+
+
Shares
स्थलगत :

अब बेत्रावतीमा घण्टाघरले दिने छैन समय (भिडियो)

स्थानीयको लागि अर्लाम बनेको थियो यो घण्टाघर । विनाशकारी बाढीले तहसनहस भएपछि घडीको सुइ घुमेको छैन । बस्तीमा सन्नाटा छ ।

दिनेश गौतम दिनेश गौतम
२०८३ भदौ १३ गते १३:४७
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेत्रावतीको घण्टाघरमा १० गते बिहानदेखि घण्टी बज्न छाडेको छ, र भोटेकोशी बाढीपछि बस्ती सन्नाटामा पुगेको छ।
  • भूकम्पपछि स्थानीय योगेश डंगोलले बनाएको घण्टाघर र आसपासका २०० भन्दा बढी घर बाढीले तहसनहस पारेको छ।
  • डंगोलले आमाको फोटो फ्रेम र कपडा लेदोबाट निकालेर, कागजात र पैसा बाढीमा परेपछि राहत र बसोबासको प्रतीक्षा गरिरहेका छन्।

१३ भदौ, काठमाडौं । १० गते बिहानदेखि बेत्रावतीको घण्टाघरमा घण्टी बजेको छैन । यो घण्टाघरमा बिहान ६ बजेदेखि राति ९ बजेसम्म प्रत्येक घण्टा घण्टी बज्थ्यो । स्थानीयको लागि अर्लाम बनेको थियो यो घण्टाघर । विनाशकारी बाढीले तहसनहस भएपछि घडीको सुइ घुमेको छैन । बस्तीमा सन्नाटा छ ।

२०० बढी घर रहेको यो क्षेत्रमा कुनै पनि घर ठाडो छैनन् । लेदोले छोपिएको र क्षतिग्रस्त अवस्थामा भए पनि घण्टाघर ठडिएको भने देखिन्छ ।

भूकम्पछि बनाएको यो घरको आफ्नै कथा छ ।

२०७२ सालको कुरा हो । विनाशकारी भूकम्पले बेत्रापवती बजारका घरहरू भत्किए । बस्तीलाई फेरि उठाउनुपर्छ भनेर स्थानीय योगेश डंगोलले घण्टाघर बनाए ।

त्यसपछि यो क्षेत्रमा चहलपलह बढेको थियो । तर बुधबारको भोटेकोशी बाढीले यो बस्तीमा केही पनि बाँकी राखेन । बस्ती नै शून्य हुन पुग्यो ।

‘भूकम्पले भत्किएपछि यो ठाउँ बनाउनुपर्छ भनेर घण्टीघर बनाएको थिएँ । तर बाढीले यस्तो बनायो,’ डंगोलले भने, ‘१० गतेबाट चलेको छैन । भूकम्पपछि केही केही गर्नुपर्छ, यो ठाउँलाई बनाउनुपर्छ भनेर बनाएको हो । तर बाढीले शून्य भयो ।’

उनले यो घडी दिल्लीबाट ल्याएका थिए । घण्टाघरमा चारतैतिर घडी राखेका थिए । १३ लाख खर्च गरेर घडी राखेको डंगोलले बताए । टावरसहित ५ तलाको घर बनाउन उनले साढे २ करोड खर्चिएका थिए । ‘यही देशमा जन्मिएँ, हुर्किएँ । देशको मायाले घर बनाएको थिएँ । सबै सकियो,’ उनले भने, ‘बाढीले बस्ती मानवरहित भयो ।’

बाढी आएको दोस्रो दिन बेत्रावती पुग्दा डंगोल त्यही घण्टाघरबाट आमाको चिनो झिकेर ल्याउँदै थिए ।

आमाको फोटो फ्रेम र लेदोले लतपतिएको कपडा उनको हातमा थियो । ‘कस्तो माया लाग्यो । आमाको यादको सामान हो यो । यादको लागि झिकेको हुँ,’ उनले भने, ‘लेदो पखाल्यो भने त जान्छ नि ।’

डंगोल दुई हप्ताअघि अमेरिकाबाट नेपाल आएका थिए । किड्नीको बिरामी आमाको रेखदेखका लागि विदेशबाट नेपाल आएका हुन् । ‘आफू जन्मे-हुर्केको ठाउँ हो । १७ वर्ष भयो अमेरिका गएको । आमाको उपचारको लागि आएको हुँ,’ उनले भने ।

तर, उनी आफैं विनाशकारी बाढीमा परे । आमा र बुवालाई जोगाए । र, आफू पनि जोगिए । तर आफन्तहरू सबै गुमाए । बाढी आउने समयमा उनी बेत्रावती पुलमा थिए ।

‘बाढी आउँदै छ भन्ने सूचना पाएपछि म रसुवातिर लागेँ । जंगलैजंगल भागेर बाँचे । आँखै अगाडि धेरैलाई बगायो । जोगाउन सकिएन,’ उनले भने, ‘१५–२० सेकेन्डले बाचेँ ।’

डंगोलको कागजात सबै बाढीमा परेको छ । ‘पासपोर्ट छैन । पैसा छैन । यही लगाएको हाफ टिसर्ट मात्र हो,’ उनले भने, ‘स्लोभेनियाबाट आएका साथीको पनि डकुमेन्ट सबै बाढीमा पर्‍यो ।’

दोस्रो दिन लेदोमा गाडिएरै भए पनि उनी सामान खोजिरहेका थिए तर भेटाउन सकेका छैनन् । आगामी ७ तारिखमा अमेरिका फर्कने तयारीमा थिए डंगोल । उनको घरमा बैंकसमेत बसेको थियो ।

दुई दिन उनी बेत्रावतीबाट दुई घण्टामाथि तल्लो केराघारीमा स्थानीयको घरमा आश्रय लिएर बसे । ‘बस्ने ठाउँ थिएन । चिनेको साथीको घरमा बसेँ,’ डंगोलले भने । अहिले बेत्रावतीमा भागेर बाँचेकाहरू आफन्त र राहतको प्रतीक्षामा छन् ।

फोटो/भिडियो : कमल प्रसाईं/अनलाइनखबर

भोटेकोशी बाढीबारे अनलाइनखबरले गरेका मुख्य रिपोर्टिङहरू–

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?