+

ब्रेन स्ट्रोकसँग जोडिएका १० मिथक, जसमा विश्वास गर्नु भारी पर्न सक्छ

२०८३ असोज  ५ गते १३:२९ २०८३ असोज ५ गते १३:२९
Shares
ब्रेन स्ट्रोकसँग जोडिएका १० मिथक, जसमा विश्वास गर्नु भारी पर्न सक्छ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्ट्रोकमा अचानक बोली लर्बरिनु, अनुहार बांगिनु, हातखुट्टा कमजोर हुनु वा दृष्टि बदलिनुजस्ता लक्षण देखिए तत्काल अस्पताल जानुपर्छ।

अचानक बोली लर्बरियो वा हातखुट्टा कमजोर भयो भने धेरैले ‘थकान होला’ भनेर बेवास्ता गर्छन् । कतिपयले केही समय आराम गरेपछि ठीक हुने ठानेर अस्पताल जाँदैनन्। अझ कुनै अवस्थामा स्ट्रोक भएका व्यक्तिलाई घरमै पानी, खाना वा औषधि खुवाउने प्रयास समेत हुन्छ । तर स्ट्रोकमा यस्तै सामान्य ठानिएका गल्तीले उपचारमा ढिलाइ गराउन सक्छ ।

ब्रेन स्ट्रोक यस्तो मेडिकल इमर्जेन्सी हो, जसमा हरेक मिनेट महत्वपूर्ण हुन्छ । मस्तिष्कमा रक्तप्रवाह अवरुद्ध हुँदा वा मस्तिष्कको रक्तनली फुट्दा स्ट्रोक हुन्छ । यसको प्रभाव कस्तो हुन्छ भन्ने कुरा स्ट्रोकको प्रकार, प्रभावित मस्तिष्कको भाग र उपचार सुरु हुन लागेको समयसँग जोडिएको हुन्छ।

तर स्ट्रोकबारे समाजमा अझै धेरै भ्रम छन् । यही भ्रमका कारण लक्षण पहिचान गर्न, बिरामीलाई सही प्राथमिक उपचार दिन र समयमै अस्पताल पुर्‍याउन ढिलाइ हुन सक्छ ।

मिथक १ : स्ट्रोक वृद्धवृद्धालाई मात्र हुन्छ

उमेर बढ्दै जाँदा स्ट्रोकको जोखिम पनि बढ्न सक्छ । तर यसको अर्थ युवा उमेरका मानिस स्ट्रोकबाट पूर्ण रूपमा सुरक्षित हुन्छन् भन्ने होइन । उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, मोटोपना र शारीरिक निष्क्रियताजस्ता समस्या कम उमेरमै पनि देखिन थालेका छन् । त्यसैले युवामा पनि स्ट्रोकको जोखिम हुन सक्छ । त्यसैगरी धूमपान, सुर्तीजन्य पदार्थको सेवन, मुटुसम्बन्धी केही समस्या तथा अत्यधिक मदिरा सेवनले पनि स्ट्रोकको जोखिम बढाउन सक्छ ।

मिथक २ : स्ट्रोक भएपछि शरीरको कुनै भाग नचल्ने भइहाल्छ

शरीरको कुनै भाग कमजोर हुनु वा नचल्नु स्ट्रोकको लक्षण हो । तर हरेक स्ट्रोकमा हातखुट्टा नचल्ने नै हुन्छ भन्ने छैन । अचानक बोल्न वा अरूले भनेको कुरा बुझ्न कठिन हुनु, आँखाले धमिलो देख्नु वा दुईवटा देखिनु, शरीरको सन्तुलन बिग्रनु तथा अनुहारको एक भाग बांगिनु पनि स्ट्रोकका संकेत हुन सक्छन् । त्यसैले हातखुट्टा नचल्ने समस्या छैन भन्दैमा स्ट्रोक होइन भनेर निष्कर्ष निकाल्नु हुँदैन । यस्ता लक्षणमध्ये कुनै पनि लक्षण अचानक देखिएमा त्यसलाई सामान्य समस्या ठानेर बस्नु हुँदैन ।

