News Summary
Generated by OK AI. Editorially reviewed.- धूम्रपानले महिला र पुरुष दुवैको प्रजनन क्षमता घटाउने, गर्भधारण ढिलो गराउने र बाँझोपनको जोखिम बढाउने लेखमा उल्लेख गरिएको छ।
विवाह भएको पाँच वर्ष बितिसकेको थियो । हरेक महिना महिनावारी रोकिएला कि भन्ने आशा, अनि फेरि सुरु भएपछि उही निराशा । धेरै आफन्तको एउटै प्रश्न हुन्छ ‘खुसीको खबर कहिले सुनाउने ?’
धेरैजसो प्रजनन उपचारका लागि क्लिनिक पुगेका दम्पतीले यस्तै समस्या सुनाउँछन् । यिनैमध्ये कतिपयसँग कुराकानीका क्रममा थाहा हुन्छ श्रीमान् त नियमित धूम्रपान गर्ने गर्छन् । श्रीमतीले कहिल्यै चुरोट छोएकी हुँदिनन् ।
आफू चुरोट सेवन नगर्ने तर वर्षौंदेखि चुरोटको धुवाँ लिन बाध्य हुनु धेरै श्रीमतीहरूको समस्या हो । धूम्रपान गर्ने व्यक्तिलाई मात्र होइन, नजिक बसेर श्वास फेर्दा धुँवा लिने व्यक्तिको प्रजनन स्वास्थ्यमा समेत असर पर्न सक्छ ।
यो कुनै एक परिवारको मात्र कथा होइन । सन्तानको योजना बनाइरहेका धेरै दम्पतीले उमेर, महिनावारी, संक्रमण र अन्य रोगबारे त सोचिरहेका हुन्छन्, तर चुरोट, सुर्ती, हुक्का वा भेपिङले प्रजनन क्षमतामा पार्ने प्रभावलाई बेवास्ता गरिरहेका हुन सक्छन् ।
‘सन्तान नहुनु केवल महिलाको समस्या होइन । धूम्रपानले महिला र पुरुष दुवैको प्रजनन क्षमतालाई प्रभावित गर्न सक्छ ।’ माथिको प्रसंग बिरामीको गोपनीयता कायम राख्दै जनचेतनाका लागि तयार गरिएको प्रतिनिधिमूलक कथा हो ।
धूम्रपानले गर्भधारण किन कठिन बनाउँछ ?
चुरोटको धुवाँमा निकोटिन, कार्बन मोनोअक्साइड, क्याड्मियम र अन्य धेरै हानिकारक रसायन हुन्छन् । यी पदार्थले शरीरमा अक्सिडेटिभ स्ट्रेस बढाउनुका साथै हर्मोन, अण्डाणु, शुक्राणु, डिम्बवाहिनी नली र गर्भाशयको वातावरणमा असर गर्न सक्छन् ।
अनुसन्धानले धूम्रपान गर्ने महिलामा गर्भधारण हुन बढी समय लाग्ने र बाँझोपनको सम्भावना बढ्ने देखाएको छ । एक ठूलो अनुसन्धानमा ‘धूम्रपान गर्ने महिलामा बाँझोपनको सम्भावना धूम्रपान नगर्ने महिलाभन्दा उल्लेखनीय रूपमा बढी पाइएको थियो ।’
महिलाको अण्डाशयमा पर्ने असर
हरेक महिला निश्चित संख्याका अण्डाणु लिएर जन्मिन्छिन् । उमेर बढ्दै जाँदा अण्डाणुको संख्या र गुणस्तर स्वाभाविक रूपमा घट्छ । धूम्रपानले यो प्रक्रियालाई थप तीव्र बनाउन सक्छ ।
यसका प्रमुख असरहरू:
–अण्डाशयमा बाँकी अण्डाणुको भण्डार घट्नु
–अण्डाणुको गुणस्तरमा ह्रास आउनु
–एएमएच (एन्टी–मुलेरियन हर्मोन) कम हुनु र एफएसएच (फोलिकल स्टिमुलेटिङ हर्मोन) बढ्नु
–महिनावारी बन्द हुने उमेर सामान्यभन्दा अगाडि सर्नु
–गर्भधारण हुन बढी समय लाग्नु
अमेरिकन सोसाइटी फर रिप्रोडक्टिभ मेडिसिनका अनुसार धूम्रपान गर्ने महिलामा प्रजनन क्षमता छिटो घट्न सक्छ र रजोनिवृत्ति धूम्रपान नगर्ने महिलाभन्दा करिब एकदेखि चार वर्ष अगाडि हुन सक्छ ।
डिम्बवाहिनी नलीमा पनि पुग्छ क्षति
गर्भधारणका लागि अण्डाशयबाट निस्किएको अण्डाणु डिम्बवाहिनी नली हुँदै यात्रा गर्नुपर्छ । चुरोटका रसायनले नलीभित्रका सूक्ष्म रौँजस्ता संरचना र त्यसको प्राकृतिक चालमा असर गर्न सक्छन् । यसले शुक्राणु र अण्डाणुको भेट कठिन बनाउनुका साथै निषेचित भ्रूण गर्भाशयसम्म पुग्ने प्रक्रियामा अवरोध ल्याउन सक्छ । धूम्रपानलाई पाठेघरबाहिर गर्भ बस्ने अर्थात् एक्टोपिक प्रेग्नेन्सीको बढ्दो जोखिमसँग पनि जोडिएको छ ।
