+

विज्ञानको अधिकतम उपयोग, सुरक्षित स्वास्थ्य सेवाको आधार

२०८३ असोज  १ गते १३:४५ २०८३ असोज १ गते १३:४५

नेपालका अस्पताल र स्वास्थ्य शिक्षण संस्थामा बिरामी सुरक्षा, औषधि सुरक्षा, निदानमा हुने त्रुटि जस्ता विषयमा अनुसन्धानको ठूलो सम्भावना छ ।

Shares
विज्ञानको अधिकतम उपयोग, सुरक्षित स्वास्थ्य सेवाको आधार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्पताललाई उपचारसँगै शिक्षा र अनुसन्धानको संस्था बनाउन, तथा बिरामी सुरक्षाका लागि प्रमाणमा आधारित अभ्यास आवश्यक छ ।
  • नेपालमा बिरामी सुरक्षा, औषधि सुरक्षा, डिजिटल स्वास्थ्य र स्थानीय समस्यामा अनुसन्धान बढाउन लगानी, सहकार्य र नीतिगत रूपान्तरण आवश्यक देखिन्छ ।

आज राष्ट्रिय विज्ञान दिवस । वि.स. २०७० देखि नेपाल सरकारले असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउन थालेको हो । आजै विश्व बिरामी सुरक्षा दिवस पनि हो । सन २०१९ बाट विश्व स्वास्थ्य संगठनले १७ सेप्टेम्बरमा विश्व बिरामी सुरक्षा दिवस मनाउन सुरु गर्‍यो । ‘बिरामी सुरक्षाका लागि विश्वव्यापी कदम’ का रूपमा यो दिवस मनाउन थालिएको हो ।

यी दुवै दिवस फरक–फरक विषय र उद्देश्यमा केन्द्रित हुन् । तर एकअर्काबाट अलग विषय होइनन् । आधुनिक स्वास्थ्य सेवा विज्ञानकै देन हो ।

विज्ञानमा भएको प्रगतिकै कारण मानिसको दैनिक जीवन सरल भएको छ, रोग पहिचान र उपचारका नयाँ सम्भावना खुलेका छन् ।

विज्ञानको मुख्य उद्देश्य मानिसको जीवन सहज बनाउनु

अस्पतालमा अत्याधुनिक उपकरण हुनु मात्रै गुणस्तरीय स्वास्थ्य सेवाको प्रमाण होइन । महँगो मेसिन, डिजिटल प्रणाली, प्रयोगशाला, शल्यक्रिया प्रविधि वा नयाँ औषधि उपलब्ध भएर मात्र बिरामी सुरक्षित हुँदैन । ती प्रविधि प्रमाणमा आधारित ढंगले प्रयोग गर्ने ज्ञान, प्रशिक्षित जनशक्ति, अनुसन्धानबाट प्राप्त प्रमाण, प्रभावकारी प्रणाली र बिरामीप्रतिको जिम्मेवारी पनि आवश्यक हुन्छ ।

यसैले आधुनिक स्वास्थ्य प्रणालीमा विज्ञान, अनुसन्धान, प्रविधि र मानवीय मूल्यलाई अलग-अलग विषयका रूपमा हेर्न मिल्दैन ।

यी प्रश्नको उत्तर अनुमानबाट होइन, अनुसन्धानबाट खोजिनुपर्छ ।

–कुन औषधि प्रभावकारी छ ?

–कुन उपचार विधि सुरक्षित छ ?

–कुन उपकरण नेपालको भौगोलिक र आर्थिक अवस्थाका लागि उपयुक्त छ ?

–कुन रोगको जोखिम हाम्रो समुदायमा बढी छ ?

–कुन स्वास्थ्य कार्यक्रमले वास्तवमै बिरामीको जीवनमा सुधार ल्याइरहेको छ ?

अस्पतालमा कहाँ र किन गल्ती भइरहेको छ ?

अस्पताल उपचार गर्ने ठाउँ मात्र होइन, सिक्ने र अनुसन्धान गर्ने संस्था पनि हो । स्वास्थ्य सेवा प्रणालीमा अस्पताललाई प्रायः बिरामी उपचार गर्ने ठाउँका रूपमा मात्र बुझिन्छ । तर आधुनिक अस्पतालको भूमिका त्यसभन्दा धेरै फराकिलो छ । अस्पताल सेवा, शिक्षा र अनुसन्धानसहित तीनवटै आधारमा अघि बढ्नुपर्छ ।

हरेक दिन अस्पतालमा सयौँ नयाँ अनुभव र तथ्यहरू सिर्जना हुन्छन् । बिरामीको रोगको स्वरूप, औषधिको प्रयोग, उपचारको परिणाम, औषधिको साइडइफ्वेक्ट, संक्रमण, शल्यक्रियाका परिणाम, प्रयोगशाला तथ्यांक, बिरामीको सन्तुष्टि र उपचारमा देखिएका समस्या-यी सबै अनुसन्धानका सम्भावित विषय हुन् ।

यदि यी अनुभव व्यवस्थित रूपमा संकलन, विश्लेषण र अनुसन्धानमा रूपान्तरण गर्न सकिए भने अस्पताल आफैं ज्ञान उत्पादन गर्ने संस्था बन्न सक्छ । यसको अर्थ हरेक चिकित्सक, नर्स, फार्मासिस्ट वा स्वास्थ्यकर्मी अनुसन्धानकर्ता नै हुनुपर्छ भन्ने होइन । तर स्वास्थ्य संस्थाले अनुसन्धानलाई आफ्नो नियमित कार्यसंस्कृतिको हिस्सा बनाउनुपर्छ । ‘हामीले यसरी गर्दै आएका छौँ’ भन्दा ‘यसरी गर्दा अझ राम्रो हुन्छ कि ?’ भन्ने प्रश्न गर्ने संस्कार स्वास्थ्य अनुसन्धानको सुरुवात हो ।

स्वास्थ्य शिक्षण संस्थाको जिम्मेवारी अझ ठूलो 

अस्पतालसँगै स्वास्थ्य विज्ञान पढाउने विश्वविद्यालय, कलेज र एकेडेमीहरूको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण हुन्छ । स्वास्थ्य शिक्षण संस्था केवल परीक्षा उत्तीर्ण गराउने जनशक्ति उत्पादन गर्ने ठाउँमा सीमित हुनु हुँदैन । आजको स्वास्थ्य शिक्षाले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञान मात्र होइन, प्रश्न गर्ने, प्रमाण खोज्ने, तथ्य विश्लेषण गर्ने र समाधान विकास गर्ने क्षमता दिनुपर्छ ।

फार्मेसी, चिकित्सा, नर्सिङ, जनस्वास्थ्य, प्रयोगशाला विज्ञानलगायतका स्वास्थ्य विषयमा अध्ययन गर्ने विद्यार्थीले अनुसन्धानलाई आफ्नो पेशागत संस्कृतिको हिस्सा बनाउन आवश्यक छ । सानो अनुसन्धानबाट सुरु भएको यात्रा नै भविष्यमा नयाँ औषधि, नयाँ परीक्षण विधि, नयाँ स्वास्थ्य प्रविधि वा स्थानीय समस्याको नयाँ समाधानसम्म पुग्न सक्छ ।

विशेषगरी नेपालजस्तो भौगोलिक र सामाजिक विविधता भएको देशमा स्थानीय अनुसन्धानको आवश्यकता अझ बढी छ । हिमाली क्षेत्रको स्वास्थ्य समस्या तराईको भन्दा फरक हुन सक्छ । दुर्गम क्षेत्रमा उपलब्ध स्वास्थ्य प्रविधि शहरी अस्पतालमा प्रयोग हुने प्रविधिभन्दा फरक हुन सक्छ ।