मिथक ३ : स्ट्रोकको मुख्य लक्षण टाउको दुख्नु मात्र हो

अचानक टाउको दुख्नु केही प्रकारका स्ट्रोकमा देखिन सक्ने लक्षण हो । तर स्ट्रोकलाई केवल टाउको दुखाइसँग जोड्नु गलत हुन्छ । विशेषगरी अचानक अनुहार बांगिनु, एक हात वा खुट्टामा कमजोरी हुनु, बोली अस्पष्ट हुनु, कुरा बुझ्न गाह्रो हुनु, दृष्टिमा परिवर्तन आउनु वा हिँड्दा सन्तुलन बिग्रनुजस्ता लक्षणलाई बढी गम्भीरतापूर्वक लिनुपर्छ । त्यसैले ‘टाउको दुखेको मात्र हो’ भनेर अन्य अचानक देखिएका लक्षणलाई बेवास्ता गर्नु हुँदैन ।

मिथक ४ : पहिले केही समय पर्खौं, आफैं ठीक हुन्छ

स्ट्रोकको लक्षण देखिएपछि ‘हेर्दै गरौं, आफैं ठीक होला’ भनेर पर्खनु घातक हुन सक्छ । स्ट्रोकका केही प्रकारमा समयमै अस्पताल पुर्‍याउन सके रक्तप्रवाह पुनःस्थापित गर्ने उपचार उपलब्ध हुन्छ । त्यसैले लक्षण सुरु भएपछि घरमै बसेर समय बिताउनुको सट्टा सकेसम्म छिटो मेडिकल सहायता लिनुपर्छ । स्ट्रोकको उपचारमा ‘समय नै मस्तिष्क हो’ भन्ने कुरा महत्वपूर्ण हुन्छ । उपचारमा भएको प्रत्येक ढिलाइले मस्तिष्कका थप कोषिकामा क्षति पुर्‍याउन सक्छ ।

मिथक ५ : लक्षण केही समयपछि आफैं ठीक भए खतरा टर्‍यो

अचानक शरीर कमजोर हुनु, बोल्न समस्या हुनु वा दृष्टिमा समस्या आउनु केही समयपछि आफैं ठीक भयो भने पनि त्यसलाई बेवास्ता गर्नु हुँदैन । यस्ता लक्षण ट्रान्जिएन्ट इस्केमिक अट्याक (टीआईए) को संकेत हुन सक्छन् । टीआईएलाई भविष्यमा हुन सक्ने गम्भीर स्ट्रोकको चेतावनीका रूपमा लिइन्छ । लक्षण हराइसकेको भए पनि चिकित्सकसँग जाँच गराउनु आवश्यक हुन्छ । समयमै कारण पहिचान र उपचार गर्न सके भविष्यमा गम्भीर स्ट्रोकको जोखिम कम गर्न मद्दत मिल्न सक्छ ।

मिथक ६ : स्ट्रोक भएका व्यक्तिलाई घरमै पानी, खाना वा औषधि दिनुपर्छ

स्ट्रोक हुँदा व्यक्तिको निल्ने क्षमता प्रभावित हुन सक्छ । यस्तो अवस्थामा पानी, खाना वा अन्य तरल पदार्थ खुवाउँदा त्यो श्वासनलीमा पस्ने जोखिम हुन्छ । यसलाई एस्पिरेसन भनिन्छ, जसले फोक्सोमा गम्भीर समस्या निम्त्याउन सक्छ । त्यसैले स्ट्रोकको शंका भएको अवस्थामा घरमै पानी, खाना वा आफ्नै हिसाबले कुनै औषधि दिनु हुँदैन । बिरामीलाई सुरक्षित अवस्थामा राखेर सकेसम्म छिटो मेडिकल सहायता लिनुपर्छ ।

मिथक ७ : स्ट्रोक भएपछि तुरुन्त निको भइहाल्छ

स्ट्रोकपछि उपचार पाएका सबै व्यक्ति तुरुन्तै सामान्य अवस्थामा फर्किन्छन् भन्ने हुँदैन । स्ट्रोकले मस्तिष्कको कुन भागमा कति क्षति पुर्‍याएको छ भन्ने आधारमा यसको प्रभाव फरक हुन सक्छ । कसैमा बोलीमा समस्या रहन सक्छ भने कसैमा हिँडडुल, हातखुट्टाको शक्ति, दृष्टि, बोल्न, बुझ्न गाह्रो वा दैनिक काम गर्ने क्षमतामा असर पर्न सक्छ । त्यसैले आकस्मिक उपचारपछि पनि आवश्यकताअनुसार फिजियोथेरापी, स्पिच थेरापी, अकुपेसनल थेरापी तथा अन्य पुनस्र्थापना उपचार आवश्यक पर्न सक्छ ।

