+
+
Shares

१०० मिटर सडकसामु राज्य हायलकायल, उपभोक्तालाई अभाव, महँगी र सास्ती

मुलुकको संघीय राजधानी काठमाडौंको लाइफलाइन पृथ्वी राजमार्गसँग सम्पर्क टुटेको बिहीबार १२ दिन पुगेको छ । कारण हो, ‘कृष्णभिरमा १०० मिटर सडक त्रिशूली नदीमा भासिनु ।’ पृथ्वी राजमार्ग अवरुद्ध हुँदा राजधानीसँगको मुख्य सडक सञ्जाल टुटेको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८३ भदौ २५ गते १९:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृष्णभिरमा १०० मिटर सडक त्रिशूली नदीमा भासिएपछि पृथ्वी राजमार्ग १२ दिनदेखि अवरुद्ध छ।
  • राजमार्ग अवरुद्ध हुँदा काठमाडौंमा ग्यास, चिनी र अन्य अत्यावश्यक वस्तुको अभाव र कालोबजारी बढेको छ।
  • प्रधानमन्त्री कार्यालयले भदौ महिनाभित्र पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने गरी २०० मिटर ट्रयाक खोल्ने काम भइरहेको जनाएको छ।

२५ भदौ, काठमाडौं । मुलुकको संघीय राजधानी काठमाडौंको लाइफलाइन पृथ्वी राजमार्गसँग सम्पर्क टुटेको बिहीबार १२ दिन पुगेको छ । कारण हो, ‘कृष्णभिरमा १०० मिटर सडक त्रिशूली नदीमा भासिनु ।’ पृथ्वी राजमार्ग अवरुद्ध हुँदा राजधानीसँगको मुख्य सडक सञ्जाल टुटेको छ ।

१ सय मिटर भासिएको राजमार्गले दैनिक अत्यावश्यक वस्तुको आवागमन मात्र रोकेको छैन, आम यात्रुको आवागमनमा प्रत्यक्ष असर गरेको छ । संघीय राजधानी र पर्यटकीय राजधानी पोखराबीचको पर्यटक यात्रालाई समेत रोकेको छ ।

सोही असरले काठमाडौंमा आपूर्ति श्रृङ्खला ध्वस्त भएको छ । ग्यासको हाहाकारमाथि अब चिनीसहित अन्य अत्यावश्यक वस्तुको अभाव र कालोबजारी चुलिएको छ । कतिसम्म भने यही प्रकरणका कारण उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा दिइन् ।

यद्यपि  समस्या जहाँको त्यही छ । विज्ञहरूका अनुसार राज्य यति ठूलो जनसंख्यालाई जोड्ने राजमार्गको विकल्पमा गम्भीर हुन नसक्दा १ सय मिटर सडकमा आएकै समस्याले हायलकायल हुनु परेको छ ।

पूर्वाधारविज्ञ तथा पूर्वसचिव केशवकुमार शर्माका अनुसार अहिले सरकारले पृथ्वी राजमार्ग खुलाउन जे प्रयास गरिरहेको छ, त्यो नै अन्तिम विकल्प हो । अर्थात् पहिरो गएकै स्थानबाट वैकल्पिक ट्रयाक खोलेर अस्थायी रुपमा यातायात सूचारु गर्नु ।

किनकि कृष्णभिरको समस्यापछि सरकारले वैकल्पिक राजमार्ग भनी तोकेका कान्ती लोकमार्ग, त्रिभुवन राजपथ वा बीपी राजमार्ग ठूला र हेभी सवारी साधन गुडाउन प्राविधिक रुपमा उपयुक्त छैनन् । सोहीकारण ग्यास बोकेका बुलेट काठमाडौं आउन सकेनन् ।

ग्यास तराईमै सिलिन्डरमा भरेर ल्याउनुपर्ने झन्झट थपियो । यसले बजारमा अभाव र महँगी एकसाथ थप्यो । शर्मा भन्छन्, ‘कृष्णभिर खुलाउन अहिले जे काम गरिरहेको छ, त्यसको विकल्प छैन, बरु राज्य एउटै राजमार्गमा अत्यधिक निर्भर रहँदा यो समस्या देखिएको भने सत्य हो ।’

कृष्णभिरमा तत्काल सडक खुलाए पनि यो यात्रा पहिरोबाट जोखिममुक्त हुने छैन । किनकी अहिले जुन स्थानमा ट्रयाक खोलिएको छ, त्यसको माथि थप चिरा देखिएको छ । त्यसले ठूलो वर्षा वा सुक्खायाममा समेत पुनः पहिरो निम्त्याउन सक्छ । कृष्णभिर विगतको सक्रिय पहिरो भएको क्षेत्र हो ।

शर्माका अनुसार यो स्थानमा दुई वटा पुल बनाएर त्रिशूली पारिबाट वैकल्पिक सडक निकाल्नु वा त्रिशूली नदी किनारमा पहरो भेट्टाएर त्यसमाथि पर्खाल बनाउँदै सडक निर्माण गर्नु वा सुरुङ निर्माण गर्नु, यी तीन वटै विकल्पमा काम गर्दा अर्को ६ महिनादेखि २ वर्ष समय लाग्ने निश्चित छ । सरकारले पहिरो खसेको तीन दिनपछि मात्र ट्रयाक खोल्ने निर्णय लिएको थियो । यो काम अलि शीघ्र गर्न सकेको भए छिटो बाटो खुल्न सक्ने उनी बताउँछन् ।