स्थानीय औषधीय वनस्पति, परम्परागत उपचार पद्धति, पोषण, वातावरण, औषधि पहुँच र रोगको स्वरूपबारे स्थानीय अनुसन्धानले विश्वव्यापी ज्ञानमा पनि योगदान गर्न सक्छ । त्यसैले ‘स्थानीय समस्या, स्थानीय अनुसन्धान र विश्वस्तरीय समाधान’ स्वास्थ्य अनुसन्धानको एउटा महत्वपूर्ण दिशा बन्न सक्छ ।

विश्वका सफल मुलुकले अनुसन्धानलाई लगानीको विषय बनाएका छन् । विविज्ञान र अनुसन्धानमा लगानीलाई खर्चका रूपमा मात्र हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ ।

चीन यसको एउटा उल्लेखनीय उदाहरण हो । पछिल्ला दशकमा चीनले अनुसन्धान तथा विकासमा लगानी उल्लेखनीय रूपमा विस्तार गरेको छ । त्यससँगै अनुसन्धानकर्ता, विश्वविद्यालय, प्रयोगशाला,औद्योगिक अनुसन्धान र प्रविधि विकासमा ठूलो विस्तार भएको देखिन्छ । भारतले पनि अनुसन्धान र विकासलाई आफ्नो वैज्ञानिक तथा प्राविधिक क्षमतासँग जोड्दै आएको छ ।

यसबाट नेपालले सिक्नुपर्ने मुख्य कुरा ‘कति प्रतिशत बजेट छुट्याउने ?’ भन्ने होइन । अनुसन्धानमा गरिएको लगानीलाई स्वास्थ्य, कृषि, शिक्षा, उद्योग र समाजको वास्तविक समस्यासँग कसरी जोड्ने ? भन्ने प्रश्न महत्वपूर्ण हो ।

बिरामीको सुरक्षाका लागि स्वास्थ्य अनुसन्धानमा लगानी

स्वास्थ्य क्षेत्रमा अनुसन्धानको प्रत्यक्ष सम्बन्ध सेवाको गुणस्तरसँग छ । उदाहरणका लागि, अस्पतालमा औषधि दिने क्रममा कहाँ बढी त्रुटि हुन्छ भन्ने अध्ययन गरियो भने औषधि सुरक्षा सुधार गर्न सकिन्छ । अस्पतालमा संक्रमणको स्रोत पहिचान गरियो भने संक्रमण नियन्त्रणका उपाय प्रभावकारी बनाउन सकिन्छ ।

कुनै औषधिको प्रतिकूल प्रतिक्रिया बढी देखिएको छ भने त्यसबारे अनुसन्धानले चिकित्सक र फार्मासिस्टलाई सुरक्षित निर्णय गर्न सहयोग गर्न सक्छ । बिरामीको उपचारमा ढिलाइ हुने कारण पत्ता लगाइयो भने अस्पतालको व्यवस्थापन सुधार गर्न सकिन्छ ।

यस अर्थमा अनुसन्धान प्रयोगशालामा सीमित गतिविधि होइन । अनुसन्धानको अन्तिम गन्तव्य बिरामीको जीवनमा सुधार हुनुपर्छ । यही कारणले अस्पतालमा अनुसन्धान र गुणस्तर सुधारलाई अलग-अलग कार्यक्रमका रूपमा हेर्नुभन्दा एउटै चक्रका रूपमा विकास गर्न आवश्यक छ ।

यस्तो चक्रले अस्पताललाई निरन्तर सिक्ने संस्थामा रूपान्तरण गर्न सक्छ ।

विश्व बिरामी सुरक्षा दिवसले दिएको सन्देश

हरेक वर्ष सेप्टेम्बर १७ मा मनाइने विश्व बिरामी सुरक्षा दिवसले स्वास्थ्य सेवा लिने क्रममा हुन सक्ने टार्न सकिने क्षति न्यूनीकरण गर्दै सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता र सामूहिक प्रयासको आह्वान गर्छ । विश्व स्वास्थ्य संगठनले सन् २०२६ को विश्व बिरामी सुरक्षा दिवसको मुख्य विषय ‘नसर्ने रोगका लागि सुरक्षित स्वास्थ्य सेवा’ र नारा ‘जीवनभर सुरक्षित स्वास्थ्य सेवा’ तय गरेको छ।

