+
+
Shares

वर्षायाममा सताउने लामखुट्टेका १४ रोचक कुरा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १४:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वर्षायाममा लामखुट्टेको गतिविधि बढ्ने र यसले डेंगी, मलेरिया, चिकनगुनिया तथा जापानिज इन्सेफलाइटिस सार्न सक्ने भएकाले बच्न आवश्यक छ।
  • पोथी लामखुट्टेले अण्डा विकासका लागि रगत चुस्ने र एडिज एजिप्टाइ दिनको समयमा बढी सक्रिय हुने भएकाले दिनमा पनि सावधानी अपनाउनुपर्छ।
  • घर वरिपरि जमेको सानो सफा पानी पनि लामखुट्टेको प्रजननस्थल बन्न सक्छ, त्यसैले पानी जम्न नदिनु नियन्त्रणको प्रमुख उपाय हो।

वर्षायाम सुरु भएसँगै घर वरिपरि, पानी जम्ने ठाउँ र ओसिलो वातावरणमा एउटा सानो जीवको गतिविधि निकै बढ्छ, लामखुट्टे । सानो आकारको भए पनि लामखुट्टे मानिसका लागि निकै ठूलो स्वास्थ्य चुनौती बन्न सक्छ ।

डेंगी, मलेरिया, चिकनगुनिया, जापानिज इन्सेफलाइटिसलगायतका रोग फैलाउन सक्ने भएकाले वर्षायाममा यसबाट जोगिनु झनै आवश्यक हुन्छ । तर हामीले सबै लामखुट्टेलाई एउटै नजरले हेर्छौं । वास्तवमा लामखुट्टेको संसार त्यति सरल छैन । सबै लामखुट्टेले मानिसको रगत पनि चुस्दैनन्, सबैले रोग सार्दैनन् र मानिसलाई टोक्ने लामखुट्टेले पनि सधैं रगतकै लागि टोक्दैन ।

लामखुट्टेबारेका केही यस्ता रोचक तथ्य छन्, जुन थाहा पाएपछि यसको व्यवहार र यसबाट बच्ने उपायलाई अझ राम्रोसँग बुझ्न सकिन्छ ।

१. करोडौं वर्ष पुरानो जीव

लामखुट्टेको उत्पत्ति करोडौं वर्ष पुरानो मानिन्छ । वैज्ञानिक प्रमाणका आधारमा लामखुट्टेको पुर्खा पेलियोजोइक वा मेसोजोइक युगतिरै अस्तित्वमा आएको हुन सक्ने अनुमान छ । अर्थात्, मानिस पृथ्वीमा आउनुभन्दा धेरै अघिदेखि नै लामखुट्टे पृथ्वीमा घुमिरहेको हुन सक्छ । आज विश्वभर लामखुट्टेका हजारौं प्रजाति पाइन्छन् । तर ती सबै मानिसका लागि हानिकारक हुँदैनन् ।

२. सबैले मानिसलाई टोक्दैनन्

लामखुट्टेबारेको सबैभन्दा रोचक तथ्य यही हो, रगत चुस्ने काम मुख्यतः पोथी लामखुट्टेले गर्छन् । भाले लामखुट्टेले मानिस तथा जनावरको रगत चुस्दैनन् । उनीहरू मुख्यतः फूल तथा वनस्पतिबाट प्राप्त रसमा निर्भर हुन्छन् ।

पोथी लामखुट्टेलाई भने अण्डा विकास गर्न आवश्यक पोषणका लागि रगत चाहिन्छ । त्यसैले, अण्डा पार्ने तयारीमा रहेका पोथी लामखुट्टे मानिस वा अन्य जनावरको रगत चुस्न सक्रिय हुन्छन् ।

३. मानिसलाई खोज्दैं हिँड्छन्

अँध्यारोमा वा वरिपरि मानिस नभएको अवस्थामा पनि लामखुट्टेले मानिसलाई कसरी पत्ता लगाउँछ भन्ने प्रश्न धेरैलाई हुन्छ । लामखुट्टेले मानिसको शरीरबाट निस्कने कार्बन डाइअक्साइड, शरीरको तापक्रम, पसिना र शरीरको गन्ध जस्ता संकेत प्रयोग गरेर आफ्नो लक्ष्य पहिचान गर्न सक्छ ।

