+
+
Shares

तीज र पुरुषको सहभागिता

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हरितालिका तीज भाद्रशुक्ल प्रतिपदादेखि सुरु भई ऋषिपञ्चमीको पूजासँगै समापन हुने नेपाली महिलाहरूको लोकप्रिय पर्व हो।
  • तीजको पहिलो दिन दर खाइन्छ भने दोस्रो दिन महिलाहरूले निराहार व्रत बसेर शिवजीको पूजा गर्ने धार्मिक परम्परा छ। तीजमा पुरुषको सहभागिता पनि बढेको छ।

तीज नेपाली महिलाहरूको निकै लोकप्रिय पर्व हो । वैदिक पात्रोअनुसार भाद्रशुक्ल प्रतिपदादेखि सुरु भई पञ्चमीको पूजासँगै समापन हुन्छ ।

तीज मुख्यगरी नेपाली र विशेषतः हिन्दु नारीहरूको निकै पवित्र दिन पनि हो । तीज पर्वमा खासगरी मिष्ठान्न भोजन ग्रहण गर्ने, व्रत बस्ने, गीत गाउने, नाच्ने, गरगहना र राम्रो पहिरन लगाउने, उपवास र स्नानका साथै ऋषिमुनिहरूको समेत पूजा गरेर मनाइन्छ । सामाजिक परिवर्तनसँगै तीजमा पनि समयानुसार परिवर्तन हुँदै गएको छ । छाडा गीत, उत्ताउला नाच, उत्ताउला ड्रेस र खानपिन लगायत विभिन्न ठाउँमा महिनौं दिनसम्म निरन्तर अस्वाभाविक खानपिनमा ध्यान दिनु, खर्च गर्नु आदि तीजका विकृति हुन् ।

यसका अलावा तीजलाई माइतीघरसँगको सामीप्यता समेत जोडेर हेरिन्छ । वर्षदिनभरि माइत जान नपाएकी चेली पनि तीज आएपछि बाबा छोरीलाई लिन जाने र माइतीमा मिठा मिठा परिकार खाने, दुःखसुखका कुरा गर्ने, गीतमार्फत दुःख र पीडाका गन्थन गर्ने जस्ता प्रचलन रहेका थिए भने अहिले विज्ञान र प्रविधिको युगसँगै यस्ता चालचलनमा पनि कमी आउन थालेको छ ।

तीजका मुख्य ४ दिन

तीज पर्वमा मुख्यतया ४ दिनसम्म विभिन्न प्रचलनका साथ मनाउने चलन छ ।

१. पहिलो दिन (दर खाने दिन)

यो तीजको पहिलो दिन हो जुन मुख्य दिन तीजको अघिल्लो दिन पर्दछ । यस दिनमा विवाहित तथा अविवाहित दिदीबहिनी सबै मिलेर परिवारका सदस्यहरूसँग बसेर दाजुभाइले दर खुवाउने गर्दछन् । मध्यराति वा उज्यालो हुनु अघि नै खीर, चिल्लोमा पकाएका विविन्न खानेकुरा, दूध, दही, घिउ, फलफूल वा माछामासु आदि खानालाई दर भनिन्छ । दरमा ढकने, आलुचप, आलु कवाफ, दूध, कुरौनी, फलफूल, मिठाई जस्ता अडिला खाना खाने गरिन्छ ।

यस्तो दर खाँदै रातभर नाचगान सहित रमाइलो गर्ने प्रचलन पनि छ । यस्ता धेरैप्रकारका र अडिला खाना खाइने हुँदा दिदीबहिनीलाई अर्को दिन तीजमा व्रत बस्न कुनै समस्या हुँदैन । तर दर खाने वा संस्कृतिको जगेर्ना गर्नका लागि भनेर आजकाल विभिन्न संघ संस्थाले पनि कार्यक्रम आयोजना गर्ने प्रचलन छ । यो बाहेक महिनौं दिनसम्म होटल, रेष्टुरेण्ट, साथीसँगीको घर गएर खान हुने नहुने सबै किसिमका परिकार खाने, उत्ताउला गीत गाउने र उत्ताउलो नाच्ने चलनले भने धेरै विकृति निम्त्याएको छ ।

२. दोस्रो दिन (तीजको दिन)

दर खाने दिनको भोलिपल्ट यो व्रत बस्ने महत्वपूर्ण पवित्र दिन पर्दछ । यो दिनलाई हरितालिका तीज भनिन्छ । यस दिनमा महिलाहरूले केही पनि नखाइ निराहार वा निर्जला व्रत बस्छन् । दिनभर व्रत बस्ने, नाचगान गर्ने र बेलुकापख शिवजीको पूजा गर्ने गर्दछन् । यो दिन धार्मिक परम्परासँग जोडिएको छ । ‘हरितालिका’ को अर्थ मातापिता र बसेको ठाउँबाट साथीसँगीले सुटुक्क अन्यत्र लगेर लुकाएकी नारी भन्ने अर्थ लाग्छ ।

धार्मिक कथा अनुसार सतीदेवीले आफ्ना श्रीमान् महादेवको अपमान गरेको सहन नसकेर उनका पिता दक्षप्रजापतिले गरिरहेको हवन कुण्डमा हाम फालेर देह त्याग गरिन् । त्यसपछि उनी हिमालय पर्वत र मेनुकाकी छोरीको पार्वतीका रूपमा जन्मिन पुगिन् । पार्वतीले सानैदेखि श्रीमहादेव स्वामी पाऊँ भनी जप, तप, प्रार्थना र कठोर व्रत बस्ने गर्दथिन् ।

