+

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

२०८३ भदौ  ३० गते १५:४१ २०८३ भदौ ३० गते १५:४१
ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आयुर्वेदमा दतिवनलाई अर्श, भगन्दर, अश्मरी, खोकी, छालाका समस्या, निद्रानाश र मूत्रसम्बन्धी अवस्थामाआवश्यक औषधीय वनस्पति मानिएको छ।

आज ऋषि पञ्चमी, भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यो पर्व नेपाली हिन्दू महिलाहरूका लागि विशेष दिन हो । ऋषि पञ्चमी भारतमा पनि मनाइन्छ र सप्तऋषिको पूजा, व्रत तथा शुद्धीकरणसँग सम्बन्धित पर्वका रूपमा परिचित छ ।

विश्वका विभिन्न देश, जहाँ नेपाली समुदाय बसोबास गर्छन्, त्यहाँ पनि तीजका कार्यक्रमहरू आयोजना हुन्छन् । तर यी ठाउँमा यो मुख्यतः नेपाली समुदायको सांस्कृतिक पर्वका रूपमा मनाइन्छ । यस दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्ने, स्नान गर्ने र ३६५ वटा दतिवन प्रयोग गर्ने चलन छ । वर्षको ३६५ दिनको प्रतीकका रूपमा ३६५ वटा दतिवन प्रयोग गर्ने परम्परा बसेको मानिन्छ ।

हामीमध्ये धेरैले यस्ता परम्परालाई धार्मिक संस्कारका रूपमा मात्र बुझ्छौँ । तर हाम्रा पुराना चलनहरूमा प्रकृति, वनस्पति, स्वास्थ्य र विज्ञानसँग जोडिएका केही रोचक पक्ष पनि छन् । ऋषि पञ्चमीमा प्रयोग गरिने दतिवन यसको एउटा राम्रो उदाहरण हो ।

दतिवनलाई आयुर्वेदमा निकै पुरानो समयदेखि औषधीय वनस्पतिका रूपमा चिनिन्छ । यसको जरा, पात, दाना, डाँठ र यसबाट बनाइने चुर्ण विभिन्न अवस्थामा प्रयोग गरिएको कुरा आयुर्वेदिक ग्रन्थहरूमा पाइन्छ ।

ऋग्वेदमा दतिवनको उल्लेख नपाइए पनि यजुर्वेदमा यसलाई खराब कर्म र नराम्रो सपनाबाट जोगाउने वनस्पतिका रूपमा वर्णन गरिएको छ।

अथर्ववेदमा दतिवनको करिब ११ स्थानमा उल्लेख गर्दै यसलाई विभिन्न रोग हटाउने र आयु बढाउने महत्वपूर्ण वनस्पतिका रूपमा प्रस्तुत गरिएको छ । यो आयुर्वेद, युनानी र सिद्ध चिकित्सा पद्धतिमा प्रयोग हुने औषधीय वनस्पति हो । यसका बीउ, जरा र डाँठ विशेष रूपमा उपयोगी मानिन्छन् ।

आयुर्वेदका बृहत् ग्रन्थहरूमा दतिवनलाई शिरोविरेचन, कृमिघ्न, वमन, तिक्त तथा अन्य विभिन्न गणमा समावेश गरिएको छ र यसको क्षारलाई विभिन्न क्षार वर्गमा राखिएको छ ।

दतिवन क्षार र आयुर्वेद

दतिवनबाट बनाइने दतिवन क्षार आयुर्वेदको क्षार चिकित्सामा महत्वपूर्ण मानिन्छ । यसको प्रयोग अर्श, भगन्दर लगायत केही अवस्थाहरूमा क्षारकर्मका लागि गरिन्छ । अर्शमा दतिवनको मूललाई तण्डुलोदकसँग पिसेर महसँग प्रयोग गर्ने उल्लेख पनि पाइन्छ । त्यस्तै, दतिवनको बीउको लेप केही रक्तस्रावसम्बन्धी अवस्थाहरूमा बाह्य रूपमा प्रयोग गर्ने परम्परागत उल्लेख छ ।

