News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको सिअटलस्थित मोटो पिज्जामा राखिएका दुई रोबोट आपूर्ति कम्पनी बन्द भएपछि बेकाम थन्किएका छन्।
अमेरिकाको सिअटल सहरमा रहेको मोटो पिज्जा नामक रेस्टुरेन्टमा पीठो मुछ्ने, सस हाल्ने र चिज छर्किने काम गर्न दुईवटा रोबोट राखिएका थिए । रेस्टुरेन्टका मालिक ली किन्डेललाई लागेको थियो – अब पिज्जा बनाउन मान्छेको आवश्यकता नै पर्दैन, सबै काम मेसिनले नै छिटोछरितो गर्छ ।
तर, गत मे महिनामा ती रोबोट आपूर्ति गर्ने प्रविधि कम्पनी अचानक बन्द भयो । कम्पनी बन्द हुनासाथ रोबोट बनाउने र मर्मत गर्ने प्राविधिक सहयोग पनि ठप्प भयो ।
१ लाख ६० हजार अमेरिकी डलर भन्दा बढी खर्चिएर किनेका ती ठूला मेसिनहरू अहिले रेस्टुरेन्टको कुनामा बेकाम थन्किएका छन् ।
यद्यपि रोबोटबाट पिज्जा बनाउने प्रयास असफल भएको यो पहिलो घटना भने होइन । पछिल्ला केही वर्षहरूमा यस्ता धेरै कम्पनीहरू आए र घाटा खाएर बन्द भए ।
रोबोटका हात प्रयोग गरेर पिज्जा बनाउने जुम र पाजी जस्ता चर्चित कम्पनीहरू टाट पल्टिएका छन् । त्यसैगरी पिज्जा दिने स्वचालित भेन्डिङ मेसिन बनाउने बेसिल स्ट्रिट पनि बन्द भएको छ । फास्ट फुडको काम सजिलो देखिए तापनि रोबोटका लागि यो सोचेभन्दा धेरै गाह्रो काम साबित भएको छ।
रोबोट किन सफल हुन सकेका छैनन् ?
बैङ्क अफ अमेरिकाकी रेस्टुरेन्ट विश्लेषक सारा सेनातोरका अनुसार खाना बनाउने रोबोटहरू अझैसम्म परिपक्व भइसकेका छैनन् । रोबोटहरू कहिलेकाहीं अनौठो तरिकाले काम गर्छन् । जस्तै, पिज्जामा हाल्ने सामानहरू गलत ठाउँमा खसालिदिन्छन् । तर, मान्छेहरूले निकै होसियार भएर काम गर्छन् ।
अर्को, रेस्टुरेन्ट विशुद्ध खाना खाने ठाउँ मात्र होइन । त्यहाँ मान्छेहरूले राम्रो सेवा र आत्मीय वातावरणको आशा गर्छन् । त्यसमाथि मान्छेले माया र मेहेनतका साथ हातैले बनाएको पिज्जाको स्वाद अर्कै हुन्छ । रोबोटले खाना बनाउँदा ग्राहक र रेस्टुरेन्टबीचको मानवीय सम्बन्ध हराएर जान्छ ।
त्यस्तै यदि रेस्टुरेन्टमा कुनै मान्छे नभएको बेला मेसिन बिग्रियो वा अड्कियो भने ग्राहकहरू निराश र आक्रोशित हुन्छन् । साथै, रोबोट बनाउने मुख्य कम्पनी नै बन्द भयो भने ती मेसिनहरू पूर्ण रूपमा कबाडी बन्न पुग्छन् ।
यति धेरै असफलता र घाटा सहनु परे पनि केही व्यापारी र इन्जिनियरहरू भने अझै हार मान्न तयार छैनन् । मोटो पिज्जाका मालिक ली किन्डेल आफैं थ्रीडी प्रिन्टर जस्तै काम गर्ने नयाँ पिज्जा रोबोट बनाउने तयारीमा जुटेका छन् । विगतका असफलताबाट पाठ सिकेको र अब बनाउने रोबोट अझ एड्भान्स हुने उनको भनाइ छ ।
त्यस्तै, ओहायोको एउटा विमानस्थलमा एपिट्रोनिक्स नामक कम्पनीले २४ सै घण्टा पिज्जा बनाउने रोबोटिक युनिट सञ्चालनमा ल्याएको छ । उनीहरू लेजर र अल्ट्रासाउन्ड प्रविधिको प्रयोग गरेर १/२ सेकेन्डमै सस हाल्ने र पिज्जा काट्ने तयारी गरिरहेका छन् । तर, यो सफल हुन्छ/हुँदैन हेर्न बाँकी छ ।
बीबीसीबाट
प्रतिक्रिया 4