त्यसैले, धेरै मानिस भएको ठाउँमा लामखुट्टेको गतिविधि बढी देखिन सक्छ ।

४. लामखुट्टेको भन्काइ उसको आवाज होइन

कान नजिकै आएर लामखुट्टेले गर्ने ‘भनभन’ आवाज धेरैलाई झर्को लाग्छ । तर त्यो आवाज कुनै रहस्य होइन । लामखुट्टे उड्दा उसका पखेटा अत्यन्त तीव्र गतिमा फड्किन्छन् । त्यही पखेटाको कम्पनबाट भन्किने आवाज उत्पन्न हुन्छ ।

रोचक कुरा के भने, भाले र पोथी लामखुट्टेको भन्काइको ध्वनि फरक हुन्छ । यही ध्वनिको माध्यमबाट उनीहरूले एकअर्कालाई पहिचान गर्न र जोडी बनाउने गर्छन् ।

५. मानिसभन्दा छिटो उड्दैन

लामखुट्टेले हामीलाई निकै छिटो पछ्याएजस्तो लाग्छ । तर यसको उड्ने गति मानिसको सामान्य हिँडाइभन्दा पनि कम हुन्छ । औसतमा लामखुट्टे करिब १.५ माइल प्रतिघण्टासम्मको गतिमा उड्न सक्छ । यसको तुलनामा मानिसको सामान्य हिँड्ने गति करिब ३ माइल प्रतिघण्टा हुन सक्छ ।त्यसैले, लामखुट्टे तीव्र गतिमा उड्ने जीवभन्दा बढी चतुर र आफ्नो लक्ष्य पत्ता लगाउन सक्षम जीव हो ।

६. छ हप्तासम्मको आयु

लामखुट्टेको आयु प्रजाति, तापक्रम, पानी, खाना र वातावरणअनुसार फरक हुन्छ । पोथी लामखुट्टे सामान्यतया भालेभन्दा लामो समय बाँच्न सक्छन् । केही पोथी लामखुट्टे करिब दुईदेखि ६ हप्तासम्म बाँच्न सक्छन् । यस अवधिमा उनीहरूले पटक–पटक रगत चुस्ने र अण्डा पार्ने चक्र पूरा गर्न सक्छन् ।

७. थोरै पानी पनि लामखुट्टेका लागि पर्याप्त

लामखुट्टेको प्रजननका लागि ठूलो पोखरी नै आवश्यक पर्दैन । घर वरिपरि जम्मा भएको सानो मात्राको सफा पानी पनि लामखुट्टेका लागि अण्डा पार्ने ठाउँ बन्न सक्छ । पुराना टायर, गमला, पानी जम्ने भाँडा, बोतल, कुलर, छत वा अन्य साना भाँडामा जम्मा भएको पानीमा लामखुट्टेले प्रजनन् गर्न सक्छ । त्यसैले, वर्षायाममा लामखुट्टे नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी उपायमध्ये एउटा हो, घर वरिपरि पानी जम्न नदिनु।

८. डेंगी सार्ने लामखुट्टे दिनमा बढी सक्रिय

डेंगी सार्ने लामखुट्टे एडिज एजिप्टाइ हो । यसले प्रायः दिनको समयमा, विशेषगरी बिहान र साँझतिर मानिसलाई टोक्ने गर्छ । यसको अर्थ राति मात्र लामखुट्टेबाट बच्न खोजेर पुग्दैन । दिनको समयमा पनि लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक हुन्छ । पूरा शरीर ढाक्ने कपडा लगाउने, झुल वा जालीको प्रयोग गर्ने र आवश्यक पर्दा लामखुट्टे भगाउने पदार्थ प्रयोग गर्ने जस्ता उपाय उपयोगी हुन सक्छन् ।

