News Summary
Generated by OK AI. Editorially reviewed.- पोल्का डटको महारानी भनेर चिनिने जापानी कलाकार यायोई कुसामाको ९७ वर्षको उमेरमा केही दिनअघि निधन भएको छ।
- कुसामाले दशकौंदेखि आफ्नै इच्छाले मानसिक अस्पतालमा बसेर जीवनभर कला सिर्जना गरिरहिन् र पछि विश्वभर चर्चित भइन्।
उनलाई रङ्गीचङ्गी थोप्लाहरू अर्थात् पोल्का डटको महारानी भनेर चिनिन्छ । आजीवन उनले यसै विचारमाथि काम गरिरहिन् । यसबाट उनले नाम, दाम धेरै कमाइन् । उनी हुन् जापानी कलाकार यायोई कुसामा । केही दिनअघि मात्रै ९७ वर्षको उमेरमा उनले यस धर्ती छाडिन् ।
को हुन् यायोई कुसामा ?
दशकौंदेखि आफ्नै इच्छाले मानसिक अस्पतालमा बस्दै आएकी कुसामा आफ्नो रातो कपाल र ठूलाठूला रोचक कलाकृतिहरूका लागि चिनिन्थिन् ।
उनका कला प्रदर्शनीहरूमा विश्वभर ठूलो भीड लाग्ने गर्थ्यो । महिला कलाकारहरूमध्ये सबैभन्दा महँगो मूल्यमा उनका चित्रहरू बिक्री हुन्थे । उनले जीवनको अन्तिम दिनसम्म पनि चित्र बनाउन छाडिनन् । तर, उनको जीवन हेर्दा जोकोही पनि छक्क पर्न सक्छ । किनकि, उनको काम लामो समयसम्म विश्वले देखेन । भनौं, कला जगतमा उनका सुरुवाती दिनमा कसैले पनि खासै वास्ता गरेन । कुसामा ८० र ९० वर्षको उमेरमा पुगेपछि मात्रै विश्वभर चर्चित बन्न पुगिन्।

सन् १९६० को दशकमा न्यूयोर्कको कला क्षेत्रमा पुरुषहरूको बाहुल्यता थियो । त्यसबेला कुसामाले केही गर्न खोज्दा उनका नयाँ सोच र कलाहरूलाई कसैले पनि राम्रो मानेनन् । अझ उनका विचार र कलाहरू पुरुष कलाकारले कपी गरिदिए । त्यहाँको त्यस्तो अवस्थाले दुःखी बनेकी उनी अन्तत: जापान नै फर्किइन् ।
जापान फर्किएपछि उनी आफ्नै इच्छाले मानसिक अस्पतालमा भर्ना भइन् । त्यहाँका डाक्टरहरू कलाबाट गरिने उपचार आर्ट थेरापीमा रुचि राख्थे । त्यहीं सुरक्षित वातावरणमा बसेर उनले जीवनभर कला सिर्जना गरिरहिन् ।
बिस्तारै उनको कलाको कदर हुन थाल्यो ।
सन् १९९३ मा उनी प्रतिष्ठित भेनिस बिएनालेमा जापानको तर्फबाट एक्लै प्रतिनिधित्व गर्ने पहिलो कलाकार बनिन् । सन् २००१ मा उनले जापानको प्रसिद्ध असाही पुरस्कार पनि पाइन् । सन् २०२२ मा उनको एउटा चित्र लगभग १०.५ मिलियन डलरमा बिक्री भएको थियो । जुन नेपाली रुपैयाँ अनुसार करिब १ अर्ब ४० करोड रुपैयाँ हुन आउँछ ।

लन्डनको प्रसिद्ध टेट मोर्डन ग्यालरीमा भएको उनको इन्फिनिटी मिरर रुम्स प्रदर्शनी त्यहाँको इतिहासकै सबैभन्दा धेरै मानिसले हेरेको प्रदर्शनी बन्यो । त्यो प्रदर्शनीमा ऐना र बत्तीहरूको प्रयोग गरेर अनन्तसम्म फैलिएको जस्तो देखिने कोठा बनाइएको थियो ।

यस्तो उतारचढावले भरिपूर्ण भएकी कुसामाको जन्म सन् १९२९ मा जापानको मात्सुमोतो सहरमा भएको थियो । सानैदेखि उनलाई आँखा अगाडि अनौठा दृश्य र बत्तीहरू झिम्किएको जस्तो भान हुन्थ्यो । उनले त्यही अनुभवलाई बिस्तारै कलामा उतार्न थालिन् । सुरुमा परिवारले त्यस प्रकारको उनको कलालाई स्विकारेका थिएनन् । तर, उनले चित्र बनाउन कहिल्यै छाडिनन् ।
पछिल्ला वर्षमा सोसल मिडियाका कारण पनि उनी युवा पुस्तामाझ निकै लोकप्रिय भइन् । मान्छेहरू उनका चित्र र ठूल्ठूला मूर्तिहरूसँग फोटो खिच्न रुचाउँथे ।
उनका कलामा फर्सीको रूप धेरै प्रयोग हुन्थ्यो । उनी फर्सीलाई शान्ति र सुरक्षाको प्रतीक मान्थिन् ।

प्रतिक्रिया 4