+
+
Shares

दुबईबाट आएका थिए नेपालमा समातिएका भनिएका ‘दाउदका एजेन्ट’

नेपालबाट पक्राउ परेका भनिएका दाउदका एजेन्ट दुबईबाट हवाई मार्ग हुँदै काठमाडौं आएको खुलेको छ । त्यसपछि नेपाल प्रहरी समेतको समन्वयमा भारत लगिएको भेटिएको छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०८२ साउन २७ गते २१:५९

२७ साउन, काठमाडौं । भारतीय सञ्चारमाध्यममा केही दिनयता ‘नेपालमा अन्डरवर्ल्ड डन दाउद इब्राहिमका एजेन्ट पक्राउ परेको’ विषयले चर्चा पाइरहेको छ । कतिपयले नेपालबाट भारतमा हतियार पठाउने शेख सलिम उर्फ सलिम पिस्टललाई समातिएको लेखेका छन् ।

नेपाल–भारतबीच खुला सीमा रहेका कारण अभियुक्तहरु एकअर्काको देशमा लुक्ने गरेका छन् । त्यस्तोमा उनलाई समेत नेपालमा रहेर भारतविरुद्ध सक्रिय अपराधीका रुपमा कतिपयले व्याख्या गरेका छन् ।

तर, अनलाइनखबरसँग सम्पर्कमा आएका दिल्ली पुलिसका एक अधिकारीले उनको बेस नेपाल नभएको बताए । ‘उनी पञ्जाबका गायक सिद्धु मुसेवाला र पूर्वकंग्रेस नेता बाबा सिद्धिकीको हत्या सम्बन्धी अनुसन्धानका क्रममा प्रहरीको र्‍याडरमा आएका थिए,’ ती अधिकारीले भने, ‘उनी सन् २०१८ मा पक्राउ परेका थिए, तर फेरि भागेर भारतभन्दा बाहिर पुगेका थिए ।’

उनी फरार भएपछि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा समेत रेड नोटिस जारी भएको ती अधिकृतले बताए ।

‘त्यसपछि उनको दूबईको अड्डा पत्ता लागेको थियो, लामो निगरानी पश्चात नेपाल आएका बेला पक्राउ परे,’ ती अधिकृतले भने, ‘उनलाई गिरफ्तार गर्न दिल्ली पुलिसको स्पेशल सेल, भारतीय सुरक्षा निकाय र नेपाल प्रहरीका अधिकारीहरुले संयुक्त अपरेशन चलाएका थिए ।’

नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरे भने भारतीय सञ्चारमाध्यममा समाचार आएपछि मात्र आफूले यो विषयमा थाहा पाएको बताउँछन् । उनी भन्छन्, ‘दूबईबाट आएको भन्ने विषयमा समेत जानकारी भएन ।’

तर, अनलाइनखबरलाई प्राप्त दिल्ली पुलिस अन्तरगतको स्पेशल सेलको प्रेस नोटमा समेत यो संयुक्त अपरेशनमा नेपाल प्रहरीसँग समेत समन्वय भएको उल्लेख छ ।

पञ्जाबको मानसा जिल्लाको जवाहर्के गाउँमा १५ जेठ २०७९ मा अज्ञात समूहको गोली प्रहारबाट सिद्धु मुसेवाला मारिएका थिए ।

बाबा सिद्धिकी चाहिँ २०८१ असोजको अन्तिम साता मुम्बईको बान्द्रा इस्टमा अज्ञात व्यक्तिको गोली प्रहारबाट मारिएका थिए । ४८ वर्षदेखि कांग्रेसमा आबद्ध उनी एनसीपीमा प्रवेश गरेको केही सातामा हत्या भएको थियो ।

सलिम पिस्टल: दाउददेखि लरेन्शसम्मका हतियार व्यवस्थापक

दिल्ली प्रहरीको स्पेशल सेलका अधिकारीहरुका अनुसार, सलिम पिस्तल कुनै बेला ट्याक्सी चलाएर गुजारा चलाउँथे । ८ कक्षा पढ्दापढ्दै स्कुल छाडेका उनी पछि चोरी हुँदै ठूला तस्करीसहित अन्य अपराधमा जोडिन थालेका थिए ।

