News Summary
Generated by OK AI. Editorially reviewed.- लेखमा बाहिरबाट ठीक देखिने जीवनभित्र असन्तुष्टि महसुस हुँदा आफैँलाई पाँच प्रश्न सोध्न सुझाव दिइएको छ।
कहिलेकाहीं बाहिरबाट हेर्दा केही पनि बिग्रिएको देखिँदैन । तैपनि भित्रभित्रै केही कुरा नमिल्लेजस्तो वा बिझाइरहेको महसुस हुन सक्छ । तपाईं बिहान उठ्नुहुन्छ । काममा जानुहुन्छ । मान्छेहरूलाई भेट्नुहुन्छ । आफ्ना जिम्मेवारीहरू पूरा गर्नुहुन्छ । र जे-जे गर्नुपर्ने हो, ती सबै गर्नुहुन्छ ।
बाहिरबाट हेर्दा तपाईंको जीवन एकदमै सही र व्यवस्थित देखिन पनि सक्छ । तर मनको कुनै कुनामा एउटा शान्त आवाजले भनिरहेको हुन सक्छ – केही पनि ठीक चलिरहेको छैन ।
यो भावना अलमल्याउने खालको हुन सक्छ । किनकि दोष दिनका लागि कुनै एउटा ठूलो समस्या नहुन पनि सक्छ । कहिलेकाहीं यो एउटा यस्तो अनुभूति मात्र बन्न जान्छ, जुन जीवन तपाईंले एक समय चाहनुभएको थियो, अब त्यो जीवन बाँचिरहन मन लागिरहेको छैन ।
त्यस्तोमा तुरुन्तै सबै कुरा सुधार्नतिर लाग्नुको सट्टा छोटो विश्राम लिएर आफूलाई केही इमानदार प्रश्नहरू सोध्नु फाइदाजनक हुन सक्छ ।
१. के म आफ्नो जीवनसँग दुःखी छु ? वा म यसभन्दा अघि बढिसकेको छु ?
हरेक असहज चरणको अर्थ केही कुरा बिग्रिएको छ भन्ने हुँदैन ।
कहिलेकाहीं तपाईं परिपक्व हुनुभएको हुन्छ वा परिवर्तन हुनुभएको हुन्छ, तर तपाईंको दिनचर्या, सम्बन्धहरू, महत्त्वाकांक्षाहरू वा वातावरण उस्तै रहन्छन् । एक समय रोमाञ्चक लाग्ने कुराहरू पछि साधारण लाग्न थाल्छन् । जुन लक्ष्यले एक समय उत्साह दिन्थ्यो, त्यसको अर्थ अब पहिलेजस्तो नरहन सक्छ ।
यहीं नै सेल्फ रिफ्लेक्सनको महत्त्व हुन्छ ।
आफूलाई सोध्नुहोस् – वास्तवमा के परिवर्तन भएको छ ? के तपाईंको जीवनले तपाईंलाई दुःखी बनाइरहेको छ ? वा तपाईं फरक आवश्यकता, प्राथमिकता र सपनाहरू भएको व्यक्ति बन्दै हुनुहुन्छ ?
कुनै कुराभन्दा अघि बढ्नु वा हुर्कनुको अर्थ तपाईंले पहिले गलत निर्णय गर्नुभएको थियो भन्ने होइन । यसको अर्थ यति हुन सक्छ कि त्यो निर्णय तपाईंको पुरानो रूप वा अवस्थाका लागि सही थियो ।
२. यदि कसैले मबाट केही आशा नराख्ने हो भने म के रोज्ने थिएँ ?
यो प्रश्न सोध्न सोचेभन्दा गाह्रो हुन सक्छ ।
हाम्रा धेरै निर्णयहरू हामीले वर्षौंदेखि अँगालेका सामाजिक अपेक्षाहरूद्वारा रूपान्तरित भएका हुन्छन् । एउटा सफल करियर कस्तो हुनुपर्छ ? एउटा स्थिर सम्बन्धमा कस्तो महसुस हुनुपर्छ ? राम्रो जीवन केलाई भनिन्छ ? भन्ने कुरा हामीले सिकेका हुन्छौं ।
एकछिनका लागि कल्पना गर्नुहोस् – व्यवस्थापन गर्नुपर्ने कुनै विचार/प्रतिक्रियाहरू छैनन् र प्रभाव पार्नुपर्ने कोही पनि छैन । अब तपाईं आफ्नो समय के गरेर बिताउनुहुन्थ्यो ?
यसको उत्तर एकदमै ठूलो वा नाटकीय हुनुपर्छ भन्ने छैन । सायद तपाईं अलि शान्त र सुस्त जीवन चाहनुहुन्छ होला । सायद तपाईं केही नयाँ सिक्न, कतै फरक ठाउँमा सर्न, एक्लै बढी समय बिताउन वा आफूलाई अब आकर्षित नगर्ने कुराको पछि लाग्न छोड्न चाहनुहुन्छ होला ।
तपाईंको उत्तरले के कुरा छुटिरहेको छ भन्ने स्पष्ट पार्न सक्छ ।
३. म परिवर्तन भएँ भने के होला भन्ने डर मलाई छ ?
