+

मुटु स्वस्थ राख्न कुन तेल खाने, तोरी कि सूर्यमुखी ?

२०८३ असोज  ६ गते १३:५९ २०८३ असोज ६ गते १३:५९
मुटु स्वस्थ राख्न कुन तेल खाने, तोरी कि सूर्यमुखी ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तोरीको तेलमा ओमेगा–३ र सूर्यमुखीको तेलमा ओमेगा–६ तथा अनस्याचुरेटेड फ्याटी एसिड पाइने पाइन्छ ।
  • मुटु जोगाउन राम्रो तेल मात्रै पर्याप्त हुँदैन । समग्र खानपान, व्यायाम र जीवनशैली पनि हेर्नुपर्छ ।

तरकारी पकाउँदा तेल कम गर्ने कि तेल नै बदल्ने ? तोरीको तेल खाँदा मुटुका लागि राम्रो हुन्छ कि सूर्यमुखीको तेल रोज्दा ?

पछिल्लो समय जैतुनको तेलको प्रयोग पनि बढ्दै गएको छ । बजारमा विभिन्न प्रकारका तेल उपलब्ध हुन थालेपछि कुन तेल रोज्ने भन्नेमा धेरैलाई अन्योल हुने गर्छ ।

हुन पनि, तेल हाम्रो भान्साबाट छुट्ने कुरा होइन । तरकारी भुट्न होस् वा दालमा झान्न, दैनिक खानासँगै कुनै न कुनै रूपमा तेल हाम्रो शरीरमा पुगिरहेको हुन्छ । त्यसैले, मुटु स्वस्थ राख्न कुन तेल रोज्ने र कति प्रयोग गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

मुटुका लागि कुन तेल उपयुक्त छ ? अनि, मुटु स्वस्थ राख्न तेल मात्रै राम्रो भएर पुग्छ ? यसै विषयमा केन्द्रित रहेर मुटुरोग विशेषज्ञ डा. विवेक राज पौडेलसँग गरिएको ५ प्रश्नोत्तर जस्ताको त्यस्तै:

१.वनस्पतिबाट बन्ने तेल खाएर हामी स्वस्थ हुन सक्छौं ?

वनस्पतिबाट बन्ने तेल हाम्रो दैनिक खानाको महत्वपूर्ण हिस्सा हो । तर तेल स्वास्थ्यका लागि आवश्यक हुँदैमा जति धेरै खायो, त्यति नै राम्रो हुन्छ भन्ने होइन । तेलमा क्यालोरीको मात्रा धेरै हुन्छ । एक ग्राम तेलबाट शरीरले करिब ९ किलो क्यालोरी ऊर्जा प्राप्त गर्छ ।

त्यसैले, तेलको विषयमा कुरा गर्दा कुन तेल प्रयोग गर्ने भन्ने प्रश्नसँगै कति मात्रामा प्रयोग गर्ने भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । तोरी, सूर्यमुखी वा अन्य वनस्पतिबाट बनेको तेलमा शरीरका लागि आवश्यक पर्ने विभिन्न किसिमका बोसो पाइन्छन् । शरीरलाई ऊर्जा दिनुका साथै केही भिटामिनको अवशोषणमा पनि बोसो आवश्यक हुन्छ ।

तर आवश्यकता भन्दा बढी तेल प्रयोग गर्दा शरीरमा अतिरिक्त क्यालोरी पुग्न सक्छ । यस्तो अतिरिक्त क्यालोरी लामो समयसम्म जम्मा हुँदै जाँदा तौल बढ्ने तथा मोटोपनसँग सम्बन्धित स्वास्थ्य समस्या देखिन सक्ने जोखिम हुन्छ ।

त्यसैले, तेल वनस्पतिबाट बनेको हो भन्दैमा त्यसलाई धेरै मात्रामा प्रयोग गर्नु उचित हुँदैन ।

२.तोरीको तेल कतिको उपयुक्त हो ?

नेपाली भान्सामा पुस्तौँदेखि प्रयोग हुँदै आएको तेल हो, तोरीको तेल । गाउँघरमा तोरी उत्पादन गरेर घरमै तेल निकाल्ने चलन छ । तोरीको तेलमा ओमेगा–३ फ्याटी एसिड र मोनोअनस्याचुरेटेड फ्याटी एसिड पाइन्छ । यी शरीरका लागि आवश्यक बोसो हुन् ।

त्यसैले, मुटुको स्वास्थ्यका लागि तोरीको तेललाई फाइदाजनक मान्न सकिन्छ । विशेषगरी आफूले उत्पादन गरेको तोरीबाट तेल निकाल्ने र त्यसको प्रशोधन प्रक्रियामा ध्यान दिन सकिने अवस्थामा तेलको गुणस्तरबारे पनि तुलनात्मक रूपमा बढी जानकारी हुन सक्छ ।

त्यसैले, गाउँघरमा सहजै उपलब्ध हुने र राम्रोसँग प्रशोधन गर्न सकिने अवस्था छ भने तोरीको तेललाई प्राथमिकता दिन सकिन्छ । तर, सहर बजारमा भने अधिकांशले बजारमा पाइने प्याकेट वा बोतलमा राखिएको तेल किनेर प्रयोग गर्छन् । यस्तो अवस्थामा तोरीको तेल मात्र राम्रो र अन्य तेल खराब भन्ने हुँदैन ।

तेल जुनसुकै प्रकारको भए पनि धेरै मात्रामा सेवन गर्नु उपयुक्त हुँदैन । तेलबाट शरीरले धेरै ऊर्जा प्राप्त गर्ने भएकाले तेलको प्रकारसँगै त्यसको मात्रा पनि ध्यान दिनुपर्छ । बजारबाट तेल किन्दा उत्पादन तथा प्रशोधनको गुणस्तर, प्याकेजिङ, लेबलमा उल्लेखित विवरण र म्याद हेरेर किन्नु आवश्यक हुन्छ ।

३.अनि, सूर्यमुखीको तेल नि ?

सूर्यमुखीको तेल पनि धेरै नेपालीको घरमा नियमित प्रयोग हुन्छ । यसमा ओमेगा–६ फ्याटी एसिड तथा अनस्याचुरेटेड फ्याटी एसिड पाइन्छ । ओमेगा–६ फ्याटी एसिड स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने विषयमा विभिन्न अध्ययन र बहस भए पनि त्यसलाई स्पष्ट रूपमा प्रमाणित गर्ने गरी निष्कर्ष निकाल्न कठिन हुन्छ ।

अर्कोतर्फ, सूर्यमुखीको तेलमा पाइने अनस्याचुरेटेड फ्याटी एसिडले मुटु स्वास्थ्यका लागि नराम्रो मानिने एलडीएल कोलेस्ट्रोल घटाउन सहयोग गर्न सक्छ । यस कारणले पनि सूर्यमुखीको तेललाई पूर्ण रूपमा अस्वस्थ तेलका रूपमा हेर्न नमिल्दैन । तर तेलमा पाइने विभिन्न फ्याटी एसिडको संरचना हेर्दा तोरीको तेलको तुलनामा सूर्यमुखीको तेल छनोट गर्दा अलि विचार गर्नुपर्ने देखिन्छ ।

४.त्यसो भए कुन खाने, तोरी कि सूर्यमुखी ?

यो प्रश्नको जवाफ सबैका लागि एउटै नहुन सक्छ । यदि गाउँघरमा बसिन्छ, तोरी सहजै उपलब्ध हुन्छ र त्यसबाट तेल उत्पादन तथा प्रशोधनको प्रक्रियालाई आफूले निगरानी गर्न सकिन्छ भने तोरीको तेललाई प्राथमिकता दिन सकिन्छ ।

तर सहरमा बस्ने र बजारबाटै तेल किनेर प्रयोग गर्नुपर्ने अवस्थामा तेलको गुणस्तर, प्रशोधन प्रक्रिया र प्रयोगको मात्रामा ध्यान दिनुपर्छ ।

अर्थात्, तेलको नाम मात्र हेरेर स्वास्थ्य निर्धारण हुँदैन । एउटै तेललाई पनि अत्यधिक मात्रामा प्रयोग गरियो भने त्यसको असर फरक हुन सक्छ ।

५.मुटु जोगाउन हामीले तेल मात्रै राम्रो खाएर हुन्छ ?

मुटुको स्वास्थ्यका लागि तेल महत्वपूर्ण भए पनि यो मात्र निर्णायक कुरा होइन । शरीरमा नराम्रो एलडीएल कोलेस्टेरोल मात्रा कति छ, नियमित शारीरिक गतिविधि तथा व्यायाम भइरहेको छ कि छैन, दैनिक खानपान कस्तो छ, प्रशोधित घिउ वा बोसोयुक्त पदार्थ कति प्रयोग गरिन्छ र प्याकेटमा पाइने प्रशोधित खानेकुरा कति खाइन्छ भन्ने कुराले पनि स्वास्थ्यमा प्रभाव पार्छ ।

त्यसैगरी, नियमित रूपमा औषधि सेवन गरिएको छ कि छैन भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले ‘तोरीको तेल कि सूर्यमुखी ?’ भन्ने प्रश्नको उत्तर खोज्दा तेलको नाममा मात्र अड्किनु हुँदैन । स्वस्थ मुटुका लागि समग्र खानपान, तेलको मात्रा, शारीरिक सक्रियता र जीवनशैलीलाई सँगै हेर्नुपर्छ ।

भान्सामा प्रयोग हुने तेल शरीरका लागि आवश्यक बोसोको स्रोत हो । तर स्वास्थ्यका लागि उपयोगी बनाउने कुरा त्यसको सही छनोटसँगै सही मात्रा र समग्र खानपानको सन्तुलनमा निर्भर गर्छ ।

फ्याटी एसिड सूर्यमुखी
लेखक
डा. विवेकराज पौडेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय