+

डाक्टरलाई कुटेर न्याय खोज्ने समाज

२०८३ साउन  १८ गते १८:४३ २०८३ साउन १८ गते १८:४३

यदि आज पनि हामी मौन बस्यौँ भने भोलि नेपालमा दक्ष चिकित्सकहरूको पलायन अझ तीव्र हुनेछ, नयाँ पुस्ताले यो पेशा रोज्न हिच्किचाउनेछ

डाक्टरलाई कुटेर न्याय खोज्ने समाज

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा पछिल्लो समय चिकित्सकमाथि हुने हिंसा चिन्ताजनक प्रवृत्ति बनेको छ र यसले समग्र स्वास्थ्य सेवा प्रणालीलाई नै असुरक्षित बनाइरहेको छ।

‘यस्ता नाथे डाक्टरलाई दुई–चार झापड नलगाए सुध्रिँदैन ।’

‘बिरामी मारेपछि पनि यिनलाई केही हुँदैन ।’

‘डाक्टरले पैसा मात्रै खान्छन् ।’

पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा यस्ता अभिव्यक्तिहरू असामान्य छैनन् । दुःखको कुरा, यी शब्दहरू अब क्षणिक आवेगका अभिव्यक्ति मात्र रहेनन्, विस्तारै हाम्रो समाजको मानसिकता बन्दै गएका छन् । बिरामीको मृत्यु भयो, उपचारमा अपेक्षित सुधार आएन वा अस्पतालमा कुनै समस्या देखियो भने अनुसन्धान सुरु हुनुअघि नै चिकित्सक दोषी ठहरिन्छन् । अदालत बोल्नुअघि नै भीडले फैसला सुनाउँछ । जीवन बचाउने ठाउँ अस्पतालमा आज उपचारमा खटिनेहरू नै आफ्नो सुरक्षा खोज्न बाध्य भएका छन् ।

नेपालमा चिकित्सकमाथि हुने हिंसा अब अपवाद होइन, चिन्ताजनक प्रवृत्ति बनिसकेको छ । यसको पछिल्लो उदाहरण वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको घटना हो । एक जना बिरामीको मृत्युपछि चिकित्सकमाथि हातपात गरियो, अस्पताल तनावग्रस्त बन्यो र त्यसको विरोधमा देशभरका चिकित्सकहरूले आकस्मिकबाहेकका सेवा स्थगित गर्न बाध्य भए ।

एउटा घटनाले सम्पूर्ण देशको स्वास्थ्य सेवा प्रभावित भयो । यो कुनै एक अस्पतालको समस्या मात्र होइन, नेपालको स्वास्थ्य प्रणाली कति असुरक्षित बन्दै गएको छ भन्ने गम्भीर संकेत हो । बिरामीको मृत्यु निश्चय नै दुःखद् घटना हो र परिवारको पीडा स्वाभाविक पनि हो । तर त्यसको प्रतिशोध चिकित्सकमाथि कुटपिट गरेर लिने हो भने त्यसलाई न्याय होइन, भीडतन्त्र भन्नुपर्छ ।

यदि उपचारमा लापरबाही भएको छ भने त्यसको अनुसन्धान गर्ने नेपाल मेडिकल काउन्सिल, कानुनी निकाय र अदालत छन् । अनुसन्धान र फैसला गर्ने अधिकार भीडलाई कसैले दिएको छैन ।

यसैबीच सामाजिक सञ्जालमा प्रमाणबिना चरित्रहत्या गर्ने, आधा भिडियोका आधारमा निष्कर्ष निकाल्ने, अस्पतालभित्रै धम्क्याउने र तोडफोड गर्ने प्रवृत्ति बढ्दो छ । केही घण्टामै वर्षौँको मेहनतले कमाएको प्रतिष्ठा समाप्त गरिदिने यस्तो वातावरणमा कुनै पनि चिकित्सकले आत्मविश्वासका साथ निर्णय कसरी लिन सक्छ ? बिरामीको उपचारमा केन्द्रित हुने कि आफ्नै सुरक्षाको चिन्ता गर्ने ?

हामी एउटा कटु सत्य स्वीकार गर्न तयार हुनुपर्छ । चिकित्सा विज्ञान गणित होइन । एउटै रोग भएका दुई बिरामीको नतिजा फरक हुन सक्छ । विश्वकै उत्कृष्ट अस्पतालमा पनि बिरामीको मृत्यु हुन्छ । रोगको गम्भीरता, बिरामी अस्पताल पुग्न लागेको समय, उमेर, शरीरको प्रतिक्रिया, पहिलेका रोग तथा उपलब्ध स्रोत–साधनले उपचारको नतिजा निर्धारण गर्छन् । त्यसैले बिरामीको मृत्यु हुनु मात्र चिकित्सकको अपराधको प्रमाण होइन ।
दुर्भाग्यवश नेपालमा चिकित्सा विज्ञानलाई चमत्कारको रूपमा बुझ्ने प्रवृत्ति बढ्दो छ । अस्पताल पुगेपछि बिरामी जसरी पनि बच्नैपर्छ भन्ने अपेक्षा राखिन्छ, र अपेक्षा पूरा नभए दोष चिकित्सकलाई दिइन्छ । यस्तो सोचले विज्ञानभन्दा भावनालाई पछ्याउँछ ।

यसको अर्थ चिकित्सकहरू सधैँ निर्दोष छन् भन्ने होइन । नेपालको स्वास्थ्य क्षेत्रमा केही चिकित्सकको गैरव्यावसायिक व्यवहार, कमजोर संवाद, अनावश्यक परीक्षण, अत्यधिक शुल्क वा बिरामीसँग पर्याप्त समय नदिने प्रवृत्तिले जनविश्वास घटाएको पनि यथार्थ हो ।