कहिलेकाहीं के परिवर्तन गर्नुपर्छ भन्ने कुरा हामीलाई ठ्याक्कै थाहा हुन्छ । तर डरले गर्दा हामी जहाँको त्यहीं रोकिन्छौं । हामी मान्छेहरूलाई निराश बनाउने चिन्ता गर्छौं । हामीलाई आर्थिक अनिश्चितताको डर हुन्छ । परिचित कुरा छोड्दा पछि पछुताउनुपर्छ कि भन्ने सोच्छौं । कुनै स्थिति अब सही नलाग्दा पनि अपरिचित बाटोभन्दा परिचित अवस्था नै सुरक्षित महसुस हुन्छ ।
आफूलाई सोध्नुहोस् – वास्तवमा के गुमाउने डर तपाईंलाई छ ?
त्यसपछि अर्को प्रश्न सोध्नुहोस् - म जहाँ छु, ठ्याक्कै त्यहीँ बसिरहँदा मैले के के गुमाउँछु ?
परिवर्तनको अर्थ सधैं जागिर छोड्नु, सम्बन्धको अन्त्य गर्नु वा अन्तै कतैबाट नयाँ सुरुवात गर्नु मात्र हुँदैन । कहिलेकाहीं यसको अर्थ एउटा सीमा तय गर्नु, एउटा बानी बदल्नु वा आफूले केही फरक कुरा चाहेको स्वीकार गर्नु मात्र पनि हुन सक्छ ।
एउटा इमानदार कदम चाल्नका लागि तपाईंले आफ्नो सिङ्गो भविष्य पहिले नै तय गरिसक्नुपर्छ भन्ने छैन ।
४. मैले अन्तिम पटक कहिले वास्तवमै आफ्नै वास्तविक रूप महसुस गरेको थिएँ ?
तपाईं सफल हुनुभएको वा अरूबाट प्रशंसा पाउनुभएको क्षणहरूभन्दा पर गएर सोच्नुहोस् । त्यो समयको बारेमा सोच्नुहोस्, जब तपाईं आफूभित्रै सहज र सन्तुष्ट महसुस गर्नुहुन्थ्यो । सायद तपाईं कसैसँग हाँसिरहनुभएको थियो । एक्लै यात्रा गर्दै हुनुहुन्थ्यो । केही सिर्जना गर्दै हुनुहुन्थ्यो । राति अबेरसम्म पढ्दै हुनुहुन्थ्यो । प्रकृतिमा समय बिताउँदै हुनुहुन्थ्यो वा अरूले के सोच्लान् भन्ने चिन्ता नगरी सहजै केही गरिरहनुभएको थियो ।त्यतिबेला तपाईंमा के फरक थियो ? यो प्रश्नले जिम्मेवारीहरूको बोझमुनि बिस्तारै हराएका तपाईंका ती पाटाहरूलाई औंल्याउन सक्छ ।
पुनः आफ्नै वास्तविक रूपमा फर्कन विगतमै फर्कनुपर्छ भन्ने छैन । यसको अर्थ अहिलेको जीवनमा आफ्ना ती जीवित र सक्रिय पाटाहरूलाई पुनः समावेश गर्नु हुन सक्छ ।
५. यो असहज जीवनले मलाई के सिकाउन खोजिरहेको छ ?
आध्यात्मिक वा मानसिक वृद्धि सधैं शान्ति र स्पष्टताका साथ मात्र आउँदैन । कहिलेकाहीं यो बेचैनीका रूपमा आउँछ । अब सही नलाग्ने जीवन आफूभित्र चिहाउने एउटा निमन्त्रणा बन्न सक्छ । यसले तपाईंलाई ती विश्वास, बानी र पहिचानहरूमाथि प्रश्न उठाउन बाध्य पार्छ, जुन तपाईंले एक समय नसोचीकनै स्वीकार गर्नुभएको थियो ।
म यो भावनाबाट कसरी बाहिर निस्कूँ ? भनेर मात्र सोध्नुको सट्टा यो भावनाले मलाई के देखाइरहेको छ ? भनेर सोध्ने प्रयास गर्नुहोस् ।
सायद यसले तपाईंलाई गति धीमा गर्न सिकाउँदै छ । सायद यसले तपाईंलाई धेरैजसो आफ्नै चयन गर्न भनिरहेको छ । सायद यसले सफलताको पुरानो परिभाषा अब तपाईंको लागि उपयोगी छैन भन्ने देखाइरहेको छ ।
तपाईंले हरेक गाह्रो भावनालाई ब्रह्माण्डको संकेतका रूपमा लिनैपर्छ भन्ने छैन । तर तपाईं यसलाई आफ्नो मनको आवाज अझ ध्यानपूर्वक सुन्ने अवसरका रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया 4