नेपालमा हुने धेरैजसो संगठित अपराधका अभियुक्त भागेर भारततिर पुग्ने गरेका छन् । भारतका कतिपय अभियुक्त पनि आश्रय लिन नेपालतिर छिर्ने गरेका छन् । यस्तोमा दुवै मुलुकबीच अनौपचारिक एकअर्काका देशका अभियुक्त लेनदेन हुने गरेको छ ।

प्रहरीको रेकर्डअनुसार, सन् २००० मा उनले मुकेश गुप्ता उर्फ काका नामक साथीसँग मिलेर गाडीहरु चोरी गर्न थालेका थिए । ७ अप्रिल २००० मा उनले दिल्लीको व्यस्त चाँदनी चोक बजारबाट मारुती भ्यान चोरेको भन्दै प्रहरीमा एफआईआर दर्ता भएको थियो ।

त्यसपछि विभिन्न साना–ठूला अपराधमा संलग्न हुँदै उनले भारत र पाकिस्तानमा सञ्जाल विस्तार गरेको दिल्ली प्रहरीका अधिकारीहरुको दाबी छ । सन् २०११ मा उनी जाफरावादको एक घरमा डकैती गरेको आरोपमा पक्राउ परेका थिए । हतियार देखाएर २० लाख रुपैयाँ लुटेको आरोपमा उनी १८ डिसेम्बर २०१३ मा पक्राउ परेका थिए ।

त्यसयता प्रहरीको नजरमा उनी भारतका एक शीर्ष हतियार तस्करमध्येमा दर्ज भएका थिए । उनले पाकिस्तानबाट अवैध रुपमा अत्याधुनिक हतियार भित्र्याउने गरेको भारतीय सुरक्षा अधिकृतहरुको आरोप छ ।

प्रहरीको दाबीमा, उनको सम्बन्ध कराँचीमा रहँदै आएका भनिएका दाउद इब्राहिमसँगै पाकिस्तानको खुफिया निकाय इन्टरसर्भिस इन्टलिजेन्स (आईएसआई) सँग समेत छ ।

दिल्ली प्रहरीका अधिकृतहरुको दाबीमा, उनले भारतमा रहेर अहिले आतंक मच्चाइरहेका लरेन्स विश्नोई र हसिम बाबा समूहलाई समेत हतियार व्यवस्थापन गर्ने गरेका थिए । ‘दाउददेखि अहिले भारतमा सक्रिय रहेका समूहलाई हतियार मिलाइदिने सलिमको गिरफ्तारी प्रहरीका लागि ठूलो सफलता हो,’ दिल्ली प्रहरीको स्पेशल सेलले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘अहिले अधिकारीहरुले उसँग जोडिएको नेटवर्क र पाकिस्तानसँगको साँठगाँठबारे गहिरो अनुसन्धान गरिरहेका छन् ।’

एकअर्काको देशमा गुपचुप हस्तान्तरण हुन्छन् अभियुक्त

नेपालमा हुने धेरैजसो संगठित अपराधका अभियुक्त भागेर भारततिर पुग्ने गरेका छन् । भारतका कतिपय अभियुक्त पनि आश्रय लिन नेपालतिर छिर्ने गरेका छन् । यस्तोमा दुवै मुलुकबीच अनौपचारिक एकअर्काका देशका अभियुक्त लेनदेन हुने गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ओर्लिएका शेख सलिमको गिरफ्तारीसमेत त्यसैको पछिल्लो संस्करण भएको प्रहरी अधिकृतहरु बताउँछन् । विगतमा सिद्धु मुसेवाला हत्याका सुटरहरु समेत २३ भदौ २०७९ मा पूर्वी नाका हुँदै नेपाल प्रवेश गरेका थिए ।

तर, अनौठो के भयो भने भारतीय प्रहरीले खोजी गरिरहेको सुटरलाई कचनकवल गाउँपालिका–४, भटियागाउँका स्थानीयले नै समातेर झापा प्रहरीलाई बुझाइदिए । त्यो दिन एक्कासि गाउँमा नयाँ मान्छे ‘बच्चा चोरी गर्न आएको’ भन्दै हल्लीखल्ली भएपछि स्थिति तनावपूर्ण बन्यो ।

स्थानीयले कारबाहीको माग गर्दै सीमा प्रहरी चौकी समेत घेरे । प्रहरीले उनीहरूलाई केही घन्टा जिल्ला प्रहरी कार्यालय, झापाको हिरासतमा राखेर आफन्तको जिम्मा लगाएको बतायो ।

तर, त्यसरी पक्राउ गरिएका कपिल पण्डित, दिपक मुण्डी र राजिन्द्र उर्फ जोकरलाई दुई दिनपछि पश्चिम बंगालस्थित नेपाल–भारत सीमा क्षेत्रबाट समातिएको भन्दै पञ्जाब प्रहरीले प्रेस विज्ञप्ति जारी गर्‍यो । त्यो विज्ञप्तिपछि बल्ल कचनकवलमा भएको हल्लीखल्लीको भेद खुल्यो ।

कहिलेकाहीँ अनौपचारिक रुपमा अभियुक्त हस्तान्तरण गर्दा प्रहरी अधिकृतहरु जोखिममा समेत पर्ने गरेका छन् । २०८१ फागुन दोस्रो साता लरेन्श विश्नोई समूहका सदस्यलाई समात्न भन्दै काठमाडौं आएका पञ्जाब प्रहरीका ७ अधिकारी नेपाल प्रहरीद्वारा पक्राउ परेका थिए ।

समन्वयविनै आएको भन्दै पक्राउ गरिएका ती अधिकारीहरुलाई सहयोग गरेको आरोपमा एक प्रहरी नायब उपरीक्षक (डीएसपी) समेत छानबिनमा तानिएका थिए ।

भारतीय प्रहरी अधिकृतहरु काठमाडौं समातिएको विषयले दुवै देशमा हल्लीखल्ली मच्चाएपछि भारतको गृह मन्त्रालयले विदेशी भूमिमा गरिने अपरेशनका लागि कडा निर्देशिका नै जारी गरेको थियो । यो निर्देशिकामार्फत ‘विदेशी मुलुकमा कुनै पनि अनुसन्धान वा प्रहरी गतिविधिका लागि पूर्वस्वीकृति र समन्वय अनिवार्य बनाइएको’ उल्लेख गरिएको थियो ।

गुपचुप हुने सहकार्यले अधिकारीहरुलाई समस्यामा पार्न थालेका बेला नेपाल–भारतबीच नयाँ सुपुर्दगी सन्धि गर्नुपर्ने बहस समेत चलिरहेको छ । साउन पहिलो साता नयाँ दिल्लीमा भएको दुई देशको गृहसचिव स्तरीय बैठकमा समेत यसबारे छलफल भएको थियो ।

गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार, दुवै मुलुक सुपुर्दगी सन्धिलाई अघि बढाउने विषयमा सहमत छन् । ‘तर, त्यसको बुँदाहरु के हुने भन्नेमा निर्क्यौल भइसकेको छैन,’ बैठकमा सहभागी एक नेपाली अधिकारीले अनलाइनखबरसँग भने ।

करिब ७२ वर्षअघि नै नेपाल र भारतबीच सुपुर्दगी सन्धि भएको थियो । तर, अहिलेको परिप्रेक्ष्यमा त्यो सान्दर्भिक नभएको भन्दै नयाँ सन्धिमा हस्ताक्षर गर्न पहल हुँदै आएको छ । यसअघि २०६० सालमा सुपुर्दगी सन्धि र पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौतामा हुनुपर्ने बुँदाहरू टुंग्याइएको थियो ।

