News Summary
Generated by OK AI. Editorially reviewed.- एन्थ्रोपिकले अलिबाबासँग जोडिएका एकाउन्टहरूले २०२६ मेदेखि जुलाईसम्म क्लडबाट १५ करोड १० लाखभन्दा बढी अन्तरक्रिया गरेर क्वेनलाई तालिम दिएको दाबी गरेको छ।
- कम्पनीका अनुसार त्यसका लागि ३,५०० भन्दा बढी नक्कली खाता खोलिएको थियो र ब्लक भएपछि अर्को समूहका अकाउन्टबाट काम फेरि सुरु गरिएको थियो।
- एन्थ्रोपिकले चीन, रुस र इरानबाट आउने शंकास्पद खातालाई परिचय प्रमाणीकरण अनिवार्य गर्ने जनाएको छ, भने अलिबाबाले प्रतिक्रिया दिएको छैन।
२६ भदौ, काठमाडौं । एआई कम्पनी एन्थ्रोपिकले चीनको ठूलो प्रविधि कम्पनी अलिबाबाले आफ्नो एआई मोडेल ‘क्लड’बाट अहिलेसम्मको सबैभन्दा ठूलो अनधिकृत डेटा-उत्खनन (डिस्टिलेसन) अभियान चलाएको दाबी गरेको छ ।
एन्थ्रोपिकका अनुसार मे देखि जुलाई २०२६ सम्मको अवधिमा अलिबाबासँग सम्बद्ध एकाउन्टहरूले क्लडसँग १५ करोड १० लाखभन्दा बढी पटक अन्तरक्रिया (एक्सचेन्ज) गरेका थिए ।
यसलाई लिएर एन्थ्रोपिकले भनेको छ- चीनको ठूलो कम्पनी अलिबाबासँग जोडिएका मानिसहरूले एन्थ्रोपिकको एआई ‘क्लड’ बाट ठूलो मात्रामा डेटा चोरेर आफ्नै एआई मोडेल ‘क्वेन’लाई तालिम दिएका छन् ।
एन्थ्रोपिकका अनुसार यो अहिलेसम्म भएको सबैभन्दा ठूलो त्यस्तो घटना हो ।
त्यस्ता एकाउन्टबाट कहिलेकाहीं त एक दिनमै ३० लाख पटकसम्म प्रश्न सोधिन्थ्यो । यसका लागि उनीहरूले ३,५०० भन्दा बढी नक्कली खाता खोलेका थिए ।
त्यस्ता खाताबाट उनीहरूले हरेक पटक क्लडलाई एउटै तरिकाले प्रश्न सोधेर, क्लड कसरी सोच्छ (चेन-अफ-थट) र जवाफ निकाल्छ भन्ने पूरै प्रक्रिया लेख्न लगाए । त्यसपछि त्यही जवाफहरू आफ्नो क्वेन मोडेललाई सिकाउन प्रयोग गरे ।
कम्पनीका अनुसार, एन्थ्रोपिकले ती खाता ब्लक गरिदिएपछि अलिबाबाले अर्को समूहका अकाउन्टबाट फेरि काम सुरु गर्यो ।
रमाइलो कुरा, ती अकाउन्टहरु अलिबाबा मात्र होइन, डीपसिक र सिओमी जस्ता अन्य चिनियाँ कम्पनीले पनि प्रयोग गरेको पत्ता लाग्यो ।
एन्थ्रोपिकका अनुसार फेब्रुअरी २०२६ मा यस्तो कुरा पहिलो पटक सार्वजनिक गरेदेखि अहिलेसम्म अलिबाबा लगायत ७ चिनियाँ कम्पनी (डीपसिक, मूनशट एआई, सिओमी, जिपु एआई, सेन्सटाइम, मिनिम्याक्स) ले यस्तै काम गरेको फेला परेको छ ।
यस्ता घटना बढेपछि एन्थ्रोपिकले फर्जी खाता पत्ता लगाउने प्रणाली सुधार गर्ने र चीन, रुस, इरानबाट आउने शंकास्पद खातालाई परिचय प्रमाणीकरण अनिवार्य गर्ने जनाएको छ ।
यसबारे अलिबाबाले भने केही बोलेको छैन ।
प्रतिक्रिया 4