पुरुषको शुक्राणु पनि जोखिममा
बाँझोपनको चर्चा हुँदा अझै पनि महिलालाई मात्र दोष दिने प्रवृत्ति छ । तर सन्तान प्राप्तिमा महिला र पुरुष दुवैको स्वास्थ्य उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
धूम्रपान गर्ने पुरुषमा पर्ने असर
–शुक्राणुको संख्या घट्न सक्छ
–शुक्राणुको गतिशीलता कमजोर हुन सक्छ
–शुक्राणुको आकार असामान्य देखिन सक्छ
–अक्सिडेटिभ स्ट्रेस र डीएनएमा क्षति बढ्न सक्छ
अध्ययनहरूले धूम्रपान गर्ने पुरुषमा शुक्राणुको घनत्व औसतमा कम देखिएको र यसको प्रभाव धूम्रपानको मात्रासँग बढ्न सक्ने बताएका छन् । यद्यपि पुरुष बाँझोपनमा धूम्रपानको प्रत्यक्ष प्रभावबारे सबै अध्ययन समान छैनन्, शुक्राणुको गुणस्तर र गर्भावस्थाको परिणाममा यसको नकारात्मक सम्बन्ध स्पष्ट देखिन्छ ।
गर्भ बसिसकेपछि पनि खतरा सकिँदैन
धूम्रपान गर्दैमा गर्भ बस्दैन भन्ने होइन । तर गर्भ बसेपछि पनि आमा र शिशु दुवैका लागि जोखिम कायम रहन्छ ।
गर्भावस्थामा धूम्रपानले निम्त्याउन सक्ने जोखिम
–गर्भपतन वा पाठेघरबाहिर गर्भ बस्ने समस्या
–गर्भको बच्चाको वृद्धि कम हुनु वा कम तौलको शिशु जन्मिनु
–समयअगाबै प्रसव हुनु
–सालनाल तल बस्नु
–सालनाल समयअगावै छुट्टिनु
–मृत शिशु जन्मिने जोखिम
–जन्मपछि अचानक शिशु मृत्यु हुने सम्भावना
आफूले नखाए पनि अरूको धुवाँले असर गर्छ
‘म त चुरोट खाँदिनँ, श्रीमानले मात्र खानुहुन्छ’ भन्ने वाक्य बिरामीबाट बारम्बार सुनिन्छ । तर घर, गाडी, कार्यालय वा रेस्टुरेन्टमा अरूले फालेको चुरोटको धुवाँ सासमा पुग्नु पनि सुरक्षित हुँदैन । सेकेन्ड–ह्यान्ड स्मोकको सम्पर्कमा आएका महिलाको शरीर र अण्डाशयको तरलमा समेत निकोटिनको मेटाबोलाइट ‘कोटिनिन’ भेटिएको छ । अत्यधिक परोक्ष धूम्रपानले प्रजनन उपचारको परिणाममा समेत नकारात्मक प्रभाव पार्न सक्ने प्रमाण छन् ।
गर्भावस्थामा सेकेन्ड–ह्यान्ड स्मोकको सम्पर्कले कम तौलको बच्चा जन्मिने जोखिम बढाउँछ र समयअगावै प्रसव हुन सक्ने सम्भावना पनि बढाउन सक्छ । जन्मपछि त्यही धुवाँमा रहने शिशुमा अचानक शिशु मृत्यु, कान तथा फोक्सोको संक्रमण र फोक्सोको कार्यक्षमता घट्ने जोखिम बढी हुन्छ ।
त्यसैले झ्याल खोलेर, अर्को कोठामा गएर वा भान्सामा धूम्रपान गर्दैमा परिवार पूर्ण रूपमा सुरक्षित हुँदैन । घर र गाडीलाई शतप्रतिशत धूम्रपानमुक्त बनाउनु नै सबैभन्दा प्रभावकारी उपाय हो ।
कृत्रिम गर्भधारणो योजनामा धूम्रपानलाई हल्का लिनु हुँदैन
धूम्रपानले प्राकृतिक गर्भधारण मात्र होइन, कृत्रिम गर्भधारण तथा अन्य सहायक प्रजनन उपचारको सफलता समेत घटाउन सक्छ । धूम्रपान गर्ने महिलामा अण्डाशयलाई उत्तेजित गर्न बढी औषधि आवश्यक पर्न सक्छ । कम अण्डाणु प्राप्त हुने, भ्रूण प्रत्यारोपण र जीवित शिशु जन्मिने सम्भावना घट्ने तथा गर्भपतनको जोखिम बढ्ने देखिएको छ । उपलब्ध प्रमाणअनुसार धूम्रपान गर्ने महिलालाई गर्भधारणका लागि धूम्रपान नगर्ने महिलाभन्दा झन्डै दोब्बर आइभिएफ प्रयास आवश्यक पर्न सक्छ ।
धूम्रपान छोडेपछि सुधार सम्भव छ ?
धूम्रपानका कारण अण्डाशयमा पहिले नै भएको सबै क्षति पूर्ण रूपमा उल्टिन्छ भन्न सकिँदैन । तर चुरोट छोडेपछि थप क्षति रोकिन्छ र गर्भधारण तथा स्वस्थ गर्भावस्थाको सम्भावना सुधार हुन सक्छ । केही अध्ययनले घटेको प्रजनन क्षमताको ठूलो भाग धूम्रपान छोडेको एक वर्षभित्र सुधार हुन सक्ने देखाउँछ ।
पुरुषमा नयाँ शुक्राणु बन्न करिब तीन महिना लाग्ने भएकाले सन्तानको योजना बनाउनुभन्दा कम्तीमा तीन महिना अगाडिदेखि धूम्रपान छोड्नु व्यावहारिक लक्ष्य हुन सक्छ । महिलाका लागि पनि गर्भधारण वा त्यसअघि सकेसम्म चाँडो धूम्रपान त्याग्नु उचित हुन्छ ।
गर्भवती भइसकेपछि मात्रै छोड्दा पनि फाइदा हुन्छ । यद्यपि सबैभन्दा राम्रो समय गर्भधारणअघि हो, गर्भावस्थाको जुनसुकै चरणमा धूम्रपान छोड्दा पनि आमा र शिशुको स्वास्थ्यमा लाभ पुग्न सक्छ ।
दोष होइन, सहयोग आवश्यक छ
निकोटिनको लतलाई केवल ‘इच्छाशक्ति कमजोर भएको’ भनेर बुझ्नु सही होइन । धेरै व्यक्तिलाई धूम्रपान छोड्न एकभन्दा बढी प्रयास आवश्यक पर्छ । परिवारको आलोचनाभन्दा सहयोग, चिकित्सकीय परामर्श र नियमित अनुगमन बढी प्रभावकारी हुन्छ ।
गर्भधारणको योजना बनाइरहेका दम्पतीले के गर्ने ?
–महिला र पुरुष दुवैले धूम्रपान तथा सुर्तीजन्य पदार्थ छोड्ने
–घर, गाडी र कार्यस्थललाई धूम्रपानमुक्त बनाउने
–हुक्का वा भेपिङलाई सुरक्षित विकल्प नमान्ने
–धूम्रपान छोड्न कठिन भए स्वास्थ्यकर्मीको सहयोग लिने
–गर्भवती अवस्थामा औषधि वा निकोटिन रिप्लेसमेन्ट आफैं सुरु नगर्ने
–प्रजनन उपचारअघि आफ्नो चिकित्सकलाई धूम्रपानको इतिहास खुलस्त बताउने
सन्तान प्राप्तिमा उमेर, अण्डाशयको अवस्था, शुक्राणुको गुणस्तर, डिम्बवाहिनी नली र अन्य रोगजस्ता धेरै कारणको भूमिका हुन्छ । सबै कुरा हाम्रो नियन्त्रणमा हुँदैनन् । तर धूम्रपान र चुरोटको धुवाँबाट हुने सम्पर्क घटाउनु हामीले परिवर्तन गर्न सक्ने महत्त्वपूर्ण पक्ष हो । आज निभाइएको अन्तिम चुरोटले भोलिको स्वस्थ गर्भधारण र सुरक्षित मातृत्वतर्फ नयाँ सुरुवात गर्न सक्छ ।
प्रतिक्रिया 4