तर, नयाँदिल्लीमा बसेको नेपाल–भारत गृहसचिवस्तरीय बैठकमा नेपालले भारतले सन्धिका बुँदामा उल्लेख गरेका केही प्रावधानमाथि आपत्ति जनायो । बर्दीधारी भारतीय प्रहरी नेपाल प्रवेश गर्ने, तेस्रो मुलुकका नागरिकलाई पनि सुपुर्दगी गर्न सक्ने जस्ता विवादास्पद प्रावधान हटाउनुपर्ने नेपालको अडान थियो ।

नेपाली पक्षको यो अडानपछि भारत ती बुँदालाई सच्याउन तयार भयो, सचिवस्तरमा सुपुर्दगी सन्धिको मस्यौदामा सहमति भयो । तर, गृहमन्त्री तहमा चाहिं निर्णय हुन सकेन । सन्धिलाई उच्चस्तरबाट अघि बढाउनुपर्छ भन्ने भएपछि तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला भारत जाने तयारीमा थिए । तर, अन्तिममा भर्खरै सरकारमा सहभागी माओवादीले विरोध जनाएपछि रोकिएको जानकारहरु बताउँछन् ।

त्यसयता हरेक पटक नेपाल र भारतबाट एकअर्काको देशमा हुने उच्चस्तरीय भ्रमणमा सुपुर्दगी सन्धिको विषय उठ्ने गरेको छ । तर, सन्धि गरेपछि भारतले तेस्रो मुलुकका व्यक्तिलाई पनि ‘माग्न सक्ने’ नेपाली पक्षको चिन्ताका कारण यो प्रस्ताव अहिलेसम्म अलपत्र परिरहेको जानकारहरु बताउँछन् ।

गृह मन्त्रालयका एक पूर्वसचिवका अनुसार, भारतसँग सन्धि गरिसकेपछि चीन, अमेरिका, दुबई लगायत मुलुकलाई पनि इन्कार गर्न नसकिने बुझाइ नेपाली पक्षको छ । चीनले पनि सुपुर्दगी सन्धि गर्न नेपाललाई तीव्र दबाव दिंदै आएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ २०७६ असोजमा नेपाल आएका बेला पनि चीनसँग सुपुर्दगी सन्धि गर्ने प्रस्ताव अघि बढेको थियो । तर, चीनसँग सन्धि भए नेपालमा रहेका तिब्बती शरणार्थीलाई लैजाने बाटो खुल्ने अमेरिकालगायत अन्य पश्चिमा देशहरूले आशंका गरे र यसलाई रोक्न आन्तरिक रूपमा तीव्र ‘लबिइङ’ गरे ।

अन्तत: अन्तिम समयमा ‘गृहकार्य नपुगेको’ भन्दै नेपाल–चीन सुपुर्दगी सन्धिको प्रस्ताव रोकिएको थियो । तर, चीनसँग सरकारले पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौतामा भने हस्ताक्षर गरेको छ ।

नेपाल प्रहरीका अधिकृतहरु भने धेरैजसो अभियुक्तहरु भागेर भारतमा जाने हुँदा ऊसँग निश्चित प्रावधान राखेर सुपुर्दगी सन्धि गर्नु दुवै मुलुकको हितमा हुने बताउँछन् ।

यद्यपि, सुपुर्दगी सन्धिको मुख्य चुनौति तेस्रो मुलुकका व्यक्तिहरु भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का पूर्वप्रमुख हेमन्त मल्ल ठकुरी बताउँछन् ।

‘नेपालमा भारतीय अपराध आउँदा त्यस्ता व्यक्तिलाई फिर्ता पठाउनु नेपाल सरकारलाई कुनै चुनौति होइन,’ उनी भन्छन्, ‘तर, जब तेस्रो मुलुकको नागरिकको कुरा उठ्न थाल्छ, त्यसपछि यसले समस्या सिर्जना गर्छ ।’

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?