News Summary
Generated by OK AI. Editorially reviewed.- १० भदौको बाढीले रसुवा र नुवाकोटका खानेपानी प्रणालीमा व्यापक क्षति पुर्याएर बट्टार बजारसहित प्रभावित बस्तीलाई पानीबाट वञ्चित बनाएको छ ।
- विदुरको बट्टार बजारमा ५ हजार ५ सयभन्दा धेरै घरधुरी लाभान्वित आयोजनाको ४ किलोमिटर पाइपलाइन, तीन बोरिङ र संरचना बाढीले बगाएको छ ।
- विभागले रसुवा र नुवाकोटका खानेपानी प्रणालीमा ६० करोड रुपैयाँभन्दा बढी क्षतिको प्रारम्भिक अनुमान गरेको छ, भने ८/९ जना कर्मचारी बेपत्ता छन् ।
१५ भदौ, काठमाडौं । १० भदौको विनाशकारी बाढीले रसुवा र नुवाकोटमा खानेपानी प्रणालीमा व्यापक क्षति गरेको छ । कतिसम्म भने सरकारी निकायले अहिलेसम्म कति खानेपानी प्रणालीमा क्षति गर्दा कति जनसंख्या खानेपानीको पहुँचबाहिर पुग्यो भन्ने यकिन तथ्यांक समेत निकाल्न सकेका छैनन् ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार यो बाढीले सबैभन्दा ठूलो क्षति नुवाकोटको विदुर नगरपालिकास्थित बट्टार बजारमा खानेपानी पुर्याइरहेको आयोजनामा गरेको छ ।
विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले व्यवस्थापन गरिरहेको खानेपानी आयोजनाबाट एकसाथ ५ हजार ५ सयभन्दा धेरै घरधुरी लाभान्वित भएका थिए ।
‘यो खानेपानी प्रणाली बेत्रावतिबाट सडक हुँदै बट्टार बजार ल्याइएको थियो,’ महानिर्देशक श्रेष्ठले भने, सडकसँगै यो आयोजनाको सबै संरचनामा क्षति पुगेको छ ।’
यसले एकसाथ ठूलो जनसंख्या खानेपानी सुविधाबाट वञ्चित हुन पुगेको छ । साथै, बाढीसँगै विद्युत् सेवा अवरुद्ध भएपछि बाढी प्रभावित क्षेत्रमा वैकल्पिक व्यवस्थाबाट खानेपानी सुविधा पुर्याउन समेत समस्या भइरहेको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।
उनीसहित उच्चस्तरीय टोली अहिले पनि नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा खानेपानी प्रणाली अध्ययन र आपतकालीन व्यवस्थापनमा जुटेको छ ।
‘नदी किनारका बस्तीमा त सबै संरचना बग्दा खानेपानीका संरचना पनि बगे, त्यसको मूल्यांकन बाँकी नै छ,’ उनले भने, ‘तत्कालको असर बट्टार बजारको खानेपानी आपूर्तिमा परेको छ ।’
नुवाकोट र रसुवामा अझै बिजुलीको प्रभावकारी व्यवस्था भएको छैन । कमजोर लाइन आउँदा बोरिङ पम्प गरेर पानी तान्ने विकल्पमा समेत काम गर्न नसकिएको उनले बताए ।
सोहीकारण काठमाडौंबाट जेनेरेटर मगाएर पम्पिङको विकल्पमा काम सुरु भएको महानिर्देशक श्रेष्ठले जानकारी दिए । उनका अनुसार १ सय केभीए जेनेरेटरबाट २३ लिटर प्रतिसेकेण्ड क्षमताको पम्पिङ प्रणाली आजमात्र सञ्चालनमा ल्याइएको छ ।
यसबाहेक काठमाडौं उपत्यका खानेपानी लिमिटेड र निजी क्षेत्रका ट्यांकर मार्फत सेल्टरहरूमा खानेपानी वितरणको व्यवस्था भने मिलाइएको श्रेष्ठले बताए । ती ट्यांकरले राहुल धारा लगायतमा पानी वितरण गरिरहेका छन् ।

खानेपानीको ठूलो माग रहेको बट्टार बजार बाहेक अहिले रसुवा र नुवाकोटको भोटेकोशी–त्रिशूली नदी किनारका सबै बस्ती बाढीले बगाएका कारण ती क्षेत्रमा तत्काल खानेपानी पुर्याइहाल्नुपर्ने बाध्यता भने छैन ।
