+
+
Shares

सुरुङबाट बाढी छलेर तीन दिनपछि सेनाको ब्यारेकमा, भन्छन्– अझै अलपत्र छन् धेरै शव (भिडियो)

उनले सुनाए, ‘हामी टनेलबाट बढीमा २० जना निस्किएका थियौं । आफैं निस्किएका हौं । अहिले पनि गाडीभित्रै शवहरू त्यतिकै छन् ।’

नारायण अधिकारी आर्यन धिमाल नारायण अधिकारी, आर्यन धिमाल
२०८३ भदौ १३ गते १५:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी नदीको बाढीबाट उद्धार गरिएकाहरूको नुवाकोटको त्रिशुलीस्थित नेपाली सेनाको सैन्य तालिम केन्द्र र उपत्यकाका १३ अस्पतालमा उपचार भइरहेको छ ।
  • नुवाकोट विदुर–१३ का धनबहादुर तामाङलाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ, र उनले सुरुङभित्र अझै धेरै मानिस फसेको बताए ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेकाको उद्धारका लागि २० फिटभन्दा बढी उत्खनन गरिएको छ ।

१३ भदौ, त्रिशुली (नुवाकोट) । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उद्धार भएकाहरूलाई धमाधम उद्धार कार्य भइरहेको छ ।

नुवाकोटको त्रिशुलीस्थित नेपाली सेनाको सैन्य तालिम केन्द्रमा बाढीमा फसेका घाइतेहरू ल्याउने काम भइरहेको छ । केहीलाई हेलिकप्टरमार्फत सिधै काठमाडौं ल्याइएको छ भने सामान्य उपचार सोही केन्द्रमा भइरहेको छ ।

नुवाकोट विदुर नगरपालिका–१३ का धनबहादुर तामाङलाई आजै नेपाली सेनाले हेलिमार्फत उद्धार गरेको छ । उनी सुरुङभित्रै फसेका थिए । ‘एक्कासी बाढी आयो, त्यसपछि केही थाहा छैन,’ उनले भने । उनी सुरुङका चालक थिए । अहिले पनि सुरुङमा धेरै मान्छे रहेको उनले बताए ।

‘बाढी आएकै दिन म बाहिर निस्किएँ, रातभर क्याम्पमा बसेँ । खोला घटेपछि माथिको गाउँमा बास बस्न पुगेँ,’ उनले सुनाए, ‘हामी टनेलबाट बढीमा २० जना निस्किएका थियौं । आफैं निस्किएका हौं । अहिले पनि गाडीभित्रै शवहरू त्यतिकै छन् ।’

उनलाई अब चाहिँ बाँच्ने आशा रहेको उनले भावुक हुँदै सुनाए । ‘बाँचेकाहरूको उद्धार भइदिए हुन्थ्यो जस्तो लाग्छ,’ उनले भने ।

यही भदौ १० गते भोटेकोशीमा गएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा उद्धार कार्य भइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, अहिले उपत्यकाका १३ वटा अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल मेडिकल कलेज, वीरेन्द्र सैनिक अस्पताल, टिचिङ अस्पताल, मनमोहन अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, ग्रिनसिटी अस्पताल, वीर अस्पताल, नर्भिक अस्पताल, मनमैजु शुभम् अस्पताल, ग्राण्डी अस्पताल, हेम्स अस्पताल, प्रसूती गृह र एपीएफ अस्पतालमा उपचार भइरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेकाको उद्धार गर्न उत्खनन् जारी छ । अहिलेसम्म २० फिटभन्दा बढी उत्खनन भइसकेको रिर्पोटिङ भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?