News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवागढीमा बाढीपहिरोले क्षति पुर्याएपछि तातोपानी बन्द हुँदा नेपाल–चीन व्यापारको चाप मुस्ताङको कोरला नाकामा सरेको छ ।
- सरकारले रसुवाबाट आउने मालवाहक गाडी कोरला नाकातर्फ डाइभर्ट गरेपछि त्यहाँ १ सय ७५ कन्टेनर रि–रुट भएका छन् र १५ कन्टेनर जाँचपास भइसकेका छन् ।
- कामको चाप बढेपछि भन्सार विभागले मुस्ताङ भन्सारमा थप ६ कर्मचारी पठाएको छ, तर क्वारेन्टिन सेवा टेन्टमा सञ्चालन भइरहेको छ ।
२२ भदौ, काठमाडौं । बाढीपहिरोले रसुवागढी नाकामा ठूलो क्षति पुर्याएको केही समय लगत्तै चीनतर्फबाट तातोपानी नाकासमेत अस्थायी रूपमा बन्द गरिएपछि नेपाल र चीनबीचको व्यापारिक चाप मुस्ताङस्थित कोरला नाकामा सरेको छ ।
सम्बन्धित अधिकारीहरूका अनुसार विगतमा व्यापारिक गतिविधि निकै कम हुने यस नाकामा अहिले भने दुई देशबीचको व्यापारको सम्पूर्ण भार थुप्रिएको छ र यो हाल सञ्चालनमा रहेको एकमात्र नाका बनेको छ ।
रसुवागढी नाका बाढीले तहसनहस बनाएपछि चीनबाट नेपाल भित्रिन लागेका सयौँ मालवाहक कन्टेनर बीच बाटोमै अलपत्र परे । चिनियाँ भन्सारबाट जाँचपास भइसकेका ती सामग्री पुन: चीनमै फर्काएर अर्को नाकाबाट ल्याउँदा प्रशासनिक काम, भुक्तानी (पेमेन्ट) प्रणाली र रकम फिर्ता (रिफन्डिङ) मा गम्भीर जटिलता उत्पन्न हुने देखियो ।
यही संकट मध्यनजर गर्दै सरकारले रसुवागढी (टिमुरे) नाकाबाट आउनुपर्ने मालवाहक गाडीलाई मुस्ताङको कोरला (नेचुङ) नाकातर्फ ‘डाइभर्ट’ गर्ने वैकल्पिक नाकाका रूपमा प्रयोग गर्न भनेपछि अहिले मालवाहक गाडीको ओइरो लागेको छ ।
सामान्यतया सीमित गाडीमात्र जाँचपास हुने यस नाकामा एकै पटक ३ भन्सार नाकाको चाप थपिएपछि मुस्ताङ भन्सार कार्यालयलाई व्यवस्थापन गर्न चुनौती थपिएको छ ।
पूर्वाधार र जनशक्ति अभावबीच पनि दुवै निकायले आपत्कालीन व्यवस्थापन गर्दै जाँचपासलाई निरन्तरता दिइरहेका छन् ।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विदुर चुडालका अनुसार एकातिर लगातार तीन दिनको सार्वजनिक बिदा र अर्कातिर डाइभर्ट भएर आएका गाडीको चापले भन्सारमा कामको दबाब अत्यधिक बढेको छ ।

यद्यपि, सोमबारदेखि बैंक र सरकारी कार्यालयहरू पूर्णरूपमा खुलेपछि व्यापारीले भन्सार विवरण (डिक्लेरेसन) भर्ने क्रम बढेको छ र जाँचपासले गति लिएको छ ।
आइतबार मात्रै १५ वटा कन्टेनर जाँचपास भएर गइसकेका छन्, जसमध्ये ५ वटा कन्टेनरमा फलफूल थिए भने बाँकी १० वटामा तयारी पोसाक (रेडिमेड) लगायत सामग्री थिए ।
कामको चाप सम्बोधन गर्न भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयका लागि थप जनशक्ति परिचालन गरेको छ । मुस्ताङ भन्सार कार्यालयमा यसअघि १८ जनाको दरबन्दी भए पनि जम्मा १२ जना मात्रै कार्यरत छन् ।
अहिले भन्सार विभागले थप ६ कर्मचारीको दरबन्दी मुस्ताङ पठाएको छ । थपिएका नयाँ कर्मचारी सहित कुल १८ जनाको टोलीले भन्सार जाँचपास अझै चुस्त बनाउने कार्यालयको भनाइ छ ।
भन्सार विभागले तीन अधिकृत र तीन नायब सुब्बास्तरका कर्मचारी भन्सार कार्यालय पठाएको हो । कार्यालय खुल्ने दिनमै खटाइएका कर्मचारी रमाना लिएर मुस्ताङ भन्सार कार्यालय आउँदै गरेको उनले बताए ।
मुस्ताङ भन्सारको तथ्यांक अनुसार चीनतर्फबाट १ सय ७५ कन्टेनर कोरला नाकातर्फ रि–रुट भएका छन् । तीमध्ये केही कन्टेनर भन्सार यार्डमा प्रवेश गर्न थालिसकेका छन् ।
भन्सार कार्यालयले अन्यत्रबाट बाटो परिवर्तन गरेर आएका गाडीलाई पहिलो प्राथमिकतामा राखेर जाँचपास गर्ने रणनीति तय गरेको छ ।

