
केही दिनअघि काठमाडौँको एक निजी अस्पतालमा जापानिज इन्सेफलाइटिस अर्थात् जेई भाइरसको उपचार गराइरहेका बिरामीको आफन्तसँग कुराकानी भएको थियो । उनका अनुसार जेई भाइरस संक्रमित बिरामी एकपछि अर्को गर्दै उपचारका लागि काठमाडौं आइरहेका छन् ।
केही दिनअघि बिरामी भएर (चितवनमा) अस्पताल गएका एकजना पुरुष औषधि किनेर फर्कने क्रममा बेहोस भएका थिए । ती बिरामीलाई पनि जेई भाइरसको शंका लागेर परीक्षण तथा उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
बिरामीका ती आफन्तका अनुसार थप आधा दर्जनको हाराहारीमा बिरामी जेई भाइरसको शंकामा उपचारका लागि काठमाडौँमा आएका छन् ।
माथि उल्लेखित जेई संक्रमितका आफन्त पनि चितवनवासी भएकोले जेई अर्थात् जापानिज एन्सेफलाइटिस भाइरसको प्रकोप चितवनमा तीव्र गतिमा फैलिरहेको अनुमान गर्न सकिन्छ ।
स्वास्थ सेवा विभागको तथ्यांकअनुसार चितवन मात्र नभई तराईका विभिन्न जिल्लामा जेई भाइरस फैलिँदो छ ।
झन्डै साढे दुई दशक अगाडि जुनियर मेडिकल अधिकृतको रूपमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सेवा दिँदै गर्दा हप्तामा नै दर्जनौं जेई संक्रमित बिरामीको मृत्यु हुने गर्थ्यो ।
जेई विरुद्धको खोप नेपालमा पर्याप्त नहुँदा/प्रयोग नहुँदा त्यो अत्यासलाग्दो मृत्युदर देखिएको थियो ।
सन् २००५ मा जेई भाइरसको महामारीबाट झन्डै दुई हजार बिरामीको मृत्यु भएलगत्तै चीनमा विकास गरिएको खोप नेपालमा व्यापक प्रयोग गरिएको थियो । सो खोपको प्रयोगबाट जेईको मृत्युदर उल्लेखनीय रूपमा घटाउन नेपाल सफल भएको थियो । तत्पश्चात् सो खोपलाई बाल खोप कार्यक्रमअन्तर्गत पनि समावेश गरियो ।
तर, पछिल्ला केही वर्षयता भने जेई भाइरस संक्रमणको ग्राफ बढ्दो छ । संक्रमितको संख्या मात्र होइन, मृत्युदर पनि बढ्दै गइरहेको तथ्यांकमा देखिन्छ । गत वर्ष (सन् २०२४) मृत्यु हुनेको संख्या अघिल्लो वर्ष (सन् २०२३) भन्दा झन्डै दोब्बर (१७ जनाको मृत्यु) देखिन्छ । यो वर्ष पनि मनसुनको सुरुवातीमै जेई भाइरसबाट ३ जनाको मृत्यु भइसकेको छ भने ३३ जनामा संक्रमण पुष्टि भएको भइसकेको छ ।
नेपालमा जेई भाइरस विशेषत जुन–जुलाई महिनामा सक्रिय हुँदै अगस्ट महिनामा उच्चतम बिन्दुमा पुग्ने गरेको देखिन्छ । अर्थात् जेई संक्रमणको जोखिम नेपालमा अझै केही हप्ता हुनेछ ।
जेई संक्रमणको जोखिम विशेषत: १५ वर्ष मुनिका बालबालिकामा हुने भन्ने गर्थ्यो । तर पछिल्ला केही अनुसन्धानले भाइरसको जोखिम वयस्कमा पनि उत्तिकै हुने देखाएको छ ।
सन् २०१७ मा प्रकाशित एक अनुसन्धान लेखले वयस्कमा पनि संक्रमण र मृत्युदर बढी हुने गरेको नतिजा प्रकाशित गरेको थियो । यो वर्ष जेई संक्रमणको जटिलताबाट मृत्यु हुनेमा १९, ४९ र ७४ बर्षका पुरुष छन् ।
जेई विरुद्धको खोप बाल खोप कार्यक्रममा समावेश गरिएकोले १५ वर्ष मुनिका बालबालिकाको मृत्यु नभएको हुनुपर्छ ।
