रम : सी–सेक्सनपछि पेट कहिल्यै घट्दैन

वास्तविकता : सी–सेक्सन मात्रै पेट बाहिर देखिनुको कारण होइन । गर्भावस्थामा भएका शारीरिक परिवर्तन, मांसपेशीको अवस्था, तौल र छालाको लचकताले पनि ठूलो भूमिका खेल्छ ।

भ्रम : चाँडै धेरै व्यायाम गरे छिटो शरीर बन्छ

वास्तविकता : प्रसूति लगत्तै कडा व्यायाम सुरु गर्दा शरीरमा थप दबाब पर्न सक्छ । सुरक्षित तरिकाले बिस्तारै अघि बढ्नु नै राम्रो हुन्छ ।

प्रसूति शल्यक्रिया सी–सेक्सन
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय