News Summary
Generated by OK AI. Editorially reviewed.- निद्रा मस्तिष्कको निष्क्रिय अवस्था नभई स्मृति सुदृढ, भावना प्रशोधन र दिनभरिका सूचनाको व्यवस्थापन गर्ने महत्त्वपूर्ण जैविक प्रक्रिया हो।
- एनआरईएम र आरईएम गरी निद्राका चरणहरू रातभरि करिब ९० मिनेटको चक्रमा चारदेखि ६ पटकसम्म दोहोरिन्छन् र मस्तिष्क फरक–फरक तरिकाले सक्रिय रहन्छ।
- वयस्कका लागि प्रतिरात ७ देखि ९ घण्टा निद्रा उपयुक्त मानिन्छ, र लामो समय निदाउन कठिन हुने वा सास रोकिएजस्तो हुने समस्या भए चिकित्सकसँग परामर्श गर्नुपर्छ।
दिनभरि काम गरेर थाकेपछि राति ओछ्यानमा पुगेर हामी भन्छौँ, ‘अब आराम गर्नुपर्छ ।’ आँखा बन्द हुन्छन्, शरीर शिथिल हुन्छ र हामी निदाउँछौँ। बाहिरबाट हेर्दा शरीरसँगै मस्तिष्क पनि बिदामा गएजस्तो देखिन्छ ।
तर वास्तविकता अलि फरक छ । हामी सुतिरहेका हुन्छौँ, तर हाम्रो मस्तिष्क पूर्ण रूपमा सुतिरहेको हुँदैन ।
निद्रा मस्तिष्कको निष्क्रिय अवस्था होइन । यो मस्तिष्कका लागि अत्यन्त महत्त्वपूर्ण जैविक प्रक्रिया हो । हामी निदाएको समयमा मस्तिष्कले दिनभरि प्राप्त गरेका सूचना र अनुभवलाई व्यवस्थित गर्छ, स्मृतिलाई सुदृढ बनाउँछ, भावनात्मक अनुभवलाई प्रशोधन गर्छ र अर्को दिनका लागि आफूलाई तयार पार्छ ।
निद्राको पनि अनेक रूप
रातभरि हामी एउटै अवस्थामा सुतिरहेका हुँदैनौँ । निद्रालाई मुख्य रूपमा एनआरईएम (नन–र्यापिड आई मुभमेन्ट) र आरईएम (र्यापिड आई मुभमेन्ट) गरी दुई प्रकारमा विभाजन गरिन्छ । एनआरईएम निद्रा हल्का निद्राबाट सुरु भएर गहिरो निद्रातर्फ अघि बढ्छ । विशेषगरी गहिरो निद्राका क्रममा शरीर र मस्तिष्कको पुनःस्थापनासँग सम्बन्धित महत्त्वपूर्ण प्रक्रिया हुन्छन् ।
आरईएम निद्रामा मस्तिष्कको गतिविधि फेरि बढ्छ र प्रायः जीवन्त सपना देखिन्छ । स्मृति, सिकाइ र भावनात्मक प्रशोधनमा पनि यस चरणको महत्त्वपूर्ण भूमिका मानिन्छ । यी चरणहरू एक रातमा करिब ९० मिनेटको चक्रमा, सामान्यतया चारदेखि ६ पटकसम्म दोहोरिन्छन् । अर्थात्, निद्राभरि हाम्रो मस्तिष्क फरक–फरक तरिकाले सक्रिय रहिरहन्छ।
हामीले एक दिनमा हजारौँ सूचना ग्रहण गर्छौँ । मानिसहरूका अनुहार, कुराकानी, पढेका कुरा, कामका अनुभव र वरिपरिका दृश्यहरू मस्तिष्कले निरन्तर टिपिरहेको हुन्छ । तर ती सबै कुरा जीवनभर सम्झिरहनु आवश्यक हुँदैन । निद्राका क्रममा मस्तिष्कले महत्त्वपूर्ण जानकारीलाई सुदृढ बनाउँछ र विभिन्न स्मृतिलाई एकअर्कासँग जोड्न मद्दत गर्छ । त्यसैले नयाँ कुरा सिकेपछि पर्याप्त निद्रा लिनु सिकाइ र स्मरणका लागि महत्त्वपूर्ण हुन्छ ।
परीक्षा नजिकिँदा धेरै विद्यार्थी रातभरि जागा बसेर पढ्छन् । तर धेरै समय पढ्नु मात्र पर्याप्त हुँदैन । पढाइपछिको पर्याप्त निद्रा पनि सिकाइकै एउटा महत्त्वपूर्ण हिस्सा हो । राति अबेरसम्म थप एक घण्टा पढ्नुभन्दा पर्याप्त सुत्नु भोलिपल्टको ध्यान, स्मरण र कार्यक्षमताका लागि बढी उपयोगी हुन सक्छ।
दिनभरि निरन्तर सक्रिय रहँदा मस्तिष्कमा विभिन्न जैविक उपउत्पादन उत्पन्न हुन्छन् । अनुसन्धानहरूले, विशेषगरी जनावरमा गरिएका अध्ययनले, निद्राको समयमा मस्तिष्कभित्र तरल पदार्थको प्रवाह बढ्ने र ग्लिम्फ्याटिक प्रणालीसँग सम्बन्धित प्रक्रियाले यस्ता पदार्थ हटाउन भूमिका खेल्ने देखाएका छन् । सरल भाषामा भन्दा, हामी सुतिरहेका बेला मस्तिष्कले आफ्नो ‘हाउसकिपिङ’ पनि गरिरहेको हुन्छ । यसैले पर्याप्त र गुणस्तरीय निद्रा मस्तिष्कको समग्र स्वास्थ्यका लागि महत्त्वपूर्ण छ ।
कहिलेकाहीँ हामी कुनै तनाव, चिन्ता वा समस्या बोकेर सुत्छौँ । समस्या बिहान पनि उस्तै हुन्छ, तर उठ्दा त्यसलाई हेर्ने हाम्रो दृष्टिकोण केही फरक भएको महसुस हुन सक्छ । निद्राले स्मृति र भावनात्मक अनुभवको प्रशोधनमा महत्त्वपूर्ण भूमिका खेल्छ । यसको विपरीत, लगातार अपर्याप्त निद्राले ध्यान केन्द्रित गर्न कठिनाइ, चिडचिडापन र भावनात्मक प्रतिक्रियामा परिवर्तन ल्याउन सक्छ । त्यसैले थाकेको शरीरलाई मात्र होइन, थाकेको मस्तिष्कलाई पनि निद्रा आवश्यक हुन्छ ।
सपना मानव मस्तिष्कका सबैभन्दा रोचक पक्षमध्ये एक हो। विशेषगरी आरईएम निद्राका बेला हामी अत्यन्त जीवन्त सपना देख्न सक्छौँ । सपनामा हामी दौडिरहेका हुन्छौँ, उडिरहेका हुन्छौँ, अपरिचित ठाउँमा पुगेका हुन्छौँ वा वर्षौँअघि भेटेका मानिससँग फेरि कुराकानी गरिरहेका हुन्छौँ । तर सपनाको वास्तविक जैविक उद्देश्यबारे विज्ञानसँग अझै सबै प्रश्नको पूर्ण उत्तर छैन । यसले हामीलाई एउटा कुरा सम्झाउँछ : मस्तिष्कबारे हामीले धेरै कुरा जानेका छौँ, तर जान्न बाँकी अझै धेरै छ ।
आजकल राम्रो निद्राका सामु मोबाइल फोन एउटा ठूलो चुनौती बनेको छ । ‘एउटा भिडियो मात्र हेर्छु’ भनेर सुरु गरेको स्क्रोलिङ कहिलेकाहीँ एक घण्टासम्म पुग्छ । स्क्रिनबाट आउने प्रकाशका साथै सामाजिक सञ्जाल, समाचार, भिडियो र लगातार आइरहने नोटिफिकेसनले पनि मस्तिष्कलाई सक्रिय राख्न सक्छन् । त्यसैले सुत्ने समय नजिकिँदै गर्दा स्क्रिनको प्रयोग घटाउनु र नियमित सुत्ने वातावरण बनाउनु निद्राका लागि उपयोगी हुन सक्छ ।
हाम्रो समाजमा चिया र कफी दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेका छन् । तर क्याफिनले केही व्यक्तिमा निद्रा लाग्न ढिला गराउन वा निद्राको गुणस्तर प्रभावित पार्न सक्छ । यसको असर व्यक्तिअनुसार फरक हुन्छ । राति निदाउन समस्या भइरहेको छ भने, विशेषगरी दिउँसो वा साँझपख लिइने चिया–कफीको मात्रा र समयबारे पनि विचार गर्न सकिन्छ ।
धेरै मानिसको बानी हुन्छ, हप्ताभरि कामको चापले कम सुत्ने अनि सप्ताहान्तमा धेरै सुत्ने । अतिरिक्त निद्राले केही थकान घटाउन सक्छ, तर नियमित रूपमा अपर्याप्त निद्रा लिने बानीको पूर्ण विकल्प भने यो होइन ।
वयस्क व्यक्तिका लागि सामान्यतया प्रतिरात ७ देखि ९ घण्टा निद्रा उपयुक्त मानिन्छ, यद्यपि व्यक्तिगत आवश्यकता फरक हुन सक्छ । महत्त्वपूर्ण कुरा घण्टाको संख्या मात्र होइन, नियमितता र निद्राको गुणस्तर पनि उत्तिकै महत्त्वपूर्ण छन् ।
कहिलेकाहीँ निद्रा नलाग्नु सामान्य हुन सक्छ । तर लामो समयसम्म निदाउन कठिन हुने, राति पटक–पटक ब्युँझिने, पर्याप्त समय सुते पनि बिहान अत्यधिक थकान महसुस हुने, दिनभरि असामान्य रूपमा निद्रा लागिरहने वा निद्राका कारण दैनिक जीवन प्रभावित हुने अवस्था भए चिकित्सकसँग परामर्श लिनु उचित हुन्छ । त्यस्तै, अत्यधिक घुर्ने, निद्रामा सास रोकिएजस्तो हुने वा बारम्बार निसास्सिएर ब्युँझिने समस्यालाई पनि बेवास्ता गर्नु हुँदैन । यस्ता लक्षण स्लिप एपनिया जस्ता निद्रासम्बन्धी विकारसँग सम्बन्धित हुन सक्छन् ।
हामी निदाउँदा केही घण्टाका लागि बाहिरी संसारबाट टाढा हुन्छौँ । फोन बन्द हुन्छ, काम रोकिन्छ, शरीर विश्राममा जान्छ । तर हाम्रो मस्तिष्कले त्यो समयलाई व्यर्थ जान दिँदैन । स्मृतिलाई व्यवस्थित गर्दै, सिकेका कुरालाई सुदृढ बनाउँदै, भावनालाई प्रशोधन गर्दै र आफ्नो आन्तरिक प्रणाली सम्हाल्दै मस्तिष्क आफ्नो काममा लागिरहन्छ ।
त्यसैले निद्रा समयको बर्बादी होइन । निद्रा हाम्रो मस्तिष्कको दैनिक पुनःस्थापना र तयारीको महत्त्वपूर्ण प्रक्रिया हो ।
आज राति ओछ्यानमा जाँदा मोबाइल केही पर राख्नुहोस् । कोठा शान्त बनाउनुहोस् । आँखा बन्द गर्नुहोस् । र एउटा कुरा सम्झनुहोस्, ‘म सुतिरहेको छु, तर मेरो मस्तिष्क मेरो भोलिका लागि काम गरिरहेको छ ।’
प्रतिक्रिया 4