News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म लुम्बिनी प्रदेशका उत्पादनमूलक उद्योगको औसत क्षमता उपयोग बढेर ५०.४४ प्रतिशत पुगेको छ ।
- नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर २.८७ प्रतिशत रहने प्रारम्भिक अनुमान छ ।
- नारायणघाट बुटवल सडक पश्चिम खण्डको भौतिक प्रगति ७५.४५ प्रतिशत र सिद्धबाबा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ६४.४६ प्रतिशत पुगेको छ ।
११ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशका उद्योगहरूको क्षमता उपयोगमा सुधार आएको छ । यस प्रदेशका उत्पादनमूलक उद्योगहरूको उत्पादनमा सुधार आएसँगै क्षमता उपयोग बढेको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ पुसम्म लुम्बिनीका उद्योगको औसत क्षमता उपयोग ५०.४४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । यस्तो क्षमता उपयोग गत वर्ष सोही अवधिमा ४६.५५ प्रतिशत थियो ।
चालु आव पुसम्ममा लुम्बिनी प्रदेशमा बियर, तोरीको तेल, चामल, गहुँको पिठो, चाउचाउ, मदिरा, कागज, औषधि, प्लास्टिकका सामान, सिमेन्ट, फलामे छड र पत्ती उत्पादनमा वृद्धि भएको छ । तर पशुदाना, प्लाइउड, रोजिन र बिजुलीको तार उत्पादनमा ह्रास आएको अध्ययनले औँल्याएको छ ।
चालु आव लुम्बिनीमा बैंक तथा वित्तीय संस्थाले औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा कुल कर्जाको २३.८६ प्रतिशत अर्थात् १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ छ ।
त्यसैगरी पर्यटक आगमन संख्या १०.४५ प्रतिशत र होटलको अकुपेन्सी दर १५.७४ प्रतिशतले घटेको छ ।
चालु आव लुम्बिनीको आर्थिक वृद्धिदर २.८७ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । यस प्रदेशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमश: २९.७६, १५.३२ र ५४.९२ प्रतिशत रहने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयको छ ।
चालु आव पहिलो ६ महिनामा प्रमुख खाद्य बालीले ढाकेको कुल क्षेत्रफल र कुल उत्पादन गत वर्ष सोही अवधिको तुलनामा क्रमश: ३.०१ र २.०६ प्रतिशतले ह्रास भएको छ ।
त्यसैगरी फलफूल बालीले ढाकेको क्षेत्रफल २४.३६ प्रतिशतले ह्रास आएको छ भने तरकारी र मसलाले ढाकेको क्षेत्रफल क्रमश: ८.३९ र ९.२० प्रतिशतले वृद्धि भएको छ । अन्डा, मासु र माछा उत्पादन क्रमश: १२.२३, ४.०४ र ३.९१ प्रतिशतले वृद्धि भएको छ भने दूध उत्पादन ०.३५ प्रतिशतले ह्रास आएको छ ।
यस प्रदेशको कुल खेती क्षेत्रफलमध्ये ४५.०७ प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको छ । चालु आव पुसम्म बैंक तथा वित्तीय संस्थाले कृषि क्षेत्रमा प्रवाह गरेको कर्जा ३.७९ प्रतिशत घटेर ५० अर्ब ४२ करोड १६ लाख कायम भएको छ ।
२०८२ पुस मसान्तमा यस प्रदेशमा बैंक तथा वित्तीय संस्थाका कुल शाखा संख्या २ हजार १ सय ४८ रहेको केन्द्रीय बैंकले जनाएको छ । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप २१.४३ प्रतिशत बढेको छ । साथै, कर्जा प्रवाह भने २.७२ प्रतिशतमात्र बढेको छ ।
चालु आव सोही अवधिमा नारायणघाट बुटवल सडक (पश्चिम खण्ड) योजनाको भौतिक प्रगति ७५.४५ प्रतिशत रहेको र २०८२ माघ मसान्तसम्ममा सिद्धबाबा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ६४.४६ प्रतिशत भएको छ ।
२०८२ पुस मसान्तसम्ममा सिक्टा सिँचाइ आयोजना र बबई सिँचाइ आयोजनाको भौतिक प्रगति क्रमश: ४५.९ र ७८.७४ प्रतिशत भएको अध्ययनले औँल्याएको छ ।
प्रतिक्रिया 4