News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिशूली नदीको कटानले धादिङको कृष्णभीरमा पृथ्वी राजमार्ग करिब १५० मिटर भासिएपछि सडक सञ्चालन झन् जटिल बनेको छ।
- सडक विभागले कृष्णभीरकै भित्तो काटेर करिब ७ मिटर चौडाइको अस्थायी डाइभर्सन बनाइरहेको छ र वैकल्पिक रुटको अध्ययन पनि भइरहेको छ।
- दैनिक करिब १४ हजार सवारीसाधन चल्ने पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौंसँग देशका विभिन्न भागको यातायातमा प्रत्यक्ष असर परेको छ।
२६ भदौ, भरतपुर। त्रिशूली नदीको निरन्तर कटानका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा पर्ने कृष्णभीरमा सडकको ठूलो भाग भासिएपछि राजमार्ग सञ्चालनमा ल्याउने विषय झन् जटिल बनेको छ।
तत्काल सडक खुलाउन कृष्णभीरकै भित्तो काटेर डाइभर्सन बनाउने काम भइरहेको छ भने दीर्घकालीन समाधानका लागि वैकल्पिक रुटको सम्भाव्यतासमेत अध्ययन भइरहेको छ।
बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा त्रिशूली नदीले सडकको तल्लो आधार कटान गरेपछि करिब १५० मिटर लम्बाइमा राजमार्ग भासिएको सडक विभागले जनाएको छ। नदीतर्फको कटानसँगै सडकको माथिल्लो भागमा समेत चिरा देखिएपछि थप जोखिम देखिएको छ।
सडक विभागका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलका अनुसार अहिले कृष्णभीरको भित्तो काटेर अस्थायी रूपमा सडक सञ्चालन गर्ने तयारी भइरहेको छ। त्यसका लागि दैनिक विभिन्न मेसिन परिचालन गरी काम भइरहेको पौडेलले बताए । ‘दुवैतर्फबाट भीर काट्ने काम भइरहेको छ। अहिले परीक्षणका रूपमा डाइभर्सन खोल्ने काम भएको छ,’ पौडेलले भने।

कटान गरिएको स्थानभन्दा माथिल्लो भागमा देखिएको चिरा पुरानो पहिरोले थुपारेको माटोको भाग हो। उक्त चिराबाट पानी भित्र पस्न नदिन प्लास्टिकले छोप्ने काम भएको उनले बताए । भीरको तल्लो भागमा कटान गर्दा जमिन थर्किएर चिरा परेको र त्यसको असर मुख्य चट्टानमा नपरेको प्रारम्भिक निष्कर्ष रहेको पौडेलको भनाइ छ।
जोखिम मोलेरै अस्थायी डाइभर्सन
कृष्णभीरमा डाइभर्सन खोल्ने कामको जिम्मेवारी पृथ्वी राजमार्ग मुग्लिन–मलेखु निर्माण आयोजनालाई दिइएको छ। करिब सात मिटर चौडाइ र १५० मिटर लम्बाइमा भित्तो काटेर अस्थायी सडक बनाउने काम भइरहेको छ।
आयोजनाका परियोजना प्रमुख सजना अधिकारी भन्छिन्, ‘दैनिक स्काभेटर वारपार गरे पनि अन्य सवारी साधनलाई भने गुड्न दिईएको छैन।’
विज्ञ तथा प्राविधिकसहित करिब १५ जना र ६० जना कामदार उपकरणसहित खटिएका छन्। तर लगातारको वर्षाका कारण काम चुनौतिपूर्ण बनेको छ। भित्तो काट्दा थप पहिरो खस्न सक्ने तथा त्रिशूलीको जलस्तर बढेमा तल्लो भागमा पुन: कटान हुन सक्ने जोखिम भने कायमै रहेको उनको भनाइ छ।
भूगर्भविद् संजोग खनालका अनुसार तत्काल सडक सञ्चालनमा ल्याउनुपर्ने दवावका कारण जोखिम मोलेरै काम गर्नुपरेको छ। ‘अहिले ग्राउन्ड जिरोबाट काम भइरहेको छ। पहिलो प्राथमिकता सडक सञ्चालनमा ल्याउनु हो। त्यसपछि चिरा र भू–धरातलको विस्तृत अध्ययन गर्नुपर्छ,’ खनालले भने।