९. सबै लामखुट्टेले रोग सार्दैनन्

लामखुट्टे देखिनेबित्तिकै त्यसले रोग सार्छ भन्ने होइन । विश्वभर पाइने हजारौं प्रजातिमध्ये केही प्रजाति मात्र मानिसमा रोग सार्न महत्वपूर्ण हुन्छन् । रोग सार्ने क्षमता लामखुट्टेको प्रजाति र त्यसमा रहेको रोगजनकमा निर्भर हुन्छ । त्यसैले, लामखुट्टेको संख्या घटाउनुका साथै रोग सार्न सक्ने प्रजातिको प्रजनन रोक्नु सार्वजनिक स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ ।

१०. लामखुट्टेको यात्राको दूरी

सबै लामखुट्टे लामो दूरी उड्दैनन् । केही प्रजाति जन्मिएको ठाउँ वरिपरि नै सीमित रहन्छन् भने केही प्रजाति हावा, मानिस वा अन्य माध्यमको सहयोगमा टाढासम्म पुग्न सक्छन् । केही लामखुट्टे आफ्नो जीवनचक्रमा केही सय फिटको क्षेत्रमै सीमित रहन सक्छन् भने केही अवस्थामा दर्जनौं माइलसम्म फैलिएको देखिन्छ । यसैले एउटा घर सफा राखेर मात्र पुग्दैन । समुदायको वरिपरि पनि लामखुट्टेको प्रजननस्थल नियन्त्रण गर्नु आवश्यक हुन्छ ।

११. सफा पानी धेरै रुचाउँछ

‘लामखुट्टे फोहोर पानीमा मात्र हुन्छ’ भन्ने धारणा पूर्ण रूपमा सही होइन । डेंगी सार्ने एडिज लामखुट्टेले प्रायः जम्मा भएको सफा पानीमा अण्डा पार्न सक्छ । घरभित्र वा घर वरिपरि सफा देखिने तर लामो समयदेखि नचलाइएको पानी पनि जोखिमपूर्ण हुन सक्छ । त्यसैले, पानी सफा छ कि फोहोर भनेर मात्र होइन, पानी जमेको छ कि छैन भन्ने कुरा पनि हेर्नुपर्छ ।

१२. लामखुट्टेले टोक्दा किन चिलाउँछ ?

पोथी लामखुट्टेले रगत चुस्ने क्रममा मानिसको छालामा आफ्नो मुखको भाग प्रयोग गर्छ । रगत सजिलै चुस्नका लागि त्यसले लार छालामा छोड्छ । त्यही लारप्रति शरीरको प्रतिरक्षा प्रणालीले प्रतिक्रिया जनाउँदा टोकिएको ठाउँमा रातो हुने, सुन्निने र चिलाउने हुन सक्छ ।

१३. लामखुट्टे मानिसको रगत मात्र खोज्दैन

लामखुट्टेको मुख्य खाना रगत हो भन्ने बुझाइ सही छैन । भाले र पोथी दुवैले सामान्य अवस्थामा वनस्पतिबाट प्राप्त रस तथा अन्य स्रोतबाट ऊर्जा प्राप्त गर्छन् । पोथीलाई भने अण्डा विकास गर्न आवश्यक पोषणका लागि रगतको आवश्यकता पर्छ । मानिसको रगत लामखुट्टेको दैनिक ऊर्जाको एकमात्र स्रोत होइन ।

१४. लामखुट्टेलाई नियन्त्रण गर्न ब्याक्टेरिया प्रयोग

लामखुट्टे नियन्त्रणका लागि वैज्ञानिकहरूले विभिन्न नयाँ प्रविधिमा काम गरिरहेका छन् । त्यसमध्ये वोल्बाकिया नामक ब्याक्टेरियाको प्रयोग पनि महत्वपूर्ण छ । केही कार्यक्रमहरूमा वोल्बाकिया बोकेका लामखुट्टेको प्रयोग गरेर रोग सार्ने क्षमता वा लामखुट्टेको संख्या नियन्त्रण गर्ने प्रयास गरिएको छ ।‍ यसले लामखुट्टे नियन्त्रणमा रासायनिक विषादीबाहेकका जैविक उपायबारे पनि वैज्ञानिक अनुसन्धान अघि बढिरहेको देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?