News Summary
Generated by OK AI. Editorially reviewed.- स्तनपान प्रविधि अर्थात् ल्याक्टेसनल एमिनोरिया मेथर्डका लागि बच्चालाई ६ महिनासम्म पूर्ण स्तनपान गराउने र अन्य खानेकुरा नदिने जस्ता शर्तहरू पालना गर्नुपर्छ।
हामीले यही हप्ता अर्थात् साउन १६ देखि २२ गतेसम्म नेपाल लगायत संसारभर विश्व स्तनपान सप्ताह मनाइरहेका छौँ । स्तनपान जीवनको सुरुवातको काम हो जसले जीवन भरलाई व्यक्तिलाई सक्षम, निरोगी, बलियो र तन्दुरुस्त राख्ने काम गर्दछ ।
नेपालमा स्तनपानको अभ्यास हेर्दा नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार जन्मिएको ६ महिनासम्म स्तनपान मात्र गराउने अभ्यास २०११ मा रहेको ७० प्रतिशतबाट घटेर ५६ प्रतिशत भएको छ र बोतलबाट स्तनपान गराउने प्रचलन १० प्रतिशतबाट बढेर २८ प्रतिशत पुगेको छ ।
यसबाट के बुझिन्छ भने आमाको व्यस्तता र रोजगारको अवस्था बच्चालाई स्तनपान गराउनमा बाधक भएर आएको छ । बजारमा पाइने अन्य दूध र कृत्रिम दूधको प्रयोग बढ्दै गइरहेको भयावह अवस्था देखिँदैछ जसले बच्चाको दिगो विकासमा असर पार्ने निश्चित छ ।
स्वाभाविक रूपमा हामीलाई थाहा छ कि स्तनधारी प्राणीले बच्चालाई दूध चुसाउँछन् जुन प्राकृतिक नियम हो । स्तनपानबाट बच्चाको वृद्धि विकास हुनुका साथै धर्तीमा आफूलाई जीवित राख्न सक्षम हुन्छन् । यो कुरा मानिसमा समेत लागू हुन्छ ।
बच्चालाई स्तनपान गराउँदा आमालाई स्तन क्यान्सरको जोखिम कम हुने, अस्थायी परिवार नियोजनको साधनको काम गर्ने, बच्चाप्रति माया ममता बढ्ने, बच्चालाई शिशु अवस्थामा चाहिने आवश्यक सम्पूर्ण पौष्टिक तत्वहरू प्राप्त हुने हुन्छ । यसका साथै बच्चालाई रोगविरुद्ध लड्ने क्षमता समेत बढाउन आवश्यक एन्टिबडी प्राप्त हुने, बच्चा अघाएर सन्तुष्ट हुने, उचित वृद्धि विकास हुने, आमा बच्चा दुवै प्रसन्न हुने र तापक्रम मिलेको संक्रमणरहित खाना खान पाउने जस्ता फाइदा पनि हुन्छन् ।
स्तनपान प्रविधि
स्तनपानलाई यदि परिवार नियोजनको साधनका रूपमा प्रयोग गरिन्छ भने त्यसलाई परिवार नियोजनको प्रविधि भनिन्छ । हामी सबैलाई सुन्दै अचम्म लाग्न सक्छ कि स्तनपानबाट पनि परिवार नियोजन हुनसक्छ वा गर्भ नियन्त्रण गर्न सकिन्छ । सुन्दा अचम्म लाग्न सक्छ स्तनपान प्रविधिले पनि गर्भ नियन्त्रण हुनसक्छ ? यो नयाँ कुरा त होइन तर धेरैका लागि नयाँ विषयवस्तु हुन सक्छ ।
स्तनपान प्रविधिलाई प्रयोग गरेर गर्भ नियन्त्रण गर्नुपर्ने छ भने बच्चा जन्मिएपछि अर्को महिनावारी नहुँदासम्म वा ६ महिनाभित्र यो तरिका प्रभावकारी हुन्छ भनेर बुझ्नुपर्छ ।
यस्तो प्रविधिलाई अंग्रेजीमा LAM (Locational Amenorrhea Method) पनि भनिन्छ । यसको अर्थ यो विधिले महिलाको महिनावारी चक्रलाई सुत्केरी भएपछि छिटो हुन नदिएर केही पर धकेल्छ र महिनावारी नहुँदासम्म यो विधिले काम गर्छ भन्न खोजिएको हो ।
त्यसो त कुनै कुनै महिलामा बच्चा जन्म भएपछि अर्को महिनावारी नहुँदै पुनः गर्भ बसेर अर्को बच्चा जन्मेको समेत पाइन्छ । यसको मतलब यो विधि सबै महिलालाई प्रभावकारी नहुन सक्छ । यो विधि कम प्रभावकारी अस्थायी परिवार नियोजनको विधि भित्र पर्दछ । यदि स्तनपान विधिको प्रयोग गरेर गर्भनियन्त्रण गर्ने विचार छ भने सुत्केरी महिलाले निम्न शर्तहरूको अधिनमा रहनु जरूरी छ ।