कृष्णभीरको पहाडमा विगतमा गएको पहिरोले करिब ६० डिग्रीको कोण बनाएको थियो। अहिले त्यसको केही भाग खसेको छ। माथिल्लो भागमा तत्काल बस्ती नजिक नरहेकाले बस्तीमा ठूलो असर पर्ने सम्भावना कम भए पनि सडक प्रयोग गर्ने यात्रुका लागि जोखिम भने रहेको उनले बताए।
स्थायी समाधान होइन डाइभर्सन
सडक विभागका अधिकारीहरूकै अनुसार कृष्णभीरमा अहिले निर्माण गर्न लागिएको डाइभर्सनलाई स्थायी समाधानका रूपमा लिइएको छैन। भू–प्राविधिक अवस्था र त्रिशूली नदीको कटानको जोखिम मूल्याङ्कन गरेपछि मात्र दीर्घकालीन संरचना निर्माण गर्ने विषयमा निर्णय हुनेछ।
कृष्णभीरको जोखिमबारे छलफल गर्न पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको नेतृत्वमा सडक विभागका महानिर्देशक विजय जैसीसहित विज्ञहरूको बैठक बसेको थियो।
बैठकले तत्काल राजमार्ग सञ्चालनमा ल्याउन बाध्यात्मक अवस्था रहे पनि भीर कटान गर्दा थप जोखिम नहुने गरी प्राविधिक डिजाइन तयार गर्न निर्देशन दिएको थियो। यसका लागि जियोटेक्निकल सोसाइटीलाई समेत प्राविधिक डिजाइन तयार गर्ने जिम्मेवारी दिइएको छ।
विज्ञहरूले भने कमजोर भू–धरातलमा रहेको कृष्णभीरको विस्तृत भू–प्राविधिक परीक्षण नगरी स्थायी संरचना बनाउँदा भविष्यमा फेरि ठूलो क्षति हुन सक्ने चेतावनी दिएका छन्।
दुई विकल्पमा अध्ययन
कृष्णभीरमा सडक पूर्ण रूपमा भासिएपछि पृथ्वी राजमार्ग सञ्चालनका लागि अहिले दुई मुख्य विकल्पमा छलफल भइरहेको छ।
पहिलो, कृष्णभीरकै भित्तो काटेर सडक सञ्चालन गर्ने हो। यही विकल्पअनुसार अहिले अस्थायी डाइभर्सन निर्माण भइरहेको छ। तर विगतमा समेत पहिरो र सडक भासिने समस्या देखिएको क्षेत्र भएकाले यसलाई स्थायी समाधान मान्न सडक विभाग स्वयं तयार छैन।

दोस्रो, त्रिशूली नदीको पारिपट्टिबाट गोरखा हुँदै बेनीघाटतर्फ सडक निकाल्ने हो। यसका लागि नयाँ रुटको सम्भाव्यता, लागत र भू–प्राविधिक जोखिमबारे अध्ययन भइरहेको छ।
भूगर्भविद् खनालका अनुसार दीर्घकालीन समाधानका लागि कृष्णभीरमा सुरुङ निर्माण गर्ने वा नदीको पारिपट्टि पुल बनाएर सडक लैजाने विकल्पसमेत अध्ययनको विषय बनेको छ।
‘भविष्यमा यो समस्या दोहोरिन नदिन सुरुङमार्ग वा पारिपट्टिबाट पुलमार्फत सडक लैजाने विकल्पमा प्राविधिक र लागत अध्ययन भइरहेको छ,’ उनले भने।
रिटेनिङ वालको जगमाथि प्रश्न
भूगर्भशास्त्रीहरूले कृष्णभीरमा यसअघि निर्माण गरिएका संरचनाको डिजाइन र नदी कटानको जोखिम मूल्याड्ढनमाथि समेत समीक्षा आवश्यक रहेको बताएका छन्। रसुवाको भीषण बाढीपछि त्रिशूलीमा आएको पानीको बहाव र धार परिवर्तनले सडकको जगमा ठूलो असर गरेको हो।
उनका अनुसार भोटेकोशीबाट बाढीले बगाएर ल्याएका ढुंगा, माटो, काठलगायतले सडकको आधारमा प्रहार गर्दा कटान तीव्र भएको हो। कृष्णभीरमा करिब सय मिटर लामो रिटेनिङ वाल भत्किएपछि सडक भासिएको उनको भनाइ छ।