मिथक ८ : स्ट्रोकको प्रभावकारी उपचार नै छैन

स्ट्रोकको प्रभावकारी उपचार सम्भव छैन भन्ने धारणा गलत हो । विशेषगरी केही प्रकारका इस्केमिक स्ट्रोकमा समयमै अस्पताल पुर्‍याउन सके रक्तप्रवाह पुनःस्थापित गर्ने उपचार गर्न सकिन्छ । अस्पतालमा सीटी स्क्यान वा एमआरआईजस्ता परीक्षणमार्फत स्ट्रोक कुन प्रकारको हो भन्ने पहिचान गर्न मद्दत मिल्छ ।

इस्केमिक स्ट्रोकका केही बिरामीमा थ्रोम्बोलाइसिस मार्फत रक्तनलीमा बनेको रगतको थक्का घोल्ने प्रयास गरिन्छ । उपयुक्त बिरामीमा मेकानिकल थ्रोम्बेक्टोमीजस्तो न्युरोइन्टरभेन्सनल प्रक्रियामार्फत बन्द भएको ठूलो रक्तनली खोल्न सकिन्छ । तर यी उपचारका लागि बिरामीलाई समयमै अस्पताल पुर्‍याउनु अत्यन्त महत्वपूर्ण हुन्छ । त्यसैले स्ट्रोकको लक्षण देखिएपछि उपचारमा ढिलाइ गर्नु हुँदैन ।

मिथक ९ : स्ट्रोक एकपटक भएपछि फेरि हुँदैन

एकपटक स्ट्रोक भइसकेपछि फेरि स्ट्रोक हुँदैन भन्ने पनि गलत धारणा हो । पहिले स्ट्रोक वा टीआईए भइसकेका व्यक्तिमा भविष्यमा फेरि स्ट्रोक हुन सक्ने जोखिम रहन्छ । त्यसैले चिकित्सकले दिएको औषधि नियमित सेवन गर्नु, रक्तचाप, मधुमेह र कोलेस्टेरोल नियन्त्रणमा राख्नु तथा आवश्यक जीवनशैली परिवर्तन गर्नु महत्वपूर्ण हुन्छ । पहिले स्ट्रोक भइसकेको व्यक्तिले औषधि आफूखुसी बन्द गर्ने वा लक्षण नदेखिएपछि उपचार आवश्यक छैन भन्ने सोच राख्नु हुँदैन ।

मिथक १० : स्ट्रोकलाई रोक्न सकिँदैन

हरेक स्ट्रोकलाई रोक्न सम्भव नहुन सक्छ । तर स्ट्रोकको जोखिम घटाउन धेरै कुरा गर्न सकिन्छ । रक्तचाप, रगतमा चिनीको मात्रा र कोलेस्टेरोल नियन्त्रणमा राख्नु, सुर्तीजन्य पदार्थबाट टाढा रहनु, नियमित शारीरिक गतिविधि गर्नु, सन्तुलित आहार खानु तथा चिकित्सकले सिफारिस गरेका औषधि नियमित रूपमा सेवन गर्नुले स्ट्रोकको जोखिम कम गर्न मद्दत गर्न सक्छ । विशेषगरी उच्च रक्तचाप नियन्त्रणमा राख्नु स्ट्रोकको जोखिम घटाउने महत्वपूर्ण उपायमध्ये एक हो ।

यी लक्षण देखिए तत्काल अस्पताल जानुपर्छ

अचानक अनुहारको एक भाग झुक्नु, हात वा खुट्टामा कमजोरी आउनु, बोल्न वा बुझ्न समस्या हुनु, दृष्टिमा अचानक परिवर्तन आउनु, शरीरको सन्तुलन बिग्रनु वा हिँड्न गाह्रो हुनुजस्ता लक्षणलाई सामान्य समस्या ठान्नु हुँदैन । लक्षण केही मिनेटमै हराए पनि बेवास्ता गर्नु हुँदैन । त्यो टीआईएको संकेत हुन सक्छ ।

स्ट्रोकमा समय अत्यन्त महत्वपूर्ण हुन्छ । त्यसैले यस्ता लक्षण देखिएमा घरमै उपचार गर्ने, पानी–खाना खुवाउने वा केही समय पर्खिनेभन्दा तत्काल चिकित्सकिय सहायता लिनु आवश्यक हुन्छ ।

ब्रेन स्ट्रोक मिथक सत्य
डा. सुमन भट्टराई
लेखक
डा. सुमन भट्टराई
वरिष्ठ न्युरोलोजिस्ट

मेडिकल काउन्सिल दर्ता नम्बर : ६९६९ एमडी (न्युरोलाजी) नेसनल न्युरो सेन्टर, बीएण्डबी अस्पताल र मनमोहन कार्डियाक सेन्टरमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय