+
+
Shares

मलामीविहीन बेत्रावती : दाहसंस्कार गर्ने मान्छेसमेत छैनन्

बेत्रावतीमा एकातिर बाढीमा परेर मृत्यु हुनेहरूको शव उठ्न सकेको छैन । बस्तीमा मलामी छैनन् । बाढीमा परी सबै परिवार बितेकाको दाहसंस्कार गर्न मान्छेसमेत छैनन् ।

दिनेश गौतम दिनेश गौतम
२०८३ भदौ १४ गते १६:२०
Listen News
0:00
0:00
🔊

१४ भदौ, नुवाकोट (बेत्रावती) । बेत्रावतीका विवश र विश्वास श्रेष्ठले बाढी आएको तेस्रो दिन घर नजिकै आमाको शव फेला पारे । ७२ वर्षीय बुबा र ६५ वर्षीय आमालाई बाढीले बगाएको खबर पाएपछि दुई दाजुभाइ बाढी आएको भोलिपल्ट ११ गते बेत्रावती पुगेका थिए ।

‘स्थानीयले आमाको शव देखेर खबर गरेपछि यहाँ आएका हौँ । तर शव झिक्न सकेका छैनौं,’ बेतावतीबाट २ घण्टामाथि केराघारीमा बास बसेका विवशले भने, ‘उद्धारको लागि प्रशासन आएको छैन । गाउँमा मान्छे छैनन् ।’

‘बेत्रावती पुग्ने बित्तिकै आमाको शव खोज्न घर भएतिर गएको तर लेदोले जान सकिएन । त्यसपछि केराघारी आएर बसेका हौँ,’ उनले भने ।

तेस्रो दिन बिहानै दाजुभाइ फेरि बेत्रावतीतर्फ लागे । त्यो दिन पनि शव झिक्न सकेनन् । ‘चौथो दिन १३ गते बिहान आमाको शव आफैंले झिक्यौं,’ उनले भने, ‘हिजो दाहसंस्कार गर्‍यौं । मन रोइरहेको छ । सुत्न सकेको छैन । हिम्मत आएको छैन,’ विवशले भने ।

बेत्रावतीमा बाढीले बगाएर भेटिएका शवको दाहसंस्कार गर्ने र मालामी जाने मान्छेसमेत छैनन् । ‘हामी दाजुभाइसहित ४–५ जना थियौं । बस्ती पूरै बगाएको छ । मलामी नै भएनन्,’ उनले भने, ‘काका, ठूलोबुबा र मामाको छोरा हुनुहुन्थ्यो । गाउँको एउटा भाइले दाउरा ल्याएर सहयोग गर्नुभयो ।’

बाढीले बस्ती नै बगाएपछि दाहसंस्कार गर्ने ठाउँसमेत थिएन । ‘अहिले घर भएकै ठाउँबाट खोला बगेको छ । अर्को ठाउँमा लैजान बाटो छैन । अर्काको जग्गामा जलाउन पनि मिलेन । आफ्नै घर अगाडि जलायौं । खोलाको पानीले पखाल्यौं,’ उनले भने । काजकिरिया गर्नको लागि घर नभएपछि विवशका दाजुभाइ काठमाडौं फर्किएका छन् ।

विवश र विश्वास कामको सिलसिलामा काठमाडौंमा बस्दै आएका थिए । बेत्रावतीमा आमा, बुबा र काका बस्ने गरेका थिए । ‘घरमा तीन जना हुनुहुन्थ्यो । बुबा-आमालाई बगायो । काका गोठमा जानु भएको भएर जोगिनुभएको छ,’ विवशले भने, ‘बुबा अझै बेपत्ता हुनुहुन्छ ।’

गाउँमा काजकिरिया गरेर बस्ने घर नभएकाले विवश दाजुभाइ काठमाडौं आएका हुन् । ‘आमाको काजकिरिया आजदेखि सुरु गरेका छौँ,’ उनले भने, ‘गाउँमा काका एक्लै पर्ने भएपछि यतै लिएर आएका छौँ ।’

बेत्रावतीमा बाढीका कारण शव उठाउने मानिससमेत भेट्न मुस्किल छ । ‘धेरैलाई बगायो । बाढीको त्रास अझै छ । बस्ने घर छैन । बाँचेकाहरू लाखापाखा लागेका छन्,’ स्थानीय नारायणलाल डंगोलले भने, ‘खोलामा यत्रतत्र रहेका शवबाट दुर्गन्ध आउन थालेको छ ।’

बाढी आएको भोलिपल्ट ११ गते दिउँसो अनलाइनखरबको टिम बेत्रावती पुग्दा उद्धारमा खटिइरहेका थिए, आशिष तामाङ । आशिषले बेत्रावतीको घण्टाघरबाट भाउजुको शव निकालेर माथि डिलमा ल्याएर राखे । तर उठाउने मान्छे कोही भएनन् ।