यस वर्षको अभियानले मधुमेह, मुटु तथा रक्तनलीसम्बन्धी रोग, क्यान्सर, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोगलगायत नसर्ने रोगबाट प्रभावित व्यक्तिले लामो समयसम्म निरन्तर स्वास्थ्य सेवा लिनुपर्ने भएकाले उपचारका विभिन्न चरणमा उत्पन्न हुन सक्ने सुरक्षा जोखिमलाई सम्बोधन गर्न जोड दिएको छ ।

रोगको रोकथाम, प्रारम्भिक पहिचान, निदान, उपचार, दीर्घकालीन व्यवस्थापन र स्व-हेरचाहसम्म प्रत्येक चरणमा सुरक्षित सेवा आवश्यक हुन्छ ।

डब्लुएचओले नसर्ने रोगको सुरक्षित उपचारका लागि बलियो र एकीकृत स्वास्थ्य प्रणाली, प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, स्वास्थ्यकर्मीलाई आवश्यक सहयोग तथा बिरामी स्वयं र उनीहरूको अनुभवलाई स्वास्थ्य सेवाको योजना र कार्यान्वयनमा अर्थपूर्ण रूपमा सहभागी गराउनुपर्नेमा जोड दिएको छ ।

यस तथ्यले एउटा गम्भीर प्रश्न जन्माउँछ- हामी अस्पतालमा गल्ती भएपछि मात्र सुधार गर्ने कि गल्ती हुनुअघि नै जोखिम पहिचान गर्ने ? यसको उत्तर पनि अनुसन्धानसँगै जोडिन्छ ।

नेपालले अब के गर्न सक्छ ?

नेपालका अस्पताल र स्वास्थ्य शिक्षण संस्थामा बिरामी सुरक्षा, औषधि सुरक्षा, निदानमा हुने त्रुटि जस्ता विषयमा अनुसन्धानको ठूलो सम्भावना छ । औषधिको प्रतिकूल असर, स्वास्थ्यकर्मी-बिरामी सञ्चार, अस्पतालमा हुने ढिलाइ, बिरामीको उपचार निरन्तरता र स्वास्थ्य प्रविधिको सुरक्षित प्रयोग पनि अनुसन्धानका विषय हुन् ।

विशेषगरी डिजिटल स्वास्थ्य, टेलिमेडिसिन, कृत्रिम बुद्धिमत्ता, इलेक्ट्रोनिक मेडिकल रेकर्ड, औषधि निगरानी, प्रयोगशाला प्रविधि र पोर्टेबल स्वास्थ्य उपकरणले दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्न नयाँ अवसर दिएका छन् । तर नयाँ प्रविधि भित्र्याउनु मात्र पर्याप्त हुँदैन । त्यसको शुद्धता, सुरक्षा, लागत-प्रभावकारिता, प्रयोगकर्तामैत्रीपन र स्थानीय सन्दर्भमा उपयोगिता पनि अनुसन्धानबाट परीक्षण गर्नुपर्छ ।

नेपालका हिमाली र दुर्गम क्षेत्रमा यो आवश्यकता अझ महत्वपूर्ण छ । भौगोलिक कठिनाइ, सीमित विशेषज्ञ सेवा, उपकरणको उपलब्धता, विद्युत् तथा इन्टरनेटको अवस्था र स्वास्थ्यकर्मीको पहुँचजस्ता विषयलाई ध्यानमा राखेर विकास गरिएको प्रविधिले मात्र वास्तविक अर्थमा स्वास्थ्य सेवामा योगदान दिन सक्छ ।