भौतिक पूर्वाधार अभाव, राष्ट्रिय राजमार्गको दुर्दशा र पुलपुलेसा अभावजस्ता दीर्घकालीन समस्या भए पनि अहिले सबैको संयुक्त प्रयासमा काम भइरहेको चुडालले बताए ।
‘पूर्वाधारका कुरा पछि सोचौंला, अहिले तत्काल व्यापारी र कन्टेनरवालाहरूको समेत सहयोगमा यहाँ आएका गाडी जाँचपास गरेर पठाउने काममा हामी अहोरात्र लागिरहेका छौं,’ उनले भने ।
भन्सार जाँचपासले गति लिए पनि कृषि तथा वनजन्य सामग्री आयातमा अनिवार्य मानिने प्लान्ट क्वारेन्टिनको काम भने अत्यन्तै दयनीय अवस्थामा भइरहेको छ ।
रसुवाबाट डाइभर्ट भएका गाडीमा फलफूल, तरकारी र जडीबुटी जस्ता छिट्टै बिग्रिने सामग्री धेरै भएकाले सरकारले प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलको नेतृत्वमा ३ जनाको टोली मुस्ताङ पठाएको छ ।
तर, कोरलामा क्वारेन्टिनको आफ्नै सरकारी भवन भए पनि कर्मचारीले भने त्यहाँबाट सेवा दिन पाएका छैनन् । विगतमा कोरला नाकाबाट कृषिजन्य सामग्री आयात–निर्यात नहुने र क्वारेन्टिनको काम नपर्ने भएकाले स्थानीय प्रशासनको निर्णयमा उक्त भवनमा अहिले नेपाल प्रहरी बसेको छ ।
आफ्नो भवनमा प्रहरी बसिरहेको हुँदा काठमाडौंबाट गएको पौडेलको टोलीले लोमान्थाङ गाउँपालिकासँग समन्वय गरेर एउटा टेन्ट (पाल) टाँगेर आपत्कालीन सेवा सुरु गरेको छ ।
‘हाम्रो आफ्नै भवन छ, तर विगतमा काम नहुने भएकाले प्रहरीलाई बस्न दिइएको हो,’ वरिष्ठ बाली संरक्षण अधिकृत पौडेलले भने, ‘अहिले हामी पालमुनि बसेर सेवा दिइरहेका छौं, पालभित्र हावाहुरी र चिसोका कारण प्रयोगशालामा राख्ने केमिकल (रसायन) चलाउन सक्ने अवस्था छैन, त्यसैले अहिले कागजात हेर्ने र प्रशासनिक काम (छोडपुर्जी दिने) मात्रै भइरहेको छ ।’
पौडेलका अनुसार रसुवाबाट आजसम्म कोरला नाकाका लागि कुल ३ सय ६१ वटा कन्साइन्मेन्ट डाइभर्ट गर्न स्वीकृत भइसकेको छ । जसमध्ये करिब ६८ गाडीको आधिकारिक अनुरोध प्राप्त भएको छ । तीमध्ये १० वटा गाडी डाइभर्टको अन्तिम प्रक्रियामा छन् भने ४ वटा नेपाल प्रवेश गरिसकेका छन् ।

हाल चीनतर्फ जोडिने एकमात्र नाका कोरला सञ्चालनमा रहेकाले यसलाई साधन, स्रोत र जनशक्ति सम्पन्न बनाउनुपर्ने राज्यको प्राथमिकतामा परेको र सरकारले यसका लागि पहल गरिरहेको बताएको छ ।
यसका लागि कृषि, वन तथा पर्यावरण मन्त्रालयले दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सम्भाव्यता अध्ययनका लागि कार्यगत सर्त (टीओआर) समेत तयार गरिसकेको बताएको छ ।
रसुवा र तातोपानी नाकामा पटक–पटक प्राकृतिक प्रकोपको सामना गर्नुपरेपछि सरकारले कोरला नाकालाई अब भरपर्दो र दीर्घकालीन नाकाका रूपमा विकास गर्ने सोच बनाएको छ ।
तर, त्यसभन्दा अगाडि क्वारेन्टिनको आफ्नै भवनबाट सेवा सुरु गर्ने वातावरण मिलाउनुपर्ने र चिनियाँ पक्षसँग समन्वय गरेर जाँचपासलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार व्यवस्थित गर्नुपर्ने चुनौती सरकारसामु खडा भएको छ ।
प्रतिक्रिया 4