‘प्रहरीलाई खबर गर्दा आएको छैन । आउँछु भनेको छ, कति बेला आउने हो थाहा छैन,’ उनले भने । बेत्रावतीको घण्टाघरसँगै एनआईसी बैंक थियो, त्यहीँ कार्यरत थिइन् उनकी भाउजु ।

अरू कर्मचारी भाग्न सफल भए पनि उनकी भाउजु बाढीको भेलमा परेकी थिइन् । शव फेला परेको भोलिपल्ट उनका श्रीमान् नवराज तमाङ आएर दाहसंस्कार गरे । ‘उहाँको श्रीमान् आएर शव लानुभयो । भोलिपल्ट केराघारीमा लगेर दाहसंस्कार गर्नुभयो,’ स्थानीय नारायणलाल डंगोलले भने ।

बस्ती नै रित्तो भएकाले शव उठाउने र मलामी जाने मान्छे नभएको उनले बताए । ‘पहिले बाक्लो बस्ती थियो । तर अहिले घरै छैनन् । मान्छे बगाएको छ । अझै बाढीको त्रास छ,’ उनले भने, ‘बस्तीका यो घर, त्यो घर, ओल्लो, पल्लो, तल्लो सबैको घरमा कोही न कोहीलाई बगाएको छ ।’

स्थानीय योगेश डंगोलका अनुसार कतिपयको बाढीबाट सबै परिवार बितेकाले दाहसंस्कार गर्नेसमेत कोही छैनन् । ‘कसैको घरमा सबैलाई बगाएको छ । अब कसले दाहसंस्कार गर्ने हो थाहा छैन,’ उनले भने । तर एउटै परिवारका सबै बेपत्ता हुनेको संख्या यकिन भएको छैन ।

‘सबैलाई बगाएको छ । बेपत्ता भएको भनेर कसले जानकारी दिने । आँखै अगाडि बगाएको देखेको छु । अहिले पनि खुट्टा कापिरहेको छ,’ उनले भने ।

२०० बढी घरधुरी रहेको बस्तीमा १ हजारभन्दा धेरै मानिस रहेको उनको अनुमान छ । तर यकिन तथ्यांक आएको छैन । ‘बस्ती शून्य घाट जस्तो भएको छ । शोकमा छ । के भन्ने खोई, शब्दविहीन भएका छौँ,’ डंगोलले भने ।

भागेर बाँचेकाहरू पनि तितरबितर भएका छन् । बस्ने बास र खाने गाँस नभएपछि विभिन्न ठाउँमा आश्रय लिन पुगेकाले पनि बेत्रावतीमा मान्छे नभएका हुन् । ‘कोही केराघारी, कोही गेर्खु, कोही सदरमुकाम आएर बसेका छन् । जहाँ आफन्त छन् त्यहीँ गएका छन् । कति काठमाडौं आएका छन्,’ स्थानीय इन्द्रमाया डंगोलले भनिन् ।

प्रशासनबाट बाढी आइरहेको खबर आए पनि कस्तो खालको बाढी भएको सूचना नै पुग्न नसक्दा धेरै मानवीय क्षति भएको स्थानीय बताउँछन् ।

‘बाढी कत्रो आउँदैछ भन्ने जानकारी दिनुपर्थ्यो । यहाँका लागि त बाढी सामान्य नै भएर कसैले आकलन नै गर्न सकेन,’ विवशले भने, ‘स्याफ्रुबेशी गयो, चिलिमे गयो, टिमुरे गयो र यहाँ पनि केही बाँकी रहन्नन् भनिदिएको भए यो खालको क्षति हुँदैन्थ्यो ।’

बेत्रावती वरपर बाढीले बगाएर ल्याएका शवहरू छन् । तर उठाउने न स्थानीय नै छन् न प्रशासन पुगेको छ । ‘तेस्रो दिन दिउँसो एपीएफको एउटा टोली आएको थियो । राहत ल्याएको थिएन । एउटा कुकुर लिएर हिँड्दै आएको थियो । फेरि बाढी आउने हल्ला चल्यो । त्यसपछि उद्धार नै नगरी फर्कियो,’ डंगोलले भने, ‘मान्छेको शव र मरेका पशु-चौपयाका कारण दुर्गन्ध फैलिएको छ । सरकारको प्रतीक्षामा छौँ ।’

फोटो : कमल प्रसाईं/अनलाइनखबर

भोटेकोशी बाढीबारे अनलाइनखबरले गरेका मुख्य रिपोर्टिङहरू–

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?