News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङको कृष्णभिरमा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि बागमती प्रदेशले मकवानपुरको भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक मर्मत सुरू गरेको छ।
- मुख्यमन्त्री किरण थापामगरका अनुसार भीमफेदी र सिस्नेरी दुवैतर्फबाट चार एक्साभेटर र दुई लोडर परिचालन गरी एक साताभित्र यातायात सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ।
- भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार उक्त सडक निर्माण र स्तरोन्नतिका लागि चालू आर्थिक वर्ष २०८३/८४ मा ३२ करोड रुपैयाँ बजेट विनियोजन भएको छ।
१८ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पहिरो गएर सडक अवरुद्ध भएपछि मकवानपुरमा बढेको सवारी चाप व्यवस्थापन गर्न बागमती प्रदेश सरकारले मकवानपुरको भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक मर्मत सुरु गरेको छ ।
भीमफेदी गाउँपालिकाको पहलमा प्रदेश सरकारले भीमफेदी–कोगटे हुँदै इपा देउरालीसम्मको सडकको आज स्थलगत निरीक्षण गरी मर्मत तथा निर्माणको काम सुरु गरिएको बागमतीका मुख्यमन्त्री किरण थापामगरले जानकारी दिए ।
भीमफेदी र सिस्नेरी दुवैतर्फबाट एकैपटक काम अघि बढाइएको छ । मुख्यमन्त्री थापाका अनुसार सडक मर्मतका लागि चार वटा एक्साभेटर, दुई वटा लोडर तथा आवश्यक अन्य सवारीसाधन र उपकरण परिचालन गरिएको छ ।
बढीमा एक साताभित्र उक्त सडकबाट यातायात सञ्चालन गर्न सकिने गरी काम अघि बढाइएको उनले बताए ।
कृष्णभिरमा पहिरो गएपछि पश्चिम नेपालबाट काठमाडौं आउने सवारीसाधनहरू वैकल्पिक मार्गका रूपमा मकवानपुरको त्रिभुवन राजपथ, कान्तिलोकपथ तथा हेटौंडा–कुलेखानी–काठमाडौं जोड्ने छोटो मार्गबाट सञ्चालन भइरहेका छन् ।
जसका कारण भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा अत्यधिक सवारी चाप र जामको समस्या देखिएको छ । यस्तो अवस्थामा भीमफेदी–कोगटे–इपा–सिस्नेरी सडक सञ्चालनमा ल्याउन सके भीमफेदी–देउराली–कुलेखानी खण्डको सवारी चाप उल्लेख्य रूपमा घट्ने प्रदेश सरकारको अपेक्षा छ ।
मुख्यमन्त्री थापा मगरले उक्त सडक सञ्चालनमा आएपछि भीमफेदी–देउराली–कुलेखानी सडकखण्डमा देखिएको जामको समस्या अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।
भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३/८४ मा उक्त सडक निर्माण तथा स्तरोन्नतिका लागि ३२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अहिले तत्कालको सवारी चाप व्यवस्थापनसँगै दीर्घकालीन रूपमा सडकलाई व्यवस्थित बनाउने गरी काम अघि बढाइएको उनले बताए ।
प्रतिक्रिया 4