‘रिटेनिङ वाल निर्माण गर्दा गहिरो पाइल फाउन्डेसनमा विशेष ध्यान दिनुपर्छ। नदीको कटान कुन तहसम्म पुग्न सक्छ भन्ने पर्याप्त मूल्याड्ढन नभए भविष्यमा यस्तै क्षति दोहोरिन सक्छ,’ उनले भने।
पानीको वहाव धेरै भएका कारण तल कतिसम्म कटान छ भनेर अध्ययन गर्न नसकिएको सम्बद्धहरू बताउँछन्। उनले पुराना संरचनाको नियमित मर्मत र सुधारमा समेत ध्यान दिनुपर्ने बताए।
पृथ्वी राजमार्गको ठूलो भार
कृष्णभीरमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। यो सडक हुँदै दैनिक करिब १४ हजार सवारीसाधन आवतजावत गर्ने भएकाले राजमार्ग बन्द हुँदा काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने यातायात व्यवस्थामै प्रत्यक्ष असर परेको छ।
चाडपर्व नजिकिँदै गर्दा राजमार्ग छिटो सञ्चालनमा ल्याउनुपर्ने दवाव समेत बढेको छ। यही कारण सडक विभागले जोखिमका बीच तत्काल डाइभर्सन निर्माणलाई प्राथमिकता दिएको हो।
यसअघि २०५६ सालमा कृष्णभीरमा ठूलो पहिरो गएको थियो। त्यसबेला सडकलाई तलबाट उकासेर मर्मत गरिएको थियो भने भित्तातर्फ पहिरो रोकथामका काम गरिएको थियो। गत वर्ष पनि सोही क्षेत्रमा सडक केही भासिएपछि मर्मत गरिएको थियो। यसपटक भने त्रिशूली नदीले सडकको तल्लो आधार नै काटेपछि समस्या थप गम्भीर बनेको छ।
सडक खुले मात्र पुग्दैन
कृष्णभीरमा अहिलेको मुख्य चुनौती सडक खुलाउनु हो। तर त्योसँगै आउने प्रश्न हो, सडक खुलेपछि त्यो कति सुरक्षित हुन्छ ?
बाढीको जोखिम अझै केही समय कायम रहने भएकाले अस्थायी डाइभर्सन सञ्चालनमा ल्याएपछि पनि नियमित निगरानी र जोखिम मूल्याड्ढन आवश्यक हुने विज्ञहरूको भनाइ छ।

सडक विभागले पनि अहिलेको डाइभर्सनलाई परीक्षणका रूपमा मात्र हेरिएको जनाएको छ। भू–प्राविधिक अध्ययनबाट सुरक्षित देखिएमा मात्र त्यसलाई थप विस्तार वा दीर्घकालीन संरचनाका रूपमा विकास गर्ने योजना रहेको सडक विभागका शिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलले बताए ।
त्यसैले कृष्णभीरको तत्कालीन समाधान भित्तो काटेर सडक खुलाउने भए पनि दीर्घकालीन प्रश्न भने त्यही ठाउँमा सडक राख्ने कि रुट नै परिवर्तन गर्ने भन्नेमा केन्द्रित भएको छ।
देशकै प्रमुख मध्येको एक पृथ्वी राजमार्गलाई दीर्घकालसम्म सुरक्षित बनाउन नदीको कटान, पहाडको भू–बनोट, संरचनाको क्षमता र वैकल्पिक रुटको लागतसहित समग्र अध्ययन गरेर निर्णय लिनुपर्ने देखिन्छ।
प्रतिक्रिया 4