+
+
Shares

‘भूकम्पबाट उठेका थियौं, बेत्रावतीलाई फेरि उठाउँछौं’

‘बेत्रावती रहनैपर्छ । हामी राख्छौँ । योगेशले भने, ‘बेत्रावती छोडेर अर्को ठाउँमा बस्ने भनियो भने स्वीकार्य हुँदैन । बेत्रावती त्यहीँ चाहिन्छ । पहिलेको जस्तै बनाउने हो । मलाई आशा छ, बन्छ ।’

दिनेश गौतम दिनेश गौतम
२०८३ भदौ १९ गते १८:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको बेत्रावतीमा बाढी पस्दा केही मिनेटमै बस्ती तहसनहस भएको योगेश डंगोलले आँखै अगाडि मान्छे, गाडी र घर बगेको बताए।
  • डंगोलका अनुसार बेत्रावतीमा करिब २३०–२३५ घर र ७–८ सय जनसंख्या थियो, तर बाढीपछि धेरै परिवार सम्पर्कविहीन भएका छन्।
  • डंगोलले भूकम्पपछि उठेको बेत्रावतीलाई फेरि पुनर्स्थापना गर्नुपर्ने भन्दै बस्ती त्यहीँ राख्ने अभियान जारी रहेको बताए।

१९ भदौ, काठमाडौं । १० भदौ बिहान योगेश डंगोलले बेत्रावतीलाई एक फन्को लगाए । उत्तरगया धाम गए, त्रिशूली खोलाको तुप्चेसँग जोड्ने झोलुङ्गे पुल पुगे, मरणघाट पाटीमा पुगे, लाखे हेरे । ८ वर्ष आफैं अध्यक्ष भएको क्लबको भवनमा गए ।

सबैतिर घुमेर घर फर्किँदै गर्दा बेत्रावती बजारको बीच भागमा पुगेका मात्र थिए, सूचना आयो, ‘बाढी आउँदै छ रे ।’

त्यसपछि उनी छोरा, आमा-बुबाको खोजीमा लागे । करिब ९ बजेर २० मिनेट गएको थियो, बाढी बस्तीमा पसिहाल्यो । ‘हेर्दाहेर्दै १५–२० मिनेटमै तहसनहस भयो । विध्वंश मच्चाएको बाढीको साक्षी बने उनी ।

हाहाकार मच्चियो । बसहरू बगिरहेका थिए । पारिपट्टि फाँटमा मान्छे भागिरहेका थिए । ‘त्यो फाँटमा भएका मानिसलाई के भयो होला कल्पना गर्न सक्दिनँ । पुलभरि मान्छे थिए । गाडी कुदिरहेका थिए । सबै बगयो,’ उनी स्तब्ध भए ।

बेत्रावतीको प्रहरी चौकी अगाडि राखिएका चार–पाँच वटा ठूला–ठूला डिब्बा ट्रक र कारहरू बगायो । ‘त्यसभित्र मान्छे थिए । स्कुल बसहरू थिए । भयावह स्थिति थियो,’ डंगोल शब्दमा बयान गर्न सक्दैनन् ।

बेत्रावीतको पुल तरेका मात्र थिए, आँखै अगाडि उनकी सानीआमा र ज्वाइँलाई बगायो । ‘बाढी सानीआमाको घर पुगेपछि हाहाकार सुरु भयो । मन्दिरबाट सेतो मुस्लो आयो । त्यसपछि त दिमागले कामै गरेन,’ उनले भने ।

बजारमै उनको ५ तलाको घर थियो । घरको चौथो तलासम्म बाढीको बहाव पुग्यो । उनको मात्र होइन, सबैको घर एकैछिनमा लग्यो । ‘पुण्यभूमि बेत्रावाती खण्डहर बन्यो,’ उनी भन्छन् ।

बेत्रावतीले ऐतिहासिक महत्त्व बोकेको छ । सन् १८४९ मा तिब्बतसँग सन्धि भएको सुनेको छु । त्यो भन्दा पहिला नै बेत्रावतीमा बस्ती थियो भन्ने छ,’ उनले भने, ‘शिलापत्रामा उल्लेख भएअनुसार यहाँ मन्दिर, गुठी पहिलेदेखि नै थिए । बेत्रावती ऐतिहासिक धरोहर हो ।’

डंगोलहरूले बस्ती बसालेपछि लाखे, गाईजात्रा सबै चल्दै आएको छ । ‘बेत्रावती व्यापारिक केन्द्र पनि हो । सामान किन्न टाढा–टाढाबाट आउने गर्थे,’ उनले भने, ‘उत्तरगया धाम छ । चारधाम पुग्न नसके पनि उत्तरगया धाम आइसकेपछि सबै पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।’