̵ बच्चालाई राति र दिनमा समेत गरी कम्तीमा पनि १० पटकसम्म निख्रिने गरी दुवै स्तनबाट स्तनपान गराउनुपर्छ ।
̵ ६ महिनासम्म बच्चालाई आमाको दूधबाहेक अन्य कुनैपनि पानी वा खाद्यपदार्थ खुवाएको हुनुहुँदैन । यदि बच्चालाई थप खाद्यपदार्थ खुवाउन थालिएको छ भने यो विधि प्रभावकारी हुँदैन ।
̵ सुत्केरी भएको ६ महिनाभित्र यदि महिनावारी भएको छ भने यस्तो विधि प्रभावकारी हुँदैन ।
यसरी माथि उल्लिखित शर्तहरू पूर्णरुपले पालना गरेको अवस्थामा मात्र स्तनपान प्रविधिलाई प्राकृतिक अस्थायी गर्भ नियन्त्रणको विधि मान्न सकिन्छ।
स्तनपान गराउने विधि र प्रक्रिया
धेरैजसो आमालाई अर्को खड्किरहने विषयवस्तु भनेको बच्चालाई स्तनपान गराउँदा कसरी गराउने भन्ने हो । कसरी स्तनपान गराएमा प्रभावकारी दूध चुसाइ हुन्छ र बच्चा हृष्टपुष्ट हुन्छ भन्ने जिज्ञासा धेरैम हुन्छ ।
स्तनपानका सन्दर्भमा गर्भावस्थामा स्वास्थ्य संस्थामा परीक्षण गर्न जाँदा स्वास्थ्यकर्मीले आवश्यक परामर्श दिनुपर्छ । सुत्केरी भएपछि आमाले त्यसलाई प्रयोग गरेमा मात्र त्यो प्रभावकारी हुन्छ । पहिलो बच्चा जन्माएकि आमालाई त्यो ज्ञान नहुन सक्छ । स्तनपान गराउन लाज मान्ने, काउकुती मान्ने, स्तनको टुप्पो दुख्ने, घाउ हुने र कसैको टुप्पो नै दबिएको हुने जस्ता कारणले बच्चालाई राम्रोसँग स्तनपान नगराउँदा बच्चाले आवश्यक मात्रामा दूध खान पाउँदैन ।
त्यस्तै कसैले दूध ननिस्कने र बच्चालाई नपुग्ने भएकोले गाईभैंसीको दूध वा पाउडर दूध खुवाउने गरेको कुरा पनि गर्छन् । यस्तो अवस्थामा बच्चाको तीव्र गतिमा भइरहेको वृद्धि विकास अवरुद्ध हुन्छ र बच्चा कुपोषण हुने, शारीरिक तथा मानसिक विकास राम्रो नहुँदा बच्चाको जीवन नै दुःखदायी हुनसक्छ । यस्तो अवस्था आउन नदिन आमाले स्तनपानको विधि सिक्नुपर्छ र बच्चालाई त्यही अनुसार स्तनपान गराउनुपर्छ । यसका लागि स्तनपानका सही आसन र सम्पर्कका बारेमा सबै परिवार र महिलाले कुरा बुझ्नु आवश्यक छ ।
स्तनपान गराउने सही तरिका
आमाले आफ्नो स्तनलाई अंग्रेजी सी आकारमा समाउनुपर्छ र सजिलो गरी बस्नुपर्छ । तर धेरैले दुईवटा औंला कैंची बनाएर दूधको मुण्टो समाएका हुन्छन्, यो गलत आसन हो र यसो गर्दा दूधको प्रवाह राम्रो हुँदैन ।
–शिशुको शरीर सिधा हुनुपर्छ ।
–शिशुको शरीर र मुख आमाको स्तनतिर फर्किएको हुनुपर्छ ।
–शिशुको पेट आमाको पेटसँग टाँसिएको हुनुपर्छ ।
–आमाको एक हातले शिशुको सम्पूर्ण शरीरलाई थामेको हुनुपर्छ ।
–शिशुको मुख पुरा खुलेको हुनुपर्छ ।
–शिशुको तल्लो ओठ बाहिर फर्केको हुनुपर्छ ।
–शिशुको चिउँडोले आमाको स्तन छोएको हुनुपर्छ तर नाक बन्द हुनुहुँदैन ।
–स्तनको धेरैजसो कालो भाग बच्चाको मुखभित्र पसेको हुनुपर्छ ।
यसरी उपरोक्त आसन र सम्पर्क मिलाएर बच्चालाई दूध चुसाएमा त्यो प्रभावकारी चुसाइ हुन्छ । अझ प्रभावकारी दूध चुसाइ भए नभएको थाहा पाउन यदि बच्चाले बिस्तारै भित्रसम्म तानेर दूध चुस्दै, केही रोकिँदै, दूध निलेको समेत देखिएको, गाला पुक्क फुलेको वा गोलो भएको देखिएमा प्रभावकारी दूध चुसाइ भएको पक्का हुन्छ ।
प्रतिक्रिया 4