बिरामीसँग सम्मानजनक संवाद गर्नु र उपचार प्रक्रियाबारे स्पष्ट जानकारी दिनु चिकित्सकको जिम्मेवारी हो । जहाँ गल्ती हुन्छ, त्यहाँ निष्पक्ष अनुसन्धान हुनुपर्छ र दोषी प्रमाणित भए कानुनअनुसार कारबाही पनि हुनुपर्छ । तर केही व्यक्तिको कमजोरीलाई आधार बनाएर सम्पूर्ण चिकित्सक समुदायलाई अपराधी घोषणा गर्नु न्यायसंगत हुँदैन ।

सबैभन्दा ठूलो प्रश्न राज्यसँग जोडिएको छ । चिकित्सकमाथि पटक–पटक आक्रमण हुँदा पनि दोषीहरूलाई तत्काल र प्रभावकारी कानुनी कारबाही नहुँदा दण्डहीनताको संस्कृति बलियो भएको छ । यदि अस्पतालभित्रै चिकित्सक सुरक्षित छैनन् भने देशको स्वास्थ्य सेवा कसरी सुरक्षित हुन्छ ? आज चिकित्सक असुरक्षित भए, भोलि नर्स, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र अन्ततः बिरामी नै असुरक्षित हुनेछन् । अस्पतालमा हुने हिंसाले एउटा चिकित्सक मात्र होइन, उपचारको पर्खाइमा रहेका अन्य बिरामीको जीवनलाई पनि जोखिममा पार्छ ।

यसको अर्को गम्भीर असर डिफेन्सिभ मेडिसिन हो । चिकित्सकले उपचारभन्दा पहिले आफ्नो सुरक्षा र कानुनी जोखिम सोच्न थाल्छ । आवश्यकभन्दा बढी परीक्षण गरिन्छ, जोखिमपूर्ण बिरामीलाई रेफर गरिन्छ र जटिल निर्णय लिन हिच्किचाइन्छ । अन्ततः यसको मूल्य बिरामीले नै तिर्नुपर्छ । उपचार महँगो हुन्छ, सेवा ढिलो हुन्छ र स्वास्थ्य प्रणालीप्रतिको विश्वास झन् कमजोर बन्छ । यही असुरक्षाले दक्ष चिकित्सकहरूको विदेश पलायनलाई पनि तीव्र बनाइरहेको छ । यदि वर्षौँ अध्ययन गरेर अन्ततः अस्पतालभित्रै कुटिनुपर्ने अवस्था आउँछ भने नयाँ पुस्ताले किन यही देशमा बसेर सेवा गर्ने?

नेपालले अहिले नै स्पष्ट सन्देश दिनुपर्छ– अस्पताल उपचार गर्ने ठाउँ हो, प्रतिशोध लिने ठाउँ होइन । स्वास्थ्यकर्मीमाथि हुने हिंसाप्रति शून्य सहनशीलताको नीति कडाइका साथ लागू गरिनुपर्छ । अस्पतालको सुरक्षा सुदृढ बनाइनुपर्छ । चिकित्सकीय लापरबाहीको छानबिन छिटो, निष्पक्ष र वैज्ञानिक आधारमा हुनुपर्छ । 

साथै, अस्पतालहरूले बिरामी र चिकित्सकबीचको संवाद सुधार्न विशेष ध्यान दिनुपर्छ । सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि अनुसन्धान नटुङ्गिँदै कसैलाई अपराधी घोषणा गर्ने प्रवृत्तिबाट बच्नुपर्छ । जनभावना महत्त्वपूर्ण हो, तर जनभावनाले कानुनलाई प्रतिस्थापन गर्न सक्दैन ।

समाजले पनि आत्ममन्थन गर्नुपर्ने बेला आएको छ । हामी बिरामी हुँदा सबैभन्दा पहिले चिकित्सकलाई खोज्छौँ, तर उपचार अपेक्षाअनुसार भएन भने सबैभन्दा पहिले दोष पनि चिकित्सकलाई नै दिन्छौँ ।

चिकित्सक देवता होइनन्, उनीहरूबाट पनि गल्ती हुन सक्छ । तर उनीहरू अपराधी पनि होइनन् । उनीहरू पनि मानिस हुन् । थाक्छन्, तनावमा हुन्छन्, रातभर जाग्राम बस्छन्, बिरामी गुमाउँदा मानसिक रूपमा पीडित हुन्छन् । उनीहरूमाथि आक्रमण हुनु भनेको अन्ततः सम्पूर्ण समाजको स्वास्थ्य सुरक्षामाथिको आक्रमण हो ।

यदि आज पनि हामी मौन बस्यौँ भने भोलि नेपालमा दक्ष चिकित्सकहरूको पलायन अझ तीव्र हुनेछ, नयाँ पुस्ताले यो पेशा रोज्न हिच्किचाउनेछ । अस्पतालमा चिकित्सकको अभाव हुँदा त्यसको मूल्य सम्पूर्ण समाजले चुकाउनुपर्नेछ ।

हामीले रोज्नुपर्ने बाटो स्पष्ट छ– कानुनको शासन कि भीडको शासन ? यदि उत्तर पहिलो हो भने स्वास्थ्यकर्मीमाथिको हिंसा कुनै पनि बहानामा स्वीकार्य हुन सक्दैन । चिकित्सकको सुरक्षा कुनै विशेषाधिकार होइन, त्यो प्रत्येक नागरिकको सुरक्षित स्वास्थ्य सेवाको आधार हो । अस्पतालमा चिकित्सक सुरक्षित भए मात्र बिरामी सुरक्षित हुन्छन् ।

कुटपिट चिकित्सक भीडतन्त्र
लेखक
डा. नरेन्द्र लामिछाने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय