मीनबहादुर विस्ट
गाउँ आफ्नो दुःख बोकेर
सरकारी कार्यालय पुग्यो।
काँधमा थियो एउटा निर्जीव शरीरको भार,
आँखामा निद्राविहीन अधुरा रातहरू,
हातमा थिए केही पुराना कागजात,
र हृदयमा थियो एउटा यस्तो नाम
जसलाई बोलाउने अब कोही थिएन।
कार्यालयबाहिर
लामो लाइन थियो-
कोही वृद्ध नाम मेटिएको आफ्नो जन्म-प्रमाणपत्र लिएर उभिएको थियो,
कोही आफ्नो हराएको आइडिको नक्कल बोकेर सक्कल खोज्दै थियो,
र गाउँ
आफ्नो मृत्युको प्रमाण खोज्दै थियो।
झ्यालमा पुगेर
एउटी वृद्ध आमाले भनिन्-
“हजुर, मेरी छोरी स्वर्गे भइ।”
कार्यालयले टाउको उठाउन भ्याएन,
कसो यति सोध्यो-
“कागजात कहाँ छ?”
आमाले आफ्नो काखतिर हेरिन्,
जहाँ निदाएर उनकी छोरीले वाल्यकाल बिताएकी थिइ।
उनीसँग यादहरू त थिए,
तर छाप थिएन।
गाउँ मौन भयो।
रुखहरूले देखेका थिए,
नदीले सुनेको थियो,
माटोले चिनेको थियो-
तर कार्यालयलाई
एउटा हस्ताक्षर चाहिएको थियो।
जो अब रहेन ।
एउटा किसानले भन्यो-
“जुन धरतीले उसलाई जन्म दियो,
के उसैले साक्षी दिन सक्दैन?”
एउटी महिलाले भनिन्-
“जसले नौ महिना उसलाई आफ्नो गर्भमा बोकी,
के उसका आँसु प्रमाण हुन सक्दैनन्?”
तर फाइलहरू कहिल्यै रुँदैनन्।
तिनीहरू केवल सर्दै जान्छन्-
एउटा टेबुलबाट अर्को टेबुलमा,
एउटा कोठाबाट अर्को कोठामा।
र गाउँ
त्यहीँ बसिरह्यो-
आफ्नो दुःखसँग,
आफ्नो मृतकसँग,
आफ्नो प्रतीक्षासँग।
साँझ पर्यो।
कार्यालय बन्द भयो।
गाउँ फर्कियो-
एउटा यस्तो शोक बोकेर
जसको कुनै रसिद थिएन।
त्यो रात
चुलोको आगो मधुरो थियो,
केटाकेटीका आवाजहरू शान्त थिए,
र आँगनमा बसेको शोक
अझै सोचिरहेको थियो-
के यो संसारमा
मरेपछि पनि
मानिसहरुले प्रमाणित गर्नुपर्छ?
कि उनीहरु कहिल्यै जीवित थिए?
गाउँ आफ्नो दुःख बोकेर सरकारी कार्यालय पुग्यो।
दु:खै बोकेर गाउँ सरकारी कार्यालयबाट
आफ्नो गाउँ फर्कियो
प्रतिक्रिया 4