+
+
Shares

सन्तमानले परिवार जोगाए, सबथोक गुमाए

सन्तमानसँग अब घर छैन, बनाउँदा लागेको २३ लाख ऋण मात्र बाँकी

‘मैले नजानुस्!भनेर हपारेको मात्र के थिएँ, खोला त आइ पो हाल्यो !,’ सन्तमान सम्झन्छन्, ‘खोलाको पहिलो बहावले उहाँलाई लडाएर लगिहाल्यो।’

आदित्य नेपाल आदित्य नेपाल
२०८३ भदौ १४ गते १७:१७

१४ भदौ, बेत्रावती । भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।

दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी जस्तै थियो ।

खै किन हो, त्यसदिन उनलाई घरभित्र पस्नै मन लागेन। आफ्नै घर अगाडि टक्क अडिए।

सन्तमानको आफ्नै घरमा पूजा सामग्रीको पसल थियाे । उनले भाडामा दिएको कोठामा अन्सारी मोटरसाइकल वर्कसप थियो।

घरबाहिर अलमलिएका सन्तमानलाई घरछेवैमा रहेका हार्डवेयर पसलका साहुले भने, ‘बेत्रावतीमा बाढी आउने कुरा सुने, यहाँ नबस् भनेको छ।’

बेत्रावतीवासीका लागि बाढीको सूचना नौलो होइन। सन्तमानले शुरूमा हार्डवेयर पसलेका कुरालाई त्यति गम्भिर रुपमा लिएनन्।

तर ‘यहाँ नबस् भनेको छ’ भन्ने वाक्य कानमा गुञ्जिरह्यो ।

नबस्न भनेको शब्दलाई दोहोर्‍यार मनन गरे। त्यसपछि उनले श्रीमतीलाई घरबाहिर बोलाए । र यो सूचना बारे जानकारी गराए।

‘हार्डवेयरको साहुले त्यति भनेर तपाईंहरूमाथि जानुस् म खोला हेरर आउँछु’ भन्नुभयो।

‘मैले नजानुस्!भनेर हपारेको मात्र के थिएँ, खोला त आइ पो हाल्यो !,’ सन्तमान सम्झन्छन्, ‘खोलाको पहिलो बहावले उहाँलाई लडाएर लगिहाल्यो।’

सन्तमान आँखै अगाडिको त्यो दृश्य अहिलेसम्म दिमागमा घुमिरहेको बताउँछन्।

बाढीले बगाएको बेत्रावती बजार

‘मेरो पछाडि श्रीमती थिइन् । मैले पहिला उनलाई च्याप्प समाते तर खोलाले न्याँकीहाल्यो। त्यै पनि बल्लतल्ल उचालेर श्रीमतीलाई माथि फ्याँके र त्यसपछि बुट्यान समातेर माथि उक्लिएँ।’

त्यतिबेलासम्म सन्तमानको घर पर पुगिसकेको थियो। हेर्दाहेर्दै उनको घर बाढीले लग्यो ।

‘छिमेकीको त झन् घर मात्र होइन परिवारका सदस्य समेत बगेको देखें। साह्रै दु:ख लाग्यो,’ उनी भन्छन्।

‘इश्वरलाल श्रेष्ठ र बुद्धिलाल डंगोल मेरो छेउमा लतारिएर आएपछि दुवैलाई तान्न भ्याएँ। तर त्यसपछि उहाँहरू मेरो सम्पर्कमा हुनुहुन्न,’ सन्तमान भन्छन्, ‘भेटेपछि तपाईंको मात्रै होइन्, मेरो पनि सबै गयो भन्नुछ।’

छतबाट बचाउ बचाउ भनेका दुईजनालाई भने बचाउन नसकेको उनी बताउँछन् ।

माथि पुगेपछि सन्तमानलाई छोराछोरीको अवस्थाले पिरोल्न थाल्यो। उनले तुरून्तै छिमेकीको मोबाइलबाट विद्यालयमा सम्पर्क गरे। सौभाग्यले उनका एक छोरा र एक छोरी डाँडामा रहेको नीलकण्ठ विद्यालयमा सुरक्षित रहेछन्।

उनी भन्छन्, ‘मैले चारजनाको मेरो परिवार बचाउन सफल भएँ।’

घर छैन, घर बनाउँदा लागेको २३ लाख ऋण छ

ज्यान जोगिए पनि सन्तमानसँग अहिले केही छैन। सम्पत्तिको नाममा रहेका त्यही एउटा घर बगेपछि उनी एकजोर लुगा पनि माथिल्लो केराघारीमा रहेका आफन्तसँग माग्नुपरेको छ। च्यातिएको सर्टमा भावव्हिल देखिएका उनी आफ्नो जिन्दगी डामाडोल भएको बताउँछन्।

बाढीले बगाएको बेत्रावती बजार

‘खाने बस्ने केही छैन, माग्नेको हालत भयो। मेरो त सबथोक नै त्यति थियो,’ उनले भावुक हुँदै सुनाए, ‘मैले महेनत गरेर जोडेको सम्पत्ति थियो।’

सन्तमानका अनुसार उनको थाप्लोमा अहिले २३ लाख रूपैयाँ ऋण छ। घर बनाउन लिएको ऋण उनले तिर्न सकेका छैनन्। उनलाई ऋण र छोराछोरीको भविष्यले चिन्तित बनाएको छ।

‘कहाँबाट तिर्नु अब ऋण ? बैंकले त बुझ्दैन मेरो पीरमर्का,’ उनी भन्छन्, ‘म जस्तै सबथोक गुमाएकाहरूको कुरा पनि सरकारले बुझेर केही राहत दियो भने जिन्दगी थप बाँच्न सकिएला नभए हामीले पाएको आयुभन्दा चाँडै जानुपर्ने स्थिति छ।’

सन्तमानको आग्रह छ, ‘हजुरहरू सक्नुहुन्छ भने सरकारसम्म मेरो कुरा पुर्‍याइदिनुहोला ।’

लेखक
आदित्य नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?