वैकल्पिक राजमार्ग प्रभावकारी नबनाउँदा थपिएको सास्ती

सरकारले काठमाडौंलाई तराई–मधेशसँग जोड्न द्रुतमार्ग बनाइरहेको छ । नेपाली सेनाले ठेक्का लिएको यो द्रुतमार्ग १४ जेठ २०७४ मा शिलान्यास भएको हो । ७०.९७ किलोमिटर लामो यो द्रुतमार्गको संशोधित लक्ष्य अनुसार यसै साल चैतभित्र आयोजना सम्पन्न भएर सञ्चालनमा आइसक्नु पर्ने थियो ।

तर, काठमाडौंतर्फको सुरुवाती विन्दु विवाद कायमै रहेको यस आयोजनाको प्रगति ५० प्रतिशत भन्दा पनि कम छ । २००७ सालताकाबाट निर्माण थालिएको त्रिभुवन राजपथ आज ठूला सवारी साधनको वैकल्पिक भरोसा बनेको छ । तर, यसको पूर्वाधार सन्तोषजनक छैन । बीपी राजमार्ग केही वर्षयताको लगातार बाढीको असरले आफै जीर्ण छ ।

अर्को वैकल्पिक राजमार्ग कान्ती लोकपथ समेत साना सवारीको चाप र जीर्ण पूर्वाधारले समस्यामा छ । अहिले हेटौंडाबाट मालबाहक सवारी साधन त्रिभूवन राजपथबाट काठमाडौं जाने र कान्ती लोकपथबाट फर्कने गरी व्यवस्था गरिएको छ ।

तर, दुबै राजमार्गको भौतिक अवस्था खराब छ । जब संकट आउँछ, त्यसपछि मात्र वैकल्पिक सडकको खोजी गर्ने राज्यको परिपाटीले यस वर्ष पनि निरन्तरता पायो । जसले गर्दा यात्रु, उपभोक्ता, सवारी चालक र यातायात व्यवस्थापनमा खटिएका स्थानीय प्रशासन र प्रहरी सबैले एकसाथ सास्ती भोग्नु परेको छ ।

भदौ महिना भित्र पृथ्वी राजमार्ग खुलाउने प्रयास छ : प्रधानमन्त्री कार्यालय

प्रधानमन्त्री कार्यालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार पृथ्वीराजमार्ग सूचारु हुने मिति अझै टुङ्गो छैन । यद्यपि भदौ महिनाभित्र यातायात सेवा सञ्चालनमा ल्याउने गरी निर्माणको काम भइरहेको छ । कृष्णभिरमा २ सय मिटर लम्बाइको पहाड काटेर ट्रयाक खोलिएको छ । यस कामका लागि १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ । सो क्षेत्रमा रातको समयमा समेत काम गर्न सकिने गरी सशस्त्र प्रहरी बलले फ्लडलाइट जडान गरेको छ ।

कार्यालयका अनुसार नयाँ ट्रयाकसँगै पहिरो रोकथाम गर्न माथि र तल दुबैतर्फ तीव्र गतिमा काम भइरहेको छ । सो बाहेक अन्य ५ स्थानमा पहिरो पन्छ्याउने र दुईतर्फी यातायात खुलाउने काम सँगै भइरहेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार यो सडक तत्काल मर्मत गर्नेबारे प्रधानमन्त्री बालेन शाह र पूर्वाधारमन्त्री सुनिल लम्सालबीच छलफल भएको थियो । सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकले ४ दिनसम्म अध्ययन गरी नयाँ ट्रयाक खोल्न सुझाव दिएका हुन् ।

पटक पटकको संकटमा पनि नसिकेको पाठ

मुग्लिन–नारायणगढ सडक खण्डमा पटक पटक पहिरो जाँदा सरकारले त्रिभुवन राजपथसहित हेटौंडा–काठमाडौं जोड्ने सडकलाई वैकल्पिक राजमार्गका रुपमा तोक्ने गर्छ । गत वर्ष दशैंको मुखमा तुइन खोला नजिक सुक्खा पहिरो जाँदा मुग्लिन–नारायणगढ सडक खण्ड अवरुद्ध भयो । नारायणगढबाट मुग्लिन वा त्यसभन्दा यता आउने सडकमा अवरोध सिर्जना हुँदा नेपालको पूर्व र पश्चिमबाट आएका सवारी साधनको डाइभर्ट विन्दु हुन्छ हेटौंडा ।

हेटौंडा र काठमाडौंबीच यात्राका तीन विकल्प छन् । एक, त्रिभुवन राजथप । यो हेटौडा–पालुङ–नौबिसे हुँदै काठमाडौं जोडिन्छ । यस वर्ष नागढुंगा नजिकै अर्को पहिरो थपिएको छ । त्यसलाई सुरुङमार्गले विकल्प दिएको छ ।

हेटौडा–ठिंगन–सातदोबाटो जोडिने कान्ती लोकपथ अर्को विकल्प हो । अर्को विकल्प हेटौडा–कुलेखानी–फर्पिङ जोड्ने साँघुरो सडक हो । यी दुई राजमार्ग दुई पाङ्ग्रे र साना सवारी साधनका लागि मात्र उपयुक्त छन् ।

पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने बीपी राजमार्गमा समस्या आउँदा समेत विकल्प यी राजमार्ग बन्छन् । तर, सरकारले यी राजमार्ग चुस्त र सबल राख्न पर्याप्त प्रयास गरेको छैन । जसले गर्दा हरेक वर्ष उस्तै सास्ती दोहोरिने गरेको छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?