
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर दुई वर्षदेखि सुन्धारा कारागारमा बन्दी जीवन बिताइरहेका छन्।
- रायमाझीले कारागार सुधारको आवाज उठाउँदै न्याय प्रक्रिया ढिलाइप्रति असन्तुष्टि जनाएका छन् र १८ साउनमा मुद्दाको पेसी तोकिएको छ।
- उनले वर्तमान राजनीतिबारे अध्ययन र विश्लेषण गर्दै योग अभ्यास गर्दैछन् र विभिन्न नेतासँग भेटघाट गरी राजनीतिक अवस्था छलफल गरिरहेका छन्।
१६ साउन, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः नेकपा एमालेको राजनीतिमा फर्कन हुन्छ वा हुँदैन ? सदस्यता नवीकरण गर्ने वा नगर्ने ? यी र यस्तै पार्टी भित्रका अन्तरसंघर्ष चलिरहँदा एमालेका सचिवका हैसियतमा उनको दौडधुप पनि त्यति नै बिजुली गतिमा हुन्थ्यो होला ।
पार्टीभित्रका अन्तरसंघर्ष, विवाददेखि सरकार र सदनसम्म उच्च तहको नेताको हैसियतले उनी अक्सर व्यस्त हुन्थे, हुनुपर्थ्यो । तर पछिल्लो दुई वर्षदेखि यी सबै गतिविधि र दौडबाट टाढा छन् । राष्ट्रिय राजनीतिको दौडमा व्यस्त हुनुपर्ने उनी अहिले केन्द्रीय कारागार (जगन्नाथ देवल) सुन्धाराको भद्रबन्दीगृहमा सुस्केरा हाल्दैछन् । उनी हुन्, एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी ।
अहिलेको कारागारको अवस्थालाई नजिकबाट नियाल्दा जनयुद्धका सैन्य कमान्डर, मार्सल आर्टका खेलाडी र पूर्वउपप्रधानमन्त्रीको विगत रायमाझीको थियो त ? भन्नेसम्म लाग्न सक्छ । विगतका बहादुर सैन्य कमान्डर रायमाझीको दिनचर्या ३१ वैशाख २०८० मा बुढानीलकण्ठबाट पक्राउ परेयता सधैंजसो एउटै छ ।
फरक यत्ति हो, पहिला करिब दुई महिना हिरासतमा थिए भने अहिले कारागारमा छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने घटनामा जोडिएपछि उनी कारागार पुगेका थिए ।
राष्ट्रिय राजनीतिमा व्यस्त हुनुपर्ने रायमाझी अहिले कारागारमा गुमनाम जीवन बिताइरहेका छन् । यसबारे रायमाझीलाई नै भेटेर अन्तरकुन्तर खोतल्ने प्रयास अनलाइनखबरले गरेको छ ।
०००
भद्र बन्दीगृहका १ हजार ३६२ कैदीबन्दीमध्ये एक हुन् रायमाझी । नेकपा एमालेको सचिवसमेत भइसकेका र उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका रायमाझी अहिले वर्तमान राजनीतिबारे जानकारी त राख्छन् । तर त्योभन्दा बढी पीडा उनलाई आफ्नै मुद्दाको छ ।
‘मुद्दा सरेको सर्यै, पेसी सरेको सर्यै । अब त न्याय पाइएला भन्यो, फेरि सर्यो भन्ने मात्रै सुनिन्छ,’ अनलाइनखबरले बिहीबार मध्याह्न भेट्दा रायमाझीले आशंका व्यक्त गर्दै भने, ‘अब १८ गतेको पेसी त नसर्ला नि ?’
उनका अनुसार बकपत्रको मिति यसअघि ६ पटकसम्म तोकिएको थियो । केही जाहेरवालाहरूले बकपत्र दिए पनि धेरैजना बकपत्र गर्नै आएनन् । अहिले अन्तिम पटकका लागि भन्दै १८ साउनमा बकपत्रका लागि मिति तोकिएको छ ।
‘म सांसद भइसकेको, पटकपटक मन्त्री उपप्रधानमन्त्री भइसकेको व्यक्तिको मुद्दा त दुई वर्षसम्म फैसला हुँदैन भने अरू नागरिकको मुद्दामा के होला ?’ भन्ने उनको प्रश्न छ । आफैंबाट कुरा सुरु गरेका रायमाझीले जेल जीवनदेखि राष्ट्रिय राजनीतिको लेखाजोखा र विश्लेषणसम्म गरे ।
भीआईपीको रोज्जा कारागार डिल्लीबजार नगएकोदेखि आफ्नो राजीतिक करिअर, राजनीतिक भविष्य र २०८४ चुनावसम्मको मन्थन खुलेरै गरे ।
किन सुन्धारा कारागार ?
अक्सर भीआईपीहरूले रोज्ने कारागार डिल्लीबजार हो । भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले समेत डिल्लीबजार कारागार आउन निवेदन नै दिएका थिए । भीआईपीहरूको बाक्लो भिड लाग्ने भएकाले डिल्लीबजार कारागारलाई ‘भीआईपी कारागार’ समेत भन्ने गरिन्छ ।
तर, उपप्रधानमन्त्री समेत भइसकेका रायमाझी भने त्यो भीआईपी कारागार नगई खचाखच भरिएको जगन्नाथ देवल कारागारमै छन् । न त अहिलेसम्म उनले डिल्लीबजार जान पाउँ भनेर नै माग गरेका छन्

यसबारे अनलाइनखबरले जिज्ञासा राख्दा उनी भन्छन्, ‘पैसा हुनेहरूका लागि हो डिल्लीबजार सुविधा सम्पन्न कारागार । हाम्रा लागि जहाँ बसे पनि एउटै हो ।’
पैसाले सुविधा किनिने तर आफूसँग पैसा नहुँदा डिल्लीबजार नै गए पनि त्यो सुविधा नपाउने उनको बुझाइ छ । बाहिरबाट किनेर खान, आरामदायी बस्न सबैका लागि पैसा चाहिने तर आफू भने अन्य कैदीको जस्तो स्केलको भरमा जिउनु परेकाले डिल्लीबजार बसे पनि जगन्नाथ देवल बसे पनि एकै हुने उनी बताउँछन् ।
रायमाझीले भनेजस्तै उनी कैदीबन्दीको स्केलअनुसार पाक्ने मेसकै खाना खान्छन् । कारागारकै खाजा खान्छन् । तर भीआईपीहरू भने मेसको खाना-खाजा नखाई बाहिरबाट मगाएर खाने गरेका छन् । मेसकै खाना-खाजा खाने भएकाले जहाँ बसे पनि आफूलाई फरक नपर्ने उनको भनाइ छ ।
योग र पढाइमा व्यस्त
भद्र बन्दीगृहमा बन्दी जीवन बिताइरहेका रायमाझीको बसाइ कस्तो होला ? आम चासो हुनु स्वाभाविक हो । रायमाझीको दिनचर्या पनि अन्य कैदीबन्दीकै जस्तो हुने बताउँछन् सुन्धारा कारागारका कारागार प्रशासक कृष्णबहादुर कटुवाल ।
अनलाइनखबरले रायमाझीलाई नै भेटे गरेर यसबारे जिज्ञासा राखेको थियो । सो क्रममा उनले पनि अन्य कैदीबन्दीकै जस्तो हुने बताए । कारागार गएपछि भने उनले केही कुराहरूमा परिवर्तन गरेका छन् ।
‘म दैनिक बिहान योग गर्छु । त्यसपछि आफ्नो नियमित काममा व्यस्त हुन्छु,’ रायमाझीले भने । उनी बिहानको शारीरिक अभ्यासपछि ब्रेकफास्ट गर्छन् । त्यसपछि केही समय अध्ययनमा बित्छ । ब्रेकफास्टपछि पत्रपत्रिका पढ्ने गरेको उनी सुनाउँछन् ।
बिहानको खानापछि भने उनी भेटघाटमा व्यस्त हुन्छन् । उच्च तहका नेता र मन्त्री तथा सांसदसमेत भइसकेको व्यक्ति भएकाले उनलाई भेट्न गृहजिल्लादेखि विभिन्न पार्टीहरूका नेता/कार्यकर्ता कारागार पुग्ने गरेका छन् । भेटघाटपछिको समय भने अध्ययन गरेर बिताउने गरेको उनी बताउँछन् ।
‘भेटघाटपछि बचेको समयमा अध्ययन गरेर बस्ने गरेको छु,’ उनी भन्छन्, ‘अहिले पूँजी पुन: दोहोर्याएर अध्ययन गरिरहेको छु ।’ पछिल्लो समय विश्व राजनीतिबारेका पुस्तक अध्ययन गरेको उनी बताउँछन् । साँझ खाना खाएपछि टिभी हेर्ने र अध्ययन गरेपछि राति करिब १० बजेतिर सुत्छन् ।
भेटघाटमा व्यस्त
उच्च तहका नेता भएकाले रायमाझीलाई भेट्न दैनिकजसो मान्छेहरू आउने गरेका छन् । बिहीबार अनलाइनखबरकर्मी पुग्नुभन्दा पहिला रायमाझीलाई दुईजनाले भेट गरिसकेको सुरक्षाकर्मीको ‘भेटघाट डायरी’मा उल्लेख थियो ।
पछिल्लो समय उच्च तहका नेताहरूमा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ रायमाझीलाई भेट्न पुगेका थिए । दुई वर्षभन्दा बढी समय कारागारमा रहँदा प्रभाकर पहिलो पटक उनलाई भेट्न कारागार पुगेका हुन् ।
शर्मासँग पछिल्लो राजनीतिक अवस्थाबारे सामान्य कुराकानी भएको रायमाझी बताउँछन् । ‘उहाँ आउनुभयो, भेटघाट भयो । मुद्दा कहाँ कुन अवस्थामा पुगेको छ भनेर सूचना र विश्लेषण आदानप्रदान भए । वर्तमान राजनीतिबारे पनि कुराकानी भयो,’ रायमाझीले भने ।
प्रभाकरले भेट गर्नुपूर्व एमालेका नेताहरू पनि उनलाई भेट्न कारागार नै पुगेका थिए । एमाले नेता सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमालेका नेता चेतनारायण शर्मा लगायतका नेताहरू उनलाई भेट्न कारागार पुगेका थिए । यो बाहेक राजमाझीको गृहजिल्लाका नागरिकदेखि नेता/कार्यकर्ता पनि निरन्तरजसो भेट्न आउने गरेका छन् ।
जेल सुधारबारे उठाए आवाज
रायमाझीलाई ठयाक्कै मिति यकिन छैन । करिब चार महिना पहिला उच्च अदालतका न्यायाधीशसहितको एउटा टोली कारागार अनुगमनका लागि पुगेको थियो । त्यही बेला रायमाझीले न्यायाधीशहरूकै अगाडि कारागारभित्रै भाषण ठोके, ‘भन्नलाई सुधारगृह भए पनि कारागार अझै सुधारगृह बन्न सकेका छैनन् । धेरै सुधार गर्नुपर्ने देखिन्छ ।’
रायमाझीले यो आवाज उठाएपछि कारागारभित्रै नेताको झल्को दिनेपछि उनलाई समर्थन गर्दै कैदीबन्दीले ताली पिटे । यसको साक्षी कारागार प्रशासक कटुवाल पनि थिए ।
‘म पनि त्यहीँ थिएँ । उहाँले कारागार सुधारको कुरा उठाउनुभएको थियो । त्यसपछि सबैजसो कैदीबन्दीले उहाँको समर्थन जनाए,’ कटुवालले भने ।

बलात्कार आरोपमा सफाइ पाएर ५ फागुन २०७६ मा डिल्लीबजार कारागारबाट बिदाइ हुँदै गर्दा माओवादीका नेता कृष्णबहादुर महराले ५० प्रतिशत कैदीबन्दी निर्दोष रहेको बताएका थिए ।
महराकै जस्तो बुझाइ रायमाझीको पनि छ । उनी आफूलाई निर्दोष त देख्छन् नै उनी बाहेक पनि कारागार आइपुगेका धेरै मान्छे निर्दोष रहेको बुझ्छन् ।
‘मैले यहाँ आएपछि बुझ्दैछु, कारागार पर्ने बित्तिकै सबै दोषी भन्ने हुँदो रहनेछ । यहाँ पनि धेरै निर्दोष देख्छु म,’ उनी भन्छन्, ‘कोही सामान्य आरोप लाग्ने बित्तिकै बिनाप्रमाण जेल परेको देखिन्छ । कोही वर्षौं जेल बसेपछि निर्दोष भनेर पनि निस्केका छन् । धेरै सुधार गर्नुपर्ने ठाउँ छन् ।’
जेनजीदेखि राजनीतिक लेखाजोखा
रायमाझी राजनीतिक व्यक्तित्व भएकाले समसामयिक राजनीति र यसको भविष्यबारे कुराकानी हुने भइनै हाल्यो । वर्तमान राजनीतिबारे निरन्तर अपडेटमा रहेका उनी भेटघाट गर्न आउने व्यक्तिसँग पनि राजनीतिबारे चासो राख्दै मन्थन गर्छन् ।
उदाउँदै गरेका दल, स्वतन्त्र समूह तथा व्यक्ति, पुराना र ठूला दलबारेसम्मको विश्लेषण रायमाझीले गरे । नयाँ भनिएका दलहरूले आफूले राम्रो काम गर्नेभन्दा पनि घृणा बेचेर भोटको काम गरिरहेको उनको बुझाइ छ ।
‘वैचारिक रूपमा नयाँहरू कहाँ छन् । उनीहरूको सिद्धान्त के हो ? विचार के हो ? मार्गनिर्देशन के हो ? के राम्रो काम गरियो भन्ने जस्ता विषय गौण देखिन्छन् । समाजमा के बिक्छ वा भनौं घृणा बेच्ने काम अहिले भइरहेको छ,’ रायमाझीको विश्लेषण छ ।
यही घृणा अहिले जेनजी समूहमा बेच्ने काम भइरहेको उनी बताउँछन् । जेनजीले नेपालमा सम्भावना नै देख्न छाड्नुले भने गम्भीर संकट उत्पन्न हुने उनको बुझाइ छ । अहिले प्लस टु पास हुन पाएको छैन विदेशको मात्रै सपना देख्ने जेनजी छ । उनीहरू लक्षित विशेष कार्यक्रम ल्याउन सरकारले ढिला गर्न नहुने उनी बताउँछन् ।
वर्तमान राजनीतिका साथै २०८४ को चुनावमा समेत के हुने भन्ने चासो रायमाझीमा देखिन्छ ।
‘एउटा फोटोले गर्दा’
हट्टाकट्टा र फुर्तिलो ज्यान भएका रायमाझी मुद्दामा आफ्नो जित हुनेमा आत्मविश्वासी देखिन्छन् । यही आत्मविश्वास रहेकाले उनलाई जतिसक्दो चाँडो मुद्दा टुंगो लागिदिए हुन्थ्यो भन्ने लागेको छ । भुटानी शरणार्थी प्रकरणमा जोडिएका व्यक्तिसँग फोटो खिचाएकै कारण आफूले अहिलेको नियति भोग्नु परेको उनको दाबी छ ।
भुटानी शरणार्थीबारे केही जानकारी नै नभएको दाबी गरेका रायमाझी मुद्दा परेपछि मात्रै यसबारे बुझ्दा र पढ्दा थाहा पाएको दाबी गर्छन् । भेट्न आउने शुभचिन्तकलाई उनी आफूमाथि प्रतिशोध साँधिएको बताउन छुटाउँदैनन् । यो कुरा आम जनताले बुझेको उनको दाबी छ ।
पञ्चायतकालमा ११ पटकसम्म पक्राउ परेर जेल गएको बताउने रायमाझी अहिले कारागार चलानलाई भने पूर्ण रूपमा प्रतिशोधकै हिसाबले बुझ्छन् ।
भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी हुँदा २० वैशाख २०८० रायमाझी अर्घाखाँचीमा भाषण गर्दै थिए । त्यसको १० दिनपछि ३१ वैशाखमा उनी बुढानीलकण्ठबाट पक्राउ परेका थिए ।
अनुसन्धान सकेर रायमाझीसहितका व्यक्तिविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । १ असार २०८० मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानको इजलासले रायमाझीसहितका व्यक्तिलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
यो आदेशविरुद्ध रायमाझीसहितका व्यक्तिले उच्च अदालत पाटनमा निवेदन दिए । पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासले १५ मंसिर २०८० मा रायमाझीसहितका केही व्यक्तिलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेश सदर गरेको थियो । त्यसयता उनी कारागारमा बन्दी जीवन बिताइरहेका छन् । उनीसँगै भद्र बन्दीगृहमा भुटानी शरणार्थी प्रकरणमा जोडिएका बेचन झा र सन्देश शर्मा छन् ।
३० जेठ २०७६ मा गृहमन्त्री रामबहादुर थापा बादलको पालामा पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वमा भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै कार्यदल गठन भएको थियो । पन्थीको संयोजकत्व गठित कार्यदलमा विज्ञको रूपमा गणेशबहादुर केसी र सदस्यसचिवको रूपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए । कार्यदल बनेदेखि नै ठगीको प्रक्रिया सुरु भएको अनुसन्धानबाट खुलेको थियो ।
उक्त कार्यदलको प्रतिवेदनमा नक्कली भुटानी शरणार्थीको समेत नाम समावेश गराएर अमेरिका पठाउने भन्दै रकम असुलिएको थियो । यो काम भने बालकृष्ण खाँणको पालामा भएको थियो ।
खाँणको पालामा पन्थी कार्यदलको प्रतिवेदनमा अनसूची नै थपेर नक्कली नाम राख्दै ठगी भएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।
प्रतिक्रिया 4