तर, बाढी प्रभावित नागरिक राखिएका सेल्टरमा स्वच्छ खानेपानी र सरसफाइका लागि शौचालय व्यवस्थापनको काम चुनौतीपूर्ण देखिएको छ । अहिले विभागको प्रयास सोही व्यवस्थापनमा रहेको महानिर्देशक श्रेष्ठले बताए ।
उनका अनुसार वर्षायाम भएका कारण पानीको स्रोतमा ठूलो समस्या छैन । तर, सडक र पुल बगेका कारण पानी वितरणमा समस्या देखिएको छ । विभागले रसुवामा समेत खानेपानी आपूर्ति टुटेका क्षेत्रमा प्राथमिकताका आधारमा समस्या समाधान गर्दै जाने योजना अनुसार काम गरिरहेको छ ।
राष्ट्रिय खानेपानी उपभोक्ता महासंघ अध्यक्ष राजेन्द्र अर्यालका अनुसार विदुर खानेपानीको मुहान फलाखुँ खोला हो । त्यहाँसम्म पानी ल्याउन बिछ्याइएको ४ किलोमिटर पाइपलाइनमा क्षति भएको छ ।
त्यस्तै त्रिशूली नदीमा रहेका ३ वटा बोरिङ समेत बगाउँदा विदुर, बट्टार, इनारपानी र माझीटार क्षेत्रमा खानेपानी संकट भएको छ । उनका अनुसार ताली खोला गंगटेबाट पानी तानेर वितरणको सम्भावना रहे पनि लो भोल्टेजले समस्या आएको छ ।
नुवाकोटमा वाटर ट्रिटमेन्ट प्लान्ट बग्यो, कामदार बेपत्ता
खानेपानी तथा ढल व्यवस्थापन विभागले नुवाकोटमा वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण गरिरहेको थियो । जसमा ८/९ जना कर्मचारी समेत काम गरिरहेका थिए । उनीहरु बेपत्ता रहेको महानिर्देशक श्रेष्ठले बताए । ‘प्लान्ट निर्माणको अन्तिम चरणमा थियो, कर्मचारी समेत बगे, संरचना बग्यो, यस प्लान्टमा धेरै क्षति भएको छ,’ उनले भने ।
६० करोडमाथि क्षतिको प्रारम्भिक अनुमान
रसुवा र नुवाकोटमा बाढी प्रभावित क्षेत्रका खानेपानी प्रणालीमा मात्र ६० करोड रुपैयाँभन्दा माथिको क्षति भएको प्रारम्भिक अनुमान विभागले गरेको छ ।
यद्यपि, यो निकै प्रारम्भिक अनुमान रहेको महानिर्देशक श्रेष्ठले बताए । कतिपय क्षेत्रमा खानेपानीका स्रोत सुरक्षित रहे पनि वितरण प्रणाली मेटिएका छन् । यी प्रणाली पुन: सञ्चालनमा ल्याउने काम सडक र पुल पुनर्निर्माण सँगसँगै हुनुपर्ने छ ।
खानेपानी अभावले सरसफाइमा चुनौती
खानेपानी तथा सरसफाइ डिभिजन नम्बर ६ नुवाकोटले बाढी प्रभावित क्षेत्रमा अवरुद्ध खानेपानी योजनाका सम्बन्धमा नुवाकोट र रसुवा जिल्लाका विवरण संकलन सुरु गरेको छ ।
इन्जिनियर कामेश्वर दासका अनुसार अहिले कार्यालयले तथ्यांक संकलनको काम गरिरहेको छ । साना–ठूला ३० खानेपानी आयोजना यी जिल्लामा प्रभावित भएको अनुमान गरिएको छ ।
यता, विभागको चिन्ता समयमै खानेपानी आयोजना पुनर्स्थापना नभए स्वच्छ खानेपानीसँगै सरसफाइमा समेत चुनौति थपिने भन्नेमा छ । ‘सोहीकारण हामीले शीघ्र क्षतिग्रस्त प्रणाली सञ्चालनमा ल्याउने प्रयासमा छौं,’ विभागका महानिर्देशक श्रेष्ठले भने ।
पुन: सञ्चालन जिम्मा पूर्वाधार मन्त्रालयलाई
बाढीपछि १० भदौमा बसेको मन्त्रिपरिषद् बैठकले यस घटनापछि अवरुद्ध हुन पुगेको सडक र सोही क्षेत्रमा आवश्यक खानेपानीको व्यवस्था यथाशीघ्र पूर्वाधार विकास मन्त्रालयले गर्ने निर्णय गरेको छ ।
अहिले खानेपानी, सहरी विकास र पूर्वाधार क्षेत्रको जिम्मा पूर्वाधार मन्त्रालयसँग छ । मन्त्रालयले सडकतर्फ तत्काल तीन स्थानमा बेलिब्रिज जडान गर्ने र अन्य स्थानमा वैकल्पिक सडक सञ्चालन गरी यातायात सहज गराउने तयारी गरेको छ ।
प्रतिक्रिया 4