
News Summary
Generated by OK AI. Editorially reviewed.- २६ वर्षीय जेकब रायन रेनो अमेरिकास्थित शिकागोको लोगन स्क्वायर फार्मर्स मार्केटमा हरेक आइतबार पाँच मिनेटमा खराब पोर्ट्रेट बनाउँछन्।
- रेनोले मे १८ देखि आफ्नो स्टल राखेर ५०० भन्दा बढी नराम्रो पोर्ट्रेट बनाइसकेका छन् र मान्छेहरू आफ्नो पालो पर्खेर लाइनमा बस्छन्।
- उनले पोर्ट्रेटलाई काम होइन, मान्छेहरूसँग कुराकानी गर्ने अवसरका रूपमा लिन्छन् र उनका चित्रहरूले मानिसहरूलाई हाँस्न बाध्य पार्छन्।
हरेक आइतबार २६ वर्षीय जेकब रायन रेनो अमेरिकास्थित शिकागोको लोगन स्क्वायर फार्मर्स मार्केटमा भेटिन्छ्न् । उनी ताजा तरकारी वा फूल बेच्दैनन् । बरू उनी पोर्ट्रेट बेच्छन् । त्यो पनि खराब किसिमका ।
निकै थोरै सामान भएको टेबलको पछाडि उनी बसेका हुन्छन् । र टेबलमा रंगीन अक्षरले लेखिएको हुन्छ-‘टेरिबल पोर्ट्रेट, फाइभ डलर, फाइभ टेरिबल मिनेट्स’ पृष्ठभूमिमा ज्याज संगीत बजिरहेको हुन्छ । एउटा कुर्सीमा उनी र अर्को कुर्सीमा उनको ‘म्यूज’ अर्थात् चित्रको पात्र बसिरहेका हुन्छन् ।
रेनको काम पाँच मिनेट भित्रमा म्यूजको पोर्ट्रेट बनाइदिनु हो । त्यो पनि नराम्रो खालको ।
तर हरेक हप्ता उनले बनाएको पोर्ट्रेट घर लान मान्छेहरू आफ्नो पालो पर्खेर लाइनमा बस्ने गर्छन् । तर पोर्ट्रेट उनीहरूसरह देखिन पनि सक्छ, नदेखिन पनि सक्छ । गत मे महिनादेखि यो काम सुरू गरेका उनले अहिलेसम्म ५०० भन्दा बढी मान्छेको पोर्ट्रेट बनाइसकेका छन् । उनका स्केचहरू असन्तुलित, कहिलेकाहीँ अजीब र प्रायः हँसाउने खालका हुन्छन् ।
किन उनले यस्तो चित्र बनाइरहेका छन् ? र मान्छेहरूले किन बनाउन लगाइरहेका छन् ?
000
रेनोले सन् २०१८ मा एउटा पार्टीका बेला पहिलो पटक पोर्ट्रेट बनाएका थिए । त्यसबेला डेपल युनिभर्सिटीका विद्यार्थी रहेका उनले पाँच मिनेटको टाइमर सेट गरेर एउटा साथीको पोर्टेट बनाइदिएका थिए । त्यो चित्र हेर्दा हाँसोउठ्दो तर राम्रो पनि देखिएको थियो ।
त्यसबेला उनले बुझे कि नराम्रो पोर्टेट बनाउनु आफैंमा एउटा रमाइलो काम हो । तर तुरुन्तै उनले अहिले गरिरहेको काममा हात हालेनन् । केही समय जागिर गरे ।
र केही महिनाअघि मात्रै जागिर छाडे । र, पोस्टर बोर्ड, एक्रेलिक रङ किनेर आफ्नो सेवाको प्रचार गर्न थाले । अनि मे १८ मा लोगन स्क्वायर फार्मर्स मार्केटमा पहिलो पटक आफ्नो ‘स्टल’ राखे ।
सुरुमा उनलाई चार जनाको चित्र बनाउन पाए हुन्छ भन्ने थियो । तर उनको चित्रले मान्छेहरूलाई हाँस्न बाध्य पार्थ्यो । हेर्दाहेर्दै उनकोमा चित्र बनाउन मान्छेहरूको लाम नै लाग्न थाल्यो ।
000
उनको यो कामबारे पहिलो पटक स्थानीय सञ्चार माध्यम ‘ब्लक क्लब शिकागो’ले लेखिदियो । त्यसपछि उनी विवाह, गृह प्रवेश र जन्मदिनका लागि पनि बुक हुन थाले । अनि उनी आफैं पनि कहिलेकाहीँ कुनै बार वा पार्कमा पूर्व जानकारी बिना जान थाले । तर उनी जहाँ-जहाँ जान्छन्, मान्छेहरूले उनलाई पोर्ट्रेट बनाउन लगाउँछन् ।
रेनोका अनुसार उनी यसलाई कामको रूपमा हेर्दैनन् । मान्छेहरूसँग कुराकानी गर्ने अवसरको रूपमा लिन्छन् । किनकि म्यूज बन्ने मान्छे उनी अगाडि कम्तीमा पाँच मिनेट त बस्नै पर्छ । त्यस्तै वरिपरि अन्य मान्छेहरू पनि झुम्मिएका हुन्छन् । त्यसो गर्दा उनी ती सबै मान्छेहरूलाई रमाइलो मान्ने गरी कुराकानी गर्छन् ।
रेनोले अनुहार हुबहु उतार्ने काम गर्दैनन् । अनुहारको भाव समाउने प्रयास गर्छन् । उनका अनुसार ती पोर्ट्रेटहरू लोकप्रिय हुनुको कारण तिनीहरू सहज, आत्मीय र हाँस्यास्पद हुनु हो ।
पोर्ट्रेटहरू अपूर्ण भए पनि हरेकलाई उत्कृष्ट बनाउने उनी प्रयासमा हुन्छन् । अहिलेसम्म चित्र हेरेर कोही पनि नरिसाएको बरू उल्टै हाँसेर जाने उनी सुनाउँछन् । रेनो भन्छन् कि उनको चित्रले बढ्दो डिजिटल संसारमा मान्छेहरूलाई केही क्षण भए पनि बस्ने र जोडिने दुर्लभ मौका दिन्छ ।
त्यसमाथि रमाइलो कुरामा मान्छेहरूले राम्रो ऊर्जा महसुस गर्छन् । र आकर्षित भइहाल्छन् । यसरी रमाइलो भेटघाट नै नराम्रो पोर्ट्रेटको लोकप्रियता भएको रेनोको निष्कर्ष छ।
प्रतिक्रिया 4