संसारको सबैभन्दा पुरानो लामखुट्टे फेला परेको छ । जर्मनीको एलएमयू विश्वविद्यालयका शोधकर्ताले म्यानमारको काचिन क्षेत्रमा रुखको खोटो अर्थात् एम्बरभित्र सुरक्षित रुपमा रहेको लामखुट्टेको लार्भाको जिवावशेष फेला पारेका हुन् । सो लार्भा करिब ९ करोड ९० लाख वर्ष पूरानो भएको बताइएको छ।
उक्त लामखुट्टेको लार्भा पृथ्वीमा हाल रहेका कुनैपनि प्रजातिभन्दा केही फरक छ । त्यसैले वैज्ञानिकहरूले यसलाई नयाँ प्रजातिको रुपमा नामाकरण गरेका छन् । यसको नाम क्रेटोसाबेथेस प्राइमेभस राखिएको छ ।
उक्त लार्भा खोटोभित्र फेला परेको लामखुट्टेको पहिलो लार्भा मात्र होइन मेसोजोइक युगको पहिलो लार्भाको जिवावशेष पनि हो । यसअघि मेसोजोइक युगका वयस्क लामखुट्टेका जीवाश्म मात्रै फेला परेका थिए ।
यो जीवाश्म यसकारण पनि विशेष छ कि यसको लार्भाहरू अहिलेका लामखुट्टेसँग निकै मिल्दोजुल्दो देखिन्छ । शोधकर्ताका अनुसार यो लार्भा आधुनिक प्रजातिजस्तै छ जबकि त्यस समयका अन्य लामखुट्टेका जीवाश्महरूमा वर्तमान समयका लामखुट्टे भन्दा भिन्न र निकै अनौठा लक्षणहरू देखिन्थे ।
यसअघि भेटिएका करिब ९ करोड ९० लाख वर्ष पुराना लामखुट्टेका जीवाश्महरू बुर्माकुलाइसिन नामक विलुप्त समूहका वयस्क लामखुट्टे थिए ।
जसको बनावट आजका लामखुट्टेभन्दा निकै फरक थियो । तर यो नयाँ प्रजाति भने आजका लामखुट्टेहरूसँग सम्बन्धित समूहसँग नजिक देखिन्छ ।
वैज्ञानिकहरूका अनुमान अनुसार पृथ्वीमा लामखुट्टेको उत्पत्ति जुरासिक कालमा भएको हो । त्यो भनेको करिब २० करोड १० लाखदेखि १४ करोड ५ लाख वर्षअघिको समय हो । र, त्यसबेला पृथ्वीमा डाइनोसरको दबदबा थियो । यो नयाँ खोजले मेसोजोइक कालसम्म आइपुग्दा लामखुट्टेहरू विभिन्न रूपहरूमा विभाजित भइसकेका देखाएको छ ।
अनुसन्धान अनुसार लामखुट्टेका लार्भाको संरचना करिब १० करोड वर्षदेखि लगभग समान रहेको छ । आजका स्याबेथिनी समूहका लार्भाहरू थोरै पानी जमेको स्थानहरू, जस्तै रुखका खोक्रो भागमा जम्मा भएको पानीमा बस्छन् । क्रेटोस्याबेथेस प्राइमेभसको लार्भा पनि यस्तै वातावरणमा बस्थ्यो भन्ने अनुमान गरिएको छ ।
खोटो निस्कने रुखको नजिक खोटो जमेर बनेको वस्तुलाई एम्बर भनिन्छ । यसले सामान्यतया जमिनमा वा हावामा बस्ने जीवका जिवाश्मलाई संरक्षण गर्छ । म्यानमारको एम्बरमा प्रायः माकुरा, बीटल, मौरी, भँमरा, कमिला र झिँगा भेटिन्छन् । तर पानीमा बस्ने लार्भा एम्बरमा जोगिनु अत्यन्त दुर्लभ घटना हो । किनकि सानो पानीको पोखरीमा खोटोको थोपा खस्नु र त्यसले जीवलाई सुरक्षित राख्ने कुराको सम्भावना निकै कम हुन्छ । त्यसैले यो खोज वैज्ञानिकहरूका लागि निकै दुर्लभ उपहार जस्तै बनेको छ ।
यो जीवाश्मले लामखुट्टेहरूको प्रारम्भिक विकासक्रम बुझ्न महत्वपूर्ण योगदान दिनेछ । यो खोजले के देखाएको छ भने स्याबेथिनी जस्ता समूहका लामखुट्टेहरू निकै प्राचीन कालदेखि नै पृथ्वीमा अस्तित्वमा थिए र उनीहरूको स्वरूप आजसम्म लगभग उस्तै रहँदै आएको छ ।
एजेन्सी
प्रतिक्रिया 4