तर, अहिले त्यही बेत्रावतीमा सन्नाटा छाएको छ । ‘डंगोलहरूको मात्र १७०–१८० घर थिए । तामाङ बस्ती पनि थियो । ब्राह्मणहरू थिए । पारिपट्टि मगरका परिवारहरू थिए,’ उनले भने, ‘बेत्रावतीमा लगभग २३०–२३५ घर थिए ।’

डंगोलका अनुसार यो टोलमा ७–८ सय जनसंख्या थियो । ‘बाढीले डंगोलहरू ६१ जना बगाएको भन्ने कुरा आएको छ । कोही सम्पर्कविहीन छन् । कोहीका बच्चाहरू बगेका छन् । यकिन तथ्यांक आएको छैन,’ उनले भने, ‘सानीआमा, फुपू, फुपूकी छोरी, बहिनीकी छोरी, वरिपरिका गाउँले दाजुभाइ मेरै आँखा अगाडि बगे ।’

डंगोल दुई साताअघि अमेरिकाबाट नेपाल आएका थिए । बाढी आउनुअघि जात्रा निकाल्न के गर्ने भन्ने तयारी भइरहेको थियो । उनी पनि त्यसैमा सामेल थिए ।

‘घोडेजात्रा र गाईजात्राको तयारीमा थियौं । टिसर्ट छापेका थियौं । तर बस्ती नै रहेन,’ उनले भने, ‘२०७२ मा भूकम्पले पनि बेत्रावती तहसनहस भएको थियो ।’

बेत्रावती बचाउनुपर्छ भनेर उनीहरूले भूकम्पपछि बस्ती उठाएका थिए । ‘पहिला घर म बनाउँछु भनेर सुरुवात गरेँ । बेत्रावती बचाउनुपर्छ, सुन्दर बनाउनुपर्छ भनेर घडी घर बनाएको थिएँ,’ उनले भने ।

बस्ती सुन्दर बन्दै थियो । एउटा व्यवस्थित बस्ती बनेको थियो । ‘खेतीयोग्य जमिन, शुद्ध पानी, खोलाको संगम, उत्तरगया पुण्यभूमि, लाखे जात्रा हुन्थ्यो । वर्षभरि तीन–चार वटा जात्रा हुने एउटा प्याकेज थियो बेत्रावतीमा,’ उनी भन्छन्, ‘रसुवाको नाका, रसुवागढी जोड्ने त्यही नै मुख्य बाटो हो ।’

तर, भूकम्पबाट उठेको १० वर्षमा फेरि बगरमा परिणत भयो बेत्रावती । तर योगेश डंगोल बेत्रावतीलाई उठाउने अभियानमा छन् । उनले भूकम्पपछि माथिको तलामा चारैतिर घडी राखेर घर बनाएका थिए । जसले बेत्रावतीलाई समय दिइरहेको थियो । तर अहिले त्यो घडी रोकिएको छ ।

डंगोलले बेलायतमा बनेको घडी भारतबाट ल्याएका थिए । ९ वर्षअघि त्यो घडीका लागि १२–१३ लाख खर्चिएका थिए । बिहान ६ बजे बज्न सुरु हुन्थ्यो र ९ बजेसम्म प्रत्येक घण्टा बज्थ्यो ।

उनी घर बनाएर अमेरिका गएपछि आमा बिरामी भएकाले फर्किन पाएका थिएनन् । आमाको स्वास्थ्यमा सुधार भएपछि परिवार नै नेपाल आएको थियो ।

‘उपचार भइसकेपछि आमालाई नेपाल देखाउन ल्याएको थिएँ । अन्तिम पटक हेर्न ल्याएको जस्तो भयो,’ उनले भने ।

घर बनाएपछि उनी ५ रातभन्दा बढी घरमा पाएनन् । ‘पहिला दुई रात बसेँ, पछि तीन रात गरेर पाँच रात जति बसेँ होला,’ उनले भने ।

अब फेरि बेत्रावती पुनर्स्थापनाबारे छलफल सुरु भइसकेको डंगोलले बताए । ‘बेत्रावती त रहनैपर्छ । हामी राख्छौँ नै,’ उनले भने, ‘बेत्रावती छोडेर अर्को ठाउँमा बस्ने भनियो भने त्यो स्वीकार्य हुँदैन । बेत्रावती त्यहीँ चाहिन्छ । त्यस्तै हुन्छ, त्यस्तै बनाउने हो । मलाई ठूलो आशा छ, बन्छ ।’

तस्वीर-भिडियो : आर्यन धिमाल/अनलाइनखबर

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?