मिर्गौलाको पत्थरीमा दतिवन क्षारलाई भेडाको दूधसँग प्रयोग गर्ने उल्लेख पनि आयुर्वेदमा भेटिन्छ । दीर्घकालीन खोकीमा पिप्पली, अतिविषा, कुपीलु, घृत र मधुसँग दतिवन क्षार प्रयोग गरिएको उल्लेख छ । तर यी सबै कुरा पढेर आफैं औषधि बनाएर खानु भने ठीक होइन । विशेषगरी क्षार र कुपीलुजस्ता द्रव्य गलत मात्रा वा गलत तरिकाले प्रयोग गर्दा हानि हुन सक्छ । आयुर्वेदिक औषधि पनि रोग र व्यक्तिको अवस्थाअनुसार चिकित्सकको सल्लाहमा प्रयोग गर्नु राम्रो हुन्छ ।

महिलाको स्वास्थ्यसँग दतिवनको सम्बन्ध

दतिवनको अर्को रोचक पक्ष महिलाको स्वास्थ्यसँग जोडिन्छ । आयुर्वेदमा असृग्दर अर्थात् अत्यधिक वा असामान्य महिनावारीको रक्तस्रावमा दतिवनका केही योग प्रयोग गर्ने उल्लेख पाइन्छ । तिलको तेलसँग प्रयोग गरिने केही परम्परागत योग पनि वर्णित छन् । तर महिनावारी धेरै हुने वा लामो समयसम्म रक्तस्राव भइरहने समस्या छ भने केवल कुनै जडीबुटीको भर पर्नु हुँदैन । यसको कारण फाइब्रोइड, हर्मोनल समस्या, थाइराइड, गर्भावस्थासँग सम्बन्धित कारण वा अन्य स्वास्थ्य समस्या हुन सक्छ । त्यसैले पहिले कारण पत्ता लगाउनु महत्त्वपूर्ण हुन्छ ।

छाला र बाह्य प्रयोग

दतिवनका पात र अन्य भागहरू विभिन्न छालाका समस्यामा बाह्य रूपमा प्रयोग गर्न सकिन्छ । कुष्ठ/त्वक् विकार, खुजली, शीतपित्त तथा बिच्छीको टोकाइमा यसको बाह्य प्रयोगको उल्लेख पाइन्छ । सिध्म नामक छालाको समस्यामा मूलकको बीउ र दतिवनको ताजा रस मिसाएर लेप बनाई लगाउने उल्लेख पनि आयुर्वेदिक साहित्यमा भेटिन्छ । यस्ता परम्परागत प्रयोगहरू भए पनि छालाको रोग के हो भन्ने कुरा पहिला बुझ्नु आवश्यक हुन्छ ।

पेटदेखि निद्रासम्म

दतिवनको प्रयोग पेट र पाचनसम्बन्धी केही अवस्थाहरूमा पनि वर्णित छ । विशूचिका जस्तो अवस्थामा दतिवनको मूल पानीसँग सेवन गर्ने उल्लेख पाइन्छ ।विशूचिका भनेको वान्ता, पखाला र पेटसम्बन्धी तीव्र समस्या देखिनु हो ।

त्यस्तै, निद्रानाश अर्थात् अनिद्रामा दतिवन कोकिलाक्ष र सुपर्णिकाको क्वाथ प्रयोग गर्ने उल्लेख छ । मूत्रसम्बन्धी समस्यामा दतिवन, यष्टिमधु, गोक्षुर र पाठाको क्वाथ प्रयोग गर्ने कुरा पनि उल्लेख छ । हामीले यसलाई युरिनरी ट्रयाक इन्फेक्सन सँग जोडेर बुझ्न सक्छौँ ।

दाँत दुख्दा पनि दतिवन

हामीले दतिवनको कुरा गर्दा दाँत र मुखको स्वास्थ्यलाई छुटाउन सक्दैनौँ । यसको तितो रस अम्लपित्तमा बहुउपयोगी हुन्छ । दतिवनको रस दुखेको दाँतको गिजामा लगाउँदा सन्चो हुने उल्लेख छ । पुरानो समयमा दतिवनले दाँत सफा गर्ने चलन थियो ।

