+
+
Shares

‘गिजाबाट रगत आउने समस्याले ५० प्रतिशतभन्दा बढीले बढाउन सक्छ डिमेन्सियाको जोखिम’

जापानमा झन्डै १,४०० जनामा एक दशकसम्म गरिएको अध्ययनले गिजाबाट धेरै रगत आउने र गिजा खुम्चिने समस्या भएका वृद्धवृद्धाहरूमा डिमेन्सियाको जोखिम ५० प्रतिशतभन्दा बढीले बढ्ने देखाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १ गते १२:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जापानमा १,३९६ वृद्धवृद्धामाथि १० वर्षको अध्ययनले गिजाबाट धेरै रगत आउने र गिजा खुम्चिनेमा डिमेन्सियाको जोखिम ५० प्रतिशतभन्दा बढी बढ्ने देखाएको छ।
  • अध्ययनमा २६७ जनामा डिमेन्सिया र १९४ जनामा अल्जाइमर्स पुष्टि भएको थियो, र सबैभन्दा धेरै गिजा समस्या भएकामा जोखिम क्रमशः ५४ र ६१ प्रतिशत बढी भेटियो।
  • अनुसन्धानकर्ताहरूले यो अवलोकनात्मक अध्ययन भएकाले कारण प्रमाणित नभएको र नतिजा पुष्टि गर्न ठूलो तथा विविध अध्ययन आवश्यक रहेको बताएका छन्।

१ असोज, काठमाडौं । जापानमा झन्डै १,४०० जनामा एक दशकसम्म गरिएको अध्ययनले गिजाबाट धेरै रगत आउने र गिजा खुम्चिने समस्या भएका वृद्धवृद्धाहरूमा डिमेन्सियाको जोखिम ५० प्रतिशतभन्दा बढीले बढ्ने देखाएको छ।

विश्वभर डिमेन्सियाको भार तीव्र रूपमा बढिरहेको छ। सन् १९९० मा करिब २ करोड रहेको बिरामीको सङ्ख्या सन् २०१६ मा ४ करोड ४० लाख पुगेको थियो। विश्वका धेरै भागमा जनसङ्ख्याको बुढ्यौलीसँगै सन् २०५० सम्ममा यो सङ्ख्या १५ करोड २० लाखभन्दा बढी पुग्ने अनुमान गरिएको छ।

बढ्दो अध्ययनहरूले दाँत र मुखको स्वास्थ्य र डिमेन्सियाजस्ता स्नायुसम्बन्धी रोगहरूबीच लुकेको सम्बन्ध रहेको औँल्याएका छन्, तर यिनीहरू कसरी जोडिएका छन् भन्ने अझै रहस्यमै छ। डिमेन्सियाका धेरै प्रकार छन्, जसमध्ये अल्जाइमर्स रोग र भास्कुलर डिमेन्सिया सबैभन्दा सामान्य हुन्।

के भन्छन् अध्ययनका नतिजा?

यस नयाँ अध्ययनमा अनुसन्धानकर्ताहरूले जापानका ६० वर्षभन्दा माथिका डिमेन्सिया नभएका १,३९६ जना वृद्धवृद्धाहरूको मस्तिष्क स्वास्थ्यको मूल्याङ्कन गर्दै १० वर्षसम्म उनीहरूको अवस्थाको निगरानी गरेका थिए।

अनुसन्धानकर्ताहरूले यो अवधिमा २६७ जनामा डिमेन्सिया विकसित भएको पाए, जसमध्ये १९४ जनामा अल्जाइमर्स रोग पुष्टि भएको थियो। अनुसन्धानकर्ताहरूका अनुसार, अल्जाइमर्स पुष्टि भएका अधिकांशमा गिजाबाट रगत आउने समस्या देखिएको थियो।

वैज्ञानिकहरूका अनुसार, गिजाबाट सबैभन्दा बढी रगत आउने समस्या भोगेका व्यक्तिहरूमा आगामी १० वर्षभित्र डिमेन्सिया हुने सम्भावना ५४ प्रतिशतले बढी थियो।

अध्ययनअनुसार उनीहरूमा विशेषगरी अल्जाइमर्स रोग लाग्ने सम्भावना ६१ प्रतिशतले बढी थियो। त्यस्तै, गिजा सबैभन्दा बढी खुम्चिएका सहभागीहरूमा डिमेन्सियाको जोखिम ५९ प्रतिशत बढी पाइएको थियो।

द जर्नल अफ क्लिनिकल पेरियोडोन्टोलोजीमा प्रकाशित शोधपत्रमा अनुसन्धानकर्ताहरूले लेखेका छन्, ‘यी निष्कर्षहरूले डिमेन्सियाको जोखिम कम गर्न गिजाको रोगको रोकथाम जनस्वास्थ्यका लागि कति महत्त्वपूर्ण हुन सक्छ भन्ने कुरालाई उजागर गर्छन्। पेरियोडोन्टल स्याहारमार्फत गिजाको स्वास्थ्य सुधार गर्दा डिमेन्सियाको जोखिम कम गर्न मद्दत पुग्न सक्छ।’

कारण के हुन सक्छ?

यो अध्ययन केवल अवलोकनात्मक भएकाले यसले गिजाको खराब स्वास्थ्यले नै डिमेन्सिया गराउँछ भन्ने प्रमाणित भने गर्दैन। तर, गिजाको रोग र डिमेन्सिया दुवै एउटै साझा कारणबाट सुरु हुने सम्भावना रहेको वैज्ञानिकहरू बताउँछन्।

उनीहरूलाई शङ्का छ- शरीरभरि हुने दीर्घकालीन सुन्निने समस्याले नै डिमेन्सिया र खराब मौखिक स्वास्थ्य दुवैलाई बढावा दिइरहेको हुन सक्छ। ‘लगातार हुने प्रणालीगत सुन्निने समस्याले ‘ब्लड-ब्रेन ब्यारियर’ (रगत र मस्तिष्कबीचको पर्खाल) लाई कमजोर बनाउन सक्छ, जसले गर्दा सुजन गराउने तत्त्वहरू मस्तिष्कको तन्तुमा प्रवेश गरी मस्तिष्क सुनिने र स्नायुमा क्षति पुर्‍याउन सक्छ,’ जापानी अनुसन्धानकर्ताहरू भन्छन्।

उनीहरूले थपेका छन्, ‘यसको एउटा सम्भावित कारण के हुन सक्छ भने, नियमित रूपमा दाँत नमाझ्ने बानीले गिजाभित्र प्लाक र ब्याक्टेरिया जम्मा हुन मद्दत गर्छ, जसले प्रणालीगत सुजन बढाउन र डिमेन्सियाको जोखिम बढाउन योगदान गर्न सक्छ।’

अध्ययनका सीमितता

अनुसन्धानकर्ताहरूले यो अध्ययन जापानको एउटा नगरपालिकाका बासिन्दाहरूमा मात्र सीमित रहेको कुरालाई यसको सीमितताका रूपमा औँल्याएका छन्।

‘त्यसैले हाम्रा निष्कर्षहरूको सामान्यीकरण सीमित छ,’ उनीहरूले भनेका छन्। यी नतिजाहरूलाई पुष्टि गर्न थप विविध सहभागीहरू समावेश गरी ठूलो अध्ययन गर्नुपर्ने र विशेषगरी भास्कुलर डिमेन्सियाका धेरै बिरामीहरूमा थप अध्ययन आवश्यक रहेको उनीहरूले बताएका छन्।  (द इन्डिपेन्डेन्टबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?