तर, १९ वर्षको पनि मृत्यु हुनुले खोपको थप बुस्टर आवश्यकताको संकेत गर्छ । यद्यपि, १९ वर्षीय बिरामीले जेई विरुद्धको खोप लगाएको/नलगाएको सार्वजनिक भएको भने छैन । बाँकी दुई मृतकको उमेरअनुसार नेपालमा खोप सुरु नै भएको थिएन । तसर्थ, अहिलेको मुख्य बहस जेई भाइरसविरुद्ध खोप नलिएका वयस्क खोप कहाँ पाइन्छ भनेर अनविज्ञ हुनु हो ।
माथि सुरुमा उल्लेखित संक्रमितको आफन्तले पनि आफूले जेई भाइरसविरुद्धको खोप लगाउन चाहेको तर कहाँ उपलब्ध हुन्छ/पाइन्छ भन्ने जानकारी नभएको भनेका थिए । तसर्थ, वर्षेनी जेईको प्रकोप बढ्दै जाँदा सम्बन्धित निकायले संक्रमणबारे जानकारी व्यापक गर्नुपर्ने अनि खोपको सहज पहुँच वा उपलब्धता/जानकारी पनि दिनुपर्ने आवश्यकता देखिन्छ ।
जेई भाइरस उच्च घातक मात्र होइन, यदि उपचार गरेर बचाउन सकियो भने पनि यीमध्ये झन्डै ५० प्रतिशतमा जीवनभर नसासँग सम्बन्धित अपांगता पनि गराउन सक्छ । जस्तै- कम्पन आइरखने, सुन्ने शक्ति वा दृष्टि गुम्ने, बोल्ने क्षमता अनि स्मृतिमा ह्रास हुने, बोलाइ/इस्पिच कमजोर हुने, हातखुट्टा लुला हुने जस्ता समस्या देखिन सक्छ ।
जेई भाइरसको विशेष एन्टीभाइरल औषधि विकास गरिसकिएको छैन । तर भाइरसविरुद्ध प्रभावकारी खोप भने उपलब्ध छ ।
काठमाडौँमा पनि जेई भाइरसको प्रकोप हुनसक्छ ? साढे दुई दशक अगाडि अस्पतालमा सेवा सुरु गर्दा जेईका भर्ना भएका बिरामी लगभग सबै तराईमा बसोबास गर्नेहरू थिए । तर पछिल्लो समय काठमाडौँमा पनि जेई भाइरस संक्रमित देखिन थालेका छन् ।
काठमाडौँमा देखिएका झन्डै ७५ प्रतिशत जेई संक्रमित काठमाडौँ बाहिर गएका नै थिएनन् । अर्थात् उनीहरू काठमाडौँका रैथाने लामखुट्टेले टोकेर संक्रमित भएका थिए ।
संक्रमितमध्ये २० प्रतिशतको मृत्युसमेत भएको सो अनुसन्धानले देखाएको छ । यसबाट जेई भाइरस फैलाउने क्युलेक्स जातको लामखुट्टे काठमाडौँमा पनि प्रशस्त छ भन्ने देखाउँछ ।
हाल तराईका केही जिल्लामा मात्र सीमित जस्तो देखिएको जेईको प्रकोप काठमाडौँमा पनि ढिलो चाँडो देखिन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । अव्यवस्थित घना बस्तीको कारणले पनि जेई भाइरसको जोखिम काठमाडौँमा अरु कीटजन्य संक्रमण सरह उच्च छ ।
जेई भाइरसले नेपालमा झन्डै १९ वर्षको अन्तरालपछि कमब्याक गरेको छ । हाल डेंगुको सम्भावित प्रकोप नियन्त्रणको बारेमा योजना बुन्दै गर्दा अर्कोतिर डेंगुभन्दा घातक मानिने किटजन्य भाइरस जेई प्रकोपको सामना गर्नुपर्ने अवस्था सिर्जना भएको देखिन्छ ।
तर, खोपको पहुँचलाई विस्तार र सहज गर्न सके यो भाइरसबाट हुनसक्ने मानवीय क्षतिलाई शून्यमा ल्याउन सकिने बिगतको अनुभवले देखाइसकेको छ । यसप्रति सम्बन्धित निकायको सघन ध्यान जान जरुरी देखिन्छ ।
(डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।)
प्रतिक्रिया 4