अत्यन्तै सुन्दरी पार्वतीसँग विष्णुले विवाह गर्न प्रस्ताव गर्दा हिमालय पर्वत राजी भएपछि पार्वतीले थाहा पाइन् र उनले साथीहरूसँग वेदना पोखिन् । साथीहरूले उनलाई कसैले थाहा नपाउने गरी घरबाट भगाइ जङ्गलतिर लगेर राखे । अनि पार्वतीले एकान्तमा बसेर शिवको ध्यान गर्न थालिन् । ‍एकदिन शिव प्रकट भई तिम्रो मनकामना पूरा हुनेछ ‘तथास्तु’ भन्ने वरदान दिई अन्तरध्यान भए र पछि पार्वतीको विवाह उनै शिवसँग भएको थियो ।

यसरी शिवजी प्रकट भई पार्वतीलाई आशीर्वाद दिएको दिनको प्रसङ्गमा जोडिएको दिनलाई हरितालिका तीज भन्न थालियो र विवाहितले श्रीमानको सुख शान्तिका लागि र अविवाहिताले असल श्रीमान् पाउनका लागि तीजको व्रत बस्नुपर्छ भन्ने धार्मिक मान्यता रहिआएको छ ।

३. तेस्रो दिन (गणेश चतुर्थी)

यो दिन पनि शिवपार्वतीकै कथासँग जोडिएको छ । तीजको अर्को दिन पर्ने पर्व गणेश चतुर्थी हो । यो दिनलाई भगवान गणेशको जन्म भएको पवित्र दिन भनेर मानिन्छ । पार्वतीले गर्भधारण र प्रसव व्यथा बिना पुत्रलाभ गर्ने चाहना राखेपछि शिवको आशीर्वाद पाएर गर्भाधारण र प्रसव व्यथा बिना नै भगवान गणेशको जन्म भएको विश्वास छ । यसरी गणेश जन्मिएको दिनलाई पवित्र दिन मानी महिलाहरूले यो दिन पनि पूजाआजा गर्ने प्रचलन छ ।

४. चौथो दिन (ऋषिपञ्चमी)

तीजको अन्तिम दिन अर्को महत्वपूर्ण पर्व पर्दछ ।ऋषिपञ्चमीका दिनमा पनि महिलाहरूले उपवास बसेर सप्तऋषिको पूजाआजा गरी नाचगानका साथ मनाउँछन् । बिहान शुभ बह्ममुहूर्तमा उठी स्नान गर्ने, अपमार्ग सफा गर्ने, दतिवन टोक्ने र पञ्चगव्य खाई शुद्ध भएर सप्तऋषिहरूको पूजाआजा गर्दछन् । अनि नाचगानका साथ त्यो दिनको रात्रिपश्चात् हरितालिका तीज पर्व समापन हुन्छ ।

तीज पर्वमा पुरुषको सहभागिता

परम्परागत रूपमा तीजलाई महिलाको मात्र पर्व मान्ने गरिन्छ । तर अहिले आएर तीज महिला पुरुष सबैको साझा पर्वका रूपमा विकसित भएको छ । पुरुषहरू पनि तीजका अवसरमा नाचगान र खानपिन गरी दिदीबहिनीहरुसँगै रमाउने गर्दछन् ।

यसका साथै महिलाहरूलाई तीजमा विशेष सहुलियत दिएर घुमफिर अनि भेटघाटका लागि अवसर दिने र घरायसी काम आफूले गरेर सहयोग गर्ने गर्दछन् ।

विभिन्न परिकार वा दर पकाउन र सफाइ गर्न सहयोग गर्ने, श्रीमतीलाई वा दिदीबहिनीलाई उपहार दिएर तीजको शुभकामना दिने, मन्दिरसम्म सँगै जाने र समानताको सन्देश दिन कोही कोही तीजमा ब्रत समेत बस्ने गरेको सुनिन्छ ।

यतिमात्र नभई तीजका अवसरमा तीज गीतहरुमा महिलाका भन्दा बढी सांगीतिक गीतहरु निकालेर बजार तताउने काम समेत पुरुषले गर्दै आएका छन् । एकल वा युगल रुपमा गीत निकालेर र सँगै नाचगान गरेर पुरुषहरुको व्यापक सहभागिता रहेको छ । आर्थिक रुपमा समेत पुरुषहरूले कपडा गहना किनेर खर्च गर्ने र महिलाहरुको लोकप्रिय तीज पर्वलाई रौनक थप्नमा पुरुषको समेत वृहत् सहभागिता रहेको छ।

अन्तमा, तीज पर्वलाई धार्मिक र पौराणिक चालचलनअनुसार मनाईंदै आएको परिप्रेच्छमा यसलाई विकृतिको पर्वका रुपमा चित्रण हुन नदिन सबै सचेत हुनु जरुरी छ । हामीले धर्म, संस्कृति र प्रचलनको संरक्षण गर्नुपर्छ र मात्र हामी नेपाली भएर विश्वमा चिनिन सक्नेछौं ।

तर तीज मात्र होइन अन्य चाडपर्वहरू मान्ने क्रममा पनि यस्तै विकृति र पश्चिमा संस्कृतिले जरा गाड्न थालेको छ । यसलाई सकेसम्म कम गर्दै लैजाने र भड्कावपूर्ण चाडपर्व मान्ने होइन कि चाडपर्वलाई सरल, घाँटी हेरेर हाड निल्न सकिने गरी र मितव्ययी समेत बनाउन जरुरी छ ।

हरितालिका तीज २०८३ का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई शुभकामना ।

(डा. नरनाथ पाण्डे नवरपुर कावासोतीस्थित मध्यविन्दु बहुमुखी क्याम्पसका प्राध्यापक हुन् । )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?