त्यसैले ऋषि पञ्चमीमा दतिवन प्रयोग गर्ने परम्परालाई स्वच्छता र वनस्पतिसँग जोडेर हेर्न सकिन्छ । तर दाँत दुखिरहेको छ भने कारण पत्ता लगाउनु आवश्यक हुन्छ । दाँतमा कीरा लाग्नु, गिजामा संक्रमण हुनुजस्ता कारणले पनि दाँत दुख्न सक्छ । त्यसैले लगातार दुखाइ भए दन्त चिकित्सकलाई देखाउनु राम्रो हुन्छ।

मोटोपना र मेदवृद्धिमा पनि चर्चा

आयुर्वेदमा दतिवनलाई कफ–वात शामक, दीपन, पाचन र लेखन गुण भएको वनस्पतिका रूपमा वर्णन गरिएको छ । त्यसैले मेदवृद्धि, स्थौल्य तथा कफप्रधान अवस्थाहरूमा यसको प्रयोगको चर्चा पाइन्छ ।

दतिवनका बीउ तथा अन्य तयारीबारे शरीरको तौल, बिएमआई र लिपिड प्यारामिटरहरू सम्बन्धी केही प्रारम्भिक अध्ययन पनि भएका छन् । तौल घटाउने कुरा खानपान, व्यायाम, निद्रा, जीवनशैली र आवश्यक परे चिकित्सकीय उपचारसँग जोडिएको विषय हो ।

ऋषि पञ्चमीमा हामीले प्रयोग गर्ने दतिवन एउटा सानो वनस्पति हो । तर यसको पछाडिको कथा भने त्यति सानो छैन । दतिवनको मूल, बीउ, रस, क्वाथ र क्षारका विभिन्न प्रयोग आयुर्वेदमा उल्लेख छन् । अर्श, अश्मरी, खोकी, छालाका केही समस्या, निद्रानाश, मूत्रसम्बन्धी समस्या र दाँतको दुखाइसम्म यसको प्रयोगका विभिन्न उल्लेख भेटिन्छन् ।

परम्परागत ज्ञान र आधुनिकता सँगैसँगै लगेमा स्वास्थ्य क्षेत्रमा भइराखेको ठुलो आर्थिक भार कम गर्न सकिन् ।

अर्को कुरा पनि सम्झन जरुरी छ रजस्वला हुनु कुनै पाप होइन । यो महिलाको शरीरमा हुने स्वाभाविक जैविक प्रक्रिया हो । त्यसैले आजको पुस्ताले ऋषि पञ्चमीलाई महिलामाथि दोष वा अपराधबोध थोपर्ने दिनभन्दा पनि महिला स्वास्थ्य, प्रकृति र हाम्रो पुरानो ज्ञानलाई नयाँ दृष्टिले हेर्ने दिन बनाउन सके अझ राम्रो हुनेछ ।

(डा. सापकोटा नागार्जुन वेलनेस आयुर्वेदमा कार्यरत छिन्)

आयुर्वेद ऋषि पञ्चमी दतिवन
लेखक
डा. शिला सापकोटा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

गर्भावस्थामा डेंगु भएमा आमा र बच्चालाई के हुन्छ खतरा ?

के चिकित्सकले औषधि बेच्न मिल्छ ? यस्तो छ कानुन र आचारसंहिता

के चिकित्सकले औषधि बेच्न मिल्छ ? यस्तो छ कानुन र आचारसंहिता

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच जनस्वास्थ्य अनुसन्धानमा सहकार्य हुने

राप्ती र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच जनस्वास्थ्य अनुसन्धानमा सहकार्य हुने

कसरी बन्छ मिर्गौलामा पत्थरी, किन दोहोरिन्छ ?

कसरी बन्छ मिर्गौलामा पत्थरी, किन दोहोरिन्छ ?

पर्याप्त निद्रा नपुग्दा किन बढ्छ तौल ?

पर्याप्त निद्रा नपुग्दा किन बढ्छ तौल ?