नेपालले विज्ञान तथा प्रविधि र स्वास्थ्य अनुसन्धानलाई अगाडि बढाउन केही आधारभूत दिशामा स्पष्ट ध्यान दिन सक्छ । पहिलो, अनुसन्धानमा लगानी बढाउनुपर्छ । अनुसन्धानलाई बजेटको अन्तिम प्राथमिकतामा राखेर ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्न सकिँदैन । दोस्रो, स्वास्थ्य संस्थालाई अनुसन्धानमैत्री बनाउनुपर्छ । अस्पतालमा अनुसन्धान इकाइ, तथ्य व्यवस्थापन प्रणाली, अनुसन्धान नैतिकता, गुणस्तर सुधार र ज्ञान हस्तान्तरणका संरचना विकास गर्न आवश्यक छ ।

तेस्रो, स्वास्थ्य शिक्षामा अनुसन्धान संस्कार बलियो बनाउनुपर्छ । विद्यार्थीलाई अनुसन्धान केवल शोधपत्र पूरा गर्ने अनिवार्य प्रक्रिया होइन, पेशागत समस्या समाधान गर्ने माध्यम हो भन्ने बुझाउनुपर्छ । चौथो, स्थानीय समस्यामा स्थानीय अनुसन्धानलाई प्राथमिकता दिनुपर्छ । हिमाल, पहाड र तराईका फरक स्वास्थ्य चुनौतीलाई एउटै ढाँचाबाट समाधान गर्न खोज्नु पर्याप्त हुँदैन ।

पाँचौँ, अस्पताल-विश्वविद्यालय-उद्योग-सरकारबीच सहकार्य बढाउनुपर्छ । प्रयोगशालामा बनेको ज्ञान अस्पतालसम्म र अस्पतालमा पहिचान भएको समस्या अनुसन्धान प्रयोगशालासम्म पुग्ने पुल निर्माण गर्नुपर्छ । छैटौँ, अनुसन्धानको परिणामलाई नीतिमा र सेवामा रूपान्तरण गर्ने प्रणाली विकास गर्नुपर्छ ।

अनुसन्धानपत्र प्रकाशित हुनु महत्वपूर्ण उपलब्धि हो, तर त्यसबाट उपचार पद्धति, औषधि सुरक्षा, अस्पताल व्यवस्थापन, स्वास्थ्य प्रविधि वा सार्वजनिक स्वास्थ्य सेवामा सुधार आउनु त्यसको अझ ठूलो उपलब्धि हो ।

अनुसन्धान विज्ञान स्वास्थ्य स्वास्थ्य सेवा
डा. दीर्घराज जोशी
लेखक
डा. दीर्घराज जोशी
औषधि रसायन विज्ञ

औषधि रसायन विज्ञानमा विद्यावारिधि गरेका डा. दीर्घराज जोशीले अमेरिकामा केही समयका लागि भाइरस विरुद्धको औषधि आविष्कार कार्यमा समेत काम गरेका थिए । हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपप्राध्यापकका रुपमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

विज्ञानको अधिकतम उपयोग, सुरक्षित स्वास्थ्य सेवाको आधार

विज्ञानको अधिकतम उपयोग, सुरक्षित स्वास्थ्य सेवाको आधार

बाढीपछि दूषित पानी र खानपानबाट कसरी जोगिने ?

बाढीपछि दूषित पानी र खानपानबाट कसरी जोगिने ?

१०० देशका विज्ञ चिकित्सकलाई काठमाडौंमा भेला गराउने तयारी

१०० देशका विज्ञ चिकित्सकलाई काठमाडौंमा भेला गराउने तयारी

धूम्रपान तथा सुर्तीजन्य पदार्थले प्रजनन् स्वास्थ्यमा कसरी असर पार्छ ?

धूम्रपान तथा सुर्तीजन्य पदार्थले प्रजनन् स्वास्थ्यमा कसरी असर पार्छ ?

‘सपना नदेखेको धेरै रात भयो’

‘सपना नदेखेको धेरै रात भयो’

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?